‘गायकले नाफाघाटाको हिसाब गर्दैन’

सोमबार, १० साउन २०७३, ०२ : १३ डिबी खड्का , Kathmandu
‘गायकले नाफाघाटाको हिसाब गर्दैन’

लोकगीतमा अहिले पश्चिम क्षेत्रका गीत हाबी भइरहेका छन् । धेरै कलाकार पनि त्यतैका देखिन्छन् । पूर्वी क्षेत्रका लोकगीतलाई जोगाइराख्ने औँलामा गन्न सकिने गायकमध्ये पर्छन्, तुलसी पराजुली । उनले गाएका ‘कान्छीको छाता ढल्काइदेऊ यता’, ‘सालैजो’, ‘आकाशैको कालो बादल’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’लगायत गीत निकै चर्चामा छन् । भर्खरैमात्रै उनको ‘आधिमाया’ नामक एल्बम बजारमा आएको छ । कलाकारको हकहितका लडिरहेको संस्था प्रस्तोता समाजका उपाध्यक्षसमेत रहेका पराजुलीसँग डिबी खड्काको अन्तरंग कुराकानीः


लोकगीतमा त अहिले पश्चिमेली गीत हाबी भइरहेको छ । पूर्वले लोकसंगीत भुल्दै गएर हो ?
अहिले हाबी भएको गण्डक क्षेत्रको लोकदोहोरी गीत हो । यो पूर्ण व्यावसायिक भइसक्यो । यसलाई लोकगीत भन्न मिल्दैन पनि । किनभने, अहिले आइरहेका लोकदोहोरी गीतले लोकको मर्म बोक्न लगभग छाडिसकेका छन् । ती लोकगीतका लय भावनामा भन्दा पनि शब्दमा केन्द्रित छन् । त्यसैले तिनलाई व्यावसायिक दोहोरी गीत भन्दा उपयुक्त हुन्छ । वास्तविक लोकगीतको हालत त पूर्वदेखि पश्चिमसम्मको उस्तै छ । त्यस्ता गाउने कलाकार पनि औँलामा गन्न सकिने मात्रै छन् ।
गीतलाई व्यावसायिक बनाइएन भने कलाकारलाई बाँच्न मुश्किल पर्छ भन्ने तर्क गरेको पनि कलाकारबाटै सुनिन्छ ।
मलाई त्यस्तो अवस्था छ जस्तो पनि लाग्दैन । लोकगीतलाई माया गर्नेहरू पनि छन् । तर, वास्तविक स्रष्टा कहिले अभावविहीन भएको छ र ? पेशागत इमानदारी निर्वाह गर्ने हिजो पनि संकटमा थिए, आज पनि होलान् । उनीहरूको मूल्यांकन समयले गर्छ । हिजो झलकमान गन्धर्व, लालबहादुर खातीहरूले भोको पेटमा लोकगीत नगाइदिएका भए अहिले हामी बाँच्न सक्दैनथ्यौँ । अहिलेसम्म उनीहरूका गीत उस्तै प्रिय हुने थिएनन् । लोकगीत गाउने कलाकारले नाफाघाटाको हिसाबकिताबमात्रै राख्नु हुँदैन । आफ्नो संस्कृति र पहिचानका लागि गरेको योगदान सम्झेर पनि कहिलेकाहीँ सन्तुष्ट हुनुपर्छ ।

तपाईंको चर्चित गीत ‘कान्छीको छाता’ कसरी सिर्जना भयो ?
संगीतकार महेश खड्काले सुनकोशी किनारका माझी बस्तीमा सुनेर ल्याउनुभएको गीत हो यो । उहाँले मलाई सुनाउनुभयो, म गीत गाउनुअघि त्यो माझी बस्तीमा गएँ । यो गीतको लय त्यहाँका माझीहरू ठट्यौला गीत गाउँदा प्रयोग गर्ने रहेछन् । शब्द फरक भए पनि लय यही थियो । अघिल्ला दुई लाइन ‘आज मादल काँ बज्यो सुनकोशी किनारैमा, कान्छीको छाता ढल्काइदेऊ यता घाम प¥यो निधारैमा’ सुनेर टिपिएका हुन् भने बाँकी सिर्जना गरिएका हुन् ।

