पुरुषमा पनि स्तन क्यान्सर

बुधबार, १२ मङि्सर २०७५, ०५ : ४३ शुक्रवार
पुरुषमा पनि स्तन क्यान्सर

शरीरमा अनियन्त्रित रुपमा कोषिकाको उत्पादन हुनुलाई क्यान्सर भनिन्छ  ।     सामान्यतः केही कोषिकाबाहेक शरीरका कोषिका निरन्तर रुपमा पुराना मर्ने र नयाँ आउने प्रक्रिया चलिरहन्छ । कुनै कोषिकामा क्यान्सर हुन सक्ने क्षमता पनि हुन्छ । क्यान्सर हुन नदिन शरीरका अन्य संयन्त्रले त्यस्ता कोषिकालाई नियन्त्रण गर्छन् । क्यान्सर बन्न नदिने संयन्त्रमा गडबढी भएको अवस्थामा क्यान्सरका कोषिका सक्रिय हुन सक्छन्  र क्यान्सर हुने जोखिम हुन्छ । 


शरीरमा अनावश्यक कोषिका उत्पादन हुन्छन् । अनावश्यक कोषिकाको नियन्त्रण गर्ने संयन्त्र फेल हुँदा क्यान्सर गराउन सक्ने कोषिकाको अत्यधिक उत्पादन हुन थाल्छ । अनियन्त्रित रुपमा क्यान्सरका कोषिका बढ्दै जान्छन् । त्यस्ता अनावश्यक कोषिकाले शरीरमा गलत काम गर्छन् र शरीरलाई दुःख दिन थाल्छन् । रगतको माध्यमबाट त्यस्ता अनावश्यक कोषिका शरीरको विभिन्न भागमा फैलिन्छन् । 

दुई किसिमका ट्युमर
बिनाइन्ट र म्यालिग्नेट गरी ट्युमरलाई दुई भागमा विभाजन गरिन्छ । 
म्यालिग्नेन्ट ट्युमर क्यान्सर हो । म्यालिग्नेन्ट ट्युमरमा क्यान्सरको कोषिका बढ्दै जान्छ । बिनाइन्ट ट्युमरमा पनि अनावश्यक कोषिकाको उत्पादन हुन्छ तर नियन्त्रित रुपमा हुन्छ । यो शरीरभर फैलिँदैन । धेरै सक्रिय हुँदैन । बिनायन्ट ट्युमरमा शरीरको कुनै भागमा गाँठो आयो भने काटेर फालिदिएपछि (उपचारपछि) समस्या समाधान हुन्छ । 

म्यालिग्नेन्ट ट्युमरको कोषिका सक्रिय हुन्छ ।  शरीरको रगतभित्र छिर्छ । रगतको माध्यमबाट शरीरको अर्को ठाउँमा पुग्छ । रगतको माध्यमबाट गएको कोषिका उपयुक्त वातावरण पाउनेबित्तिकै शरीरका अन्य भागमा पनि अनावश्यक रुपमा उत्पादन हुन थाल्छ र फैलिन थाल्छ । क्यान्सरको कोषिका सामान्य कोषिकाभन्दा सक्रिय हुन्छ । क्यान्सरका कोषिका बढ्दै जाँदा सामान्य कोषिकालाई क्यान्सरका कोषिकाले मारिदिन्छन् । सामान्य कोषिकालाई मार्दैै गएपछि सामान्य कोषिकाले खाने खाद्य पदार्थ क्यान्सरका कोषिकाले खाँदै जान्छ र क्यान्सर फैलिँदै जान्छ ।
 
पुरुषमा पनि स्तन क्यान्सर
महिलालाई मात्रै हैन, पुरुषको पनि स्तन क्यान्सर हुन्छ । महिलाको तुलानामा पुरुषमा भने स्तन क्यान्सर अन्त्यन्तै कम भएको पाइन्छ । नेपालमा एक प्रतिशत भन्दा कमै पुरुषमा स्तन क्यान्सर पाइन्छ । पहिले–पहिले महिलाको शरीरमा उत्पादन हुने हार्मोनका कारणले महिलाको स्तनको क्यान्सर हुन्छ भनिन्थ्यो । अहिले भने अन्य कारणले पनि स्तन क्यान्सर हुन्छ भन्ने पत्ता लाग्यो ।

स्तनमा भएको कोषिकाले रगतमा भएको हार्मोन तान्छ । स्तनमा भएको कोषिकाले हार्मोन लिने  प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । गडबडी भएर क्यान्सर कोषिकामा परिवर्तन हुन्छ । महिलाको स्तनमा बिना हार्मोनका कारणले पनि क्यान्सर हुन्छ । तर खास कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

