-यापर भीटेन :'-याप गाउँदा बहुला जस्तो के गरिरा’ भन्थे’

बुधबार, १२ मङि्सर २०७५, ०५ : ०३ अनिल यादव
-यापर भीटेन :'-याप गाउँदा बहुला जस्तो के गरिरा’ भन्थे’

समीर घिसिङ परिचयविहीन छन् । उनको परिवारले माया गरेर राखिदिएको उनको नामलाई उनका साथीले जुराएको ‘भीटेन’ नामले छपक्कै छोपिदियो । २२ वर्षीय उनी अहिले त्यही नामले परिचित छन् स्रोतामाझ । ‘गरिबी...’ गीतबाट आफ्नो -याप यात्रा थालेका उनी अहिले नेपालका महँगा -यापरको सूचीमा छन् । ‘सिमसिमे पानी...’ गीतबाट उनी युट्युब ट्रेन्डिङमा समेत छाएका थिए । दर्जन बढी हिट गीत ल्याइसकेका उनी स्टेजमा जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ लफडा भएका खबर पनि सुनिन्छन् । आफ्नै पाराका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

अचेल केमा व्यस्त हो ? 
नयाँ एल्बम सुरु गर्न लाग्या छु । त्यसकै लागि म्युजिक बनाइरा’छु । 

एउटा कुरा सोधिहालौँ, तपाईंको नाम भी–टेन किन ? 
खासै कारण त छैन । गाउँमा केटाहरुले मलाई बोलाउने नाम थियो क्या– भीटेन, त्यही भएर । 

केटाहरुले कसरी राखे त यो नाम ?
यो नाम राख्ने खास साथीसँग धेरै भयो भेट भएको छैन । गाउँ (रौतहट, चन्द्रनिगाहपुर) मा हुँदा उसैले यो नाम राख्देको थियो । सुरुसुरुमा अप्ठेरो लागे पनि पछि यही नाममा बानी परियो । 

‘खलाँसी’ भन्ने -याप त्यही साथीलाई डेडिकेट गरेर गाएको होइन ?
हो । त्यो साथी खलाँसी गर्दोरै’छ । एकदिन रत्नपार्कमा गाडी पर्खेर बसिराथेँ, सुइइयँ गाडी आइरा...। अनि गाडीबाट कसैले बोलायो, आइज टाइपले । किन बोलाइराछ यस्तरी, को रै’छ भनेको त साथी पो रै’छ । गाडीमा काम गर्दोरै’छ । हेर्दा पनि फोहोरी लाग्यो, बिरामीजस्तो देखे क्या ! एकदमै छोयो । म पनि त्यस्तै नै थिएँ, कुनैबेला । अनि लेखेर गाएँः 
मेरो मन पूरै रित्तो
मेरो साथी भनेको
त्यही गाडीको भित्तो 
जिन्दगी फोहोरी कपडामै बित्छ
त्यही पनि ठीक छ...। 

जे होस्, उसले राख्देको नाम हो क्या, भी–टेन । टाढा हुँदा झन् मिस हुन थाल्यो त्यो नाम । आफूले आफूलाई भी–टेन भन्दा नै रमाइलो लाग्थ्यो । त्यसैले राखेको हो । 

पछि त्यो साथीले ‘खलाँसी’ -याप सुनेपछि केही रेस्पोन्स गर्याे ?
त्यसपछि एकचोटी भेट्या थिएँ । कुरा भयो तर उसले त्यो गीतबारे केही कुरै गरेन । मैले पनि सोधिनँ । नयाँ–नयाँ र्याप सुना न भन्यो । मैले सुनाएँ तर त्यो गीतबारे कुरै भएन । 

एकछिन पछाडि फर्कौं है । यो -याप म्युजिकप्रति तपाईं कसरी आकर्षित हुनुभयो ? 
पहिला सुरुमा, म हल्का डान्सहरु पनि गर्थें । हिपहप डान्स मनपथ्र्यो । त्यतिबेला र्यापहरुमै डान्स सिक्थ्यौँ । त्यतिबेला गिरीश दाइ (खतिवडा), एड्री दाइहरुकै र्यापहरु सुन्थ्यौँ । दामी लाग्थ्यो र्याप । आफैँ ट्राई गर्न थालियो । लेख्न ट्राई गरियो । ट्राई गर्दागर्दै यहाँसम्म आइपुगियो । यो त जति सोच्यो, त्यति गर्न मन लाग्दो रै’छ ।

