खस्कँदो मोडलिङ

बुधबार, १२ मङि्सर २०७५, ०५ : २४ मनोज घर्तीमगर
खस्कँदो मोडलिङ


पोखरालाई एकताका राम्री युवतीहरुको सहर भनिन्थ्योे । यहा“का युवतीहरुको ग्लामरको चर्चा देशव्यापी चल्थ्यो । युवतीहरुको ग्लामरकै कारण पूरै पोखराको छवि नै ग्ल्यामरस थियो । म्यूजिक भिडियो होस् वा कुनै विज्ञापन मोडलिङ । मोडल खोज्नका लागि धेरैको रोजाइ बनेको थियो पोखरा । मोडलिङमै करियर बनाउने योजनाका साथ पोखरामा एकताका मोडलहरु निकै जुर्मुराए । अहिले भने युवतीहरुको सहर पोखरामा ग्ल्यामर फिल्डको अवस्था गिर्दो छ । यहाँ मोडलिङ क्षेत्रमा लाग्ने युवायुवती पाउनै मुस्किल छ । 

सुन्दर युवतीहरूको सहर पोखराले यतिबेला मोडेलकै अभाव बेहोर्दैछ । र्याम्पमा हिँड्ने उत्कृष्ट मोडल भेट्नै गाह्रो छ अहिले । पेपर मोडलिङमा उपस्थिति नै छैन । फाट्टफुट्ट भिजुअल मोडलिङमा केही अनुहार देखिए पनि निरन्तरता छैन । पोखराका मोडेलहरू धेरै पलायन भइसकेका छन् । एकताका चर्चामा रहेका मोडलहरु अहिले पोखरामा देख्न पाइँदैन । ‘यतिबेला पोखरामा युवती मोडलहरु खोज्यो भने भेट्टाउन मुस्किल छ’ पोखरामा विभिन्न इभेन्ट गर्दै आएको ट्रेनर नेपालका अध्यक्ष रबिन गुरुङ भन्छन् । 

चाहे फोटोसुटका लागि होस् वा म्युजिक भिडियो अथवा फिल्मकै लागि किन नहोस् । कुनै बेला पोखरामा ग्ल्यामर फिल्डमा युवतीहरु खुब भेटिन्थे । अहिले उनीहरु पलायन भइसकेका छन् भने नया“ पुस्ताका युवतीको यो फिल्डमा आउनै चाहिरहेका छैनन् । विभिन्न भाव भंगीमा युवतीले मोडलिङ गरेका तस्बिर ग्ल्यामर साइट चलाउनका लागि सबैभन्दा महत्वपूर्ण अंग हुन् ।

तर, अहिले मोडल भेटिनै छाडेपछि त्यसैको प्रभावले पोखरामा खुलेका केही ग्ल्यामर साइट बन्द भैसकेका छन् । पोखरा सिटी डटकम, लभ्ली पोखरा डटकमहरु बन्द भइसके भने केही बन्द हुने क्रममा छन् । पोखरामा बन्ने म्युजिक भिडियो र फिल्महरुमा युवती मोडल तथा आर्टिस्टहरु काठमाडांैबाट मगाउनुपर्ने बाध्यता छ ।

केही औ“लामा गन्ने मोडलहरु पोखरामा भए पनि उनीहरु व्यावसायिक बन्न सकेका छैनन् । ‘व्यावसायिकताको अभावले पोखरामा मोडलिङका लागि युवतीहरु पाइन छाडेका छन्’ ठिकठाक डटकमका ग्ल्यामर फोटोग्राफर सुरज श्रेष्ठ भन्छन्, ‘रहरै रहरमा आउने तर यही फिल्डमा भविष्य नदेखेर धेरैजसो हराइसकेका छन् ।’ 

कुनैबेला पोखराको मोडलिङ क्षेत्र निकै चम्किलो थियो । मोडलिङका लागि नामी सहरका रुपमा चिनिए पनि अहिले त्यस्तो माहोल छैन । सोचेजस्तो अवसर पनि नपाइने अनि आम्दानीले समेत धान्न नसकेपछि मोलहरु यो क्षेत्रबाट बिदा लिएका हुन् ।

