नयाँ पुस्तकको होड

आइतबार, ११ कार्तिक २०७५, ०५ : ४२ प्रजु पन्त
नयाँ पुस्तकको होड

तनहुँ कालिमाटीकी संगम अधिकारी डिल्लीबजारस्थित हिमाल बुक्स स्टल डिल्ली बजारमा किताब छान्दै गरेका भेटिए । उनले अहिले निस्किएका नयाँ किताब किन्दै थिए । उनको हातमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको ‘न्याय’, सुविन भट्टराईंको ‘प्रिय सुफी’, अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ थियो ।

‘दसैंदेखि तिहारसम्म टन्नै बिदा हुने भएकाले पढ्न नयाँ किताब किनेको, अरु बेला त कोर्स बुक पढ्दैमा ठीक हुन्छ,’ स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनले भने ।

दसैं-तिहारमा अघि–पछि भन्दा राम्रो व्यापार हुने पुस्तक विक्रेताहरु बताउँछन् । प्रायः मदन पुरस्कार तथा पद्यश्री पुरस्कार पाएका, नाम चलेका लेखकहरुको पुस्तक र आत्मकथा बढी बिक्री हुने गरेको विक्रेता बताउँछन् ।

बागबजारस्थित गोदावारी बुक्स हाउसमा भेटिएकी सिन्धुलीकी सविता कोइरालाले दुर्गा सुवेदीको ‘विमान विद्रोह’, सुशीला कार्कीको ‘न्याय’ र सुविन भट्टराईको ‘प्रिय सुफी’ किनिन् । 

हिमाल बुक्स स्टलका प्रमुख अनिल हिमाल गौतमका अनुसार दसैंमा पुस्तक किन्ने युवा पुस्ताको संख्या बढी छ ।  दसैंअगाडि पाठक पनि बढेको उनको अनुभव छ । 

‘युवा पुस्तामा उपन्यास र कथा सङ्ग्रह लोकप्रिय छ,’ गौतमले भने, ‘पहिला पहिला अंग्रेजी पुस्तक बढी जान्थ्यो, अहिले अंग्रेजी पुस्तककै हाराहारीमा नेपाली पुस्तक पनि बिक्री हुने गरेका छन् ।’

पछिल्लो समय इजरायली राइटर युभल नोह हरारीको ‘सेपियन्स’ पनि राम्रो बिक्री भएको उनले बताए । 
दसैंमा नेपालीहरुको खाने, पिउने, तास खेल्ने र मनोरञ्जन बढी हुने गर्छ । देखाउनकै लागि भए पनि पुस्तक किन्ने फेसन बढेको मञ्जरी प्रकाशनका प्रमुख कृष्ण अविरल बताउँछन् । 

‘पुस्तक अघिपछि भन्दा ५-७ प्रतिशत बिक्री त बढेकै हुन्छन्,’ उनले भने, ‘पहिले–पहिले जस्तो मदन पुरस्कार पाएका कृति बढी बिक्री हुने भन्ने हुँदैन । जुन राइटरको कृति राम्रो छ, त्यही बिक्री हुने गरेको छ ।’
साङ्ग्रिला प्रकाशनका प्रमुख मणि शर्मा दसैंमा पाठक बढ्छ भन्ने भ्रम भएको बताउँछन् ।

‘चाडमा पैसा हुन्छ, पुस्तकको व्यापार बढेको होला भन्ने हुन्छ तर पढ्ने मान्छेले अघिपछि पनि पढेकै हुन्छन्,’ उनले भने, ‘चाडको बेला पाठक बढ्छन् भन्ने भ्रम नै हो ।’

बुक हिलका सञ्चालक भूपेन्द्र खड्का भने पुस्तक बिक्री सिजनअनुसार फरक हुने बताए । उनका अनुसार जेठ, असारको समयमा पुस्तक बिक्री हुन्न, भदौदेखि दशैं–तिहारसम्म बिक्री हुन्छ । त्यसपछि पुसमा बिक्री हुँदैन । फागुनमा अलि बढी हुन्छ । चैत–वैशाखमा कोर्स बुकको सिजन भइहाल्यो ।’ 

रत्न पुस्तक भण्डारका कर्मचारी श्याम तण्डुकार दसैं-तिहारको बेलामा पुस्तक बढी बिक्री हुने बताए । उनका अनुसार विदेशमा पठाउनका लागि पनि पुस्तक किन्ने प्रचलन छ । 

एडुकेसनल इन्टरप्राइजेजका कर्मचारी हरिहर अर्यालका अनुसार दसैं-तिहारमा अघिपछि भन्दा बढी पुस्तक बिक्री हुन्छ । उनका अनुसार पहिले नेपाली पुस्तकभन्दा अंग्रेजी पुस्तक बढी बिक्री हुने गर्थे । त्यसपछि पुरस्कृत नेपाली पुस्तक बिक्री हुने सूचीमा आउँथ्यो । तर अहिले अवस्था केही बदलिएको छ ।’ नेपाली पुस्तक पनि अंग्रेजी बराबरै बिक्री भइरहेको उनको दाबी छ । 

हिमालय बुक्स डिल्लीबजारका अनिल हिमाल गौतमको अनुसार दसैंका बेलामा धार्मिक पुस्तकको बिक्री पनि राम्रै हुन्छ । 

नयाँ पुस्तकको होड
रत्न पुस्तक भण्डारका श्याम तण्डुकारका अनुसार केही लेखकहरु दसैंको मुखैमा पुस्तक प्रकाशन गर्न आग्रह गर्दै आउने गरेका छन् । 

रत्न पुस्तक भण्डारले दसैं-तिहारलाई लक्षित गरेर श्रीराम उपाध्यायको ‘नेपाली इतिहास’, युवराज नयाँघरेको ‘औँलाऔँलामा अस्ट्रेलिया’, ओम प्रतीकको ‘बदनाम बस्ती’, त्यस्तै सविता श्रेष्ठ विभुषीको ‘सेतो स्कार्फ’ प्रकाशन गर्यो । 

दसैं टार्गेट गरेर गत वर्ष ३ वटा पुस्तक ल्याएको बताउने बुक हिल भुपेन्द्र खड्का यो वर्ष सुशीला कार्कीको ‘न्याय’ अनि रामलाल जोशीको ‘शखी’ प्रकाशन गर्यो । 

दसैं-तिहार टार्गेट भनेर भन्दा पनि नियमित प्रक्रियामा नै पुस्तक आउने गरेको सांग्रिलाका प्रमुख मणि शर्मा बताउँछन् । उनले दसैंअघि भुवहरि सिग्देलको ‘धनञ्जय’ र ‘मनका सयपत्री’ र सानु शर्माको कथा संग्रह प्रकाशनमा ल्याएको जानकारी दिए । 

फाइन प्रिन्टले दसैं-तिहार टार्गेट गरेर डा. राजु अधिकारीको ‘जिन्दगी रिल्याक्स’, बसन्त बस्नेतको ‘७२को विश्मय’ र सुविन भट्टराईको ‘प्रिय सुफी’ प्रकाशन ग¥यो । नेपालयले अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ प्रकाशन गर्यो । 

मञ्जरी प्रकाशनले दसैं-तिहार लक्षित गरेर नयाँ पुस्तक निकालेन, पुराना रिप्रिन्ट ग¥यो । पाचँपोखरीले अच्युत कोइरालाको ‘देङ सियाओ पिङ’को जीवनी र अनुपम पोखरेलको ‘ओशो’को जीवनी प्रकाशन ग¥यो ।
 

Leave A Comment