दीपिका–दिवाकर प्रेम यात्रा ‘डिरेक्टरसँग लभ पर्यो भन्ने खबर आउँदा नराम्रो होला भनेर लुकायौँ’

बुधबार, ०५ मङि्सर २०७५, ०४ : ५५ अनिल यादव
दीपिका–दिवाकर प्रेम यात्रा ‘डिरेक्टरसँग लभ पर्यो भन्ने खबर आउँदा नराम्रो होला भनेर लुकायौँ’

तीन वर्षअघि फिल्मको हिरोइन खोज्ने क्रममा भेट भएकी नायिका दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले उहिल्यै कोर्ट म्यारिज गरे तर यी दुवैको इङ्गेज्मेन्टको चर्चा अहिले चुलिएको छ । यस बीचमा थाइल्यान्डमा १५ दिन घुमेर दुवै शनिबार स्वेदश फर्किएका छन् । स्वदेश फर्किएलगत्तै उनीहरु आफ्नो सम्बन्धबारे शुक्रवारकर्मी अनिल यादवसँग खुलेर प्रस्तुत भए ।

कस्तो भयो त हनिमुन ?
दिवाकर : हनिमुन नै त नभनौँ । एक किसिमको डेट हो । सधैँ कामको तनाव हुन्थ्यो, फुर्सद मिलाएर गयौँ । 
दीपिका : फेरि घुम्न मात्रै गएको होइन । कामकै लागि गएकोे हो । अब पुगिहालियो, रमाइलो पनि गरौँ न त भनेर घुमेका हौँ । 

कस्तो काम ?
दीपिकाः बंगलादेशको लिची जुस कम्पनीको एड सुटका लागि गएकी थिएँ । क्रुहरु इन्डियाबाट हुनुहुन्थ्यो । त्यसैले यसलाई हनिमुन नै भन्न मिल्दैन । हनिमुन त बिहेपछि अब (हाँस्दै) । 

अनि कोर्ट म्यारिज गरेको त दुुई वर्ष भएको रै’छ, हैन त ?
दिवाकरः अँ, पेपर म्यारिज ‘ऐश्वर्य’को सुटिङ सकिनेबित्तिकै गरेको हो । 

त्यसो भए कसरी बिहे हुन बाँकी भयो त ?
दीपिका : हैन, कल्चरल बिहे भएको छैन नि त ! 

तर हनिमुन भन्न केले रोक्यो त ?
दीपिकाः हुन त हनि पनि छ, मुन पनि छ । त्यसैले भन्दा केही फरक परेन (हाँस्दै) । तैपनि हामीकहाँ कल्चरल बिहेपछि नै हनिमुन जाने चलन छ नि, त्यही भएर !
दिवाकरः तैपनि केही छैन । बुुझ्नेले जसरी बुुझे पनि भयो । हामीले क्वालिटी टाइम स्पेन्ड गरेर आयौँ । 

सम्बन्धबारे ढिला सार्वजनिक गर्नुको कारण के हो ?
दिवाकरः केही कारण थिए । उसको भर्खर करिअर सुरु हुँदै थियो । एउटा फिल्म गर्नेबित्तिकै डिरेक्टरसँग गइहाल्यो भन्ने नहोस्, केही फिल्म गरोस् भन्ने भयो । 

बस्न त दुुई वर्षअघिदेखि नै सँगै बस्नुहुन्थ्यो होला, होइन ?
दिवाकरः हैन, पेपर म्यारिज गरेको केही समयपछि मात्रै हो । एक्चुुअल्ली, हाम्रो सम्बन्ध नै यसरी जोडियो कि न मैले उसलाई कहिल्यै आई लभ यू भनेँ, न उनले मलाई भनिन् । केटा मान्छेले जहिल्यै पनि आफ्नो वाइफभित्र एउटा आमाको गुण खोज्छ । आमाको जस्तो प्रेम र केयर खोज्छ । र, मैले त्यस्तै फिल उसमा पाएँ । म उसमा एउटा असल श्रीमतीको गुुण पाउँथे । त्यसैले मैले उसलाई भनेँ, मेरो बिहे गर्ने बेला पनि भयो । यदि तिमी रेडी छौ भने कुरा गरौँ कोसँग गर्नुपर्ने हो । 

