सानैदेखि उनलाई घुमफिरमा रुचि थियो । घुमघाम भनेपछि हुरुक्कै हुने उनी स्कुल पढ्दा विभिन्न ठाउँमा स्कुलबाटै भ्रमणमा गइन् । पोखरा आएका बेला विदेशी पर्यटकको हातहातमा क्यामेरा, पिठ्युमा झोला । साथमा लौरि समाएको देखिन् ।
आफू पनि त्यस्तै गरी घुम्ने योजना बुनिरहन्थिन् तनहुँकी रेनुका थापा । जब आइए पास गरिन् । साइडमा काम गर्दै पढ्दै गर्ने ध्याउन्नमा जुटिन् । त्यतिबेला, मौका मिल्यो कि पोखराका कुनाकाप्चा चहार्न निस्किहाल्थिन् । कुनाकाप्चा चहार्दाचहार्दै उनी घुमन्ते भइन् । उनी आफू मात्रै होइन, अरुलाई पनि घुम्न उकास्थिन् ।
घरबाट टाढा–टाढासम्म घुम्न जानु, अनि देश बुझ्नु र चिन्नु उनको सोख हो । ‘हाम्रो देश यति रमणीय छ, साँच्चै देश बुझ्ने रहर लिएर घुम्ने हो भने यो जुनी बित्दा पनि सकिँदैन’ मौका मिलाएर नेपालका विभिन्न गाउँठाउँ चहार्ने रेनुका भन्छिन्, ‘सानैदेखिको रुचि पूरा भएको छ । नया“ ठाउ“ घुम्न, विदेशी साथी बनाउन र विभिन्न संस्कृति बुझ्न पाइने भएकाले मलाई यायाबार जीवन मन पर्छ ।’
न धेरै जाडो न त गर्मी । घुम्न जानलाई रमाइलो र उपयुक्त मौसम पनि यही हो । त्यसैले नेपाल घुम्न आउने विदेशी पर्यटक अनि पोखरा हेर्न र घुम्न चाहने स्वदेशीको पनि घुइ“चो लागेको छ, यतिबेला पोखरामा । पोखराका युवा भने अन्यत्र घुम्न निस्किएका छन् । कोही नया“ ठाउ“ घुम्न जाने तयाारीमा छन् । पोखरेली तन्नेरी विनोद बानियाँ पोखरा आसपासमा नघुमेको कुनै ठाउँ र गाउँ छैन । उनी गत वर्षदेखि पोखरा बाहिरको देश बुझ्ने अभियानमा छन् ।
गएको दसैं र तिहारको बिदाको मौका पारेर रारा घुमेकी उनी यो पटक पूर्वी क्षेत्रमा घुम्ने योजनामा छन् । ‘जुन ठाउँ टाढा छ, त्यही ठाउँमा पुगेर रमाइलो गर्न मन पर्छ,’ संगीत प्रशिक्षण गराइरहेका विनोद भन्छन्, ‘अघिपछि बिदा मिल्दैन । दसैं तिहारको लामो बिदा नै सदुपयोग गर्ने हो । पहिला आफ्नो देश बुझौं । त्यसपछि परदेश घुम्न जाउँला ।’
नयाँ ठाउँ पुग्नु, फेसबुकबाट लाइभ गर्नु, इन्स्टाग्राममा फोटो अपलोड गर्नु । घुमघामको मस्ती लिनु अहिलेका युवाले यसमै मज्जा लिन्छन् । सेल्फी स्टिक बोकेर फोटो खिच्न प्रतिस्पर्धा गर्नेको जमात बिदाको मौसममा थुप्रै ठाउँमा देख्न पाइन्छ । साथीभाइ ग्रुप बनाएर घुम्न जानेहरु धेरै हुन्छन् । नेपालभित्र अधिकांश तन्नेरीको पहिलो रोजाइ पोखरा, मनाङ, मुस्ताङ, सौराहा, लुम्बिनी, रारा अनि इलाम पर्छ । यो बाहेक गण्डकी प्रदेशमा फस्टाएको विभिन्न गाउँका होम स्टेमा पुगेर रमाउने तन्नेरीहरुको जमात पनि कम छैन । अहिलेका युवा सानोतिनो सही उद्यम गर्ने लहरै चलेको छ ।
उद्यम नगर्नेहरु जागिरमै रमाइरहेका छन् । गोजीमा दुईचार हजार भएपछि युवा जमात घुम्न जान कस्सिहाल्छन् । जागिरे युवा तलब आउने बित्तिकै छुट्टीको सदुपयोग गर्दै घुमघाममा निस्कने लहर चलेको छ । ‘नेपाली युवाहरुमा पछिल्लो समय देश चिन्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना विकास भएको छ’ शिक्षण पेशामा आबद्ध पोखरा विरौटका गोविन्द काफ्ले भन्छन्, ‘हरेक वर्ष म कुनै न कुनै ठाउँ घुम्न निस्कन्छु । यो पटक पूर्वी क्षेत्र इलाम, दार्जिलिङ, जनकपुर घुम्ने योजना छ । स्वदेशभित्रका महŒवपूर्ण ठाउँ चिन्ने बुझ्ने मौका दसैं र तिहारजस्ता लामो बिदाले दिन्छन् ।’
पोखरा–३० तालचोकका तन्नेरी चिरञ्जीवी न्यौपाने नयाँ ठाउँ घुम्न भनेपछि हम्मेसी त्यो मौका गुमाउँदैनन् । कसरी हुन्छ, समय मिलाएर साथीभाइसँग घुम्न निस्किहाल्छन् । गएको वर्ष तिलिचो पुगेका उनी रारा ताल घुमे । त्यतिले नअघाएपछि अन्नपूर्ण बेसक्याम्प, पुनहिल लगायतका ठाउँ घुमे ।
