भाइ मसलामा पनि अरूकै भर

सोमबार, १९ कार्तिक २०७५, ०५ : १९ दिलीप पौडेल
भाइ मसलामा पनि अरूकै भर

तिहार नजिकिँदै जाँदा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’को व्यापार चम्किएको छ अहिले । स्टोरहरुमा दिदीबहिनीको भीड सुरु भइसकेको छ । दिदी–बहिनीलाई आकर्षित गर्न स्टोरहरु तिहारमय बनेका छन् ।

भाटभटेनीमा ग्राहकको चाहना अनुसार बदाम, काजु, ओखरको गुदी, पिस्ता, छोक्रा, काजु, किसमिस, मखना, नरिवल लगायत परिकार मिसाएर प्याकेट तयार गरेर राखिएको छ । तीन सय देखि हजार÷पन्ध्र सय रुपैयाँका पोका छन् ।

भाइ मसला किन्दै गरेकी काभ्रेकी मनमाया कोइरालाले सजिलोका लागि ‘भाइ मसला’ किन्न आएको बताइन् । ‘स–साना पोका भएकाले एक–एक वटा उपहार दिन सजिलो हुन्छ,’ उनले भनिन्, ‘हरेक वर्ष सुपर मार्केटमा आएर खरिद गर्छु ।’

अहिले डिपार्टमेन्टल स्टोर्स, किराना पसलदेखि सडक किनारासम्म यसकै व्यापार देखिन्छ । सबै सामग्रीलाई मिसाएर एउटै प्याक पारेर बेच्ने गरेका छन् । छुट्टा—छुट्टै खरिद गर्न पनि पाइन्छ । उपभोक्ताको सुविधाका लागि डिपार्टमेन्ट स्टोर्स तथा व्यापारीले सबै प्रकारका मसला एउटै प्याकमा बिक्री गरिरहेका छन् ।

तिहारमा प्रयोग हुने ओखर, बदाम स्वदेशमा उत्पादन भए पनि अन्य मसला विदेशबाट आयात हुने गरेको छ । दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्ने नेपाली चाडबाडमा पनि विदेशकै भर पर्नुपरेको छ ।
नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट ती सामग्री आउने गरेका छन् । भन्सार विभागको तीन महिनाको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला आयात भएको छ । 

तिहार नजिकिँदै जाँदा भाइ मसलाको व्यापार बढेको बिगमार्ट अनामनगरमा कार्यरत प्रमिला शर्मा बताइन् । ‘तिहारका लागि सामग्री किन्ने आउन थालेका छन्,’ गुरुङले भनिन्, ‘सबैले भाइ मसला नै किन्ने गरेका छन् ।’ उपभोक्ताको चाहनाअनुसार मसलासहित मिठाई बिक्री गर्ने गरेको गुरुङले बताइन् ।

दसैंपछि सुस्ताएको बजारमा फेरि चहलपहल बढेको छ । दसैंमा खसी, बोकाको खपत बढेजस्तै तिहार नजिकिँदै जाँदा भाइ मसला, टोपी, दाइभाइलाई उपहार दिने अन्य वस्तु, विद्युतीय सामग्री, माटाका भाँडाको व्यापार सुरु भएको छ । भाइ मसलाका अतिरिक्त तिहारमा कपडा, टोपी, झिलिमिली पार्ने विद्युतका सामग्रीको पनि व्यापार हुन्छ ।

उपत्यकासहित यहाँबाट बाहिरी जिल्ला जानेले पनि मसला खरिद गरेर लैजाने गरेका छन् । मसलासहित तिहारमा प्रयोग हुने सामग्रीले फुटपाथ व्यापार बढ्छ । तिहारमा फूलको व्यापार पनि फस्टाउँछ । घरायसी प्रयोजनका लागि उत्पादन गरेका बाहेक राजधानीमा तिहारलाई लक्षित गरेर करिब २२ लाख माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । राजधानीमा काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, हेटौंडालगायतका जिल्लाबाट फूल, माला ल्याएर बिक्री गरिन्छ । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको छ । 

यहाँ खपत हुने करिब तीन लाख माला भारत लगायतका मुुलुकबाट आयात हुने एसोसिएनका अध्यक्ष कुमार कसजूले बताए । एसोसिएसनका अनुसार करिब १५ लाख थान सयपत्री र सात लाख गोदाबरीको माला खपत हुन्छ ।

माला गोटाको ३५ देखि ५० रुपैयाँमा बिक्री हुन्छ । तिहारमा दिदीबहिनीले दाजुलभाइलाई लगाइदिने सयपत्री माला पनि स्वदेशी उत्पादनले नपुगेपछि विदेशबाट आयात गरिन्छ । व्यवसायीले भाइटीकालाई भारतबाट तीन लाख सयपत्री माला आयात गर्ने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । यहाँ उत्पादन भएका फूलले बजारको माग नधानेपछि विदेशबाट ल्याइन्छ ।
 


 

Leave A Comment