दीपिकाः मैले पहिला पनि इन्टरभ्यूूमा तपाईंलाई नै भनेकी छु, मलाई कस्तो नेचरको केटा मनपर्छ भनेर । त्यो सबै नेचर उहाँमा पाएँ । आफ्नो बाउजस्तो आफ्नो हस्बेन्ड पाउनु भनेको ठूलो कुरा हो जस्तो लाग्छ । अझै पनि उहाँ मेरो हन्ड्रेट पर्सेन्ट ड्याडी भइसक्नुुभएको छैन तर ८० पर्सेन्ट त छ ! र , म यसमै ह्याप्पी छु । 

मलाई याद छ, मैले त्यतिबेला अन्तरर्वार्ता लिँदा तपाईंले दोहोर्याई–तेहोर्याई भन्नुुभएको थियो, दिवाकरजीको नाम लेख्न नछुुटाउनुस् है ! अहिले आएर थाहा भयो, कुरा त अर्कै रहेछ ? (हाँस्दै) ?
दीपिकाः (लामो हाँसो)
दिवाकरः अँ, त्यो होला ! रिलेसनसिपमा के हुन्छ भने केटाहरु केटी पट्याउनका लागि झुट बोल्छन्, सो अप गर्छन् तर मैले उसको अगाडि त्यस्तो कहिल्यै गरिनँ । मेरो रियालिटी जे हो, त्यहीमात्र प्रस्तुत गरेँ । म जस्तो छु, त्यस्तै देखाएँ । 

कसरी भेट भएको हो पहिलोपल्ट ?
दिवाकरः एउटा कालो चश्मा लगाएको फोटो देखेको थिएँ मैले उनको । कहीँबाट मकहाँ आइपुुगेको थियो । फेसबुकमा म्यासेज गरेँ । धेरै पटक गर्दा पनि रिप्लाई आएन । फोन नम्बर फेला पारेँ । कल गरेँ । फिल्म खेल्न रिक्वेस्ट गर्दा सिधै अस्वीकार गरिनन् । गाउँ गइन् । १५ पटक जति फोन गरेँ होला । कम्तीमा स्क्रिप्ट त सुनिदिनुुस् प्लिज भनेँ । फोटोमा त्यस्तो देखेको केटी एकपटक त हेर्छु हेर्छु, भेट्छु भेट्छु भन्ने भयो । बल्लतल्ल उनले टाइम दिइन्, ल बानेश्वर आउनुस् भन्दै । अनि हामी एउटा क्याफेमा भेट्यौँ । हिरोइनको अफर गरेको थिएँ । अलि बनिएर आउँछिन् होला भनेको उनी त बिल्कुल अर्कै लुक्समा आइन् । नर्मल ड्रेसअपमा एकदम सिम्पल भएर ।

अनि आफ्नै घरको पो हिरोइन बनाउँ कि जस्तो लाग्यो ?
दिवाकरः अनेस्टेली भन्नुपर्दा मैले फिल्मवाला हिरोइन देखिनँ उनमा । ४५ मिनेट जति बस्यौँ । स्क्रिप्ट सुन्न तयार बनाएँ, कन्भिन्स गराएर । स्क्रिप्ट सुनाएपछि पनि फेसबुकमा रेस्पोन्स नै नगर्ने ! मैले उनलाई सोधेँ पनि, यत्रो म्यासेज, कल पनि रेस्पोन्स गर्दैनौ, किन ? तिमी मान्छे नै यस्तो कि, मलाई मात्रै यस्तो गरेको हो ? यार, म डिरेक्टर हो नि ! त्यसपछि बल्ल सहज सम्वाद हुन थाल्यो । एकैपटक लभ परेको भन्दा पनि यसरी सम्बन्ध आफसेआफ नजिक हुँदै गएको हो । 

दीपिकाः हो, ग्राजुअल्ली बढ्दै गएको हो । 

कहिलेबाट एकअर्कालाई प्रेम गर्न थालिएछ भन्ने महसुस भयो ?
दिवाकरः फिल्मको वर्कसपमा हुँदा नै हो । 
दीपिकाः एकअर्कालाई चिन्दै गयौँ । उहाँले आफ्नो फेमिलीबारे सबै कुरा प्रस्ट गर्नुभयो । मैले पनि गरेँ । दुवैको नेचर मिल्यो । अनि हामी नजिक भयौँ । 

