भाइटीका नमान्दा पुण्य नष्ट

आइतबार, १८ कार्तिक २०७५, ०४ : ५८ शुक्रवार
भाइटीका नमान्दा पुण्य नष्ट

कार्तिक त्रयोदशीदेखि कात्र्तिक शुक्लद्वितीयासम्म पाँचदिनसम्म तिहार मनाइन्छ । तर तीन दिन मनाउने भएकाले तिहार भनिएको हो । त्रिरात्र शब्दको अपभ्रंश भएर तिहार शब्द बनेको देखिन्छ । कागतिहार, कुकुर तिहार, गाईतिहार, गोरुतिहार, हलितिहार, भाइतिहारजस्तो नेपाली शब्द चलेको देखिन्छ । 
नेपाली समाजमा तिहारलाई दाजुभाइ र दिदी बहिनीबीचको आत्मीयता र प्रेम बढाउने पर्वका रुपमा लिइन्छ । 
तिहारमा विभिन्न मनोरञ्जन, नाचगान तथा मिठा परिकार खानपान गरिन्छ । जुवा खेल्ने, पिङ खेल्ने तथा नाचगान गरेर यस पर्वमा मनोरञ्जन लिने प्रचलन छ ।

तिहारको पाँच दिनसम्म घर, आँगन, गाउँटोल सफागरी यमपञ्चक पूजा गर्नाले मानिसको अकालमा मृत्यु नहुने र शुख—शान्ति तथा समृद्धि हुन्छ भन्ने मान्यता रहिआएको छ । यमराज मृत्युसँग सम्बन्धित हुने भएकाले यिनको पूजा गर्नाले पूर्ण आयु मिल्छ भन्ने मान्यता छ ।

प्रियंवदा काफ्ले 
सह–प्राध्यापक,वाल्मीकि विद्यापीठ 

यमपञ्चक के हो ?
पाँचदिनसम्म तिहार मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । पौराणिक कालमा तिहार तीन दिन मनाइन्थ्यो । पौराणिक कालमा लक्ष्मीपूजा, गोबर्धन पूजा, भाइटीका (द्वितीया) मनाउने चलन थियो । करिब वि.सं १९४२ पछिबाट काग र कुकुर तिहार पनि मनाउन थालिएको देखिन्छ । अमान्त–आश्विनकृष्ण–त्रयोदशीदेखि कार्तिकशुक्ल–द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भन्ने चलन नेपालमा रहिआएको छ । 

मानिस सर्वश्रेष्ठ प्राणी भएकाले काग, कुकुरलगायतका पशुपक्षी तथा जनावरलाई दैनिकरुपमा खान दिने उल्लेख भए पनि काग तथा कुकुर तिहारका बारेमा शास्त्रमा उल्लेख छैन । विभिन्न पञ्चाङ्गमा यमपञ्चकको बारेमा उल्लेख भएको पाइए पनि कुनै पनि प्रामाणिक धर्मशास्त्रग्रन्थमा यमपञ्चकको उल्लेख फेला परेको छैन ।

गृहस्थीसँग पशुपक्षी आश्रय लिने भएकाले पनि पशुपक्षीको मानिसले सेवा गरेका हुन् । तिहारमा मानिसका सहयोगी पशुपक्षीको समेत पूजा गरिने भएकाले प्राणीप्रतिको प्रेमलाई समेत यस पर्वले प्रकट गर्दछ । राणाशासनको समयमा यमपञ्चकमा जुवा खेल्नसमेत छुट हुने चलन भएको पाइन्छ । 

तिहारको पाँच दिनसम्म पाँचवटा छुट्टाछुट्टै प्रतीकको पूजा आराधना गरिन्छ । देव, गाई, घोडा, ब्राह्मण, स्त्रीको निराजन गर्ने कुरा निर्णयसिन्धुमा उल्लेख छ ।

काग तिहार शास्त्रमा छैन
तिहारको पहिलो दिनमा कागको पूजा गरी कागलाई खाना खान दिइन्छ । काक तिहारलाई काकबलि पनि भनिन्छ, जसको अर्थ हुन्छ, कागलाई खान दिनु । काकबलिका बारेमा कुनै धर्मग्रन्थमा उल्लेख छैन । यस दिन वैद्यहरु धन्वन्तरी जयन्ती मनाउँछन् । नेपाली पञ्चाङ्गहरुमा कागलाई बलि (भात, तरकारी, रोटी) दिने चलन छ । 

