२ सय बढी पुस्तक लेखिसकेका डा. तारानाथ शर्मा माघ २ गते आफ्नो विवाहको ५० औँ वर्षगाँठ मनाउँदैछन् । विवाह गर्दा शर्मा ३३ वर्षका थिए भने शान्ता १७ । उमेरले दुवैलाई बुढेसकालले छोइसक्यो, तर माया उस्तै । आज बिहे, भोलि डिभोर्सको जमानामा ५० वर्षको प्रेमिल यात्रा उदाहरणीय नै हो । यिनै जोडीसँग विवाह र सम्बन्ध केन्द्रित भएर शुक्रवारकर्मी प्रजु पन्तले गरेको अन्तरंग कुराकानीः
दिन कसरी बित्दैछन् ?
तारानाथ शर्मा : मेरो घुँडा दुख्ने भएकाले हिँडडुल गर्न सक्दिनँ । अलिअलि लेख्यो । पत्रपत्रिका पढ्यो बुढाबुढी गफ गर्यो बस्यो ।
शान्ता शर्मा : बिहान–बेलुकी घरधन्दा गर्छु । त्यसपछि बुढाबुढी बस्यो गफ ग¥यो ।
भनेपछि पहिलेभन्दा अहिले पो रमाइलो होला, हैन ?
तारानाथ शर्मा : पहिले पनि रमाइलो अहिले पनि रमाइलो ।
शान्ता शर्मा : हामीलाई सधैँ उस्तै । पहिला जिम्मेवारी धेरै थियो । छोराहरु सानै थिए । अहिले जिम्मेवारी कम छ । हामी सधैँ नयाँ जोडी जस्तो रमाइरहेका छौँ ।
विवाह गर्दा कति वर्षको हुनुहुन्थ्यो ?
तारानाथ शर्माः हाम्रो विवाह २०२५ सालमा भएको हो । म कति वर्षको थिएँ रे ?(श्रीमतीतिर हेर्दै)
शान्ता शर्माः खाली बिर्सिएँ भन्नुहुन्छ । खासमा बिर्सने त हैन कि ... उहाँ ३३ वर्षको म १७ वर्षकी थिएँ ।
तपाईंले त ढिला पो विवाह गर्नुभएको रै’छ त !
तारानाथ शर्माः उनलाई कुरेको हो नि त ! (हाँस्दै) त्यतिबेला पद्यकन्या क्याम्पस पढाउँथेँ । मान्छे त कति पछि लाग्थे लाग्थे नि ! तर कसैलाई आँखा गएन । जब यिनलाई देखेँ, त्यसपछि उनीबाट आँखा नै हटेन ।
शान्ता शर्माः ह्या... धेरै ठट्टा गर्ने बानी छ के उहाँको !
२०२५ सालतिर ३३ वर्षको उमेरसम्म विवाह नगरी बस्नु भनेको ढिलै हो नि !
तारानाथ शर्माः अँ, त्यस्तै भयो । मेरो घर इलाम । कहिले पढाइको सिलसिलामा भारतमा भइयो । पछि पढाउन थालेपछि काठमाडौं बसियो । लगन ढिला जुर्यो भनौँ न ! उनी पनि त सानै रहिछन् ।
तपाईं भने सानै हुनुहुँदो रहेछ नि ?
शान्ता शर्माः म १७ वर्षकी थिएँ । अब विवाह गर्नुपर्छ भनेर परिवारले भनेपछि भइहाल्यो । कहाँ अहिले जस्तो पहिले थियो र ?
मागी विवाह गर्नुभएको हो उसो भए ?
शान्ता शर्माः हाम्रो पालामा केको प्रेम विवाह हुनु नि !
तारानाथ शर्माः (श्रीमतीतिर हेर्दै) विवाहपछि प्रेम भइहाल्यो नि !
कसरी कुरा चल्यो त ?
