सुन्दर बनाउने सर्जरी

बुधबार, १९ मङि्सर २०७५, ०२ : २५ उपेन्द्र खड्का
सुन्दर बनाउने सर्जरी

सुन्दरता सौन्दर्यका साधनसँग मात्र जोडिन्न । शरीरका अंगका आकार आफू अनुकूल बनाउन, शारीरिक रुपमा देखिएका सुन्दरतामा प्रभाव पार्ने कोठी, दाग आदि हटाउन सौन्दर्य साधन अल्पकालीन मात्रै हुन् । चिकित्साविधाले भने यसको दीर्घकालीन समाधान गर्न सक्छ ।

विकसित देशमा यसको प्रयोग बढ्दो छ । आर्थिक स्रोत राम्रै भएकाहरु विदेशमा गएर यस्तो सेवा लिने गरेका थिए । कम आयस्रोत भएकाहरुका लागि यो सुविधा सम्भव थिएन ।

कम आयस्रोत भएको नेपालमा यसको प्रयोग र प्रभाव बढ्न सक्ला ? यही अन्योलका बीच डा. जसवन शाक्यले स्वस्ति लेजर एण्ड स्किन केयरको सुरुवात गरे । तर अहिले उनी अन्योलमा छैनन् । खुसी छन् ।
शाक्यका अनुसार उनले जुन बेला यो चिकित्साविधामा चासो राखे त्यो बेला काठमाडौंमा फाट्टफुट्ट लेजर प्रविधिबाट उपचार हुन्थ्यो । कोठी, ट्याटु, रौँ हटाउन लेजरको प्रयोग हुने गर्थ्यो । उनले अमेरिकाबाट मेसिन झिकाएर सामान्य सेवासँगै छाला, कपाल, नङ र कस्मेटिक सर्जरीबारे जटिल सौन्दर्य चिकित्सा सेवा सुरु गरे ।

२०७१ मा लगानीको जोडजाम गरेर नाम जुराए स्वस्ति लेजर एण्ड स्किन केयर प्रालि । काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालय नजिकै यो कार्यालय खोले र सेवा सुरु गरे । आर्थिक आय राम्रै भएकाहरु पनि अहिले विदेशतिर धाउनुको साटो सौन्दर्य चिकित्सा सेवा लिन उनकोमा आउँछन् । शुल्क मध्यमवर्गले समेत सहजै धान्न सक्ने भएकाले उनको प्रयास सफल भयो ।

‘हामीले सुरुवात गर्नुभन्दा पहिला १०÷१२ लाखका चाइनिज, कोरियन लेजर मेसिन चलेका थिए,’ उनले भने, ‘अमेरिकाबाट तीनवटा मेसिन भित्र्याएर सेवा दिन थाल्यौँ ।’ 
रिजल्ट राम्रो आएपछि डा.जसवनको टिम दंग पर्यो । 


सेवामा फड्को
जसवनका अनुसार स्वस्तिले छाला, कपाल तथा नङ र कस्मेटिक सर्जरीसम्बन्धी सेवा दिइरहेको छ ।
लेजर प्रविधिबाट कोठी हटाउने, ट्याटु हटाउने, शरीरमा आएका अनावश्यक रौँ हटाउने सुविधा छ । काटिएको, पोलेको खत पनि अहिले नेपालमै सहजै हटाउन सकिन्छ । यो सुविधाले दुर्घटनामा परेकाहरुले ठूलै राहत पाइरहेका छन् ।

‘लेजर गर्दा कुनै घाउ नहुने र अप्रेसन पनि गर्नु पर्दैन,’ उनले भने ।

ट्याटु हटाउने लेजरलाई एन्डियाक भनिन्छ । कोठी र दाग तथा डण्फिोरको दाग हटाउने लेजरलाई सिओटु फ्याक्सनल लेजर भनिन्छ । अनावश्यक रौँ हटाउने लेजरलाई डाइओड लेजर भनिन्छ । 

