विदेशीको गुपचुप मस्ती

आइतबार, ०२ मङि्सर २०७५, ०३ : ४५ केपी ढुंगाना
विदेशीको गुपचुप मस्ती

कात्तिक १६ मा अर्घाखाँचीको बुङ्ची खोला किनारमा टन्नै विदेशी नागरिक देखिए । निजी जग्गामा टेन्ट हालेर बसेका उनीहरुको व्यवहार अनौठो थियो । कोही अर्धनग्न, कोही नाङ्गाबुङ्गा देखिए । चर्को संगीतको तालमा झुमिरहेका थिए उनीहरु ।

नाङ्गै रहेका विदेशीको समूह रहेको स्थानीयको सूचनाका आधारमा प्रहरी त्यहाँ पुग्दा महिला–पुरुष सरोबर थिए । सूचनाअनुसार नै केही नाङ्गै, अधिकांश अद्र्धनग्न । त्यतैका स्थानीयले समेत जमघट नगर्ने ठाउँमा त्यत्रा विदेशी देखेर प्रहरी छक्कै परे । 

सोधखोज गर्दा अमेरिका, अस्ट्रेलिया, इजरायल, पोल्यान्ड र भारत लगायतका ४० देशका ७० जना जति रहेको देखियो । कोही डक्टर, कोही इन्जिनियर, कोही बैंकर्सहरु पनि थिए । उनीहरुलाई त्यो सुनसान ठाउँमा पुर्याउने काम गरेका थिए, ललितपुरका सुशान्त पौडेल, कपिलवस्तुका मोतिराम गैरे, बाराका दीपेन्द्र सोनार र शालिकराम पोखरेल । 

अर्घाखाँचीको बुङ्ची खोला । तस्बिर : नेपालखवरडटकम

कार्यक्रम स्थलबाट संकलन गरेको चुरोटको ठुटोको परीक्षणमा उनीहरुले गाँजा सेवन गरेको खुलेको थियो । केही सामान खोलामा बगाइसकेका थिए । 

प्रहरीले विदेशीलाई आ–आफ्नो देश पठायो भने चार जना नेपालीलाई नियन्त्रणमा लिएर कार्बाही अगाडि बढायो । अहिले यी चारै जना जिल्ला प्रशासन कार्यालयबाट २०–२० हजार धरौटीमा छुटिसकेका छन् ।
‘अर्काको जग्गामा टेन्ट राखेर होहल्ला गर्ने र नग्न बस्ने गरेको देखेपछि नेपालीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्दा चलाएका थियौं,’ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी नवराज मल्लले भने, ‘अहिले धरौटीमा छुटिसके ।’

अर्घाखाँचीको अनकन्टारमा ठाउँमा त्यत्रा विदेशी पुर्याएर जुन प्रकृतिको कार्यक्रमको आयोजना गरियो, त्यसको प्रकृतिले त्यो ड्रग्स, चर्को संगीत र खुला सेक्सका लागि बदनाम ट्रान्स पार्टी रहेको पुष्टि गर्यो । 
ट्रान्स पार्टी हिप्पी संस्कृतिको निरन्तरता हो । सन् १९९० तिर संगीतको माध्यमबाट योग गर्ने भन्दै सुरु भएको यस किसिमको प्रवृत्ति अहिले पार्टी ड्रग्सका लागि बदनाम बन्न पुगेको छ ।

पार्टीमा नशामा चुर भएर आफूलाई मन लागेको व्यवहार गर्न यसका पारखी विश्व चहार्ने गर्छन् । रेभ पार्टीको रुपमा समेत परिचित यस्तो पार्टी नेपालमा आयोजना गर्न प्रतिबन्ध छ । तापनि लुकिछिपी यस्ता पार्टी आयोजना हुने क्रम रोकिएको छैन । 

कसैले विश्व शान्ति संगीतको नाममा त कसैले धार्मिक कार्यक्रमको आवरणमा नशामा चुर भएर इन्जोय गर्ने ट्रान्स समुदायका सदस्यलाई नेपालमा भित्र्याउने गरेका छन् ।