कति उमेरदेखि हो -याप गाउन थालेको ? 
एसएलसी दिएदेखि हो । सात–आठ वर्ष भयो होला । 

गाउँघरतिर के भन्थे -याप गाउँदा ?
म त्यतिबेला काठमाडौँ नै आइसकेको थिएँ तर गाउँतिर जाँदा -याप हान्थे । सबैलाई थाहा थियो, यसले र्याप हान्छ । जे होस्, रमाइलै हुन्थ्यो । 

अहिले पनि -याप गीत सबैको प्रिय हुन सकेको छैन । एउटै खाले अडियन्स मात्र हुन्छन् यसका । किन होला ?
त्यही त किन होला ? मलाई पनि थाहा भएन । 

सुरुसुरुमा फेमिलीबाट कस्तो रेस्पोन्स आउँथ्यो ?
राम्रो रेस्पोन्स आउँदैनथ्यो । ए, बहुला जस्तो के गरिरा भनिरहनुहुन्थ्यो तर त्यो चिजले मलाई कहिल्यै छोएन । मलाई मज्जा आउँथ्यो नि त ! जसले जे भने पनि यो पनि आफ्नो भावना व्यक्त गर्ने एउटा पारा हो नि त ! 

तपाईं सानै उमेरमा हिट हुनुभयो है ?
खै ? के भएँ, त्यो त म आफैँ कसरी भनुँ ? 

युवापुस्तामाझ तपाईंको क्रेज राम्रो देखिन्छ । यति सानै उमेरमा यो सफलता पाउँदा कस्तो लाग्छ ?
सोचेको थिइनँ यति प्रिय हुन्छु भन्ने । स्टेजमा ¥याप गीत गाउने चाहना त थियो नि ! र्याप भनेपछि गल्लीतिर दुई–चार जना केटाहरुका बीचमा मात्रै गाइन्थ्यो । कहिलेकाहीँ ५०–६० जनाको ग्रुप बनाएर गाइन्थ्यो । यम दाइहरुले पनि बिग स्टेजमा गरिरहनुभएको त थियो तर कम थियो । मलाई पनि बिग स्टेजमा गाउने चाहना थियो । साथीभाइहरुबीच गाउँदागाउँदै मैले त्यो अवसर पाएँ । खुसी लाग्छ । 

आफ्ना लागि म्यानेजर नै राख्नुपर्ने अवस्था आउला भन्ने त पक्कै सोच्नुभएको थिएन होला ? 
समय यस्तो हुँदै आयो कि धेरै चिज मिलाउँदै जानुपर्ने भयो । राख्नैपर्ने भयो । सिधै सोहरुको कुरा आउँछ । मैले गीत गाएर कसैलाई राम्रो हुन्छ भने त सय वटा पनि गाइदिनसक्छु तर धेरै कुरा आउँछ यो बीचमा । पैसाको कुरा पनि आउने रै’छ । आफैँ डिल गर्दा सिधै आफूलाई बेचिराको जस्तो फिल हुने रै’छ । फेरि मलाई बार्गेनिङ गर्न पनि नआउने । डिल गर्न सकिनँ  मैले । त्यसैले म्यानेजर राख्नुपरेको हो । 

हिट भएपछि आफूलाई सम्हाल्न कत्तिको गाह्रो हुनेरैछ ? 
गाह्रै हुन्छ । मेन्टेन गर्न नसक्दा आफूसँग भएको चिज कतिखेर गुम्छ आफूलाई थाहै हुन्न । अहिले भने सानो चिजले पनि बानी लाग्देला भन्ने डर हुँदो रै’छ । नराम्रो बानी लाग्देला भनेर निकै डराउँछु । 

