सेलिब्रेटीको विवाह : परिवारलाई भन्दा मिडियालाई तनाव !

आइतबार, २३ मङि्सर २०७५, ०७ : ४९ अनिल यादव
सेलिब्रेटीको विवाह : परिवारलाई भन्दा मिडियालाई तनाव !

एक महिनाअघि अभिनेत्री रेखा थापा पत्रकार ऋषि धमलाको टक सो ‘धमलाको हमला’मा इन्टरभ्यु दिन पुगेकी थिइन् । त्यतिबेला उनलाई धमलाले बिहेबारे दोहो¥याईतेहो¥याई प्रश्न गरेका थिए, ‘बिहे कहिले गर्ने ? जनता जान्न चाहन्छन् ।’ मंसिरको पूर्वसन्ध्यामा प्रायः सोधिने यो प्रश्नले सायद रेखालाई धेरै पिरोल्यो । उनले धमलालाई आक्रमक शैलीमा जवाफ दिएकी थिइन्, ‘तपाईंलाई बिहेको बारेमा प्रश्न गर्ने कुनै अधिकारै छैन मलाई । यो त ममाथिको ‘एब्युज’ हो ।’

०००

गाउँमा अभिनेत्री बेनिशा हमालको सर्कलका सबै साथीको बिहे भइसक्यो । त्यसैले त मंसिर लाग्नै हुन्न, उनीमाथि वर्षैपिच्छे बिहेको दबाब सिर्जना हुन थालिहाल्छ ।  

एक महिनाअघि चाडपर्वको अवसर पारेर उनी घर (चितवन, गीतानगर) पुग्दा यसपालि त यही विषयमा ड्याडीसँग टेबल टक नै भयो । ड्याडीले गम्भीर हुँदै सोध्नुभयो, ‘अब त बिहे गर्ने बेला भइसक्यो । यो वर्ष जसरी नि गर्नुप¥यो । कोही आफैँले रोजेको छ भने भन्नुप¥यो कि हामी खोजिदिन्छौँं ।’ ड्याडीको त्यस्तो प्रस्ताव सुनेपछि बेनिशा एकछिन त निःशब्द नै भइन् । बिहेको दबाब महसुस गरिन् । त्यसपछि उनले ड्याडीलाई नम्र हुँदै जवाफ फर्काइन्, ‘अहिले नै म यो कर्तव्यका लागि तयार भइसकेकी छैन । अरुले गरिसके भन्दैमा मैले गर्नुपर्छ भन्ने छैन । जिन्दगी बिताउने कुरा हो, आज हतार गरेर भोलि पछुताउनु पनि त राम्रो होइन ।’

०००
बर्सेनि जब–जब मंसिर महिना आउँछ, जब–जब गाउँ–सहरमा बिहेका साइत र लगन हेर्न थालिन्छ, तब–तब अविवाहितमाथि बिहेको दबाब सिर्जना हुनु नौलो होइन । 

अझ सधैँजसो दर्शकको चासो र चिन्तामा रहने कलाकारमाथि त यो समस्या कति धेरै हुँदो हो ! घरमा गयो–बाआमाको चिन्ता, आफन्त, छरछिमेकको चासो । बाहिर गयो– साथीभाइ र दर्शकको जिज्ञासा । त्यसमाथि मिडियाको सदाबहार प्रश्न– ‘बिहे कहिले गर्ने ?’ शुक्रवारको जिज्ञासामा अधिकांश सिंगल सेलिब्रेटीहरुको एउटै गुनासो थियो, ‘भेट्यो कि सोधिहाल्छन्, बिहे कहिले गर्ने, भोज कहिले खुवाउने ?’

अब त बेला भयो है !
अभिनेत्री केकी अधिकारी भन्छिन्,  ‘अहिले त हुर्केबढेका केटाकेटीलाई वाइफाईको पासवर्डभन्दा पहिला सोधिने प्रश्न हो– बिहे कहिले गर्ने ।’ उनी स्वयम् यो प्रश्नबाट मुक्त छैनन् । मंसिरमा ‘यो लगन छ है’ भन्दै जिस्काउने साथी प्रशस्तै छन् । 

उनको अनुभवमा हरेक वर्ष दसैँको टीका थाप्न थालेदेखि सुरु हुन्छ, बिहेको दबाब । ‘टीका लाउने क्रममा आशीष नै यही हुन्छ– अर्को वर्ष दुई जनालाई टीका लाइदिन पाइयोस्,’ केकी भन्छिन्, ‘सबैले बिहे–बिहे भनेको देख्दा कहिलेकाहीँ त इरिटेट नै हुनेरै’छ । कति बिहेको पछि लागेको होला भन्ने फिल हुने ।’ 