पोखरामा पछिल्लो समय मोडलिङप्रतिको आकर्षण घट्दै गएको छ । पुराना मोडल पलायन भएपछि पछिल्लो समय देखिएका केही नयाँ अनुहारले पनि मोडलिङलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले  पोखरामा म्युजिक भिडियो सुटिङ गर्दा पनि मोडल पाउनै गाह्रो भएको छ’ म्युजिक भिडियो निर्देशक जसु गुरुङ भन्छिन्  । 

मोडलहरुको पलायनसँगै पोखरामा मोडलिङसम्बन्धी गतिविधि समेत हुन छाडेका छन् । साता बिराएर हुने फेसन सो कम भए तर, ब्युटि कन्टेस्ट बढे । नियमित रुपमा फेसन सो गर्दै आएको पोखराको इन्टरनेसनल फेसन कलेज (आइएफसी) ले फेसन सोहरु गर्न छाडिसकेको छ । ‘फेसन सो गर्न पोखरामा मोडलहरुको अभाव छ’ फेसन आइएफसीका फेसन डिजाइनर नवीन पाख्रिन भन्छन्, ‘मोडलहरुको पलायनले फेसनसम्बन्धी कार्यक्रममा कमी आएको छ । त्यसले मोडलिङमा प्रभाव पार्ने नै भयो ।’ 

पुराना मोडलहरुको पलायन र नयाँ अनुहारहरूको आगमन नहुँदा मोडलिङको चहल–पहल घटेको हो । कुनै बेला पोखराको मोडलिङलाई उचालेका सकिला गुरुङ, श्रृजु उदास, कोमल हिराचन, रोशनी गुरुङ, हिमा गुरुङ, लक्ष्मी गुरुङ, रिना गुरुङ, सोनम विष्ट, बविता शर्मा, अनु ढकाल, रेखा पुरी, दिपिका खत्री, आस्था गुरुङ, पुस्पा पुन, सपना गुरुङ, नविना पुन, सुमन सुनार, श्वेता केसीलगायतका दर्जनौं मोडलले यो क्षेत्र छाडिसकेका छन् ।

फोटो सेसनका लागि मोडलहरुको लाम लाग्ने पोखराका ग्ल्यामर साइटहरुमा अहिले मोडलहरुको तस्बिर राख्नसमेत हम्मे परेको छ । ‘केही वर्षअघिसम्म फोटोसेसन गर्न आउनेहरुले हामीलाई हैरान गर्थे’ जक्सन डटकमका फोटोग्राफर भूपालकुमार गुरुङ भन्छन्, ‘अहिले त मोडल खोज्दै हिँड्न हैरान भएको छ ।’ 

मोडलहरुमा आएको हैरानी र नैराश्यता अनि पलायन गर्दा मोडलिङमा कमी आएको धेरैको बुझाइ छ । पोखरामा हुने मोडलहरु प्रायगरी मंगोलियन अनुहार भएको र उनीहरु पछिल्लो समय विदेश जाने लहर चलेकोले पनि पोखरामा मोडलहरुको कमी आएको हो ।

तर, पोखराको खस्कँदो मोडलिङबारे विभिन्न ब्युटी प्याजेन्ट गर्दै आइरहेको एसटी क्रिएसनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापा भने सहमत छैनन् । ‘जुन क्षेत्रमा पनि आउने जाने क्रम चलिरहन्छ । पोखराको मोडलिङ प्रचार गरेजस्तो खत्तमै भएको छैन’ उनी भन्छन्, ‘बेला–बेला पोखरेली मोडलको राष्ट्रिय पत्रिकामा ब्लोअप आइरहेको छ । विभिन्न प्याजेन्टमा युवतीहरु सहभागी भइरहेका छन् । म्युजिक भिडियो खेलेकै छन् । कुनै जमानाको जस्तो हट छैन । फरक यत्ति हो ।’ 

 

Leave A Comment