ट्रान्स तथा रेभ पार्टी आयोजनामा समन्वय गर्ने वेबसाइट र सामाजिक सञ्जालमा फेला परेका तस्बिर र दृश्यले पछिल्लो समय विश्वका विभिन्न देशमा छरिएर रहेका यस्तो समूहका सदस्यमाझ नेपाल आकर्षक गन्तव्य बन्दै गएको देखाएको छ । 

नेपाली र भारतीय नागरिक मिलेर सांगीतिक कार्यक्रमको आवरणमा नशाका अम्मली विदेशी नागरिकलाई नेपालमा गोप्य मोजमस्तीको तारतम्य मिलाउने गरेको देखिएको छ । अर्घाखाँचीमा जे कार्यक्रम भएको थियो, त्यसको उद्देश्य निष्फिक्री नशा सेवन गरेर चर्को म्युजिकमा मन लाग्दी गर्ने त्यही ट्रान्स कल्चरको निरन्तरता थियो ।

गोवाबाट भित्रिएको विकृति
म्युजिक थेरापीको रुपमा सुरु भए पनि पछिल्लो समय लागूऔषधको चर्को प्रयोगले ट्रान्स पार्टी बदनाम हुने गरेको छ । धेरै देशमा यस किसिमको पार्टी प्रतिबन्धित छ तर यसका शौखिनहरु रोकिएका छैनन् । विश्वभर छरिएका यसका पारखीलाई साइट्रान्स समुदाय भनिन्छ ।

ट्रान्स म्युजिकमा झुमाउने ट्रान्स र रेभ पार्टी विश्वका विभिन्न कुनामा हुने गरेको छ । त्यही कुनामध्ये नेपाल पनि एक हो ।

नेपालमा २८ वर्षअघि भारतको गोवाबाट यस्तो पार्टी भित्रिएको देखिन्छ । गोवामा ट्रान्स पार्टीको प्रारम्भ स्विजरल्यान्डका हात्तीबाबा नामक व्यक्तिले गराएको यस समुदायले चलाएको मसरुम म्यागेजिनमा वेबसाइटमा उल्लेख छ । 

भारतमा आएका हिप्पीहरुलाई नेपाल घुम्न ल्याउँदा स–सानो समूहमा यस्ता कार्यक्रम आयोजना गराएर उनै हात्तीबाबाले नेपाल भित्र्याएका थिए यसलाई । काठमाडौं र पोखराका जंगल र डाँडामा आयोजना हुने यस्ता कार्यक्रम माओवादी द्वन्द्व चर्किएसँगै सुस्ताएको थियो । सशस्त्र द्वन्द्वको समापनसँगै पुनः यो समुदाय नेपालमा सक्रिय हुन थालेको हो । 

यस्ता कार्यक्रममा किशोर–किशोरीको बढ्दो सहभागिता, लागूऔषधको अधिक प्रयोगका कारण हुने मृत्यु, यौनजन्य हिंसा, बलात्कार र लागूऔषधको खुला बिक्रीका कारण भारतले गोवा, पुणे लगायतका क्षेत्रमा हुने ट्रान्स र रेभ पार्टीमा प्रतिबन्ध लगाएको थियो । उता कडाइ हुन थालेपछि यसका शौखिन र कारोबारीहरु अहिले नेपालमा सक्रिय भएका हुन् । अहिले भारतीय र नेपाली नागरिक मिलेर विभिन्न बहानाका नेपालमा ट्रान्स पार्टीको आयोजना गरिरहेको यो घटना पछिल्लो हो ।