भनेपछि फिल्म सुटिङ हुनुअघि नै तपाईंहरुको लभ परिसक्या थियो ?
दिवाकरः अँ, तर सुटिङमा कसैलाई पनि थाहा थिएन । अहिले हाम्रो रिलेसन बाहिर आएपछि सबैभन्दा बढी सरप्राइज त रमेश (उप्रेती) दाइ र भाउजू नै हुनुभयो होला । 

यस्तो ग्ल्यामर दुनियाँमा कसरी लुक्यो तपाईंहरुको प्रेम ?
दिवाकरः तपाईंहरुले सार्वजनिक नगर्दिएर होला (हाँस्दै) । मैले अघि नै भनेँ, एउटा त भर्खर सिनेमा क्षेत्रमा आइरहेका बेला डिरेक्टरसँग लभ प¥यो रे भन्ने खबर आउँदा राम्रो नसुनिएला कि भन्ने भयो ! अर्को, ऊ पढ्दै पनि थियो । हामी सिनेमामा प्रेम देखाउँदा प्रेम लुकाउनुपर्छ भन्ने सन्देश दिइरहेका हुन्छौँ । सिनेमामा काम गर्ने मान्छेहरु पनि त्यस्तै छौँ, प्रेम लुकाउँछौँ, सार्वजनिक गर्न डराउँछौँ । 

कोर्ट म्यारिज परिवारलाई थाहा दिएर गरेको कि थाहा नदिई ?
दिवाकरः परिवारलाई यता बोलाएरै गरेको हो । 
दिपीकाः पारिवारिक सरसल्लाहमै भएको हो । 
दिवाकरः एक्चुअल्ली, हाम्रो सम्बन्ध जोडिएकै उनको भाइको कारणले पनि हो । उनले मलाई लगातार एक हप्तासम्म रेस्पोन्स गरिनन् । एक हप्तापछि एकचोटी मेरो भाइलाई भेट्नुस्, भनिन् । मैले दिपेश भाइलाई भेटेँ । मैले भाइलाई सिधै भनेँ, ‘भाइ, कुरा यस्तो यस्तो हो, म तिम्रो दिदीसँग बिहे गर्न चाहन्छु । घुमाउने वाला अथवा फिल्मवाला चक्कर केही पनि होइन । मलाई हेर, मेरो घरपरिवार हेर र तिमीलाई यदि ठीक लाग्छ भने कुरा फाइनल गरिदेऊ ।’ त्यसपछि भाइले उसलाई गएर भनेछ, केटा ठीक छ । अनि त्यसपछि हाम्रो कुरा अघि बढेको हो (हाँस्दै) । 
दीपिकाः हो, मेरो भाइ एकदमै परिपक्व र बुझ्ने छ । त्यसैले भाइलाई भेट्न पठाएको थिएँ । भाइले मन पराएपछि झन् सजिलो भयो । ममी, ड्याडीलाई कन्भिन्स गराउन पनि भाइले नै भूमिका खेल्यो । 

कल्चरल म्यारिज कहिले गर्ने सोचमा हुनुहुन्छ ?
दिवाकरः मंसिरमा सोचेका थियौँ तर नहुने भयो । मेरो बहिनीको बिहे मंसिरमा हुँदैछ । हाम्रो २०१९ (सन्) मा होला अब । 

पहिलो डेट याद छ ?
दिपीकाः हरेक दिन डेट नै हो । (हाँस्दै) 
दिवाकरः कामकै रुपमा भेट हुन्थ्यो । 

पहिलोपल्ट भेट्दा दिवाकरजी कस्तो लागेको थियो ?
दीपिकाः (हाँस्दै) खोई, कस्तो भनुँ ? फिजिकल्ली पनि एकदमै लुरे हुनुहुन्थ्यो । साँच्चै भन्नुपर्दा मलाई मन परेको थिएन तर उहाँको व्यवहारले नै हो मलाई आकर्षित गरेको । 
दिवाकरः मेरो त्यो बेलाको फोटो हेरेर कहिलेकाहीँ हामी हाँस्छौँ पनि । अहिले पनि उनले कहिलेकाहीँ भन्छिन्, यस्तो केटासँग म कसरी इम्प्रेस भएँ । लामो बेली पाइन्ट, पहेँलो टिसर्ट लगाएको उनले कहिल्यै बिर्सन्नन् (हाँस्दै) । 
दीपिकाः त्यही त त्यो अग्लो अमिताभ बच्चन स्टाइलको पाइन्ट अझै याद आउँछ क्या ! त्यो हेरिकन एकदमै धेरै चेन्ज भइसक्नुभयो अहिले । त्यसैले मान्छेको लुक्स भनेको समयअनुसार चेन्ज हुनेरै’छ । सबैभन्दा ठूलो कुरा मन नै रहेछ । हेर्नुस् त, अहिले त हिरोजस्तो ! 
दिवाकरः हिरोइनको भइसकेपछि त्यसै पनि हिरो त हुने नै भएँ (हाँस्दै) । 

