अनलाइनबाटै उपहार

मङ्गलबार, २० कार्तिक २०७५, ०२ : २३ शुक्रवार
अनलाइनबाटै उपहार

भाइटीकालाई लक्षित गरेर विभिन्न अनलाइन व्यवसायहरुले विशेष अफर सुरु गरेका छन् । कतिपयले छुटका अफर ल्याएका छन् भने कतिपयले ग्राहकलाई चाहिने नयाँ सामान अपलोड गरिरहेका छन् । 
यसको पछिल्लो उदाहरण हो– भाइटीकालाई चाहिने माला । माला किन्न कहाँ भौतारिनुहुन्छ ! तपाईंले घरमै बसबसी दाजुभाइलाई मन पर्ने मखमली माला अनलाइनबाटै अर्डर गर्न सक्नुहुन्छ । 

यो सेवा दिएको ‘मुन्चा डट कम’ले । नेपालमा पुरानोमध्येको अनलाइन सपिङ ‘मुन्चा डट कम’ले भाइटीकालाई चाहिने माला उपलब्ध गराएको छ । ‘हामीले अहिले अफरभन्दा पनि भाइटीकालाई चाहिने सामान अपलोड गरिरहेका छौं,’ महर्जनले भनिन्, ‘तपार्इंले अनलाइनबाट माला अर्डर गर्न सक्नुहुन्छ ।’
‘मुन्चा डक कम’ले भाइटीकाको अवसरमा विभिन्न इभेन्ट गर्दै छ भने ग्राहकलाई आवश्यक पर्ने सामानसमेत अपलोड गरिरहेको छ । भाइटीकाका बेलामा चाहिने सामान र उपहारहरुलाई अपलोड गरिरहेको महर्जनले बताइन् । 

त्यसैगरी, सन् २००८ देखि सुरु भएको ‘माइनेपसप’बाट पनि तपार्इंलाई आवश्यक पर्ने जुनसुकै सामान अर्डर गर्न सक्नुहुन्छ । यस अनलाइन सपिङले बेभरेज, गिफ्टदेखि जुनसुकै उमेरलाई चाहिने सामान उपलब्ध गराउने यसका निर्देशक संजिवकुमार श्रेष्ठले बताए । 

‘हामीले काठमाडौं उपत्यकासहित नेपाल र विदेशमा सामान डेलिभर गर्छौं,’ श्रेष्ठले भने, ‘सामान्य शुल्क लिएर सामान उपलब्ध गराउँदै आएका थियौं ।’ अनलाइन सुरु भएको ४ वर्षसम्म निःशुल्क सेवा दिएकोमा व्यवसाय धान्न गाह्रो भएपछि सामान्य शुल्क लिन सुरु गरेको उनले बताए । 
विशेषगरी विदेशीमा पनि सामान उपलब्ध गराउँदै आएको र गैरआवासीय नेपालीहरु आफ्ना ग्राहक भएको उनले बताए । 

विभिन्न चाडपर्व र अवसरहरुमा अनलाइनहरुले अफरसमेत ल्याउने भएकाले अनलाइन ग्राहकको रुचिमा परिरहेका छन् । यस्तै ग्राहकले मन पराएको अर्को अनलाइन सपिङ हो ‘किताब यात्रा’ । यो अनलाइनसँग फोन, इमेल र विभिन्न सामाजिक सञ्जालमार्फत पनि आफूलाई मन पर्ने किताब अर्डर गर्न सकिन्छ । 
तिहारको उपलक्ष्यमा दिदीबहिनी वा दाजुभाइलाई किताब उपहार दिने सोच बनाउनुभएको छ भने ‘किताब यात्रा’ उपयुक्त सेवा हुन सक्छ । 

‘किताब यात्रा डट कम’बाट आफूलाई मन परेको किताब अर्डर गर्न सकिने किताब यात्राका कार्यकारी अधिकृत ऋषिराम अधिकारीले बताए । भाइटीकाको अवसरमा ‘किताब यात्रा’ले विशेष अफरसमेत ल्याएको छ । उनका अनुसार ‘खल्ती डट कम’बाट पैसा बुझाउने ग्राहकले किताबको मूल्यको १५ प्रतिशत छुट पाउने अधिकारीले बताए । 

‘सामान्तया हामीले १० प्रतिशत मात्र छुट दिँदै आएका छौं,’ अधिकारीले भने, ‘खल्ती डट कम’बाट पे गर्नेले थप ५ प्रतिशत छुट पाउनु हुन्छ ।’ 
दसंैको उपलक्ष्यमा ‘किताब यात्रा’बाट किताब किन्ने ग्राहकलाई विभिन्न पुरस्कारसमेत घोषणा गरेको थियो । तिहारपछि लाइभ गरेर उक्त पुरस्कार दिने अधिकारीले बताए । 

‘किताब यात्रा’ सुरु गरेको ९ महिना धेरै राम्रो प्रतिक्रिया पाएको उनले बताए । किताब यात्राले नेपालमा २३ ठाउँमा सेवा दिन्छ भने अन्य ठाउँमा प्रि–पमेन्ट गरेर किताब उपलब्ध गराउन सक्ने उनले बताए । 
अनलाइन सपिङमा गएसँगै नेपालमा बाहिरको पाठकहरुमाझ लोकप्रिय बन्न सकेको अनुभव अधिकारीसँग छ । १० प्रतिशत छुटमा आवश्यक कुरियरको शुल्क तिरेपछि ‘किताब यात्रा’ले एक हप्ताभित्र कुनै पनि देशमा किताब उपलब्ध गराउने अधिकारीले बताए । 

पछिल्लो समय अनलाइन सपिङ व्यवसाय फस्टाएको व्यवसायीहरुको भनाइ छ । घरमै बसीबसी आफूलाई मन पर्ने सामान किन्न पाइने भएकाले यो व्यवसाय ग्राहकलाई पनि रुचिकर नै देखिएको छ । 
अहिले मुलुकमा कत्तिमा पनि ४० देखि ५० वटा यस्ता अनलाइन सपिङ चलिरहेको ‘माइनेपसप’का निर्देशक श्रेष्ठले बताए । ठूलो संख्यामा अनलाइन सपिङ व्यवसाय पनि धेरै टिक्न नसक्ने उनले बताए । 
‘सुरु सुरुमा निकै उत्साहका साथ अनलाइन सपिङ सुरु गर्छ,’ श्रेष्ठले भने, ‘पछि खर्च धान्न नसकेर धेरै हराएर पनि गएका छन् । आउने जाने क्रम जारी छ ।’

पछिल्लो समयमा निश्चित क्षेत्रका लागि मात्र पनि अनलाइन सपिङ सुरु भएका छन् । स्थानीय क्षेत्र जस्तो कि हेटौंडा वा बुटवल क्षेत्रका लागि मात्र पनि अनलाइन सपिङ सुरु भएका छन् । 
धेरै अनलाइन आएसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको र ग्राहकले सस्तो मूल्यमा सामान पाउन थालेको श्रेष्ठको भनाइ छ । 


 

Leave A Comment