खैरेनीहरु अत्ति, हैट् !
२०६९ बैशाख १० देखी १२ सम्म पोखराको फूलबारी रिसोर्टमा भएको ट्रान्स पार्टीबारे फेसबुकमा भएको कुराकानी फेला पर्यो । कुराकानीमा संलग्न थिए, त्यही पार्टीमा सुरक्षाका लागि खटिएका एक युवा र उनका परिचित । उनले ट्रान्स पार्टीको तस्बिर राखेपछि परिचितले संवाद शुरु गरेका थिए । संवाद यस्तो छः
–ट्रान्स पार्टी हो कि क्या हो ?
–अँ यार
–बार्बिक्यु थियो कि थिएन ?
–सेक्स धेरै थियो । बार्बिक्यु त नथिङ । टेन्टहरु भएको पिक्स हेर्नु । खैरेनीहरु त अत्ति, हैट् !
(    उनले माथिल्लो भाग नाङ्गै भएर मैदानमा सुतेकी एक युवतीको तस्बिर राखेका थिए ।)
–यसैमा देखिन्छ नि हर्कत् ! त्यसै थाहा भयो नि ! केही ख्याँस्यौ कि नाइँ ?
–    (उनी हास्छन् मात्र)
–    हा हा कति मायौं बेबीहरु ?

ट्रान्स पार्टी सुरु भएकै दिन तस्बिर बाहिरिएपछि निक्कै विवादमा तानिएको थियो सो कार्यक्रम । ट्रान्स पार्टीका लागि पूmलबारी होटेलमा अनलाइनमार्फत् एक सय ५० वटा कोठा बुक गरिएका थिए । रिसोर्टको परिसरमा पार्टीमा सहभागीहरुका लागि करिब ६० वटा क्याबिन टेन्ट निर्माण गरिएका थिए । पर्यटन मन्त्रालय र जिल्ला प्रशासन कास्कीले कार्यक्रमको स्वीकृति दिएकाले होटलबाहिर सुरक्षामा प्रहरी खटिएको थियो । बाहिर प्रहरी थियो, भित्र ड्रग्सको कारोबार भइरहेको थियो ।

बन्दिपुरमा पाँच वर्षअगाडि भएको ट्रान्स पार्टीको भिजुअल रहेको युट्युब च्यानलमा एक सहभागी एलेक्जेन्डर कोलेन्सले लेखेकी छन्, ‘द एलएसडी ( लागुऔषधको नाम) इज स्ट्रोङ इन दिस वन ।’ यसले सो पार्टीमा लागू औषधको मज्जाले प्रयोग भएको प्रस्ट पारेको थियो ।

फेस्टिबलबारे जानकारी दिन गुगल ग्रुपमा सन्नीडट श्रेष्ठले राखेको सन्देशको अन्तिममा लेखिएका छ, ‘बम भोलेनाथ, सबकुछ मिलेगा ।’

आठ वर्षअगाडि आयोजना भएको माउन्टेन म्याडनेस नेपाल कार्यक्रमको पेजमा फ्रिदा नेपेराजले लेखेको सन्देशले उनी नेपालमा आयोजना हुने यस्ता कार्यक्रममा सहभागी भइरहने देखिन्छ । उनले लेखेकी छन्, ‘आई उड लभ टु बम भोलेनाथ विथ यु एन्ड एमपी क्राउड ।’ बम भोलेनाथ अर्थात् गाँजा ।

यस्तो पार्टीबारे जानकार एक अधिकारीका अनुसार ट्रान्सको मुख्य विशेषता नै ड्रग्स हो । कोही सामान्य प्रकृतिको गाँजामै रमाउँछन् भने कोही उच्चतहको सिन्थेटिक लागूऔषध । हिलिङ म्युजिकसँग मस्तिष्क हल्लाउन पार्टी ड्रग्सको रुपमा परिचित कृत्रिम लागू औषध प्रयोग हुन्छन् यसमा । 
लागू औषधबारे जानकारका अनुसार ट्रान्स पार्टीमा यस्ता ड्रग्स प्रयोग हुन्छन् ।

एक्सटेसीः यसलाई मिथाइलडाइयोक्सी मेथफेटामिनलाई एडिएमए समेत भन्छन् । यो कृत्रिम लागू औषध हो । यसको प्रयोगको असर ३ देखि ६ घण्टा हुन्छ । ट्याब्लेट र धुलोको रुपमा पेय पदार्थमा मिसाएर खाने भएकाले पार्टीमा यसको माग बढी हुन्छ । यसले व्यक्तिलाई शक्ति बढेको अनुभव गराउँछ । निन्द्रा भगाउँछ भने काल्पनिक दुनियाँमा पुर्याउने गर्छ । छोटो समयमा भेट भएको व्यक्ति पनि आत्मीयझैँ बनाउने भएकाले यसलाई लभ पिल पनि भनिन्छ ।