स्तन क्यान्सर हुने प्रमुख कारण हार्मोन हो । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारणले पनि स्तन क्यान्सर हुन्छ । 

ग्रोथ फ्याक्टरका कारणले पनि क्यान्सर हुन सक्छ । ग्रोथ हार्मोन सबैको शरीरमा हुन्छ । ग्रोथ हार्मोन शरीरको वृद्धि विकास गर्ने हार्मोन हो । शारीरिक विकास गर्ने हार्मोनका कारणले पनि क्यान्सर हुन सक्छ । 
कुनै पनि किसिमको हार्मोनको गतिविधि नहुँदा पनि क्यान्सर हुने सम्भावना हुन्छ । हार्मोनको गतिविधि नहुँदा भने थोरै व्यक्तिमा क्यान्सर भएको देखिन्छ । विभिन्न खानपानका कारणले पनि क्यान्सरको जोखिम हुन्छ । 

स्तन क्यान्सरका संकेत
महिला वा पुरुषको स्तनमा गाँठो आउनु स्तन क्यान्सरको संकेत हो । स्तनमा छाम्दा गाँठो छ भने स्तन क्यान्सर हुन सक्छ । स्तनमा आएका गाँठागुँठी आफैँ छामेर थाहा पाउन सकिन्छ । प्रायः क्यान्सरमा साह्रो किसिमको गाँठा हुन्छ । काखीमुनि छाम्दा पनि गाँठो भेट्न सकिन्छ । क्यान्सर स्तनबाट सरेर काखीमुनि पुग्छ । त्यसैले महिलाले स्तन तथा काखीमुनि गाँठो भेट्नुलाई क्यान्सरको एडभान्स स्टेज भनिन्छ । काखीमुनि गाँठो भेट्नु क्यान्सर छिप्पिसकेको संकेत हो । पुरुषको पनि क्यान्सर छिप्पिसकेपछि काखीमुनि गाँठो भेटिन्छ । 

पुरुषको पनि महिलाको जस्तै स्तनको क्यान्सरको संकेतका रुपमा गाँठो भेटिन्छ । स्तन क्यान्सरको प्रमुख संकेत गाँठो नै हो । गाँठो बढ्दै जाँदा छालामा टाँसिन्छ । घाउ हुँदै जान्छ । स्तनमा गाँठो भेटियो भने क्यान्सर हुन सक्छ । सुरुमा स्तनमा क्यान्सर भए नभएको थाहा पाउन कठिन हुन्छ । दुख्ने पनि हुँदैन । क्यान्सर बढेर फैलिँदै जाँदा छालामा टाँसिने, रातो हुने, घाउ हुने, दुख्ने जस्ता लक्षण देखिन्छन् । 
पुरुषको स्तन सानो हुने भएकाले स्तन सुन्निएको बाहिरैबाट देखिन्छ ।

पुरुषको स्तनमा ट्युमर आउनेबित्तिकै स्तन सुन्निएर बाहिरबाट हेर्दा नै स्तन ठूलो देखिन्छ । उभिएर ऐनामा हेर्दा पनि स्तन सुन्निएको देख्न सकिन्छ । काखीसम्म नफैलिँदै पुरुषको स्तन क्यान्सरका बारेमा संकेत पाउन सकिन्छ । महिलाको तुलनामा पुरुषको स्तन क्यान्सरको संकेत चाँडो थाहा पाउन सकिने कारण यही हो ।  क्यान्सर फैलिँदै गएपछि फोक्सो, कलेजो, हड्डी तथा मस्तिष्कमा सर्न सक्छ । ढिलो भएपछि चारैतिर फैलिन सक्छ ।

स्तन भुक्क उठेको वा ट्युमर बढेको छ भने क्यान्सर हो कि भन्ने आशंका गर्न मिल्छ । महिलाको बाहिरबाट हेरेर स्तन क्यान्सर भए नभएको अन्दाज गर्न कठिन हुन्छ । रोग छिप्पिसकेपछि मात्र थाहा हुन सक्छ । बाहिर घाउ देखियो भने पनि थाहा पाउन सकिन्छ । त्यसैले महिलाले बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नु उचित हुन्छ ।पुरुषको भने दुवै स्तन एकै साइजको नभएको अवस्थामा पनि क्यान्सरको शंका गर्न सकिन्छ । 