उनले कोरला नाकादेखि पश्चिमको चाँदनी दोधारासमेत घुमिसकेका छन् । यही तीजताका उनी चितवनको सौराह, इलाम, धरान, धनकुटालगायत कोशी ब्यारेज चाहरेपछि नआएका उनी यो दसैंको मौका पारेर ढोरपाटन शिकार आरक्षा घुम्न जाँदैछन् । विदेशीहहरु थुप्रै डलर खर्च गर्ने तर, हाम्रै नेपालीले आफ्नो देश नचिनेकाले आफूले पहिले देश चिन्नुपर्छ भन्ने सोचेर हरेक वर्ष घुम्ने गरेको चिरञ्जीवी बताउँछन् ।
‘घुम्ने भनेपछि म हुरुक्कै हुन्छु । नेपाल यस्तो देश हो जहाँ गए पनि रमाइलो लाग्छ । सानो देश भए पनि भुगोल, रहनसहन, जातजाति, भेषभूषा हरेक हिसाबले जता गयो त्यतै नयाँ लाग्छ,’ उनी भन्छन्, ‘म मस्तिष्कलाई पुनर्ताजगी गराउने । विभिन्न पेशा व्यवसायमा आबद्ध साथीहरुसँग मित्रता साट्न अनि मनोरञ्जन गर्न घुम्छु ।’
तनहुँका शिव रेग्मी काम गरेर जम्मा गरेको रकममको थोरै भाग घुम्नमा खर्चिन्छन् । देशका ७० वटा जिल्ला घुमिसकेका उनी परदेश पनि घुमिसकेका छन् । देशभित्र उनी होम स्टे भएका ठाउँहरुमा घुम्न जाँदा बढी रमाउँछन् ।
केही महिनाअघि कास्कीको ल्वाङ गाउँको होम स्टेमा रमाउने गरेका उनी दसैंको मौका पारी तनहुँकै भुजिकोट होम स्टेमा जाने तयारी गरिरहेका छन् । त्यहाँ गएर स्थानीयसँग रमाउँदै, नाचगान, खानपिन गर्दा सबैभन्दा बढी खुसी लाग्ने गरेको उनले सुनाए । ‘विभिन्न जातजातिले चलाएका होम स्टेमा गएर रमाउँदा नयाँ नयाँ सँस्कृति, चालचलन अनि रीतिरिवाज बुझ्न पाइन्छ’ कृषि सहकारी सञ्चालन गरिरहेका युवा शिव भन्छन्, ‘त्यही भएर म होम स्टे भएका ठाउँमा जान मन पराउँछु ।’
एडभरटाइजिङ एजेन्सी चलाइरहेका पोखरा–८ का कृष्ण रानाभाट त महिनामा दुई चार दिन घुमेकै हुन्छन् । घुमघाममा चाहिने सामान पोको पारेर निस्किएका उनले नयाँ ठाउँमा प्रत्यक्ष पुग्न र फोटो खिच्न पाउँदा खुसी लाग्ने गरेको सुनाउँछन् । उनी सकेसम्म गाउँघरतिर घुम्न निस्किन्छन् ।
गाउँ पुग्दा सबैभन्दा बढी आनन्द आउने उनको अनुभव छ । ‘म गण्डकी प्रदेशका चलेका र प्रचारमा आएका गाउँ लगभग सबै ठाउँ पुगेको छु । मेरो पहिलो रुचि नयाँ ठाउँ घुम्नु र त्यो ठाउँका बारेमा थाहा पाउनु हो,’ उनी भन्छन्, ‘घुम्न जाँदा सकेसम्म ग्रुप नभए एकजना साथी भए हुन्छ ।’
नर्सिङ पेशामा आबद्ध राधिका गौतमका लागि यात्रा पहिलो रोजाइमा पर्छ । उनी बेलाबेला घुम्न निस्किरहन्छिन् । उनी साथीभाइसँगै समूहमा यात्रा गर्न रुचाउँछिन् । केही समयअघि उनी आफ्नै साथीहरुसँगै घुम्न निस्किइन् । फेरि पनि दसैंको बिदामा त्यही ग्रुपसँग कुनै एक ठाउँ घुम्न जाने योजना भइरहेको सुनाउँछिन् राधिका ।
‘घुम्न जानु भनेको नयाँ ठाउँ देख्नु र चिन्नु मात्रै होइन । साथीभाइसँग आत्मियता बढाउने गज्जबको अवसर पनि हो’ जागिरमा व्यस्त भएकाले अघिपछि समय नपाउने गरेको सुनाउँदै राधिका भन्छिन्, ‘जागिरे जीवनमा सँधै व्यस्त भइन्छ । रिफ्रेस हुन पनि घुम्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
घुमघामका लागि नेपाल अलौकिक छ । यहाँको प्राकृतिक सौन्दर्यताले धेरैलाई लठ्याउँछ । ती ठाउँमा पुगेर रमाउँदा धेरैले रमाइलो अनुभूत गर्छन् । उनी हरेक दसैंमा घुम्न निस्किन्छिन् । यो दसैंमा उनी साथीभाइसँग मुस्ताङ घुम्ने प्लानमा छिन् । ‘सानोतिनो काम गरेर जम्मा गरेको पैसा घुमघाममा खर्च गर्दा खुसी लाग्छ’
बागलुङकी कविता मगर भन्छिन्, ‘यो उमेरमा नघुमे कहिले घुम्ने भनेर साथीभाइ मिल्यो । घुम्यो, खायो, पियो रमायो ।’ आफू घुमेर आएपछि साथीहरूलाई घुम्न जान हौस्याउँछिन् उनी । नेपालका बारेमा सबैलाई थाहा हुनुपर्ने उनको बुझाइ छ ।
Leave A Comment