एलएसडीः एसिड रेन्बो, रेडलिप्स, सुगरको उपनामले समेत चिनिने यो ड्रग्स समेत यस्ता पार्टीमा प्रयोग हुन्छ । यो ट्याब्लेटको रुपमा अनि बालबालिकाले प्रयोग गर्ने स्टिकरको रुपमा समेत पाइन्छ । पेय पदार्थमा हालेर खाने, पेपर चाट्ने गरेर यसको प्रयोग हुन्छ । यसले भ्रम उत्पन्न गराउँछ भने प्रयोग गरेको १२ घण्टासम्म ट्रिप दिन्छ ।

कोकिन, हेरोइन, गाँजा जस्ता प्राकृतिक लागू औषधसमेत प्रयोग हुनसक्ने भए पनि अधिक रुपमा गाँजाको प्रयोग हुन्छ नेपालमा ।

लागू औषधबारे जानकार अधिकारीका अनुसार नेपालमा गाँजा यतै व्यवस्था हुन्छ । एलएसडी, एक्सटेसी, याबा जस्ता कृत्रिम ड्रग्स भने गोवाबाटै आउँछ ।

खुल्लमखुल्ला मस्ती

 पाेखरामा भएकाे ट्रान्स पार्टी । तस्बिर : शुदर्शन रञ्जित

प्रारम्भमा काठमाडौं र पोखराका डाँडा र रिर्सोटहरुमा यस्ता कार्यक्रम आयोजना हुने गरेका थिए, जसमा प्रभावशाली व्यक्तिसमेत संलग्न हुन्थे । विदेशी नागरिकसँगै धनाढ्य परिवारका सदस्य र केही प्रहरी अधिकारीसमेत यस्ता पार्टीका शौखिन भएकाले प्रायः यस्ता पार्टी गुपचुपै हुन्थ्यो र सकिन्थ्यो तर अहिले अवस्था त्यस्तो रहेन । अहिले खुल्लमखुल्लै यस्ता पार्टीको आयोजना हुने गरेका छन् ।

शुक्रवारको खोजमा पछिल्लो समय नेपालमा खुल्लमखुल्ला भइरहेको ट्रान्स पार्टीको फेहरिस्तै फेला पर्यो । ट्रान्स पार्टी समुदाय लक्षित वेबसाइट गोवाबेसडटनेटका अनुसार नेपालमा नौ वर्षको अवधिमा २६ वटा ट्रान्स पार्टी आयोजना भइसकेका छन् । यसले वर्षमा कम्तीमा ३ वटा ट्रान्स पार्टी नेपालमा भइरहेको देखाउँछ । 

यस्ता पार्टीको समन्वयमा सक्रिय वेबसाइट मसरुम म्यागजिनका अनुसार नेपालमा ओमकारा फेस्टिभल, रेन्बो पार्टी, एनोदर प्लानेट फेस्टिभल, फुलमुन ट्रान्स पार्टी, हाइमाउन्टेन ग्यादरिङ, माउन्टेन म्याडनेस, शक्तिपिक फेस्टिभल, शिव ट्रान्स,शान्तिजात्रा नाममा यस्ता कार्यक्रम हुने गरेका छन् ।

काठमाडौंको ठमेलमा समेत गुपचुप यस्ता पार्टी हुन्थे । अहिले यसको दायरा फराकिलो बन्दै अन्यत्र पुगिसकेको छ । 

सिन्धुपाल्चोकको सुकुटे क्षेत्र, नुवाकोटको ककनी, काठमाडौंको शिवपुरी जंगल क्षेत्र, भक्तपुरको नगरकोट, काभ्र्रेको धुलिखेल, ललितपुरकै हात्तीवन, पोखराको सराङकोट, ज्याम्तीखोला, बेगनास क्षेत्रमा यस्ता कार्यक्रम आयोजना हुने गरेका छन् । अहिले धनकुटा, आर्घाखाँचीसमेत पुगिसकेको देखियो ।