तारानाथ शर्माः म पद्यकन्या क्याम्पसमा पढाउँथेँ । विवाह गर्ने उमेर पनि भइसकेको । उनी पूर्वमन्त्री नवराज सुवेदीकी नातेदार । सुवेदीमार्फत् कुराकानी भयो । उनको परिवारले मलाई मन परायो । मेरो परिवारले उनलाई । त्यसपछि त विवाह भइहाल्यो ।
शान्ता शर्माः जनकपुरमा हुर्केकी म । काठमाडौंमा घुम्न हिँड्न त भनेर ल्याउनुभयो । मेरो काकाको छोराले अब त तेरो नि विवाह गर्ने बेला भयो भनेर धेरै नै जिस्काउनुहुन्थ्यो । मलाई भने असाध्यै लाज लाग्थ्यो । यसै क्रममा कुरा चलेको हो ।
विवाह हुनु पहिले एकअर्कालाई देख्नुभयो कि, जग्गेमै हो देखेको ?
शान्ता शर्माः त्यो समय मलाई राम्ररी याद छ । (बीचैमा रोकेर)
तारानाथ शर्माः त्यो दिन तिम्लाई मात्र हो र मलाई पनि याद छ नि ।
शान्ता शर्माः ल भन्नु त कुन दिन ?
तारानाथ शर्माः मंसिर महिना थियो । गते भने तिमी भन न ।
शान्ता शर्माः गते हजुरले बिर्सनुभयो कि ¬(दुवै जनाले एकअर्काको हात मिलाउँदै) त्यो वर्ष पनि मंसिर २९ दिनको महिना थियो । २८ गते उहाँहरुले मलाई हेर्न आउनुभयो । हेर्न आउने भनेपछि निक्कै डर लाग्यो । त्यतिबेला काकाको घरमा काम गर्ने मान्छे थिए । ढोकासम्म उनीहरुले चिया ल्याइदिए । अनि मैले लगेर टेबलमा राखिदिएँ । मैले त उहाँको अनुहार हेर्नै सकिनँ । हात खुट्टा मात्रै देखेको । चिया राखिदिएपछि त त्यो कोठामा बस्दै बसिनँ ।
तारानाथ शर्माः मैले त मज्जाले हेरेँ । देख्नेबित्तिकै हुरुक्कै माया लागेर आयो । (जोडले हाँस्दै) यो मान्छेलाई भगवान्ले मेरै लागि बनाएका हुन् जस्तो लाग्यो । उनले लाजले नहेरे पनि मैले त मज्जाले हेरेँ र उनी हिँडेकै मन पर्यो । सबै कुरा मन पर्यो ।
शान्ता शर्माः अरु त के मन पर्ने हो र म त बोलेकी थिइनँ क्यारे !
तारानाथ शर्माः चालढालै मन परेपछि अरु त के नै चाहियो र ?
विवाह कहिले गर्नुभयो त ?
शान्ता शर्माः विवाह त्यही २०२५ साल माघ २ गते । अब हाम्रो विवाह गरेको ५० वर्ष पुग्दैछ ।
तारानाथ शर्माः हेर्ने काम यहाँ भए पनि विवाह भने जनकपुरमा भएको हो । हामी यताबाट जहाजमा ८ जना जन्ती लिएर जनकपुर गयौँ । बुबा बिरामी भएको कारण आउन सक्नुभएन । जमलमा प्राध्यापकहरुको क्वार्टर थियो । त्यहीँ बस्थेँ । यहीँ भिœयाएको हो उनलाई ।
हिजोआज विवाहपछि हनिमुन जाने भन्ने छ क्यारे तपाईंंहरु जानुभयो कि भएन ?
तारानाथ शर्माः किन नजानु ! बनारस गएका थियौँ ।
शान्ता शर्माः हजुरको काम पनि थियो नि हनिमुनै त हैन ।
तारानाथ शर्माः पुस्तक छपाउने काम थियो । त्यो त गएको बेला दुवै काम भएको नि !
