सेलरोटी आन्द्राको दुष्मन

आइतबार, १८ कार्तिक २०७५, ०४ : ४० उपेन्द्र खड्का
सेलरोटी आन्द्राको दुष्मन

तिहारमा विशेषगरी सेलरोटी, अनरसा, पुरीलगायतका विभिन्न किसिमका चिल्ला परिकार बनाएर खाइन्छ । तर तिहारमा सेलरोटी लगायतका परिकार खाँदा सावधानी नअपनाए अस्वस्थ हुनु मात्रै हैन ज्यानसमेत जान सक्छ ।

चिकित्सकका अनुसार चिल्लोमा पकाइएका रोटी बढी खाँदा शरीरमा चिल्लो तथा कार्बोहाइड्रेडको मात्रा बढी हुन्छ । सेलरोटीलगायतका चिल्लोमा पकाएका परिकारमा  क्यालोरी अत्यधिक हुनाले उच्च षौष्टिक तŒव भने हुने चिकित्सकको भनाइ छ । 

त्यसैले मोटोपना, मुटुको समस्या, प्रेसर, सुगर, ग्यास्ट्रिक, आन्द्रामा घाउ, पायल्सजस्ता समस्या भएका व्यक्तिले चिल्लोमा पकाएका सेलरोटी लगायतका परिकार धेरै खान नहुने चिकित्सकको सुझाव छ ।

चिल्ला रोटीले ग्यास्ट्रिक
धेरै चिल्ला रोटी खाँदा ग्यास्ट्रिकको समस्या हुने बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन ।

प्रसूति गृह, थापाथलीका डा. नविन दर्नाल पनि तिहारमा धेरै चिल्ला रोटी खान नहुने सल्लाह दिन्छन् ।
पेटका रोगीले तिहारमा चिल्ला परिकार खाँदा विशेष सावधानी अपनाउनुपर्ने नेसनल एकाडेमी अफ मेडिकल साइन्सेस (न्याम्स), वीर अस्पतालका कन्सल्टेन्ट सर्जन डा. सुशील मोहन भट्टराईको सुझाव छ । 

ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), आन्द्रामा घाउ हुने समस्या भएका, पायल्स, कब्जियतजस्ता समस्या भएका व्यक्तिलाई सेलरोटीले अत्यधिक हानि गर्ने डा. भट्टराई बताउँछन् ।  चिल्लो र मैदाले पनि ग्यास्ट्रिक गराउने चिकित्सक बताउँछन् । भट्टराई भन्छन्, ‘सेलरोटी आन्द्राको दुष्मन हो ।’

मिठाईलगायतका गुलिया परिकारले मधुमेहका बिरामीलाई असर गर्ने बताउँछन्, डा. पुन । मासुले युरिक एसिडका बिरामीलाई असर गर्ने उनको तर्क छ । चाडपर्वमा एक दिन त हो नि भन्दै अपच हुने गरी खान नहुने डा. पुन सुझाउँछन् ।

डा. दर्नालले कोलेस्ट्रोलको मात्रा कम हुने भएकाले सनफ्लावर तेलमा परिकार पकाएर खाए स्वास्थ्यलाई फाइदा हुने बताउँछन् । त्यस्तै शुद्ध घ्यूमा पकाएका परिकारमा ब्याक्टेरियाको वृद्धि पनि ढिलो हुनाले सबैभन्दा राम्रो तथा स्वस्थकर घ्यूमा पकाएको रोटीका परिकार हुने दर्नाल बताउँछन् ।

तिहारमा रोटीलगायतका परिकार खाँदा शुद्ध घ्यू तथा तेलमा घरमै पकाएर खानुपर्ने उनको सुझाव छ । बजारमा किनेका परिकार बासी तेल तथा डाल्डा घ्यूमा पकाएका हुनसक्ने भएकाले त्यस्ता परिकारले स्वास्थ्यमा असर गर्न सक्ने डा. दर्नाल बताउँछन् । 

‘डाल्डा घ्यूमा कोलेस्ट्रोल बढी हुनाले स्वास्थ्यमा असर गर्छ,’ डा. दर्नाल भन्छन्, ‘बासी तथा सडेगलेका परिकारले बान्ता हुने, फुड पोइजन, झाडापखाला हुने, ज्वरो आउने जोखिम हुन्छ ।’ बासी तथा पुरानो पीठोमा पकाएका रोटिका परिकारले ज्यानसमेत जान सक्नेतर्फ सजग गराउँछन्, डा. दर्नाल ।

