तिहारमा ३० करोडको फूल

आइतबार, १८ कार्तिक २०७५, ०४ : ५० उपेन्द्र खड्का
तिहारमा ३० करोडको फूल

तिहारलाई फूलबाट कसरी अलग गर्न सकिन्छ र ! चाडै फूलको हो । घर सजाउन, दाजुभाइको दीर्घायुको कामना गर्दै गलामा लगाउन फूलै चाहियो । सजिसजाउका लागि त हल्का नक्कलीले पनि काम चल्ला । नत्र त प्राकृतिक फूलको विकल्प हुन्न । तिहारमा मालाका लागि सयपत्री, मखमली र गोदावरी नै चाहियो । अनि घर सजाउन सयपत्री नै पहिलो रोजाइमा पर्छ ।

मागसँगै कारोबार हुने नै भयो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को तथ्यांकअनुसार नेपालमा वार्षिक १ अर्ब ८६ करोडबराबरको फूलको कारोबार हुन्छ । त्यसमा बोटबिरुवा र फूल जोडिन्छ । यसमध्ये तिहारमा मात्रै ३० करोडको कारोबार हुने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार तिहारमा माला मात्रै करिब २२ लाखवटा खपत हुन्छ । यो तथ्यांक सहरी क्षेत्रको हो । ग्रामीण क्षेत्रमा अधिकांश फूल आफ्नै उत्पादनको प्रयोग हुन्छ । ग्रामीण क्षेत्रमा तिहारका लागि भन्दै मखमली र सयपत्री रोप्ने प्रचलन अझै हराइसकेको छैन ।

फूलको बढ्दो मागसँगै व्यापारसमेत फस्टाएको छ । फ्यानका अनुसार दर्ता गरेर चलेको नर्सरीको संख्या  ६ सय ९६ छ । करिब १ सय ५५ हेक्टरमा फूलको व्यावसायिक खेती हुन्छ ।  यो तथ्यांकमा दर्ता नगरी चलेका नर्सरी र अनौपचारिक फूल उत्पादक जोडिएको छैन । यत्ति हुँदाहुँदै पनि नेपाल फूलमा आत्मनिर्भर भने छैन । श्रेष्ठका अनुसार यत्ति हुँदाहुँदै पनि वर्षमा करिब ११ करोडको फूल आयात हुन्छ नेपालमा । 

तिहारको मागसमेत धान्न सक्दैन नेपाली उत्पादनले । खपत हुने २२ लाख मालामध्ये १९ लाखवटा माला नेपाली उत्पादनबाट पुग्ने व्यवसायीको आँकलन छ । बाँकी ३ लाख मालाका लागि भारतको भर नपरी सुखै छैन । व्यवसायीका अनुसार मखमली र गोदावरीमा हामी आत्मनिर्भर छौं । तर सयपत्री फूल पुग्दैन ।
फ्यानका महासचिव विश्वमणि पोख्रेलका अनुसार यो वर्षको तिहारमा १५ लाख सयपत्री, सात लाख मखमली र करिब १० हजार गोदावरी फूलका माला खपत हुने अनुमान छ । माग पूरा गर्न करिब ११ लाख मूल्यबराबको तीन लाख सयपत्री फूलका माला भारतबाट आयात गर्ने तयारी भइसकेको छ । 

गत वर्ष पनि यत्तिकै संख्यामा फूल आयात भएको थियो । जनसंख्याको आधारमा फूलको माग कम भएको पोख्रेलको तर्क छ । केही वर्ष अघिसम्म ८० प्रतिशत माला आयात गर्नुपर्ने बाध्यता भए पनि यो वर्षको तिहारमा ८० प्रतिशत माला नेपाली उत्पादनले धान्ने व्यवसायीको दाबी छ । अध्यक्ष श्रेष्ठ फूलको आयात घट्दै गएको दाबी गर्छन् । 