आयोजकले कार्यक्रमका लागि सकेसम्म सुनसान स्थान चयन गर्छन् तर पावरवाला आयोजक परे परिचित होटल तथा रिसोर्टमै यस्ता कार्यक्रम आयोजन गरिन्छन् । सांगीतिक कार्यक्रमको आवरणमा प्रहरी सुरक्षा घेराभित्र समेत ड्रग्स पार्टी भएका छन् । 

सिन्धुपाल्चोकको द लास्ट रिसोर्ट, पोखराको फुलबारी रिसोर्ट, धनकुटा हिलेको होराइजन माउन्टेन रिसोर्ट, काठमाडौंको घ्याम्पे डाँडामा रहेको रिसोर्ट, नागार्जुन, नगरकोट क्षेत्रका रिसोर्ट र हात्तीवन रिसोर्टमा समेत छद्म कार्यक्रमको नाममा ट्रान्स पार्टी भइसकेका छन् ।

वेबसाइट र सञ्जालको उपयोग
सूचना प्रविधिको बढ्दो सहजतासँगै यस्ता कार्यक्रमका आयोजकले यस्ता कार्यक्रमका पारखीसम्म आफ्नो सन्देश पुर्याउन निश्चित व्यक्तिले मात्र प्रवेश गर्न सक्ने वेबसाइट, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको उपयोग गर्ने गरेको देखिएको छ । 

एक साताको डिजिटल खोजमा यस्ता दर्जनौंभन्दा बढी फेसबुक पेज फेला परे जसको लक्ष्य ट्रान्स पार्टीको प्रचारप्रसारमा प्रयोग भइरहेका थिए । केही पेजहरु डिलिट भइसकेका थिए । केही साइटबाट नेपालमा आयोजना भइसकेका र हुन लागेका ट्रान्स पार्टीबारे महत्ववपूर्ण जानकारी फेला पर्यो ।

साइबेन्टडटओआरजीमा रहेको विवरण अनुसार नेपालमा २०१८ मार्च २३ देखि २७ (२०७४ चैत ९ देखि १३) सम्म शक्ति पिक फेस्टिभलको नाममा ट्रान्स पार्टीको आयोजना भएको थियो । आयोजकको फेसबुकमा रहेको तथ्यांक अनुसार यसमा ९ सय ५९ जनाले चासो देखाएकोमा ५ सय ३३ जना सहभागी भएका थिए । 
फ्रान्सकी लिजा टोरमन, युएइका केभिन बेनी, अस्ट्रेलियाकी नताशा, बैंगलोरका राहुल नेगीले लगायतका यसमा सहभागी भएको पुष्टि भयो । यसले कुन–कुन देशका पारखी नेपाल आउने गर्छन् भन्ने देखियो ।

यो कार्यक्रमको आयोजनामा नेपालीसँगै भारतीय नागरिक पनि सक्रिय देखिए जो नेपालबारे जानकार थिए । कार्यक्रमका सहभागीलाई समन्वयका लागि फेसबुक पेजमा राखिएको म्यासेजमा धरान, धनकुटामा बसको व्यवस्था गरेको देखियो । उनीहरुले हिलेको होराइजन माउन्टेन रिसोर्टमा कार्यक्रम गरेका थिए । त्यहाँ जान काठमाडौंको पशुपति मन्दिर नजिकको एक क्याफेलाई सम्पर्क केन्द्र बनाएका थिए ।

कार्यक्रममा सहभागी हुन आउँदा कुनै समस्या भए सम्पर्कका लागि भारतीय नम्बरसहित विराज भाइ नाम राखिएको थियो । नेपाली नागरिक सुभाष केसी समेत आयोजकको रुपमा उल्लेख छ । मार्च ८ मा कार्यक्रमका आयोजकको पेजमा राखिएको सन्देशमा दुई वटा नेपाली मोबाइल नम्बर छ, ९८४१४९८९१७ र ९८०८५५५०९८ ।