झन् यसपालि दुई हिरोइन प्रियंका कार्की र दीपिका प्रसाईंले बरमाला पहिरिएपछि त अरु अभिनेत्रीलाई समेत घरबाटै बिहेको दबाब आइरहेको छ । 

केकी पनि भन्दै थिइन्, ‘मिडियामा प्रियंकाको इन्गेजमेन्टको चर्चा हुँदा मामुले यता अब हाम्रो छोरीको पनि गर्नुपर्छ भन्दै हुुनुहुन्छ । म करिअर केन्द्रित केटी भएकाले बिहेमा त्यति ध्यान गएको छैन । अब भने बेला भयो भन्ने महसुस भइसक्यो । सन् २०२० भित्र पक्कै गरिसक्छु भन्ने छ ।’

अभिनेत्री मलिना जोशीले पनि विगत १० वर्षदेखि घरपरिवार, आफन्त र नजिककाहरुबाट झेलिरहेको प्रश्न हो– बिहे कहिले गर्ने ? सुरुसुरुमा यो प्रश्न आउँदा त उनलाई अहिले नै बिहे गरिहालुम् हुन्थ्यो तर अब त प्रश्न नै सामान्य लाग्न थालेको बताउँछिन्  । 

‘बिहे त गर्ने हो तर समय आएपछि,’ लामो हाँसोसहित उनले भनिन्, ‘हतार गरेर नि कसैले बिहे गर्छ र ? जुरेपछि आफैँ भइहाल्छ नि !’ 

अभिनेत्री बेनिशा हमाललाई पनि अरुभन्दा कम दबाब छैन बिहेको । जताततै बिहेको चिन्ता गर्नेहरु त भेट्छिन् । तैपनि अब चाँडै गर्ने भनेर टारिदिन्छिन् । 

अझै दुई–तीन वर्ष यस्ता प्रश्नहरुको सामना गर्न तयार छिन् उनी । किनभने त्यसपछि मात्र उनी बिहे गर्ने तयारीमा छिन् । ‘अब त कहिले बिहे गर्ने भन्ने प्रेसर कमन भइसक्यो । बरु मंसिरमा कसको बिहे हुन्छ अनि के लगाएर जाने भन्ने पो प्रेसर हुन्छ !’ उनले रमाइलो पारामा भनिन् । 

गायिका आस्था राउतले सामाजिक संजालमा आफ्नो तस्बिर अपलोड गर्नै हुन्न, बिहेको दबाब दिने आशयका कमेन्ट गुटुङटुङ आइहाल्छन्– ‘अब राम्रो केटा कहिले देख्न पाइने हो ?’, ‘यो मंसिर नकटोस् है’... यस्तैयस्तै । घरछेउ हिँड्दा छिमेकी घनश्याम अंकलले पनि सधैँ जिस्काइरहनुहुन्छ, ‘छोरी लौ न, भोज कहिले खुवाउने हो ?’ अर्का पसले अंकलले पनि त्यसैगरी सोध्नुहुन्छ, ‘बिहे कहिले गर्ने हो ?’ विदेशमा रहेका विवाहित साथीहरुको जिज्ञासा पनि उही हुन्छ, ‘तेरो पालो कहिले हो ?’ र, सबैलाई उनी एउटै जवाफ दिन्छिन्, ‘सही समयमा सही साथी पाइएपछि भइहाल्छ नि ! अहिले नै केको हतार ?’ 

बाहिरबाट दबाब भए पनि आस्थालाई परिवारबाट भने कुनै किसिमको दबाब छैन । उनलाई त बिहे गर्नेभन्दा पनि बिहेपछिको जिम्मेवारीले बढी तर्साउँदोरहेछ । भन्दै थिइन्, ‘बिहेपछि बूढा, बच्चाबच्चीलाई सम्हाल्नुपर्ने । सासुससुराको हेरचाह गर्नुपर्ने । म त ती सब कुरा सम्झँदा आत्तिन्छु । माई गड ! कसरी गर्ने होला भन्ने लाग्छ !’ 