तपाईंकै अर्काे हिट गीत ‘सालैजो’ पश्चिमतिर पनि मगर समुदायमा प्रचलित छ । तपाईंले पूर्वेली लयमा गाउनुभयो ।  कसरी पुगेछ त्यहाँ ?
म धनकुटाको २४ क्षेत्रमा जन्मेहुर्केको हुँ । जहाँ मगर जातिको बाहुल्य छ । पश्चिम क्षेत्रका मगर समुदाय सर्दै त्यहाँ पुगेका हुन् । पश्चिममा यो गीत अलि ढिलो गाइन्छ तर पूर्वमा पुग्दा परिमार्जित हुँदै चाँडो भएछ ।  त्यही टिपेर गाएको हुँ ।
धनकुटामा जन्मेहुर्केको मान्छे, कसरी ‘खोटाङ जिल्ला दिक्तेल बजार’ गीत गाउन पुग्नुभयो ?
यो लय खोटाङका नेवार समुदायमा प्रख्यात रहेछ । भक्तमान श्रेष्ठले त्यहाँबाट टिपेर ल्याइदिनुभयो ।
तपाईंलाई हिट पनि यही गीतले बनायो है !
मैले पहिलोपल्ट २०५२ सालमा ‘सारंगी बजाउँदै गाइने दाइ आयो’ भन्ने गीत गाएको थिएँ । यो गीत पूर्वमा त हिट भएकै थियो । तर, मलाई सबैतिर हिट चाहिँ ‘खोटाङ जिल्ला’ले गरायो ।
पहिलो गीत हिट हुँदाको अवस्था कस्तो थियो ?
मैले गीत रेकर्ड गराएर गएँ । रेडियोमा बजिरहेको थियो । एकपल्ट धनकुटा रेडियोमा पुगेको थिएँ, उक्त गीत बजाउनका लागि फर्माइस गरिएका चिठीको चाङ देखेर चकित परेँ ।
‘कान्छीको छाता’ आएपछि तपाईंले कस्ता–कस्ता प्रतिक्रिया पाउनुभयो र परिस्थिति झेल्नुभयो ?
यो गीतको सुटिङका क्रममा मैले चेक सर्ट लगाएको थिएँ । मान्छेहरूले त्यो सर्टका कारण पछाडिबाटै चिनेर ‘कान्छीको छाता’ भनेर जिस्क्याउन थाले । मलाई लाग्यो, सर्टकै पहिचान बनिसक्यो । पछि लगाउन छाडेर सजाएर राखेँ । धेरै स्टेज कार्यक्रममा जाँदा यो गीत गाउँछु । पानी वा कडा घाम लाग्ने सिजनमा हरेकले छाता बोकेर आएका हुन्छन्, यो गीत गाउँदा त ग्राउन्डमा छातैछाता लटरम्म हुन्छन् । धेरै कान्छीहरू छाता ढल्काउँछन् । कति जोडले चिच्याउँछन्– ‘कान्छाको छाता ढल्काइदेऊ यता’ भन्दै ।
गायक बन्ने धुन कसरी चढ्यो ?
मेरो रगतमै संगीत थियो कि जस्तो लाग्छ र त्यसले कहीँ न कहीँ असर पार्छ जस्तो पनि लाग्छ । किनभने, मेरी आमा घाँसदाउरा गर्न जंगल जाँदा जँगलै थर्काउने गरी गीत गाउनुहुन्थ्यो रे । मैले पनि गाउँतिर हुने मेला–पर्वमा गाएँ । पछि धरानमा भएको रेडियो नेपालको ‘खोजी प्रतिभाको’ कार्यक्रम हुँदै गायक बन्न पुगेँ ।
आफ्ना गीतसंगीत सार्वजनिक समारोहमा छोरीलाई पनि लिएर आउनुहुन्छ । छोरीको लोकसंगीतप्रति मोह जागोस् भनेर हो ?
एकपल्ट युरोपमा कार्यक्रम गर्न जाँदा एकजना दाइले आफ्नो छोरालाई चिनाउँदै भन्नुभएको थियो, ‘भाइ, विदेशमा आएर यसै गरी लोकगीत सुनाइरहने इच्छा छ भने छोराको पुस्तासँग दोस्ती गर । उनीहरूलाई लोकगीतको महŒव र गहिराइ बुझाऊ । मलाई उहाँको कुरा मनासिब लाग्यो । मैले छोरीलाई कार्यक्रममा ल्याउनुको कारण केही सुनोस् र बुझोस् भनेर हो । यद्यपि, अहिलेसम्म लोकगीत सुन्नुपर्छ वा गाउनुपर्छ भनेर कर गरेको छैन । गर्नु पनि हुँदैन ।