कागलाई पक्षीको प्रतिनिधिका रुपमा लिइन्छ । काग तिहारको विशेष विधायक शास्त्रवचन भने फेला परेको छैन । काकबलि दिन प्रतिदिन गर्ने पौराणकृत्य हो । काग तिहारमा यमको दुत मानिने कागलाई भोजन दिने विनाशास्त्रवचन चलाइएको जस्तो देखिन्छ । १९४१ संवत्मा सर्वप्रथम मुद्रित भएका नेपाली पात्रोमा र १९४२ संवत्का जीवनाथका पात्रोमा पनि काकबलिको उल्लेख देखिँदैन ।  

काग तिहारमा बेलुकी ढोका बाहिर यम दीप–दान गर्नाले अकालमा मृत्यु नहुने पुराणमा उल्लेख छ । कागलाई यमराजको सन्देश सुनाउने यमदुतको पक्षीका रुपमा पनि लिइन्छ । सन्देश वाहकको रुपमा पनि लिइने भएकाले कागको पूजा गरिन्छ ।  

कुकुर पूजा, नित्यकर्म
यमपञ्चकको दोस्रो दिन कुकुर तिहार हो । पूर्णिमान्त–कार्तिककृष्ण–चतुर्दशीमा कुकुर तिहार मनाइन्छ । कुकुर तिहारलाई नरकचतुर्दशी र श्वपूजा पनि भनिन्छ । तिहारको दोस्रो दिन कुकुरको पूजा गरी कुकुरलाई टीका–माला लगाइदिई भात–रोटीलगायतको परिकार खान दिइन्छ । पशुको प्रतिनिधिका रुपमा कुकुरलाई लिइन्छ । घरको रेखदेख गर्नेदेखि अपराधी पत्ता लगाउने कामसमेत कुकुरले गर्छ । प्राकृतिक प्रकोप तथा विपत्तिमा कुकुरले पूर्व सूचनासमेत दिन्छ । 

नरकचतुर्दशीका दिन सूर्य नउदाउँदै (बिहानै) नुहाएर चारसरा बत्तीले बनाएको दीप बालेर नदीमा बगाउने विधान छ, यस कर्मलाई नरकचतुर्दशीकृत्य भनिन्छ । 

श्वपूजाको विशेष विधान भने कुनै पनि प्रामाणिक धर्मशास्त्रग्रन्थमा देखिएको छैन । नेपाली पञ्चाङ्गहरुमा श्वपूजाका बारेमा उल्लेख भए पनि केका आधारमा कहिलेदेखि चलेको हो भन्ने अज्ञात छ ।  १९४१ संवत्मा सर्वप्रथम मुद्रित भएका नेपाली पात्रोमा र १९४२ संवत्का जीवनाथका पात्रोमा पनि श्वपूजाको उल्लेख देखिँदैन । श्वबलि पनि प्रतिदिन नै गर्नुपर्ने पौराणकृत्य हो । पुराणमा कुकुरलाई खान दिने बारेमा नित्यकर्मका रुपमा उल्लेख छ । 

धनको पूजा, लक्ष्मी पूजा
तेस्रो दिन लक्ष्मीको प्रतीकको रुपमा गाईको पूजाआराधना गरिन्छ । गाई पूजा औँसीको दिनमा गरिन्छ, जसलाई लक्ष्मी पूजा भनिन्छ । लक्ष्मी पूजामा धन दौलतकी प्रतीकको रुपमा लक्ष्मी पूजा गरिन्छ । लक्ष्मी पूजाको दिन विशेषगरी साँझदेखि बत्ती बालेर झिलिमिली पारिन्छ । उज्यालो दीप प्रज्वलित घरमा मात्रै लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ ।

चतुर्दशी दीपमालिका–लक्ष्मीपूजा–गोबर्धनपूजालाई बलिराज्यत्रिरात्र पनि भनिन्छ । दिपावलीको समयमा राजाले खेल्ने, उत्सव गर्न अनुरोध गर्नुपर्ने शास्त्रमा उल्लेख भएको पाइन्छ । दिपावलीको समयमा खेल्ने तथा उत्सव गर्ने परम्पराबाटै देउसी भैलोको सुरुवात भएको मान्न सकिन्छ । लक्ष्मीपूजाको दिन खेलिने देउसी भैलोले पनि तिहारलाई रौनक थपेको हुन्छ । देउसी भैलो खेलेर सामाजिक कामका लागि आर्थिक संकलनसमेत गरिन्छ । यस रातलाई सुख रात्रिका नामले पनि चिनिन्छ । 