रोटीसँगै तरकारी 
रोटी मात्रै खान नहुने चिकित्सकको सुझाव छ । रोटीसँगै तरकारी पनि खानुपर्ने चिकित्सक बताउँछन् । हरियो साग–सब्जी, स्कुस, लौका, चिचिन्डा, गाजर, मुला, फर्सी, सिमीजस्ता फाइबरयुक्त तरकारी तथा साग सब्जीसँग रोटी खानु पर्ने डा. भट्टराई सुझाउँछन् । हरियो तथा फाइबरयुक्त सागसब्जीसँग सेल रोटी खाए पायल्स, फिस्टुला र फिसरलगायत रोगको जोखिम कम हुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार धागो र छिपिँदा जालो जस्तो बन्ने फाइबरयुक्त सागसब्जी तथा तरकारी आन्द्राका लागि फाइदाजनक हुन्छ । फाइबरयुक्त तरकारीले कडा दिसा नहुनुका साथै कब्जियतको जोखिमसमेत कम हुनाले पेटको रोगबाट बच्न सकिन्छ । 

फाइबरयुक्त तरकारीसँग सेल रोटी लगायतका तिहारमा चिल्ला परिकार खानाले खाना पच्न सहज हुने भनाइमा डा. दर्नाल पनि सहमत छन् ।

चिल्लो रोटी बढी मात्रामा खाँदा पाचन प्रक्रियामा असर हुने डा. पुन सुझाउँछन् । चिल्ला रोटीको असरले पेट फुल्ले, दिसा २÷३ दिनमा हुने, दिसा गोटा पर्नेजस्ता समस्या हुने डा. भट्टराई बताउँछन् । 
दिसा गर्दा मलद्वार सुन्निने, रगत बग्ने, दुख्ने समस्या भए तुरुन्त उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । 
दसैंपछि पायल्सका बिरामी वीर अस्पतालमा ह्वात्तै बढेको बताउँछन्, डा. भट्टराई । मासु पायल्सको दुष्मन हो भन्छन्, उनी ।

कागतीको अमिलो ‘अमृत’
चाडपर्व तथा भोज भतेरमा नेपाली समाजमा विभिन्न किसिमका अचार बनाएर खाने चलन छ । अचार खाने चलनलाई चिकित्सले पनि रुचाएका छन् । 

सामान्य व्यक्तिलाई सेलरोटी लगायतका परिकार पचाउन ताजा अचारले सहयोग गर्र्नेे डा. पुन बताउँछन् ।  खाँदेर राखेको पुरानो अचार भने नखाएकै राम्रो भन्छन्, चिकित्सक । लामो समय राखेको अचारले स्वास्थ्यलाई फाइदा नगर्ने डा. दर्नालको सुझाव छ । 

केराउ, काँक्रो, मुला, लप्सीलगायतका ताजा अचारले खाना पचाउनुका साथै स्वास्थ्यलाई फाइदा गर्ने बताउँछन्, डा.पुन र भट्टराई । डा. पुन भन्छन्, ‘ताजा अमिलो अचारले चिल्लो पचाउन सहयोग गर्छ ।’ 
ताजा अचारले शरीरलाई भिटामिन पुर्याउने चिकित्सक बताउँछन् । ताजा कागती हालेर बनाएको अमिलोले शरीरलाई भिटामिन–सी प्रशस्त पुर्याउँछ ।  डा. भट्टराईका अनुसार कागतीको ताजा अमिलोले जाडो सुरु हुने सिजनमा  रुघाखोकीबाट बचाउने, घाउ छिटो निको हुनमा सहयोग गर्नुका साथै, पिसाबको रोगलाई पनि निको हुन सहयोग गर्छ ।

‘भिटामिन–सीमा एन्टी अक्सिडेन्ट हुन्छ । एन्टी अक्सिडेन्टले शरीरलाई छिटो वृद्ध हुनबाट रोक्नुका साथै क्यान्सरबाट पनि बच्न सकिन्छ ।’ डा. भट्टराई भन्छन्, ‘कागतीको ताजा अमिलो अमृत हो । कागतीको अमिलो धेरै खाँदा पनि खराब असर देखिँदैन ।’

डा. दर्नालका अनुसार पुरानो अचारले पेट दुख्ने, पखाला लाग्नेजस्ता समस्या हुन्छन् । पुरानो अचारमा पौष्टिक गुणस्तरसमेत कम हुँदैजाने चिकित्सक बताउँछन् । विशेषगरी ग्यास्ट्रिकका लागि पुराना अचार अत्यन्तै खराब हुने बताउँछन् डा.भट्टराई ।