त्यो बेलाको हनिमुन कस्तो भयो त ?
तारानाथ शर्माः एकदमै रमाइलो भयो । आहा बल्ल जीवन संगिनी भेटँे भनेजस्तो भयो । रमाइली रहिछन् । जे भने नि मान्ने ।
शान्ता शर्माः त्यतिबेला घटेको एउटा क्षण भने म कहिले पनि बिर्सन्नँ । त्यतिबेला त रिस पनि उठेको थियो । भयो के भने, त्यहाँको खान्की नमिलेर मलाई पखाला लाग्यो । उहाँले औषधि ल्याएर खुवाउनुभयो । बिहानको १० बजे म सुतेँ । २ बजे ब्युँझिएर हेर्दा त उहाँ हुनुहुन्थेन । यताउति हेरेँ, देखिनँ । धेरैबेर बाहिर निस्केर हेरेँ, देखिनँ । अरु ठाउँमा जान पनि चिनेकी छैन । यसरी छोडेर जानुथियो भने यो मान्छेले किन ल्याएको होला भनेर रोएँ पनि । त्यत्तिकैमा एकजना मान्छेले मलाई हेरेर गयो । त्यसको केहीबेरपछि उहाँ आउनुभयो । उहाँ त त्यही घरमा पुस्तकालय रहेछ, त्यहीँ पढेर बस्नुभएको रहेछ । उहाँ आएपछि त अघि डराएको कुरा बिर्सिहालेँ नि । उहाँलाई देखेपछि रुन मन लाग्यो । किन रोएकी ? भोकले हो ? भन्नुभयो । म त के भन्नु न नभन्नु भएँ ।
तारानाथ शर्माः उनी सुतिरहेकी थिइन् । म तल गएर पढिरहेको थिएँ । त्यो मान्छेलाई मैले नै उठिन् कि उठिनन् भनेर हेर्न पठाएको । यस्तो मन परेको मान्छेलाई के छोडेर भागौँला नि ! (हाँस्दै)
मन त बाँडियो । काम चैँ कत्तिको बाँडिन्छ ?
शान्ता शर्माः भुजा खाने चम्चा चलाउने मात्र हो उहाँले त । उहाँ त भान्सामा बोलाएपछि मात्रै जाने । बनाउन पनि केही आउँदैन । जतिबेला नि लेखेर बस्ने हो । किताब पढ्ने लेख्ने । ‘नेपाली साहित्यको इतिहास’ भन्ने पुस्तक लेख्दा मैले उहाँको काममा भने सहयोग गरेकी छु । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय, मदन पुरस्कारको पुस्तकालयमा गएर उहाँले यो यो सार भन्नुभएको चैँ गरियो ।
तारानाथ शर्माः अँ क्याम्पस पढाउने र अनुसन्धानमा व्यस्त थिएँ म घरको काम त गरिनँ ।
काम नसघाएको निहुँमा झगडा पथ्र्याे होला नि ?
तारानाथ शर्माः अहं हामीले त झगडा नै गरेनौँ ।
शान्ता शर्माः उहाँको ध्यानै पुस्तकमा हुन्थ्यो । मलाई पनि बुबाले भनेको मान्नु भनेर विवाह गरिदिनुभएको । खै के भयो, जे पनि मानियो । केटाकेटीलाई खासै समय दिनुहुन्थेन । बरु मैले उहाँलाई समय मिलाइदिन्थेँ । झगडा भन्ने कुरा नै परेन । उहाँ कहिल्यै चर्काे बोलेको याद छैन ।
विवाहको ५० वर्ष पुगिसक्दा पनि एकपटक झगडा भएको छैन, एकअर्काको मन नपर्ने बानी नै छैन भन्नुभयो । यस्तो नि सम्भव छ र ? कि लुकाएको हो ?