‘नेपालमा फूलको गुणस्तरीय बीउको बारेमा राम्रो ज्ञान नहुँदा पनि तिहारमा फूलको अभाव हुने गरेको हो’ काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदीले बताए । 
एउटा मालाको मूल्य ८० 

गत वर्ष एउटा एक मिटर सयपत्रीको मालाको करिब ६० रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष भने मूल्य बढ्ने व्यवसायीले बताए । पोख्रेलको दाबीअनुसार यो वर्ष प्रतिगोटा सयपत्रीको माला ५० रुपैयाँमा किन्न पाइनेछ । उनले ८० रुपैयाँमा माला पाइने दाबी गरे ।

त्यसैगरी मखमलीको माला करिब २५ रुपैयाँ पर्ने फ्यानको अनुमान छ । गोदावारी फूलको माला भने सधैँ महँगो हुने गर्छ । यो वर्ष पनि गोदावरी फूलको माला प्रतिगोटा एक सय रुपैयाँभन्दा बढी मूल्य पर्ने फ्यानको अनुमान छ । 

फ्यानले प्रतिगोटा सयपत्रीको मालाको मूल्य करिब ५० देखि ७० रुपैयाँ पर्ने बताए पनि चाडपर्वको मौकामा कालो बजारी हुन्छ नै । कार्टेलिङका कारणले पनि माला महँगो भएको पोख्रेलको तर्क छ । यो वर्ष भने कार्टेलिङको सम्भावना नरहेकाले फूलको माला सस्तो हुने उनको तर्क छ ।
कलकत्ते सयपत्री लोकप्रिय

नेपालमा स्थानीय जातका फूलको थुँगा ठूलो हुने भए पनि एकनासे नहुने भएकाले पनि कलकत्ते जातका सयपत्री नेपालीले मन पराउने गरेको बताउँछन्, वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुवेरजंग मल्ल । 

पोख्रेल र सुवेदी पनि मल्लको तर्कमा सहमत देखिन्छन् । स्थानीय जनताका सयपत्री फूलका थुँगा ठूला हुने भए पनि एकै किसिमका साइज नहुने भएकाले नेपालीले कलकत्ते सयपत्री मन पराउने गरेको पोख्रेल र सुवेदीको तर्क छ ।  

कलकत्ते सयपत्री हेर्दा आकर्षक र सुन्दर पनि देखिने भएकाले यो जातको लोकप्रियता बढेको मल्लको तर्क छ । नेपालमा पनि व्यावसायिक खेती सुरु भएकाले बिस्तारै आयात घट्ने मल्लको अनुमान छ । नेपालमा वर्षैभरि फूल चाहिने भएकाले फूलको मागसँगै व्यावसायिक खेतीको सुरुवात भएकाले स्थानीय उत्पादनले बिस्तारै आयातलाई घटाउने मल्लले तर्क गरे । सयपत्रीको निर्यात भने तत्काल सम्भव नभएको विशेषज्ञको भनाइ छ । भारतमै प्रशस्त मात्रामा सयपत्री उत्पादन हुने भएकाले तत्काल सयपत्रीको निर्यात सम्भव नभएको अध्यक्ष श्रेष्ठ बताउँछन् । 
बढ्दैछ फूलको खेती

नेपालमा पनि व्यावसायिक फूलको खेती बढिरहेको छ । फूलखेतीले बामेसरिरहेको छ । नेपालमा करिब १ सय ५५ हेक्टरमा फूलको खेती गरिएको फ्यानको अनुमान छ । ४३ जिल्लामा फूल खेती रहेको फ्यानका महासचिव पोख्रेल बताउँछन् । 

४३ हजार पाँच सयभन्दा बढीले पुष्प व्यवसायमा रोजगारी पाएको फ्यानको तर्क छ । फ्यानमा ६ सय ९६ पुष्प व्यवसाय दर्ता रहेको पोख्रेल बताउँछन् । नेपालमा बर्सेनि करिब १५ प्रतिशतले फूलखेती वृद्धि भइरहेको फ्यानले जनाएको छ । 

Leave A Comment