परीक्षण विधि
स्तन क्यान्सर भए नभएको पत्ता लगाउन विभिन्न किसिमका परीक्षण गर्ने तरिकाहरु छन् । मेमोग्राम गरेर स्तन क्यान्सर पत्ता लगाउन सकिने एउटा विधि हो । मेमोग्रामले धेरै हदसम्म स्तन क्यान्सर हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ । पुरुषको स्तन सानो हुने भएकाले क्यान्सर पत्ता लगाउन मेमोग्राम गर्न पनि आवश्यक पर्दैन । सानो टिस्यु हुने भएकाले मेमोग्राम गरिँदैन । छामेर पत्ता लगाउन सकिन्छ ।
छाम्दा पत्ता लागेन भने मात्र मेमोग्राम गरिन्छ ।

महिलाका हकमा भने सबै उमेर समूहका महिलामा मेमोग्राम गर्न मिल्ने भए पनि कम उमेर समूहका महिलाको स्तनको छाला र मांसपेशी बाक्लो हुने भएकाले मेमोग्रामले रोग पत्ता नलगाउन सक्छ । त्यसैले ४५÷५० वर्ष पछिका उमेर समूहका महिलाको स्तन खुकुलिने भएकाले मेमोग्रामले रोग पत्ता लगाउन सहज हुन्छ । 

पुरुषहरुको हकमा अल्ट्रासाउन्ड गरेर पनि स्तन क्यान्सर पत्ता लागाउन सकिन्छ । अल्ट्रासाउन्ड गर्दा कुनै संकास्पद भेटियो भने बायोप्सी जाँच गरिन्छ । अल्ट्रासाउन्ड गरेर पनि रोग पत्ता नलागेका खण्डमा आवश्यकताअनुसार एमआरआई गरिन्छ । एमआरआई भने महँगो हुन्छ । सामान्यतः क्यान्सर छ छैन भन्ने मेमोग्राम, अल्ट्रासाउन्ड र एमआरआई गरेर संकेत थाहा पाउने विधि हुन् । यी परीक्षणमा कुनै ट्युमर देखिए वा शंका लागे त्यस ठाउँबाट सानो मासुको टुक्रो झिकेर जाँच गरिन्छ । जसलाई बायोप्सी परीक्षण भनिन्छ । बायोप्सी गरिसकेपछि करिब–करिब क्यान्सर पत्ता लगाउन सकिन्छ । 

अल्ट्रासाउन्ड गरेर पनि पुरुषको स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ । एफएनएसी (फाइन निडल एस्पिरेसन साइटोलोजी) गरेर पनि पुरुषको स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ । सुई (निडिल)ले स्तनमा रहेको टिस्यु तानेर परीक्षण गरेपछि क्यान्सर भए नभएको पत्ता लगाइन्छ । क्यान्सर भएको पाइयो भने महिलाको स्तन क्यान्सरको जसरी नै उपचार गरिन्छ । 

क्यान्सरको परीक्षण गरेपछि क्यान्सर भएको पत्ता लाग्यो भने फैलिन सक्ने ठाउँ पहिचान गरिन्छ किनभने फैलिएको क्यान्सरको उपचार छुट्टै हुन्छ भने नफैलिएको क्यान्सरको उपचार छुट्टै हुन्छ । सामान्यतः महिलाको स्तनमा भएको क्यान्सर फोक्सो, हड्डी, कलेजो, मस्तिष्क तथा डिम्बाशयमा फैलिन सक्छ ।

पूर्ण ठीक हुने निश्चित हुँदैन
क्यान्सर ज्याद्रो रोग हो । क्यान्सरलाई पूर्ण रुपमा बुझ्न अहिले पनि कठिन छ । क्यान्सरलाई पूर्ण रुपमा निको पार्न गाह्रो छ । क्यान्सर रोगका बारेमा पूर्ण रुपमा यही हो भनेर निक्र्योल गर्न अहिले पनि कठिन छ । 

त्यसैले सुरुको अवस्था हुँदैमा पूर्णरुपमा ठीक हुन्छ नै भन्न कठिन हुन्छ । कसैलाई सुरुको स्टेज छ ठीक हुन्छ भनेर उपचार गर्दा ठीक पनि हुन्छ, तर एक वर्षपछि त्यही व्यक्तिलाई अर्को ठाउँमा क्यान्सर भएका उदाहरण भेटिन्छन् । 