तारानाथ शर्माः झगडा परेको भए पो भन्नु त । अहँ कहिल्यै भएन ।
एकअर्काको के बानी एकदमै मन पर्छ ?
तारानाथ शर्माः उसको मनपर्ने बानी भनेको मलाई माया गरिरहने, घुम्न जाऊँ भन्ने, राम्रो मान्छेसँग भेट्नु भन्ने अनि साह्रै राम्रो सल्लाह दिने बानी छ ।
शान्ता शर्माः सबै मन पर्छ । राम्रो सल्लाह दिने, केयर गरिरहने ।
एकअर्काको मन नपर्ने बानी पनि होला नि ?
तारानाथ शर्माः मलाई उसको मन नपर्ने भन्ने बानी नै छैन । छँदै छैन । म त उसले जे भन्यो, त्यही गर्थें ।
शान्ता शर्माः पहिले–पहिले काम गर्दा छिटो आउनु है भन्यो । आउँछु भनेको २÷३ घण्टा लगाइदिने त्यो चैँ मन पर्थेन । अहिले त त्यस्तो छैन ।
एकपटक पनि ठाकठुक नपर्ने सूत्र के हो ?
तारानाथ शर्माः जोडी त राम्रै हो हाम्रो । त्यस्तो सूत्रभन्दा पनि प्रेमको सम्बन्ध, स्नेहको सम्बन्ध हो । आफूलाई यस्तो माया गर्ने मान्छे कहाँ पाउनु ? प्रेम गरेको मान्छेसँग झगडा भन्ने नै हुँदैन । उसले जे गरेको पनि मन पर्छ । पूरै समर्पित पो भइन्छ त हौ !
शान्ता शर्माः एकअर्कालाई बुझेपछि झगडा नै पर्दैन नि !
सुमधुर सम्बन्धको आधार ?
शान्ता शर्माः त्यो त कम्प्रमाइज नै हो । बाहिर केही परेर आउँदा पनि घरमा रिस देखाउनु भएन । उहाँको बा पनि कहिल्यै चर्काे नबोल्ने । गाली पनि नगर्ने । त्यो बानी उहाँमा पनि सर्यो । आफूले नि घरको रिस पोख्नुभएन ।
तारानाथ शर्माः एकले अर्काको अस्तित्व बुझ्ने । ऊ पनि फरक संस्कारबाट आएको हुन्छ, आफू पनि फरक संस्कारमा हुर्केको हुन्छ । आफूले भनेजस्तो हुनुपर्छ भनेर एकोहोरो गर्नभन्दा पनि सल्लाह गर्यो भने झगडा हुँदैन ।
महिला के हुन् जस्तो लाग्छ तपाईंलाई ?
तारानाथ शर्माः महिला भन्नेबित्तिकै मेरी आमा हुन् भन्ने बुझ्छु । महिला भनेका कुनै पनि स्वार्थ नभएकाहरु हुन् । खाली परिवारको अनि श्रीमान्को स्वार्थ ठूलो मान्छन् ।
तपाईंंको विचारमा पुरुष के हो जस्तो लाग्यो ?
शान्ता शर्माः अलि बढी हेरचाह खोज्ने हुन् कि ! पुरुषहरु सहने हुन्छन् । कोही भने तँभन्दा म के कम भन्ने हुन्छन् । उहाँ भने पहिलो नम्बरमा ।
तपाईं त पहिलेदेखि नै साहित्य लेख्ने मान्छे २०१३ सालमै तपाईंको कृति छापिइसकेको । विवाहपछि र अघिको लेखन अनुभव कस्तो रह्यो ?
तारानाथ शर्माः विवाहपछि झन् सजिलो भयो । मलाई उनले धेरै माया गर्ने । जे भने पनि मान्ने । म पनि उनले भनेको मान्थेँ । लेख्नलाई वातावरण त सहज भइनैहाल्यो । उपन्यासहरुमा महिला पात्र राख्दा झनै नजिकबाट महिलाको मनोभावना बुझेँ । लेखनमा तिखारिँदै गएँ ।
लेखेपछि तपाईंको पहिलो पाठक त पत्नी नै हुनुहुँदो होला, हैन ?