पहिलो फिल्मको सुटिङ हुँदै उहाँ तपाईंको गःलफ्रेन्ड भइसक्नु भएको रहेछ । आफ्नै गलफ्रेन्डलाई एक्सन कट भन्दै गर्दा कस्तो फिल हुन्थ्यो नि ?
दिवाकरः जब म सेट जान्थेँ, मैले कहिल्यै पनि उनलाई मेरो मान्छे भनेर माया गरिनँ । धेरैपल्ट सेटमा मेरो गाली खाएर उनी रोएकी छन् ।

दीपिकाः कत्ति गाली गर्नुहुन्थ्यो, हुन्थ्यो ! कहिले पनि मेरो आफ्नो मान्छे भनेर मलाई दया गर्नुहुन्थेन ।

दिवाकरः अँ, सोल्टी होटलमा सुट हुँदा त मैले यस्तो गाली गरेको छु कि उनी बाथरुममा गएर लगातार १५ मिनेट रोएकी थिइन् । धन्न, त्यो रुने सिन थियो र उनी रोएको पनि काम लाग्यो । मैले उनलाई पहिल्यै क्लियर गरेको थिएँ, म काममा कम्प्रोमाइज गर्दिनँ । सुटिङमा तिमी मेरो गःलफ्रेन्ड हुनेछैनौँ भनेर मैले सम्झाइसकेको थिएँ । 

अब एकअर्काको एकदमै मनपर्ने बानी सुनौँ न त ?
दिवाकरः सबैभन्दा सिम्पल छ । सहन सक्ने शक्ति एकदमै छ । रिसाउँदिनन् । म सोध्छु कहिलेकाहीँ, किन यति सहन्छौँ ? मान्छेले एकदिन आफैँ फिल गर्छ, किन रिएक्ट गर्नु भन्ने उनको जवाफ हुन्छ । 

दीपिकाः मलाई उहाँको सिम्प्लिसिटी नै मनपर्छ । सोअप गर्ने बानी छैन । जिम्मेवार छोरा हुनुहुन्छ । 

अब एकबाट दुई भइसकेपछि दीपिकाजीको फिल्मी करिअरमा दिवाकरजीको हस्तक्षेप कति हुने हो त ?
दीपिकाः हस्तक्षेप नै गर्ने खालको हुनुभएको भए त उहाँले मलाई हिरोइन नै बनाउनु हुन्थेन नि ! मलाई हिरोइन बन्न मन नभएका बेला उहाँले मलाई हिरोइन बनाउनुभएको हो । 

दिवाकरः हो, आज पनि अरुको कलाकारितामा जस्तो रुचि उनमा म देख्दिनँ । धेरै मैले गर भनेको फिल्म उनले छोडेकी छन् । थोरै फिल्म गरौँ तर छ्या भन्न लायक नगरौँ भन्ने उनको लजिक पनि मलाई ठीकै लाग्छ । 

रिलेसनसिपको खबर बाहिर आइसकेपछि अब आफ्नो करिअरमा असर पुग्ला भन्ने लागेको छ कि छैन ?
दीपिकाः त्यस्तो लाग्दैन किनभने म काममा विश्वास गर्छु । कामले नै मान्छेलाई लोभ्याउनुपर्छ भन्ने मान्यता राख्छु । 
दिवाकरः दर्शकमा त यस्तो कुराले फरक पार्छजस्तो लाग्दैन तर इन्डस्ट्रीभित्र असर पर्न सक्छ । 

अहिलेसम्म तपाईले विवाहित हिरोइनलाई फिल्ममा लिनुभएको छ दिवाकरजी ?
दिवाकरः हो, त्यही त हामीकहाँ समस्या छ ! बिहेपछि यसको करिअर सकियो भन्ने मानसिकता हामी राख्छौँ । यो हाम्रो समस्या हो । उनी पूरै क्रेजी भएर फिल्ममा लागेको भए पछि तनाव हुन सक्थ्यो तर उनमा त्यो क्रेजीनेस नभएकाले त्यस्तो समस्या नहोला । 