चतुर्दशीदेखि तीन दिनसम्म साँझमा घर तथा देवताका मन्दिरमा दिपावली गर्नुपर्ने शास्त्रमा उल्लेख छ । 


उर्वर धनको पूजा
यम पञ्चकको चौथो दिन गोबर्धन पूजा गरिन्छ । गोबर्धन पूजाको दिन गाई तथा गोरुको पूजा गरी तेल लगाइदिने, टीका लगाईदिएर चामलको रोटी तथा पीठो खान दिने प्रचलन छ । गोबर्धन पूजाको दिनलाई गोरु पूजा पनि भनिन्छ । 

पौराणिक ग्रन्थअनुसार इन्द्रले गोकुलवासीलाई आफ्नो पूजा गर्न अनुरोध गर्छन् । तर कृष्णले भने गोकुलवासीलाई इन्द्रको पूजा नगर गोबरको थुप्रो अर्थात् गोबर्धन पर्वतको पूजा गर भन्छन् । गोकुलवासीले पनि गोबर्धन पर्वतकै पूजा गरेपछि आफ्नो पूजा नगरेको भन्दै इन्द्र रिसाएर भीषण पानी पार्छन् । गोकुलवासीलाई पानीले बगाउने खतरा भएपछि कृष्णले एक औँलाले गोबर्धन पर्वत उचालेर गोकुलवासी तथा प्राणीलाई बचाएको भन्ने पौराणिक कथा पाइन्छ । 

प्रतिपदामा गोबर्धनको प्रतिमा बनाएर प्रातःकालमा पूजा गर्ने धार्मिक मान्यता छ । दिउँसोको समयमा बाटोमा तोरण टाँगेर तोरणमुनिबाट हात्ती, घोडा, गाई, गोरु, भैँसी, राँगाहरु लैजानुपर्ने धार्मिक परम्परा उल्लेख भएको पाइन्छ । गोबर्धन पूजाको दिन गत एकादशीमा भुटिएका मकैको सातु बनाएर नुन, सातु, ढुटो मिलाएर पीँडो बनाएर गाई, गोरु, भैँसीलाई खुवाउने शास्त्रमा उल्लेख छ । सो दिन अघाउन्जेल नुन हालेको मकैको कुँडो खानदिने परम्परा पनि देखिन्छ । 

गोबरले उब्जनी शक्तिलाई बढावा दिने भएकाले गोबरलाई उर्वर धन मानी गोबरको पूजा गरिएको हो । गाईको गोबरले घर लिपपोत गर्दा पनि विभिन्न किसिमका संक्रमण नहुनुका साथै घरलाई शुद्ध गर्ने भएकाले गाईको गोबरलाई विशेष महŒवका साथ पूजा गरिएको हो । गोबरको पूजासँगै गोबर दिने गाई र गोरुको पनि सम्मानस्वरुप पूजा गर्ने चलन भएको देखिन्छ । 

धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पूजा गरिन्छ । यो दिन राम्रो लगाउने, नाचगान गर्ने, मिठो खाएर रमाइलो गर्नुपर्ने शास्त्रमा उल्लेख छ । रमाइलो नगरे वर्षदिनसम्म गरेका श्रौतस्मार्तधर्मबाहेकका अन्य पुराण धर्मको फल बलिराजालाई जानेछ भन्ने वरदान भगवान् विष्णुले बलि महाराजलाई दिनुभएको छ भन्ने पुराणमा उल्लेख छ । तिहारको अवसरमा रमाइलो गर्नेको वर्ष नै रमाईलोमै बित्ने र रमाइलो नगर्नेको वर्ष नै नरमाईलोमै बित्ने पुराणमा उल्लेख भएको पाइन्छ । 

