सेल पकाउने काइदा

मङ्गलबार, २० कार्तिक २०७५, ०२ : ५० शुक्रवार
सेल पकाउने काइदा

झिलिमिली बत्ती, सप्तरंगी टीका र सयपत्री, मखमली फूलका मालाले मात्रै होइन, सेल रोटीले पनि तिहार निम्त्याउने गर्छ । अझै देउसी भैलीका टोलीहरु सेल रोटीको बास्ना सुंघ्दै र ‘झिलिमिली झिल्का, तातो रोटी मिल्का’ गाउँदै घरदैलो चाहार्ने अनि घरबेटीले पनि नाङ्लाभरि तातो सेल रोटी र दक्षिणा दिने चलनले तिहारमा रौनक थप्ने गर्दछ । यसरी तिहारमा सबैको घरघरमा पाक्ने सेल रोटी कसरी पकाइन्छ त ? गृहणी लक्ष्मी सापकोटाको टिप्स । 

सेल रोटी पकाउने सामग्रीहरु

चामलको पिठो 
गाउँघरमा पहिले ढिकीमा पिठो कुट्ने चलन थियो । जसका लागि सुरुमा चामल दुई घण्टाजति भिजाउने र पानी तर्काएर ढिकीमा घान लगाई लगाई कुट्ने । पिठो धेरै मसिनो नबनाई हल्का खस्रो बनाउँदा सेल रोटी राम्रो बन्छ । पिठो कुट्दा सँगै राम्रोसँग जमेको घ्यू मिसाउँदा रोटी राम्रोसँग फुल्छ ।
आजभोलि ढिकीमा भन्दा मिलमा चामल पिस्ने भएकाले एक किलो मसिनो पिठोमा दुई पाउजति खस्रो पिठो र डेढ पाउजति मैदा मिसाउँदा पिठो राम्रो सेलरोटी पकाउन लायकको हुन्छ । 

चिनी
हामी सेल रोटीमा चिनी या गुलियो स्वाद दिने सख्खर या मिश्री पनि राख्न सक्छौं । चिनी स्वादअनुसार राख्न सकिन्छ । यदि धेरै गुलियो खान मन लागे दुई किलो पिठोमा तीन पाउ चिनी राख्न सकिन्छ र कम खान मन लागेमा दुई पाउ चिनी ठिक हुन्छ । 

पानी 
सेल रोटी पकाउनुअघि हामीले पानी राखेर त्यसलाई मुछ्नुपर्छ । यसरी मुछ्दा धेरै पानी राखेर पातलो बनाउन पनि हुँदैन र कम पानी राखेर साह्रो बनाउन पनि हुँदैन । पिठोलाई हातमा उठाउन मिल्ने र हातबाट घुमाउन मिल्ने जति पानी राख्नुपर्ने हुन्छ । 

अन्य
हामीले यसमा स्वादअनुसारको अलंैची, ल्वाङ, सुकमेल, दालचिनीलगायतका मसला पनि राख्न सक्छौं । यदि रोटी फुलाउन मन लागे त्यसमा सोडा पनि राख्न सकिन्छ ।  

पकाउने विधि
एउटा गहिरो भाँडोमा चामलको पीठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हाली मुछ्ने । त्यसपछि आधा घण्टा त्यत्तिकै छोड्ने । एउटा ताई (सेल पकाउने भाँडो) मा सेल डुब्ने गरी घ्यू या तेल तताउने । घ्यू या तेल तातेपछि मुछेको पिठो वृत्ताकार (गोलो) बनाएर ताईमा पकाउने । 
यसरी गोलो बनाउन हामी सोलीको प्रयोग पनि गर्न सक्छौं । यदि सोली नभए हातैले पनि गोलो बनाउन सकिन्छ । 
गोलो बनाएर घ्यू या तेलमा पिठो हालिसकेपछि त्यसलाई झिर या चिम्टाले फर्काउँदै रातो रातोसम्म बनाएर पकाउन सकिन्छ ।  रोटी रातोरातो भएपछि निकाल्ने र घ्यू या तेल तर्काएर राख्ने अनि खान र ख्वाउन सकिन्छ ।  
 

Leave A Comment