कार्यक्रमको सुविधाबारे राखेको जिज्ञासामा सिधा रोस, पूर्ण शर्मा, प्रतीक पोद्दारले प्रतिक्रिया जनाएका छन् । सोही पेजमा सक्रिय देखिएका अविनाश घिमिरेले आफ्नो परिचयमा साइकोडेलिक म्युजिक इभेन्ट अर्गनाइजर लेखेका छन् ।


प्रवेश शुल्क ५ देखि १० हजार
नेपालमा हुने यस्तो प्रकृतिको कार्यक्रमका लागि टिकट बिक्रीका लागि म्याडभाइब्स नामक वेबसाइटले सघाउने गरिएको छ । सो साइटमा जाँदा नेपाली र भारतीयलाई पाँच हजार रुपैयाँ र अन्य देशका नागरिकका लागि एक सय अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको खुलेको छ ।

माउन्टेन म्याडनेसको नाममा समेत नेपालमा ट्रान्स पार्टीको आयोजना हुने गरेको र यसलाई आयोजकहरुले नेपाल युनिभर्सल रिलिजन फेस्टिभल समेत भन्ने गरेका छन् ।

माउन्टेन म्याडनेनेपाल युनिभर्सल रिलिजनको फेसबुक पेजमा १२ हजार ७ सय ३५ जना सदस्य छन् । त्यसमा एडमिन र मोडरेटर १२ जना छन् । युनिभर्सल रिलिजन नेपाल, युनिभ रिज नामको फेसबुक पेजसमेत एडमिन र मोडरेटर छन् ।

मुम्बईका केतन सुमारा, केपनहेगनकी शेर्ली बे्रडेल, निशान मानन्धर, निशान एस, क्रिस अग्रवाल, कागारिरा पेइज, आशीष जोस, जाफर एमक्यु, आलिया रसिद र डिजिटल ओम प्रडक्सनसमेत पेजका एडमिन देखिन्छन् । उनीहरुको पेजमा युआरएननेपाल डटकम डोमेनसमेत राखेका छन् तर सो वेबसाइट अहिले निस्क्रिय छ ।

६ वर्षअघि पोखराको फूलबारी रिसोर्टमा भएको ट्रान्स पार्टी यही समूहले आयोजना गरेको देखिएको छ । म्युजिक फेस्टिभलको नाममा आयोजित पार्टीमा खुल्लमखुल्ला ड्रग्सको कारोबार भएको तस्बिरहरु सार्वजनिक भएपछि कार्यक्रमबारे निक्कै विवाद भएको थियो ।

कक्सिम शिव नामक वेबसाइटमा कास्कीमा भएको सोमा फेस्टिभलबारे उल्लेख छ । त्यसमा सहभागीलाई सम्पर्कका लागि बिएचएसकेआरनाइनसेभेन एटहटमेल डटकम इमेल राखिएको छ । अक्टोवर १० देखि १३ सम्म भएको कार्यक्रमको टिकट बिक्रीका लागि गोवाबेसडटनेटले समन्वय गरेको थियो । 

सन् २०१२, १७ नोभेम्बर (२०६९ मंसिर २) मा पोखराको सराङकोटमा शिव ट्रान्स पार्टीको आयोजना भएकोसमेत देखिएको छ । सम्पर्कका लागि  तिलकसुवेदीएटहटमेल डटकम इमेल राखिएको थियो ।
गड कर्मा ब्ल्याक फिङ्गर्स सोसाइटी आयोजक रहेको ट्रान्स पार्टी दसैँको टीकाको दिन आयोजना भएको थियो । नोभेम्बर २ र ३ (कात्तिक १६ र १७) गते मिति तोकिएको सो कार्यक्रमको स्थान थियो, नगरकोटको नादुम भिलेज रिसोर्ट । सूचनामा ड्रग फ्री पार्टी उल्लेख गरिएको छ ।