तपाईं खासमा गाउँबाट काठमाडौं केका लागि भनेर आउनुभएको थियो ? 
बाउले पठाको हो । कामसाम गर् भनेर पठाको हो । आफैँ आको होइन । आयो, हल्लियो, हिँड्यो । काकाको पेन्टिङ स्कुल थियो । त्यही पेन्टिङ सिकियो । म पढ्छु कि पढ्दिनँ मलाई नै थाहा थिएन । पढ्न नि मन लाग्थेन । हाउडे पाराले बसिराको थिएँ । यत्तिकै -याप गाउन थालियो । 

यहाँ टिक्न संघर्ष गर्नुपरेन ? 
आफ्नै मान्छे हुनुहुन्थ्यो । त्यसैले त्यस्तो संघर्ष त गर्नु परेन । 

पहिलो गीत ‘गरिबी...’ आफ्नो जीवनसँग कति नजिक थियो ? 
हजुरबाउ, बाउ, म सबै त्यस्तै हो । ब्याकग्राउन्ड खतरा होइन । आज कमाउने, आजै खाने टाइपको । अनि यस्तो सोचेँ, त्यस्तो टाइपको मान्छे पनि हुँदोरैछ । धेरै देखेँ त्यस्ता मानिसहरु ! त्यही हिसाबले बनाको गीत हो यो । 

कस्तो कुराहरुले -याप लेख्न प्रेरित गर्छ ?
धेरै कुराले हुन्छ । रमाइलो गरेको बेलाको पनि हुनसक्छ । केही कुराले छोएर पनि हुन सक्छ । कुनैबेला छट्टु फिल आएर पनि हुनसक्छ । कुनैबेला मलाई गल्ती महसुस भएर पनि हुन सक्छ । जे महसुस हुन्छ, त्यही लेख्ने हो अनि गाउने हो । 

तपाईंलाई नै मन परेको तपाईंको गीत ?
‘मान्छे खत्तम’ हो । गीतभित्र लभस्टोरी छ । 

अँ, मैले सुनेको छु । केटीले केटालाई धोका दिएको र पछि त्यो केटालाई अर्को केटीले धोका दिएपछि गल्ती महसुस भएको कथा छ । आफ्नो लाइफसँग नजिक छ कि क्या हो ? 
हल्का (हाँस्दै) । 

आफू खत्तम छु जस्तो लाग्छ हो ?
लाग्छ । मलाई मात्रै होइन हरेक मान्छेलाई त्यस्तो लाग्नुपर्ने हो । खत्तम पनि छु । कमिना टाइपको पनि छु । लास्टै राम्रो पनि छु । हँसिमजाक पनि त्यस्तै गर्छु होला । र, र्यापमा म मेरा यी सब क्यारेक्टरहरु निकालिराको हुन्छु । मेरो कमिनापन पनि, मेरो राम्रोपन पनि... सबै, सबै । फेरि म निकाल्छु भनेर निक्लिने पनि होइन ! आपसेआप निक्लिने हो । आफैँलाई नै थाहा नहुनेगरी । 

र्यापमा रफ शब्दहरु एकदमै सुनिन्छ । तपाईंका पनि केही गीतमा त्यस्तो भेटिन्छ । यो आवश्यक नै पर्छ, हो ? 
र्यापको बाउन्ड्री छैन । अपमान गर्न खोजेको होइन तर कतिपय सिंगरहरुलाई आफू सेभिएज भएको सुहाउँदैन जस्तो लाग्छ तर र्यापरहरु जे पनि गर्दिराको हुन्छ क्या ! खासमा र्याप त एउटा ठग कम्युनिटीबाट आएको हो नि त ! स्ट्रिट लाइफमा बाँचिरहेकाहरु जसको आमाबाउ छैन, जसलाई जे बोल्दा पनि बालै लाग्दैन, जो खुलेर मुखसुख छाड्दिराको हुन्छ, उनीहरुको पारा हो नि त ! हो, क्यारेक्टरमा घुस्दाखेरी अलिअलि रफ शब्द प्रयोग हुन्छ । पात्रभित्र घुस्दाखेरी नाटकीय मान्छे भएर पनि भएन । त्यसैले यो खासै ठूलो कुरा हो जस्तो त लाग्दैन । 