तारानाथ शर्माः हो । आफूले लेखेपछि अरुले राम्रो भने पनि श्रीमतीले राम्रो नभनेसम्म त्यो आफैँलाई चित्त नबुझ्दो रहेछ । मैले लेख्नेबित्तिकै उनलाई सुनाउँथेँ । उनले यस्तो भएन भनेर भन्थिन् अनि सच्याउँथेँ ।
शान्ता शर्माः पाण्डुलिपि नै सबै पढेकी छु ।
लेखनलाई लिएर कहिल्यै गुनासो गर्नुभयो ?
शान्ता शर्माः मान्छेहरु आएर उहाँसँग चैँ नजिक भएर कुरा गर्थे अनि उहाँका पछाडि भएनभएको कुरा काट्थे । यति विरोध गर्थे कि किन लेखन क्षेत्रमा लाग्नुभएको होला भनेर उहाँसँग त मैले गुनासो नै गर्थें तर जसै उहाँ पिएचडी गर्न अमेरिका जानुभयो, उहाँसँग हामी परिवार नै गयौँ । त्यो बेला उहाँले धेरै सम्मान पाउनुभयो । अमेरिकामा लेखकको धेरै सम्मान हुने रहेछ । त्यसपछि भने मैले कहिले पनि गुनासो गरिनँ ।
(अब चिया खाने है म बनाउन जान्छु भन्दै शान्ता शर्मा भान्सातिर लागिन् ।)
अब तपाईसँग एकछिन साहित्यको कुरा गरौँ है,
तपार्इं काठमाडौंमा लेखक भनेर नदरिएपछि मविवि शाहको कविता सङ्ग्रहको समालोचना लेख्नुभएको भन्ने भनाइ पनि छ हो ?
त्यस्तो होइन । म शुद्ध नेपाली लेख्नुपर्छ भन्ने पक्षधरको मान्छे हुँ । पहिले पहिलेको कृतिमा हिन्दी शब्दहरु हुन्थे । मलाई भने शुद्ध नेपाली लेख्नुपर्छ भन्ने लाग्ने त्यही भएर समालोचना गरेको हुँ ।
अनि जेल पनि पर्नुभयो है ?
परियो । भैगो यसमा के–के भयो अहिले कुरा नगरौँ तर कुरा के हो भने राजाले लेखेको पनि विरोध गर्नु भनेको प्रजातन्त्रको अभ्यास थियो भन्ने बुझ्नुपर्छ ।
तपाईंले धेरै विधामा कलम चलाउनुभयो । लेख्न भने कुन विधा रमाइलो ?
मलाई नियात्रा मन पर्छ । नियात्रा लेख्दा त्यो ठाउँको वर्णन, त्यहाँको रहनसहन अनि आफूलाई लागेका कुरा लेख्न पाइन्छ ।
अहिले केही लेख्दै हुनुहुन्छ ?
अहिले त मेरो घुँडाको समस्या छ । केही पनि लेखेको छैन ।
(यत्तिकैमा चिया आइपुग्यो । कुरा परिवारतिरै मोडियो)
कलाकार मनुजबाबु मिश्र आफ्नी श्रीमती माइत गएको बेलामा उहाँलाई सम्झेर निबन्ध लेख्नुभएको थियो । तपार्इंले त्यस्तो केही लेख्नुभयो कि ?
शान्ता शर्माः कहिल्यै जान दिए पो लेख्ने ! जानै नदिने अनि कसरी लेख्नु ?
तारानाथ शर्माः कहाँ हुनु ? उसैले मलाई छोड्दै नछोडेको हो नि !
Leave A Comment