ओमकारा फेस्टिभल २०१८ मा बन्दिपुरमा आयोजना भएको देखिन्छ । पिएसवाइ ट्रान्स नेपाल नामक फेसबुकमा राखिएको तस्बिरअनुसार अक्टोबरमा सो कार्यक्रम भएको देखिन्छ ।

युट्युबभरि दृश्य
प्रहरीले प्रतिबन्धित पार्टी भने पनि फेसबुक र इन्स्टाग्राममा नेपालमा भएका ट्रान्स पार्टीका तस्बिर टन्नै फेला पर्छन् । युट्युबमा प्रशस्तै भिडियो फेला पर्छन् । यस्तै एक भिडियो राखेको छ, टुफेमस डट टिभीले । 
२०१३ अक्टोवर १७ मा युट्युबमै इन ट्रान्स अ पार्टी इन नेपाल नाममा डस्टिन कर्टिएनले राखेको भिजुअलमा सराङकोटमा ट्रान्स पार्टी गरेको देखिन्छ । ८ जुन २०१३ पोखरा फेवा तालनजिकै भएको पार्टीको भिजुअल पनि सँगैमा फेला पार्न सकिन्छ ।

ट्रान्स पार्टी इन पोखरा शीर्षकमा एभगेनी सेले भिजुअललाई युट्युबमा राखेका छन् । यो मे १३ देखि १५ सम्म आयोजना भएको देखिन्छ । २ वर्षअघि  हात्तीवन रिसोर्टमा भएको ट्रान्स पार्टीमा लागू औषध नियन्त्रण ब्युरोले हस्तक्षेप गरी बन्द गराएको थियो । तीन जना नियन्त्रणमा लिइए पनि कुनै कार्बाही भने भएन । 

दसैंको मौका पारेर सो कार्यक्रम आयोजना भएको थियो । यसै वर्ष पनि भक्तपुर, काभ्रे र काठमाडौंको सीमामा पर्ने नाल्दुममा ओमकारा फेस्टिभलको नाममा ट्रान्स पार्टी भएको थियो । यसै वर्ष संखुवासभाको गुफापोखरीमा शक्तिपीठ नामक संस्थाले ट्रान्स पार्टीको आयोजना गरेको खुलेको थियो ।

फागुमा काठमाडौंमा ट्रान्स 
म्याडभाइब्स साइटमा पुग्दा नेपालमा आयोजनाको तयारी भइरहेको अर्को ट्रान्स पार्टीबारे खुल्यो । सन् २०१९ अप्रिल २२ (आउँदो चैत ६ गते फागु पूर्णिमा) मा काठमाडौंमा आयोजना गरिन लागिएको सो कार्यक्रमको नाम ओमकारा फेस्टिभल राखिएको छ । यसका लागि टिकट बिक्री खुलिसकेको छ । आयोजकले राखेको जानकारी अनुसार यो कार्यक्रमको तेस्रो श्रृंखला हो । यसैगरी २०७६ वैशाख ६ देखि ९ सम्म ओमकारा पार्टी पनि आयोजना हुँदैछ ।


गैर कानुनी, तर खुल्लमखुल्ला
नेपालमा ट्रान्स पार्टीको वैधानिकता के हो ?
लागू औषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेल भन्छन्, ‘हैन, गैर कानुनी हो ।’
तर हरेक वर्ष खुल्लमखुल्ला आयोजना हुने गरेको छ । केही कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको देखियो, तर अधिकांशमा मौन देखिन्छ । किन त ?