नेपाली फिल्मकी दीपिका र बलिउडकी दीपिका (पादुकोण)को बिहे खबर सँगसँगै बाहिरियो त ! सल्लाहै गरेको त होइन नि (हाँसोसहित) ?
दीपिकाः (हाँस्दै) सल्लै गरेको त होइन तर मिल्न गएछ । 

बिहेको खबर बाहिरिएपछि तपाईंको हातबाट एउटा फिल्म नै फुत्किएको हल्ला छ नि ! खास कुरो के हो, दीपिकाजी ?
दीपिकाः पुनम दिदी (क्षेत्री, निर्मात्री) को फिल्मको कुरा होला ! त्यो फिल्मप्रति म पूरै कन्भिन्स भइसकेकी थिइनँ तर पोजिटिभ नै थिएँ । कफी मिटिङ गरेरै स्क्रिप्ट सुनेकी थिएँ, साइन गरेकी थिइनँ । त्यसैले छोडेको अर्थात् फुत्किएको भन्न नमिल्ला । 

रिलेसनसिपको खबर आउट भएपछि एकखालको असुरक्षा भएको हुनसक्छ नि त ?
दीपिकाः बरु त्यो हुनसक्छ । 
दिवाकरः हो, मेकर्सलाई पक्कै त्यो फिल हुनसक्छ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । 

अब तपाईंको हातमा नयाँ फिल्म छ कि छैन ?
दिपीकाः एउटा कुरा भइराको छ । 
दिवाकरः उनको दुइटा फिल्म राम्रै भयो । अब तेस्रो फिल्म उनले जस्तो पायो त्यस्तै गर्दिनन् । मेरो एउटा साइन प्रोजेक्ट छ । सायद म त्यसमै गराउँछु उनलाई । 

भन्नुको मतलब अब तपाईंको मात्रै फिल्ममा खेलाउने उहाँलाई ?
दिवाकरः होइन, त्यस्तो हुँदै होइन । (हाँस्दै)
दीपिकाः त्यस्तो हुँदैन । राम्र्रो स्क्रिप्ट आयो भने अरुको फिल्म गर्न पनि उहाँले प्रोत्साहन गर्नुहुन्छ ।

फिल्म निर्देशकका हिसाबले तपाईं उहाँलाई कस्तो निर्देशक भन्न रुचाउनुहुन्छ ?
दीपिकाः मैले आजसम्म उहाँजस्तो पागल डिरेक्टर देखेको छैन । काम भनेपछि कोही मान्छे पागल हुन्छ भने त्यो दिवाकर भट्टराई नै हो जस्तो लाग्छ । त्यसैले आउट अफ टेन म नाइन दिन रुचाउँछु । 

एक्ट्रेसका रुपमा उहाँ कस्तो कलाकार ?
सम्भावना धेरै छ तर अझै ग्रुम गर्न आवश्यक छ । 

दुवै एकै क्षेत्रको हुँदा के फाइदा, के घाटा हुनेरैछ ?
दिवाकरः घाटा त अहिलेसम्म महसुस भएको छैन । उनी अर्कै फिल्डको हुन्थिन् भने अर्कै खाले मान्छेहरुसँग अर्कै वातावरणमा अर्कै मेन्टालिटी बोकेर घर फर्किएकी हुन्थिन् । तर हामी दुवैको वातावरण र मेन्टालिटी उस्तै भइदियो । त्यसैले फाइदैफाइदा छ । 
दीपिकाः हो नि, दुवैले एकअर्काको काम बुझ्न पाइयो, सिक्न पनि पाइयो । 

फेमिली प्लानिङ के छ ?
दिवाकरः अब एक वर्षभित्र कल्चरल बिहे हुन्छ । त्यही त हो !

