‘रुचिको काम गर्दा सफल भइन्छ’

सोमबार, १० साउन २०७३, ०२ : ३५ दिलीप पौडेल , Kathmandu
‘रुचिको काम गर्दा सफल भइन्छ’

विराट हस्पिटलको प्रमुख कार्यकारी अधिकृतबाट करिअर सुरु गरेका विराटनगरका ३७ वर्षीय महेश बाहेती अहिले जयश्री समूहको ‘कन्ट्री हेड’को पदीय जिम्मेवारी सम्हालिरहेका छन् । दुई विषयमा स्नातकोत्तरसम्मको शिक्षा लिएका बाहेती जयश्रीको उत्पादन म्याजिक चप्पल सहितका ब्रान्डलाई स्थापित गर्न क्रियाशील छन् । बाहेतीसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
जीवन के हो ?
जिम्मेवारी हो ।
प्रगतिका लागि के गर्नुपर्छ ?
जीवनमा आराम नै ल्याउनु हुँदैन ।
अध्ययनप्रति लगाव कस्तो छ ?
हरेक दिन नपढी निद्रा नै लाग्दैन ।
मन परेको पुस्तक ?
भारतीय म्यानेजमेन्ट गुरु अरिन्दम चौधरीले लेखेको ‘काउन्ट योर चिकेन्स बिफोर दे ह्याच’ ।
केले प्रभावित ग¥यो ?
यस पुस्तकमा योजना बनाएर मात्र हुँदैन, योजना कार्यान्वयन गरी परिणामको प्राप्ति नभएसम्म खुशी मनाउनु र जीवनको लक्ष्य पूरा नभएसम्म आराम गर्नु हुँदैन भन्ने शिक्षा पुस्तकले दिन्छ ।
पढ्दा कुन पोजिसनमा आउनुहुन्थ्यो ?
स्कुलमा सधैँ सेकेन्ड पोजिसन । कलेजमा डिक्सटिन्सन ।
मन पर्ने नेता ?
छैन ।
मन पर्ने उद्योगी ?
वसन्तकुमार चौधरी
फिल्म हेर्नुहुन्छ ?
फुर्सद भएको बेला हेर्छु ।
मन परेको फिल्म ?
पशुपतिप्रसाद ।
बिहे कसरी गर्नुभयो ?
लभ गरेर ।
श्रीमतीको कुन गुणबाट प्रभावित हुनुभयो ?
सहयोगी भावना र नम्र स्वभाव ।
श्रीमतीको पेशा ?
हाउस वाइफ ।
श्रीमती कुन समय खुशी हुनुहुन्छ ?
घुम्न जान पाए ।
कतिजनाको परिवार छ ?
१३ जना ।
संयुक्त परिवारमा बस्दाको आनन्द ?
हरेक दिन पार्टी हुन्छ ।
 सबैभन्दा धेरै खर्च केमा हुन्छ ?
ट्राभलिङमा  ।
स्कुले जीवन सम्झँदा ?
ती दिन जीवनमा फेरि दोहोरिएर आए हुन्थ्यो । साथीभाइसँगका ती रमाइला क्षण स्मरणीय छन् ।
तपाईंको रुचि ?
बच्चाहरूसँग समय बिताउन मन पर्छ ।
उद्योगको उत्पादन के छ ?
म्याजिकसहित पीयु, इभा, हवाई, पीभीसी चप्पल उत्पादन गरेर बजारमा उपभोक्तालाई सन्तुष्टि दिएका छौँ ।
कति उत्पादन हुन्छ ?
प्रतिदिन ३० हजार चप्पल ।
कति मूल्यका छन् ?
८० देखि ११ सय रुपैयाँसम्मका ।
नयाँ उत्पादन बजारमा ल्याउने तयारी के छ ?
एरोज ब्रान्डको स्पोट्र्स चप्पल ल्याउने तयारीमा छौँ ।
प्रतिस्पर्धा ?
स्वदेशी मात्र नभएर विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नु परेको छ । भारत र चीनबाट आएका जुत्ता, चप्पलले कब्जा जमाएको बजारलाई तोडेका छौँ । विदेशबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्न कठिन छ । इभा र हवाई चप्पल भारत निर्यात गर्छौं । त्यहाँका ठूला डिर्पाटमेन्ट स्टोर्स र अनलाइन बिजनेसमा हाम्रो प्रोडक्टको कारोबार हुन्छ ।
विशेषता के छन् ?
उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरेका छौँ । टिकाउ राम्रो भएकाले नै नेपाली बजारको ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको हो ।
कस्ता चुनौती छन् ?
नेपालको औद्योगिक क्षेत्रमा कच्चा पदार्थको सबैभन्दा धेरै समस्या छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । स्वदेशी उत्पादनलाई विस्थापित गर्न भन्सार छलेर सामान आउने गरेका छन् । यसले यहाँका उद्योगलाई धरासायी बनाएको छ ।
व्यवसाय सफलताको लागि के चाहिन्छ ?
यो क्षेत्रमा फड्को मार्नको लागि सरकारले उपयुक्त नीति नियम बनाइदिनुप¥यो । सहज रूपमा कच्चा पदार्थ उपलब्ध हुनुपर्छ । आवश्यकताअनुसार जनशक्ति पाउने र सरकारले उपयुक्त वातावरण बनाए विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
व्यक्ति सफल हुन के गर्नुपर्छ ?
आफ्नो इच्छा भएको क्षेत्रमा आत्मविश्वासका साथ काम गर्नुपर्छ । रुचिको काम गर्दा सफल भइन्छ ।
कति समय काम गर्नुहुन्छ ?
२४ घण्टा पनि कम भएजस्तो लाग्छ । १६ घण्टाजति अफिसकै लागि खटिनुपर्छ । परिवार, आफन्त, साथीभाइलाई समय दिन भ्याइँदैन ।
नयाँ पुस्तालाई सुझाव ?
शिक्षाबिनाको जीवन अधुरो हुन्छ । जुन विषयमा रुचि छ त्यस विषयमा शिक्षा लिएपछि मात्र पेशामा प्रवेश गरे राम्रो हुन्छ ।

 

Leave A Comment