पिरोले अल्सर
बढी मसलेदार खाना र पिरोले ग्यास्ट्रिक र पायल्सको समस्या हुने बताउँछन्, चिकित्सक । डा. पुन भन्छन्, ‘अमिलो तथा पिरोले थप ग्यास्ट्रिक दुख्छ ।’ डा. भट्टराईका अनुसार पिरोले पेटमा बढी एसिड निस्किन्छ । सो एसिडले पेटमा घाउ हुन्छ, दुख्छ, जसलाई ग्यास्ट्राइटिस भनिन्छ । पेटको सो घाउ बढ्दै जाँदा अल्सर हुने र  समयमा उपचार नभएको खण्डमा क्यान्सरसम्म भएर ज्यानै जान सक्छ ।

पटका जोखिम
तिहारमा झिलिमिली बत्ती बालिन्छ । तिहारमा बालिने मैनबत्ती, दियो, पटकालगायतको धुुवाँले विशेषगरी बालबालिका वृद्ध–वृद्धा तथा दमलगायतका दीर्घ रोगीमा असर हुने चिकित्सक बताउँछन् ।
पटकाले वायु तथा ध्वनि प्रदूषणसमेत हुने चिकित्सक बताउँछन् । सकेसम्म पटका नपड्काउन चिकित्सकको सल्लाह छ । पटका पड्काउने क्रममा विशेषगरी बालबालिका एकातर्फ लडेर ज्यान जाने जोखिम हुन्छ भने अर्कोतर्फ जलेर ज्यान जानसक्ने जोखिम हुन्छ ।

पटकाको धुवाँ र पाउडरले असर गर्ने बताउँछिन्, वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट (चर्म तथा छालारोग विशेषज्ञ) डा. अनुपमा कार्की (कुंवर) । पटकामा सल्फर कम्पाउण्ड, पेटिसिया नाइट्रेडलगायतका हानिकारक तत्व हुने बताउँछिन्, डा. कार्की । पटकामा हुने हानिकारक तत्वले इरिटेन्ट इफेक्ट हुन्छ । पटका पड्काउँदा निस्कने केमिकलले छाला तथा शरीरका भित्री अंगलाई समेत असर हुने कार्की बताउँछिन् । पटकाले जलेर पछिसम्म पनि अनुहार तथा छालामा घाउका खत तथा डोब बस्न सक्ने चिकित्सक बताउँछन् । पटका पड्काउँदा जलेर अनुहारमा भएका खत तथा डोेबले अनुहारको सुन्दरतालाई नै कुरुप बनाउनेतर्फ चिकित्सक सजग गराउँछन् ।

पटकाको आगोले छालाको भित्री भागसम्म जल्न सक्ने भएकाले जोखिम बढी हुने बताउँछन्, डा. भट्टराई । पटका पड्काउँदा वा आगोले पोलेको खण्डमा सबैभन्दा पहिला पाँच मिनेटसम्म बगेको धाराको पानीमा जलेको भाग भिजाउन चिकित्सकको सल्लाह छ । जलेको घाउमा आईस, टमाटर, घ्यूकुमारी, टुथपेस्ट लगाउनुपर्छ भन्ने भनाइ भ्रम मात्रै रहेको भट्टराई बताउँछन् । जल्नेबित्तिकै आइस, टमाटर, घ्यूकुमारी लगाउँदा सन्चो हुनेभन्दा पनि झन् असर गर्ने बताउँछन्, भट्टराई । 

घ्यूकुमारीमा भिटामिन–ई हुने भएकाले घाउ निको हुँदैन, खाटा बस्नेसमयमा भने छिटो घाउ सन्चो हुन सहयोग गर्ने उनको भनाइ छ । थोरै जलेको छ भने पानीमा भिजाउनुका साथै नरम किसिमका साबुनले दैनिक धुँदा पनि संक्रमण हुन नपाउने चिकित्सक बताउँछन् । 

पटकाले गहिरो पोल्यो भने ज्यानै जानसक्नेतर्फ सजग गराउँछिन् कार्की । सामान्यतया ६० प्रतिशतभन्दा बढी शरीर जल्यो भने ज्यान जाने जोखिम हुने बताउँछिन्, डा.कार्की । शरीरमा टाँसिने किसिमका लुगा लगाउँदा पनि जलेर ज्यान जान सक्ने चिकित्सक बताउँछन् । जलेको खण्डमा सकेसम्म चाँडै स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । बालबालिकालाई पटका पड्काउन दिँदा जोखिम हुने भएकाले पटका पड्काउन दिन नहुने डा. भट्टराईको सुझाव छ । 
 

Leave A Comment