अनि ममी, ड्याडी बन्ने कुरा ?
दिवाकरः त्यो त दुई–चार वर्ष लाग्ला । (हाँस्दै) 

थाइल्यान्डको मोजमस्ती सामाजिक सञ्जालमा खुब सार्वजनिक भयो है ?
दिवाकर : दुई–तीन वर्षदेखि सधैँ सँगै थियौँ तर फोटो पनि राख्न पाएका थिएनाैं । सायद त्यो लामो समयदेखिको भडास थाइल्यान्ड पुगेर पोखिएको होला (हाँस्दै) ।
दीपिकाः हो, कत्ति फोटाहरु थिए तर आउट नै गर्न पाइरहेका थिएनाँै । बल्ल हाल्न पाइयो (हाँस्दै) ।

बिहेपछि दीपिका झन्–झन् ग्ल्यामरस भइन् भनेर खबर पनि आए ?
दिवाकरः त्यो भन्दा ग्ल्यामर त ‘ऐश्वर्य’ फिल्ममै खिचिसकेको थिएँ नि मैले । प्रोफेसनल कुरामा म एकदमै कडा छु । स्विमिङ पुलको सिन गर्न उनी मानिरहेकी थिइनन् त्यतिबेला पनि तर मैले उनलाई गाली गरेर गर्न लाएको थिएँ । यतिबेला तिमी क्यारेक्टर हौ, मेरो वाइफ होइनौ भनेर सम्झाएको थिएँ । 

दीपिकाः त्यो त कुरै छोड्दिनुस्, रमेश दाइ (उप्रेती)सँगको बेडसिन थियो नि, त्यहाँनेर उहाँले गरेको निर्देशन देखेर मलाई अचम्मै लाग्थ्यो । कहाँबाट यस्तो आँट आ’को जस्तो लाग्थ्यो । सिधै भन्नुहुन्थ्यो, अलि राम्रोसँग समात, अलि फिल पुगेन, अलि केमेस्ट्री मिलेनजस्तो कुरा गर्नुहुन्थ्यो । आफ्नै मान्छेलाई यस्तो भन्दा त पागलै रहेछ यो डिरेक्टरजस्तो लाग्थ्यो क्या ! 

त्यतिबेला त माया नै गर्दैन कि जस्तो पनि भयो होला ?
दीपिकाः त्यस्तो त लागेन ! माया त गर्नुहुन्थ्यो, कुनै शंकै थिएन । शंका त कहिल्यै भएन । तर कसरी सक्छ अर्को मान्छेसँग यसरी सिन गराउन भन्ने फिल हुन्थ्यो क्या ! (हाँस्दै) । उता किरण भाउजू त हस्बेन्ड (रमेश)को सिन हुँदा अन्तै गएर बस्नुभयो, अप्ठेरो लागेर । यता मेरो मान्छे भने मलाई झन् भएन भएन भनिरहँदा अचम्म लाग्ने क्या ! (हाँस्दै) । 

सम्बन्धलाई बलियो बनाउन के आवश्यक पर्छ जस्तो लाग्छ ?
दिवाकरः विश्वास नै हो । एकअर्काको कमजोरीलाई पनि प्रेम गर्न सक्नुपर्छ । त्यसो भयो भने सम्बन्ध सधैँ बलियो हुन्छ । 

दीपिकाः विश्वास भयो भने मान्छे गलत बाटोमा हिँड्नै सक्दैन । आफैँ सुध्रिन्छ क्या !

आफूहरुको जोडी कस्तो भन्न रुचाउनु हुन्छ ? 
दिवाकरः हामी सुन्दर छौँ, हरेक हिसाबले । मनदेखि, तनदेखि । राम्रो पेयरअप हो जस्तो लाग्छ । 

दीपिकाः लभ्ली कपल हौँ जस्तो लाग्छ (मुस्कुराउँदै) ।

घरमा फिल्मी डायलग डेलिभरी पनि बढतै हुँदो हो ?
दिवाकरः हो, फिल्मका धेरै डायलगहरु मैले उहाँलाई रियलमा पनि भनेकी छु । 
दीपिकाः हो, एकदमै रोमान्टिक हुनुहुन्छ । 

तारिफै–तारिफ मात्र भयो  ! अब एकअर्काको नराम्रो बानी पनि सुनौँ न ?
दिवाकरः अलिकता अल्छी छन्, उनी । धेरै सुत्न खोज्छिन् । 
दीपिकाः धेरै नै अल्छी छु । मलाई सुत्नै पर्छ । उहाँलाई धेरै सुतेको मनै पर्दैन । 

उहाँ (दिवाकर) को मन नपर्ने बानी ?
दीपिकाः कुराउने बानी मन पर्दैन । यति बेरमा आइपुग्छु भन्नुहुन्छ, खाना सेलाइसक्छ तर आइपुग्नु हुन्न । त्यो मन पर्दैन ।
दिवाकरः पहिला–पहिला त्यस्तो बानी थियो । अहिले त टाइममै आइपुग्छु नि !
 

Leave A Comment