तर हाम्रो समाजले यो कुरा पचाउँदैन नि त, होइन ? 
खासमा त संसारले नै पचाउँदैन । राम्रो होइन नि त ! छाडा बोल्नु राम्रो हो र ? होइन नि त । त्यही भएर नपचाको हो । तर नेपालकै कुरा गरौँ न, केही कुरा सिस्टममा छैन, जताततै ठग लाइफ छ क्या ! सिस्टमेटिक केही छैन । यहाँ यत्तिकै मान्छे खत्तम भइसकेको छ । त्यसैले पनि यहाँ यस्तो चिजहरु बाल नहुनुपर्ने हो । मुख छाड्न कसलाई आउँदैन र ? सबैलाई आउँछ । त्यसोभए सुन्न किन लजाउनु ? पुलिसले त मुख छाडेको सुनिन्छ यहाँ । देशको सुरक्षा जिम्मा लिएको पुलिसजस्तो मान्छेले मुख छाड्छ भने अरुको के कुरा गर्नु ? रिसमा, फिलमा आएर बोलिएको कुराले खासै मतलब गर्छ जस्तो लाग्दैन । ¥याप पनि फिलमा आएर गाउने कुरा हो । त्यसैले यस्ता शब्दहरु निस्किन सक्छन् । 

अर्को कुरा, भी–टेन जहाँ पुग्छ, त्यहाँ लफडा हुन्छ भन्छन् नि ? 
(लामो हाँसोसहित) खोई, किन हुन्छ ! 

जहाँ गयो त्यहीँ ढुंगा प्रहार भएको खबर आउँछ, किन होला ?
खोई किन हुन्छ मलाई नै थाहा भएन । इभेन्ट भनेको रमाइलोको लागि हुने हो । कन्सर्टतिर कतिपय पिएर आएका हुन्छन्, पिइरहेका हुन्छन् । त्यस्तैहरुले हो लफडा गर्ने । यो प्रायः मेरोमा मात्रै नभएर अरुकोमा पनि हुन्छ जस्तो लाग्छ । 

तर तपाईंकोमा बढी नै सुनिन्छ क्या ?
त्यही त । एकचोटी हल्ला भएपछि अरुलाई पनि आँट आउने रै’छ कि क्या हो ! हान्नेहरुलाई झन सजिलो हुने रै’छ । 

हान्न चैँ किन हान्छन् त तपाईंलाई नै ? 
त्यो चैँ मलाई पनि थाहा भएन । मैले त राम्रै बोलिरा’हुन्छु जस्तो लाग्छ । ढुंगा हान्ने मान्छेलाई आँखाले देखे भने पनि स्टेजमा ल्याएर मान्छेहरुको अगाडि राम्रोसँग सम्झाएर पठाइदिन्छु होला तर लफडा भने गर्दिन म । त्यही पनि कुनै बेला ढुंगा आउँछ, म के भनुँ ! सायद मलाई मन नपराउनेहरुले यसो गर्छन् । 

भनेपछि लफडा तपाईं आफैले निम्ताउनु हुन्न ? 
म त्यस्तो लफडाबाज होइन । लफडा हुने भन्ने थाहा पाको भए म त्यस्तो प्रोग्राममा जाँदै जाँदिन थिएँ । 

तपाईं त महँगो -यापर पनि भन्छन् नि ?
अहिले सबै कुरा महँगो छ । म खुसी हुने माध्यम त गीत–संगीत हो । भिडियो बनायो, महँगो छ । एउटा म्युजिक भिडियो बनाउँदा तीन–चार लाख जान्छ । भोलि म चल्छु, चल्दिन थाहा छैन तर १० वर्षपछि म झन् महँगो हुन्छु । यो चैं पक्का हो । बरु म मुस्किलले वर्षमा एउटा प्रोगाम गर्छु तर महँगोमै गर्छु । यो मैले मेरा लागि मात्रै होइन, पछि आउने नयाँ पुस्ताका ¥यापरलाई पनि सजिलो हुन्छ भनेर गरेको हो । नयाँ र्यापरले भोलि आएर सस्तोमा काम गर्नु नपरोस् भनेर हामीले अहिले नै बाटो बनाइदिनु पनि पर्छ ।  