तपाईंको गीतप्रति छोरीको प्रतिक्रिया कस्तो रहन्छ ?
मूल्यांकन नै गरिहाल्ने उमेर चाहिँ भएको छैन । तर, राम्रो छ भन्छे । उनीहरू अंग्रेजी गायिका सेलेनाहरूका गीत सुनिरहेका हुन्छन् । साथी–संगत र समयअनुसार उनीहरू चलिरहेका छन् । चल्न दिनुपर्छ तर बुझ्ने भएपछि आफैँ सम्झेलान् ।
भर्खरै तपाईंले एउटा गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेर यसलाई अभियान बनाउने घोषणा गर्नुभएको थियो । अरूले ठगेको महसुस गरेर हो ?
विश्व संगीतबजार फिजिकलबाट डिजिटलमा आइपुग्दा सर्जक झन् मालामाल भएका छन् । तर, नेपालको स्थिति उल्टो भयो । हाम्रो डिजिटल दुनियाँमा रहेको कमजोर पहुँचका कारण ठगियौँ । अहिले युट्युबमा पनि हाम्रा गीतबाट लाभ अरूले नै लिइरहेका छन् । त्यसैले अब सर्जक आफैँले सचेत भएर अघि बढ्नुपर्छ भनेर यो अभियानको थालनी गरिएको हो ।
रोयल्टी दिलाउने संस्थामा पनि हुनुहुन्छ । अहिलेको ठ्याक्कै अवस्था के छ ?
हामीले एउटा सर्भे गरेर हेरेका थियौँ । जसअनुसार अहिले संगीत उद्योगमा वार्षिक १८ अर्ब रुपैयाँको कारोबार हुने रहेछ । यो कारोबारको लाभ न सरकारले पाएको छ न सर्जकहरूले नै । बिचौलिया वा पाइरेसी गर्नेले संगीतको फाइदा उठाइरहेका छन् । यसै गरी, होटेल, यातायात, टीभी र रेडियोमा बजेको रोयल्टी पनि पाउने अवस्था छैन । हामीले सरकारलाई निरन्तर घचघच्याइरहेका छौँ । केही सकारात्मक प्रतिक्रिया पाइरहेका पनि छौँ ।
एल्बम बिक्ने समयमा तपाईंका एल्बम कति प्रतिसम्म बिकेका थिए ?
‘कान्छीको छाता’ १ लाख ५० हजार प्रति, ‘खोटाङ जिल्ला’ १ लाख ३५ हजार प्रतिसम्म बिकेको हिसाब बिक्रेताले बुझाएका थिए । त्यो बेला पनि हामीहरूले बिक्रेताले दिएको हिसाब सही ठानेर चित्त बुझाउनुपथ्र्यो । एकप्रति एल्बमको रोयल्टी पाँचदेखि छ रुपैयाँसम्म पाइन्थ्यो ।
तपाईंहरूका सुनौला दिन त तिनै थिए !
मैले ती दिनको अनुभव धेरै लिन पाइनँ । त्यो समयमा एल्बम बिक्नेमात्रै होइन, राम्रो गायकको गीत बजारमा ल्याउन म्युजिक कम्पनीले पनि हानथाप गर्थे । मैले एउटा गीतबाट हिट्स एफएम अवार्ड पाउँदा अर्काे गीत निकाल्न त्यही दिन एउटा कम्पनीले दुई लाख रुपैयाँ अग्रिम दिएको थियो ।
तपाईंजस्ता लोकगीत गाउनेहरूलाई अहिले धेरै नै हुने स्टेज कार्यक्रममा कत्तिको निम्तो आउँछ ?
मेरा धेरै गीत स्टेज सुहाउँदा छन् । नाच्न मिल्ने खालका छन् । त्यसैले म स्टेजमा व्यस्त रहने गायकमध्ये पर्छु ।

 

Leave A Comment