‘निश्चित समूहलाई मात्रै जानकारी हुने, कार्यक्रम गोप्य रुपमा आयोजना हुने, अन्तर्राष्ट्रिय म्युजिक फेस्टिभल भनेर अनुमति लिने हुँदा जानकारी नभएको हो,’ उनले भने, ‘सबै जिल्लामा ब्युरोको जनशक्ति छैन । त्यहाँ स्थानीय प्रहरीले काम गर्छ ।’

ट्रान्स पार्टीको अवस्थाबारे प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पनि यस्ता कार्यक्रम गैर कानुनी भएको बताए । यस्तो पार्टीमा लागू औषधको प्रयोग हुने भएकाले लागू औषध कारोबारी सक्रिय हुने, अत्यधिक लागू औषधको प्रयोगले जघन्य अपराधसमेत हुनसक्ने भएकाले नेपालमा प्रतिबन्ध लगाइएको सुवेदीले बताए ।
‘प्रायः अति गोप्य रुपमा र अन्य नाममा आयोजना हुने भएकाले प्रहरीले समयमै सूचना पाउन सक्दैन,’ उनले भने, ‘सूचना आए यस्तो कार्यक्रम रोक्छौं, संलग्नलाई समात्छौं ।’

किन हुन्छ यस्तो पार्टी
आफ्नो जीवनबारे त्यत्ति वास्ता नगर्ने र मस्ती गर्न रुचाउने साइट्रान्स समुदायलाई लक्षित गर्दै आयोजना हुने यस्तो कार्यक्रमको लक्ष्य मनोरञ्जन भन्दा लागू औषधको कारोबार बढी हुने गरेको छ । नेपालमा यस्ता कार्यक्रम आयोजना गर्न भारत गोवाका व्यक्ति बढी सक्रिय रहनुको कारणसमेत लागू औषधको कारोबारको आकर्षण नै हो ।

एक कार्यक्रममा अधिकांश विदेशी नागरिक सहभागी हुने र उनीहरुको लक्ष्य नै लागू औषधको प्रयोग गरेर मस्त भएर रमाउने रहेकाले जति पनि पैसा खर्च गर्न तयार हुँदा एउटै यस्तो पार्टीमा करोडौंको कारोबार हुने गरेको छ । यस्तोमा  लागू औषधका कारोबारीले भने जति रकम कमाउँछन् र यही कारणले पनि पछिल्लो समय नेपालमा विभिन्न आवरणमा ट्रान्स पार्टीको आयोजना गर्ने गरेको देखिन्छ ।

कस्तो हुन्छ पार्टी
प्रायः ट्रान्स पार्टी जंगल, खोला किनार लगायतका एकान्त स्थानमा आयोजना हुन्छन् । यसमा हाई टेम्पोका संगीत प्रयोग गरिन्छ । यस्ता संगीतले सुन्नेलाई एकोहोरो बनाइदिन्छ । 

पार्टी स्थलमा लाउड म्युजिकका लागि डिजेको प्रयोग गरिन्छ । नेपालमा समेत अन्तर्राष्ट्रिय स्तरका डिजेहरु आउने गरेका छन् । साउन्ड सिस्टमसमेत हाइ भोल्युमको प्रयोग हुन्छ ।

प्रायः खुला स्थानमा प्रयोग हुने भएकाले टेन्टको प्रयोग गरिन्छ । पार्टी स्थलमा प्रयोग हुने ट्रान्सका प्रपहरु रंगीचंगी हुन्छन् । स्टेज पनि उस्तै प्रकृतिको प्रयोग गरिएका हुन्छन् । स्थान हेरेर कतै कृष्ण, कतै शिव त कतै गणेशको आकृतिको समेत प्रयोग गरिन्छ । लाइट सम्मोहन पद्धतिमा बल्छन् । ट्रान्स पार्टीबारे जानकारका अनुसार यस्तो पार्टीमा प्रयोग हुने कृत्रिम लागू औषधको ट्रिपको आधारमा लाइटिङ र म्युजिकको प्रयोग गरिएको हुन्छ । 

‘म्युजिकले एकोहारो बनाउँदै लैजाँदा जब एसिडको ट्रिप चढ्न थाल्छ बत्तिहरुमा मान्छेको आकृति देखिन थाल्छ,’ केही ट्रान्स पार्टीमा सहभागी भएका उनले भने, ‘कृष्ण, शिव र गणेशको चित्र हिँड्न थाल्छन्, बोल्न थाल्छन्, अनि सँगै नाच्न थाल्छन् । मान्छे भ्रमित हुन्छ र त्यसैमा रमाउँछ ।’
 

Leave A Comment