तहतहको क्यान्सर
मेडिकल भाषामा क्यान्सरलाई टीएनएम स्टेजिङ गरिन्छ र क्यान्सरको स्टेज पत्ता लगाइन्छ । परीक्षणपश्चात् क्यान्सर कहाँ कति फैलिएको निक्र्यौल गरिन्छ । यसपछि कुन स्टेजमा क्यान्सर पुगेको छ भन्ने पत्ता लगाएर त्यही अनुुसारको उपचार विधि अपनाइन्छ । केमो, रेडिएसनजस्ता क्यान्सरको उपचार विधि तथा पद्धति हुन् । हार्मोनको कारणले स्तन क्यान्सर भएको हो भने हार्मोनलाई सन्तुलित (हार्मोन ब्लक गर्ने)गर्ने पाँचदेखि दस वर्षसम्म औषधी खाएर क्यान्सर नियन्त्रण गर्न सकिन्छ ।

जति सुरुको अवस्थामा उपचार ग¥यो त्यत्ति नै क्यान्सर निको हुने सम्भावना हुन्छ । जति उपचार ढिलो भयो त्यत्ति नै निको पार्न कठिन हुन्छ । काखीमा स्तन क्यान्सरको गाँठो फैलिएको छैन भने निको हुने सम्भावना धेरै हुन्छ । गाँठो धेरै नफैलिएको अवस्थामा पनि निको पार्ने सम्भावना हुन्छ । क्यान्सर धेरै ठूलो भएर फैलिसकेको अवस्थामा निको पार्न कठिन हुन्छ । 

क्यान्सरका पनि विभिन्न स्टेज हुन्छन् । क्यान्सर फैलिएर चौथो स्टेजमा पुगेपछि बिरामीलाई बचाउन कठिन हुन्छ । महिलालाई हुने चौथो स्टेजको क्यान्सर र पुरुषमा हुने चौथो स्टेजको क्यान्सरमा केही फरक हुन सक्छ । महिलामा क्यान्सर फैलिएर चौथो तहमा पुगिसकेको छ भने पनि केही वर्ष आयु बढाउन सकिन्छ । पुरुषको स्तन सानो हुने भएकाले स्तन क्यासरको संकेत चाँडै थाहा हुन्छ । त्यसैले उपचार पनि चाँडै हुन्छ । त्यसैले क्यान्सर फैलिएर चौथो स्टेजमा नपुग्दै उपचार गरिने भएकाले प्रायः ठीक भएको देखिन्छ । 

क्यान्सर रगतको माध्यममार्फत् फैलिन्छ । क्यान्सर फैलिएको अवस्थामा केमो थेरापी गरेर क्यान्सरको उपचार गरिन्छ । केमो क्यान्सरको उपचार गर्ने औषधी हो । केमोले क्यान्सरका कोषिका मार्छ । केमो रगतका माध्यमबाट शरीरमा फैलिने भएकाले रगतमा भएका क्यान्सरका कोषिका मारिदिन्छ । 

उपचारको क्रममा क्यान्सर नियन्त्रण गर्न रेडियसन पनि दिइन्छ । स्तनमा भएको ट्युमर ठूलो भएको अवस्थामा अप्रेसन गरेर ट्युमर निकाले पनि पुनः पलाउन सक्छ । त्यस्तो अवस्थामा केमोले मात्रै काम गर्दैन । त्यस्तो अवस्थामा रेडिएसन दिइन्छ । रेडिएसनले पनि क्यान्सरका कोषिकालाई नै मार्ने काम गर्छ । रेडिएसनले निश्चित ठाउँमा लुकेर बसेका क्यान्सरका कोषिका मार्छ भने केमोले रगतको माध्यमबाट गएर पूरै शरीरमा काम गर्छ । किमो र रेडिएसनको काम फरक हो । आवश्यकताअनुसार किमो वा रेडिएसन दिइन्छ । 

किमोले शरीरका अन्य आवश्यक कोषिका पनि मारिदिन्छ तर मरेका कोषिका पुनः उत्पादन हुन्छन् । शरीरमा भएको मूल कोषिकालाई भने केही निष्क्रिय गरेको हुन्छ । त्यो मूल कोषिका पुनः सक्रिय हुन्छ । केमोले रोग प्रतिरोधात्मक क्षमता भने कमी हुन्छ । कतिपय विरामीलाई केमो थेरापीले गाह्रोसमेत हुन्छ । कतिपय औषधीका साइड इफेक्ट पनि हुन्छन् । अहिले पाइने औषधी सुरक्षित नै छन् । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment