जीतुकाे तर्क ‘भारतमा कपिल सो हुन्छ भने नेपालमा जीतु सो किन नहुने ?’

बुधबार, १९ मङि्सर २०७५, ०२ : ०९ अनिल यादव
जीतुकाे तर्क ‘भारतमा कपिल सो हुन्छ भने नेपालमा जीतु सो किन नहुने ?’

२३ वर्षयता जीतु नेपाल लगातार दर्शक हँसाइरहेका छन्, कमेडियनका रुपमा । ‘मुन्द्रे’ उनलाई चिनाउने पात्र हो । दुई वर्षदेखि टेलिभिजनबाट हराएका उनी पुनः यही पात्रको नामबाट टिभीमा फर्किएका छन्, ‘मुन्द्रेको कमेडी क्लब’ लिएर । उनको क्लब भारतका चर्चित कमेडियन कपिल शर्माको सोसँग मिल्यो भनेर आलोचना पनि खेपिरहेका छन् । पछिल्लो समय फिल्ममा समेत देखिन थालेका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

दुई वर्षपछि टिभीमा फर्कदा कस्तो लाग्दो रै’छ ?
११ वर्ष ‘जिरे खुर्सानी’मा काम गरिसकेपछि अब सिरियल गर्दिनँ भन्ने निचोडमा पुगेको थिएँ । म जानी नजानी स्ट्यान्डअप कमेडीतिर लागेको मान्छे हुँ । स्टेजमा दर्शक हँसाउँदा–हँसाउँदै अब भने यस्तै सो गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । एजेन्सी र टेलिभिजनले पनि यो खालको कार्यक्रम गर्ने रुचि देखायो अनि सुरु गरियो । 

केही समयअघि भारतीय कलाकार कपिल शर्माकै फम्र्याटमा तपाईंले ‘कमेडी नाइट्स विद् जितु नेपाल’ ल्याउने चर्चा थियो । अहिले नाम ‘मुन्द्रेको कमेडी क्लब’ राखेर कपिलकै सोे को नक्कल गरेको चर्चा छ । के भन्नुहुन्छ ? 
यो हुँदै होइन, मैले बिल्कुल नयाँ निकालेको हो त म भन्दिनँ । यसको बिउ त त्यही नै हो । अहिले म तपाईंको जुन पत्रिकालाई इन्टरभ्यु दिइरहेको छु त्यस्तै पत्रिका अरु पनि छन् यहाँ तर यसको कन्टेन्ट अरुभन्दा फरक हुन्छ । त्यसो भए कपी केलाई भन्ने ? कपिल शर्माले एउटा कलाकार ल्याएर कार्यक्रम गरे भने अब विश्वले त्यस्तो कार्यक्रम गर्न नपाउने भन्ने त पक्कै छैन होला तर यति भन्दाभन्दै पनि फेरि भन्छु, बिउ चाहिँ एउटै हो । मुहान एउटै हो । भारतमा कपिल शर्मा सो हुन्छ भने यहाँ जितु नेपाल सो किन नहुने ? 

तपाईंका तीन एपिसोड हेरिसकेपछि मलाई पनि धेरै कुरा नक्कल भएजस्तो लाग्यो । 
के–के हो, भन्दिनुस् न त । (हाँस्दै) 

जस्तो सोमा इन्ट्री हुने तरिका । कपिलले जसरी सोमा इन्ट्री हुनेबित्तिकै विभिन्न विषयवस्तुमाथि हास्यव्यंग्य गर्थे, तपाईले पनि त्यसै गर्नुभयो । कपिलले पर्मानेन्ट गेस्टका रुपमा नवजोद सिंह सिद्दुलाई राख्थे, तपाईंले यहाँ त्यसैगरी अध्यक्ष बनाएर दीपाश्री निरौलालाई राख्नुभयो । कपिललेजस्तै तपाईंले पनि ‘मेरो सोमा अध्यक्ष बनेर आउँदा तपाईंलाई कस्तो लागिरहेको छ ?’ भन्दै प्रश्न गर्नुभयो । कपिलको सोमा जस्तै तपाईंले पनि पुरुषलाई महिला बनाएर अभिनय गराउनुभयो । स्वीकार्नुहुन्न ? 
मैले राजाराम पौडेलको बैठक कोठालाई प्रयोग गरेर सो चलाएको छु । पहिला सेटको कुरा गर्छु, सेट भक्तपुरको छ । अरुभन्दा फरक छ । अब सोफा पनि मिल्यो भन्ने हो भने त के कुरा गरौँ ? बैठक कोठामा सोफा त जसले पनि राख्छ नि, होइन र ? त्यही पनि म स्वीकार्छु, कताकता कपिलको झल्को आउँछ, नआएको होइन । कपिलबाट प्रभावित भएँ÷भइनँ त्यो आफ्नो ठाउँमा छ तर मैले २३ वर्षदेखि जसरी कमेडी गर्दै आइरहेको छु, अहिले पनि त्यसरी नै गरिरहेको छु । हामीले कपिल शर्माजस्तो सेट त जिन्दगीभर बनाउन सक्दैनौँ । 

एउटा मात्रै कुरा मिलेको भए त संयोग मान्दा हुन्थ्यो तर धेरै कुरा मिलिदियो नि, होइन र ? 
होइन, नमिलेका कुरा पनि धेरै छन् नि ! जस्तो घरबेटीको पात्र मिलेको छैन । केटालाई केटी बनाको भन्नुभयो तर त्यो फुलन्देकी आमाको क्यारेक्टर मैले बनाएको होइन । पहिल्यैदेखि स्थापित कलाकारलाई मैले सोमा राखेको मात्र हुँ । मैले त ‘काउली बूढी’ पनि ल्याउन खोजेको थिएँ तर निकै बिजी रै’छिन् । हामीले यति धेरै कपिल शर्माको सो र भारतीय च्यानल हेर्यौ कि अब मबाहेक कसैले अतिथि बोलाएर कमेडी सो ग¥यो भने पनि त्यस्तै हुन्छ । म प्रभावित नै भइनँ त भन्दिनँ तर फरक हुने प्रयास भने गरिरहेको छु । टोटल कपी हो भनेर चाहिँ म मान्दिनँ । 

प्रशंसकका आलोचनालाई अहिले कसरी लिइरहनुभएको छ त ?
कतिले तारिफ गरिरहेका छन् भने कतिले आलोचना । कतिले चित्तबुझ्दो आलोचना गरिरहेका छन् भने कतिले खेदो खनेजसरी गरिरहेका छन् । कतिले यस्तो कार्यक्रम कति हेर्नु भनिरहेका छन् । अब नहेरे, नहेर्नुस् ! मैले के भन्नु त ! मेरो त काम नै यही हो । कति कुरा त हामीले यहाँ चाहेर पनि फरक गर्न सक्ने अवस्था नै छैन । अब अडियन्स नराखी सो गरौँ भने सन्दीप क्षेत्रीको जस्तो सो बन्दिन्छ, अडियन्स राखेर गरौँ कपिलको जस्तो भइदिन्छ । त्यसैले कुनै पनि रियालिटी सो टोटल्ली फरक गर्न सकिन्न । कपिल शर्माकै जस्तो सो पनि बाहिर धेरै छन् । हामीले त्यताको हेरेको भएर कपी गरेजस्तो लाग्ने मात्रै हो । 

कतिपय भन्छन्, जितु नेपाल आलोचना सहनै नसक्ने मान्छे हो । स्वीकार्नुहुन्छ ?
त्यस्तो होइन । म आलोचना सुन्छु तर तर्कसंगत हुनुपर्यो । यहाँ  मनोज गजुरेलदेखि विल्सनविक्रम राईसम्मले यस्तो रियालिटी सो गर्न खोज्नुभएको हो तर सफल हुनुभएन । मैले त कमसेकम आँट गरेँ । यो कुराको त एप्रिसिएसन गर्नुप¥यो नि ! खाली आलोचना मात्रै गर्नुभएन, काम गर्ने मान्छेलाई हौसला पनि त दिनुप¥यो ! तर अहिले पहिलो एपिसोडमा गाली गर्नेले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । विदेशको सो हेर्दाहेर्दा वाक्क भइएको थियो, नेपालमै आयो खुशी लाग्यो भनेर प्रतिक्रिया दिने पनि छन् । 

सो हेरेपछि कपिल शर्माले त तपाईंलाई फोन गरेका छैनन् नि (हाँस्दै) ?  
कपिलले मलाई कहाँबाट फोन गर्नु ? (हाँस्दै) 

एकपल्ट उहाँ कार्यक्रमका लागि नेपाल आउँदा तपाईंसँग भेट भएको जस्तो लाग्छ । त्यसैले सोधेको ?
हो । हामीले एउटै स्टेजमा पर्फम गर्ने तयारी थियो । पछि कार्यक्रम हुन सकेन । 

तपाईं उहाँको फ्यान त होइन नि ?
होइन । मैले धेरैपछि मात्र उहाँको कार्यक्रम हेरेँ । वास्तवमा भन्नुपर्दा मलाई मनपर्ने र फलो गरेको कलाकार राजु श्रीवास्तव हो । उहाँसँग सिक्किममा सँगै प्रोगाम गर्दा राम्रो चिनजान भएको थियो तर कपिल पनि अद्भूत कला भएका कलाकार हुन् । उनलाई म सम्मान गर्छु । हामी यस्तो देशमा छौँ जहाँ सधैँ हामी आफ्नो देशको भन्दा पनि अरु देशको सेलिब्रेटीको छायाँमा पर्छौ । पत्रिकामै कभरेजको कुरा गर्ने हो भने भोलि कपिल र मेरो सँगै अन्तरवार्ता छापिनुपर्ने परिस्थिति भयो भने कपिलको फुल पेज आउँदा मेरो आधा पेज पनि आउँदैन । हामी यस्तो देशको कलाकार हौँ । के ठूलो कुरा गर्नु ? 

सोमा कला क्षेत्रका सेलिब्रेटी मात्रै ल्याउने कि अरु क्षेत्रबाट पनि ?
होइन, सबै क्षेत्रबाट ल्याउने हो ।

गेस्ट ल्याउन कत्तिको समस्या हुनेरैछ ?
गाह्रो रै’छ । कोही बोलायो आउँदै नआइदिने । फस्ट एपिसोडमा दीपक (गिरी)जीसँग अर्का एकजना हुनुहुन्थ्यो, लास्ट आवरमा आइदिनुभएन । देशमा के राजनीति छ र ? हाम्रो फिल्म क्षेत्रमा त्यसको दोब्बर छ । कोही पनि बुझ्दैन क्या आफूलाई र देशलाई ।

बजारमा अहिले कमेडी विधाको फिल्मले पैसा कमाइरहेको छ । अडियन्सको रुचि पनि त्यसमै देखिन्छ । यस्तो बेलामा तपाईं फिल्म गर्दागर्दै किन टिभीतिर फर्किनुभएको? 
फिल्ममा म फुल्ली लागेको छैन । मेरो लगानी छ तर मेरो काम र सहभागिता दीपक–दीपाको भन्दा कम छ । लेख्ने बेलामा १०–१५ दिन सँगै हुन्छु । सुटिङमा १५–२० दिन समय दिन्छु । अनि पब्लिसिटीमा केही समय । त्यसबाहेक बाँकी समय के गर्ने त ? फेरि म यस्तो मान्छे हुँ कि खाली बस्नै सक्दिनँ । त्यसैले मलाई रहर थियो टिभीमा कमेडी सो गर्ने । स्टेजतिर जाँदा पनि टिभीमा कहिले फर्कने भनेर सोध्थे । अनि अहिले एजेन्सी र टिभीले पनि रुचि देखाएपछि फर्किएको हुँ । 

तपाईंहरुले लगानी गरेका फिल्मले करोड–करोड छापिरहेका छन् । दीपक–दीपा पनि यतै सक्रिय छन् । तपाईंलाई करोड कमाउन छाडेर किन टिभीको चिन्ता ?
यो करोडको हल्ला मात्रै हो । व्यापार भएको हो तर निर्माताको हातमा कमै पैसा पर्छ तर जति पर्छ, त्यो नि हाम्रो लागि अबौँ हो । 

अहिलेको कमेडी ट्रेन्डलाई कसरी हेरिरहनुभएको छ ?
अहिलेको नेपालको कमेडी र सरकार करिब–करिब उस्तै हुन् किनभने सरकारलाई पनि बहुमत छ, कमेडीलाई पनि बहुमतको साथ छ । तर बहुमत पाएँ भन्दैमा सरकारजस्तै गाडीसाडी किन्नेतिर मात्रै लागियो भने डुबिन्छ । दर्शकले जुन समर्थन र बहुमत दिएका छन्, त्योअनुसार अघि बढ्न सकियो भने भविष्य राम्रो हुन्छ । 

तपाईंलाई भेट्न आउनुअघि तपाईंको सोको तेस्रो भाग हेरेको थिएँ ।  सोभित्र एकजना कलाकारले तपाईंलाई इंगित गर्दै ‘जिन्दगीमा सब चिज हुनु, यस्ता जोकरका घरमा नोकर नहुनु’ भन्ने डायलग बोल्छन् । यथार्थमा पनि यदाकदा नेपाली कमेडियनहरुलाई जोकरको आरोप लागिरहेका बेला तपाईंले सोमै यस्तो डायलग राख्नुभएछ है ?
मलाई भन्दा पनि त्यो मुन्द्रे पात्रलाई भनेको हो । मुन्द्रे जोकर हुनसक्छ तर जितु नेपाल जोकर होइन । फेरि त्यो डायलग स्क्रिप्टमा थिएन, फ्याट्टै बोल्दिहालेछ, रमाइलो लागेर राख्दिएँ मैले । बाहिरको आरोपको कुरा गर्दा हामीलाई कतिपय फिल्म लाइनकाले नै जोकर भन्नुहुन्छ तर केही छैन, भन्नेको मुख कसले थुन्न सक्छ र ? 

तपाईंहरुमा पनि कमजोरी छ भन्ने लाग्दैन ? 
हो, सस्ता कमेडी पनि भएका छन् । युट्युबमा बढी यस्तो भेटिन्छ । अहिले आएका भाइहरुमा कमेडीसम्बन्धी अध्ययन कम छ । अरुकै कन्टेन्ट बोलेर हँसाइरहेका हुन्छन् । 

तपाईंले नै लगानी गरेको, खेलेको फिल्ममा पनि त कमेडी सस्तो भएको आरोप छ नि ?
त्यही भएर हाम्ले फिल्मलाई यसपालि सिरियस प्याटर्नमा लाने कोसिस गरेका हौ– ‘६क्कापन्जा ३’ मा । तथापि म के भन्छु भने मान्छे पैसा तिरेर हल गएपछि आनन्द र मनोरञ्जन लिन भनेरै जान्छ । 

एउटा कुरा सोधिहालौँ, मिडियामा आउने फिल्म समीक्षालाई तपाईं कसरी लिनुहुन्छ ?
म त रुचाउँछु, किन न रुचाउनु ? तर हर चिजलाई बुझेर स्वतन्त्र रुपमा समीक्षा गरियो भने राम्रो हुन्छ । यहाँ अहिले अवस्था के छ भने एक निर्माता, दुई च्यानल भइसक्यो । घर–घरमा अनलाइन भइसक्यो । एउटाले पुरै गुनगान गाएर समीक्षा गर्देको हुन्छ, अर्कोले पुरै गाली गरेको हुन्छ । पब्लिकले कुन कुरा पत्याउने ? आधिकारिक÷ठोस खोइ त ? कुनै एउटा निकाय होस्, जसले समीक्षा गरोस् । चाहे त्यो चलचित्र विकास बोर्ड होस् या पत्रकारकै कुनै निकाय । 

चलचित्र विकास बोर्डको काम हो र फिल्म समीक्षा गर्ने ? 
अँ, त्यस्तै कुनै एउटा निकाय होस् न । 

समीक्षा त समीक्षकले गर्ने हो नि, कहाँ विकास बोर्डले गर्छ त ! 
समीक्षक सबै प्रायोजित हुन्छन् अनि कसरी हुन्छ निष्पक्ष ! 