डा. जसवनका अनुसार दुवी, अनुहारमा आएका डण्डिफोर, कपाल झर्ने समस्यालाई औषधिले ठिक हुन्छ । 
चाउरीपना, अनुहारमा रिंकल आउनेजस्ता समस्याको बोटक्स इजेक्सन लगाएर अनुहारमा सुन्दरता ल्याइन्छ । बोटक्स इन्जेक्सन ६÷६ महिनामा लाउनु पर्ने डा. जसवन बताउँछन् । चायाँ–पोतो त सहजै हट्छ ।

नमिलेको आँखा मिलाउने, आँखाको मुन्द्री बनाउने, आँखाको ढकनी खोल्नेजस्ता सेवासमेत उपलब्ध छ । पेटको बढी भएको बोसो निकाल्ने, जन्मजात नमिलेका कान मिलाउने, नमिलेको नाक मिलाउने, शरीरमा पलाएका अनावश्यक मासु सर्जरी गरेर निकाल्ने तथा मिलाउनेजस्ता सेवा उनकोमा सहजै पाइन्छ ।
‘स्तनको साइज बढाउने, घटाउने झोलिएको स्तनलाई टाइट बनाउने सेवा हाम्रैमा छ,’ उनले भने, ‘यसका लागि विदेश धाउनु पर्दैन ।’

सुरुमा दुईजना चिकित्सकले सेवा दिन थालेको क्लिनिकमा अहिले चार चिकित्सक छन् । डा. जसवनका अनुसार उनका ग्राहकमा २० देखि ३५ वर्ष उमेर समूहका बढी छन् ।

धेरैजसो ट्याटु हटाउने, चाया पोतो हटाउने, अनावश्यकरूपमा आएका रौँ हटाउन आउँछन् । कपाल झरेर तक्लु भएकालाई कपालको प्रत्यारोपण गरिरहेका छन् । कम उमेरमा कपाल झरेका व्यक्तिका लागि पीआरपी प्रविधिबाट झरेको कपाल उमारिन्छ । 

प्लेटिलेट रिच प्लाज्मालाई छोटकरीमा पीआरपी भनिन्छ । प्रशोधित पीआरपी नै कपाल उमार्न छालामा हालिन्छ । पीआरपीमा प्लाज्माको मात्रा पनि हुन्छ । त्यसैले कपालमा मलजल गर्ने यो किसिमको तरिकालाई पीआरपी गर्ने भनिएको हो । 

क्लिनिकमा अनुहार सुन्दर तथा चम्किलो बनाउन विभिन्न तरिकाको फेसियल गरिन्छ । अनुहारको फेसियल गर्ने तरिका मध्ये भरपर्दो तरिका भ्याम्पायर फेसियल हो । आफ्नै शरीरबाट रगत निकालेर प्रशोधन गरिएको पहेँलो रगत अनुहारमा दलेर फेसियल गर्नुलाई भ्याम्पायर फेसियल भनिन्छ । नेपालमा पनि भ्याम्पायर फेसियल गरेर अनुहार सुन्दर बनाउने सौखिन बढिरहेका छन् । यो सेवा पनि स्वस्तिमामा पनि रहेको छ । 

उपचार गर्ने क्रममा समाधान गर्न सकिने समस्या कहिलेकाहीँ आए पनि अहिलेसम्म ठूलो समस्या नआएको बताउँछन्, डा. जसवन । 

६० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धालाई निःशुल्क चेकजाँच गरिरहेको र निम्न आय भएकालाई सहुलियत दिने गरिएको उनले बताए ।

ट्याटु हटाउनु पर्दा ब्यूटिपार्लर हैन दक्ष चिकित्सककहाँ जानुपर्ने उनको सुझाव छ । दक्ष चिकित्सकसँग सेवा नलिएर जथाभावी सेवा लिँदा सुन्दर बन्न खोज्दा कुरुप हुने जोखिमसमेत हुने उनको तर्क छ । 

Leave A Comment