नेवारी समुदायमा कार्तिक शुक्लप्रतिपदाको दिन बेलुका म्हपूजा(आत्मपूजा) गर्ने चलन पुराणमा उल्लेख भएको पाइन्छ । म्ह पूजामा आत्मको आरोग्य र दीर्घायुका लागि यमराजको पूजा गरिन्छ । यही दिनलाई नेपाल संम्वत्को नववर्षको दिनका रुपमा पनि लिइन्छ तर आत्मपूजा र नववर्षको विशेष सम्बन्ध भने पुराणमा उल्लेख भएको देखिँदैन । 

भाइटीका नमान्दा पुण्य नष्ट
तिहारको पाँचौं दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको विशेष महत्व छ । भाइटीकाका दिन दिदी–बहिनीले दाजु–भाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने प्रचलन छ । टीका लगाइसकेपछि दिदीबहिनीले मिठाई, फलफूललगायतका परिकार दिने र दाजुभाइले गच्छेअनुसार पैसा तथा कपडा दिने  प्रचलन छ । 

नेपालीहरुमा तिहारमा सयपत्री, मखमली, गोदावरीको माला लगाउने चलन छ । विशेषगरी मखमलीको माला लगाउने चलन देखिन्छ । लघुस्मृति पुराणमा कमलबाहेक अन्य राता फूलका माला लगाउनु अकल्याणसूचक मानिएको पाइन्छ । मखमलीको रातो माला राम्रो मानिँदैन  । सेतो मखमली फूलको माला र पहेँलो सयपत्री फूलको माला राम्रो मानिन्छ । 

पौराणिक कथनअनुसार भाइटीकाको दिन यमराजकी दिदी यमुनाले भाइपूजा गरी अटल प्रेम र दीर्घायुको कामना गरेकाले यसै दिनदेखि भाइटीकाको प्रचलन भएको मानिन्छ । 

कार्तिकशुक्ल–द्वितीयालाई भ्रातृद्वितीया पनि भनिन्छ । द्वितीयाको दिन यमुना नदीमा नुहाएर यमको पूजा गर्नाले यमलोक देख्नु पर्दैन भन्ने उल्लेख पद्मपुराणमा उल्लेख छ । यमुनाले कार्तिकशुक्ल–द्वितीयाका दिन यमको स्वागत–सत्कार गरी यमलाई आफ्ना घरमा भोजन गराएको र यमुनालाई पनि लुगागहनाले सत्कार गरेको भन्ने कथा पुराणमा पाइन्छ । 

भाइटीकाको दिन दाजु–भाइले दिदी–बहिनीको निम्तो पाएर वा नपाइकन पनि स्वेच्छाले नै दिदी–बहिनीका घर गई दिदी–बहिनीका हातबाट भोजन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । दिदी–बहिनीले दाजुभाइलाई तेल घसी बुकुवा लगाएर नुहाइदिएर सिंगार्ने परम्परा पुराणमा उल्लेख छ । भाइटीकाका दिन दाजुभाइलाई फूल माला लगाइदिएर दाल, भात, रोटी, पुआ, अचार, तरकारी, मिठा पक्वान्नलगायतका परिकार भोजन गराउने शास्त्रमा उल्लेख छ । ल्वाङ, सुपारी, पान दिएर दाजुभाइलाई सत्कार गर्ने शास्त्रीय परम्परा रहेको पाइन्छ । 
दाजु–भाइले पनि दिदी–बहिनीलाई लुगा तथा गर–गहना दिएर सत्कार गर्नुपर्ने पुराणमा उल्लेख छ । 

कार्तिकशुक्ल–द्वितीयामा दाजु–भाइ तथा दिदी–बहिनीले आपसमा स्वागत सत्कार गर्नाले यमुनाका प्रार्थनाले यमराजले यमुनालाई दिएका वरदानअनुसार दिदी–बहिनी विधवा हुनु नपर्ने भन्ने पुराणमा उल्लेख छ । दाजुभाइको पनि आयु र सुखसमृद्धि बढ्ने, नरक देख्नु नपर्ने हुनाले दुवैथरीको कल्याण हुने शास्त्रमा उल्लेख छ । भ्रातृद्वितीयामा दिदी–बहिनीका हातबाट भोजन नगर्ने दाजु भाइको वर्षदिनको पुण्य नष्ट हुने र तिनलाई ब्रह्महत्यादि पातकले सताउने भन्ने स्कन्द पुराण र अन्य पुराणमा उल्लेख छ । 
 

Leave A Comment