सबैभन्दा बढी समीक्षा त तपाईंहरुकै फिल्मको हुन्छ । त्यसो भए ती सबै प्रायोजित थिए त ?
होइन, होइन हाम्ले त स्वतन्त्र छोड्देका छौँ । हाम्लाई त राम्रो लेखे पनि ठीकै छ, नराम्रो लेखे नि ठीकै । हाम्लाई त द्विअर्थी संवाद राखेकोदेखि महिलालाई उडाएकासम्म आरोप लागेकै हो । हाम्ले ती समीक्षालाई स्वीकारेकै हो नि ! 

तारिफ गर्दा ‘गज्जब’ भन्ने र आलोचना गर्दा गाली गर्दै ‘प्रायोजित’ भन्ने समस्या त तपाई फिल्मकर्मीहरुमा पनि व्यापक छ नि, होइन र ?
हामीमा छैन । जे छ, त्यही गर्नुपर्यो । भित्र सिट खाली हुन्छ, बाहिर सबै हलका दर्शक देखाएर फलानो फिल्मले यति कमायो भन्दै समाचार आउँछ । त्यो के हो ? 

त्यो फेक न्युज हो । तर यहाँ समीक्षाको कुरा भइरहेको छ नि त ! 
(हाँस्दै) अँ, त्यो त हो । 

तपाईंको मुन्द्रे क्लबमा फिल्म प्रचार गर्न आउने टिमले पैसा तिर्नुपर्छ कि पर्दैन ?
म यसको प्रस्तुतकर्ता हो । लगानी की एडभर्टाइजिङ (मिडिया एजेन्सी) ले गर्ने हो । चार्ज त लाग्छ तर कति त्यो निक्र्यौल भइसकेको छैन । 

हामीकहाँ हाँस्य सिरियलहरु खुल्ने र बन्द हुने ट्रेन्ड व्यापक छ । जिरे खुर्सानी पनि आर्थिक अवस्थाकै कारण बन्द भयो । अब यो दोहोरिने समस्या कत्तिको छ ? 
म एकदमै सचेत छु । म मेरो सोमा काम गर्ने कलाकारको एक भागको पनि पैसा बाँकी राख्दिनँ । मेरो जिरे खुर्सानीको केही हिसाब अझै पनि मिडिया हबसँग छ । के कति छ त्यो म भन्दिनँ । सिरियलमा काम गरेको पारिश्रमिक नपाउने कलाकार त यहाँ कति छन् कति ! भित्रभित्रै गुम्सिसकेका छन् उनीहरु । कुल्लीले दिनभरि आएर काम गर्छ भने उसले बेलुका पैसा पाउनुपर्छ । ऊ नाफा÷घाटाको भागिदार हुने भए पो नदिने भन्ने कुरा आउँछ । म मिडिया हबसँग या कुनै एजेन्सीसँग मिलेर प्रोगाम गर्ने अनि नाफा हुँदा गम्ल्याम्म खाने । अनि घाटा हुँदा नोक्सान सबैले व्यहोर्नुपर्ने ? यो एकदमै गलत प्रवृत्ति हो । अहिले मुन्द्रेको कमेडी क्लबमा बरु म मेरो पारिश्रमिक ढिलो लिन्छु तर कलाकारलाई टाइममै दिइरहेको छु । पैसा दिन नसकेकै दिन यो प्रोगाम बन्द हुन्छ । 
 

Leave A Comment