अहिले कति पारिश्रमिक लिनुहुन्छ ?
म अहिल नेपालभित्र डेढ लाख र नेपाल बाहिर अढाई लाख लिइरहेको छु । 

तपाईंले अहिले चुरोटको सर्को तानिरहँदा मलाई तपाईंको हिट -याप गीत ‘चुरोट...’ याद आइरहेछ !
त्यही त (हाँस्दै) । फेसबुकमा हाल्देको थिएँ त्यो गीत, अचानक भाइरल भयो । मैँ छक्क परेको थिएँ । सायद केटाहरुलाई त्यो गीत आफ्नै कथाजस्तो लाग्यो, त्यसैले हिट भयो । 

नेपालको -याप म्युजिकको ट्रेन्ड कस्तो छ अहिले ?
डेन्जर भइरा’छ अहिले । दिनहुँ गीत निस्किरा’छ । सायद आज पनि निस्क्यिो होला । कतिले एकअर्कालाई गाली गरिरा’ हुन्छ । तँ यस्तो, म यस्तो..यस्तै यस्तै । म्यासेज बोेकेको गीत पनि निस्किरा’छ । सबैखाले आइरा’छ । 

तपाईंको विचारमा -याप गीत कस्तो हुनुपर्छ ? 
र्याप सबैथरीको हुनुपर्छ । मान्छेअनुसारको हुन्छ । तपाईंलाई रमाइलो गर्न मन लागेको छ भने रमाइलै र्याप पनि हुनसक्छ । शब्द बुझिने हुनुपर्छ किनभने -याप नर्मल्ली अरुखाले गीतभन्दा धेरै छिटो हुन्छ । चन्द्रकान्ता भन्द्या छ । सुन्नेलाई के भन्या हो त भन्ने नहोस् (हाँस्दै) । शब्दको अर्थ सोच्दाखेरी उता ४ वटा लाइन फुत्किसकेको नहोस् । 

भी–टेनको केटाभन्दा बढी केटी फ्यानहरु छन् रे हो ?
किनभने केटाहरु प्रायः केटीकै फ्यान हुन्छन् क्या ! त्यसैले केटीहरु केटाको फ्यान हुँदा त्यस्तो लागेको हो । मलाई बराबरी नै छ जस्तो लाग्छ । 

मरिहत्ते गर्ने केटी फ्यान कत्तिको छन् ?
(लजालु मुस्कानसहित) अलिअलि । 

बिहे गरौँ पनि भन्दा हुन् ? 
(हाँस्दै) लभ यु भन्नेहरु त हुन्छन् सिधै बिहे गरौँ त भन्दैनन् हौ । 

गर्लफ्रेन्ड छ कि छैन ?
गर्लफ्रेन्ड त छ हैन तर जुन मान्छेहरुले सोच्छ नि त्यस्तो छैन । (हाँस्दै) 

प्रेमिका भनेको क्या !
कस्तो गाह्रो क्या अब (हास्दै) ! सिरियस टाइपको लभ छैन हौ । 

भी–टेनको गर्लफ्रेन्ड छैन भन्दा पत्याउलान् र !
नपत्याएर के गर्नु त ? रियालिटी यही त हो ! मलाई त यस्तो कुरा गर्दा लाज लाग्छ क्या (हाँस्दै) । 

खोजेजस्तो नभेटेर हो ? 
त्यस्तो पनि होइन । मलाई सबै पुग्दो छ । केहीको कमी छैन तर मेरो ध्यान अहिले अन्तै छ । खालि /र्यापकै मात्र धुनमा छु । 

बिहे गर्ने मन नै छैन कि क्या हो ?
सोचेकै छैन त्यसबारे । पहिला त (बिहे) गर्दिनँ नै भन्थेँ । अहिले भने त्यस्तो भन्दिनँ । लाइफ जसरी जान्छ, त्यसरी नै जान दिन्छु । धेरै केही सोच्दिनँ । 
 

Leave A Comment