अभिनेत्रीलाई मात्रै होइन, अभिनेतालाई पनि बिहेको दबाबले उस्तै तनाव दिन्छ । ‘मलाई सबैभन्दा गाह्रो छठको बेला हुन्छ,’ अभिनेता प्रमोद अग्रहरिले भने, ‘त्यतिबेला सबैजना आफन्तहरु घरमा आएका हुन्छन् । सबैले सादी करो, कब करना है ? भन्दै सोध्छन् । अनि यसपालि त घर नजिककै दाइले तिम्रो बिहेमा टन्नै पटाका पड्काउँछुसम्म भन्दै थिए । दिदीहरुले नि तेरो बिहेमा दिवाना भएर नाच्ने हो भन्दै हुनुहुन्थ्यो । आफू त कुरा सुन्ने, चुप्प लागेर बस्ने हो ।’

सदाबहार तनाव 
वर्षौंसम्म बिहेको प्रश्न झेलेका अभिनेता राजेश हमालले ५० वर्ष पुगेपछि मात्रै यो प्रश्नबाट छुटकारा पाए । तैपनि उनी प्रश्नमुक्त छैनन् । उनलाई ‘बाबु कहिले बन्ने’ भन्ने प्रश्नले उस्तै सताइरहेको छ ।

नेपाली मनोरञ्जन क्षेत्रमा यस्तै केही पात्रहरु छन्, जसलाई वर्षैपिच्छे एउटै प्रश्नले सताइरहन्छ, ‘यसपालि त बिहे गर्ने होला नि ?’ गायिका कोमल वली, गायक राजेशपायल राई र हास्यअभिनेत्री दीपाश्री निरौला यसका उदाहरण हुन् । अहिलेसम्म कमै इन्टरभ्यु होलान् जहाँ उनीहरुलाई बिहेबारे प्रश्न नसोधिएको होस् । त्यसैले अब त उनीहरुलाई पनि थाहा भइसक्यो, ‘बिहेबारे एउटा प्रश्न त सामना गर्नैपर्छ । र, सोहीअनुसारको तयारी पनि उनीहरु गरिहाल्छन् ।

राजेशपायललाई त मंसिर लाग्नै हुन्न, ‘यो मंसिर त कट्दैन नि’ भन्दै घरपरिवार र शुभचिन्तकहरुबाट बिहेको प्रेसर आइहल्छ । उनले अर्को वर्ष, अर्को भन्दै टारिरहेको नै दसकौँ भइसक्यो । उनी आफैँ स्वीकार्छन्, मैले ढाँटिरहेकोजस्तो भइसक्यो । मिडिया त झन् मंसिर लाग्नासाथ उनीसँग ‘बिहे संवाद’ गर्ने मुडमा हुन्छन् र बिहेसम्बन्धी प्रश्न गरेको पनि धेरै वर्ष भइसक्यो । तैपनि उनको बिहेको टुंगो छैन ।
 ‘मंसिर आउनासाथ बिहेप्रति एकखालको ऊर्जा र उत्साह त हुन्छ तर यो सालको मंसिर पनि त्यसै खेर जाने भयो,’ उनले भने ।

मिडियाः नयाँ अभिभावक
अभिनेत्री सुरक्षा पन्तलाई लाग्छ, अचेल आमाबालाई भन्दा बढी बिहेको चिन्ता मिडियालाई हुन्छ । ‘बरु बाउआमाले बिहे कहिले गर्ने भनेर सोध्दैनन् तर मिडियाले सोधिरहन्छन्,’ उनी भन्दै थिइन्, ‘सायद हाम्रो बारेमा उहाँहरुलाई बढी चिन्ता हुँदो हो । मिडिया हाम्रो नयाँ बाउआमा बनिराछन् ।’ 

कन्ट्रोभर्सियल र बिक्ने कन्टेन्टको खोजीमा पनि मिडियाले त्यस्तो प्रश्न सोध्ने गरेको उनको तर्क छ । भन्दै थिइन्, ‘नयाँ कुरा सोध्न त अलिकति दिमाग खियाउनुपर्ने हुन्छ नि !’ 

उनी भन्छिन्, ‘बिहेको कुरा सोध्यो भने त दिमाग पनि खियाउनु परेन । खजाना पनि भयो । त्यतिमात्रै होइन कोही एक्टरसँगै काम ग¥यो भने मिडियाले त तपाईंको जोडी योसँग सुहाउँछ पनि भन्दिरहेका हुन्छन् । एक हिसाबले भन्नुपर्दा लमीको काम पनि गर्दिरहेका हुन्छन् ।’

‘अहिले मास्टर्स गरिरहेकी छु । पहिला पढाइ सक्छु, त्यसपछि करिअर अनि मात्र बिहे,’ उनको बिहेबारेको सारांश छ ।

गायिका ज्योति मगरलाई पनि अभिभावक भन्दा बढ्ता तनाव मिडियाबाट हुने रै’छ । ‘मिडियासँग त मंसिरमा मात्रै होइन हरेक दिन बिहे कहिले गर्ने, ब्वाइफ्रेन्ड छ कि छैन ? आर यु भर्जिन ? लगायतका प्रश्न झेल्नुपर्छ ।’

डिभोर्सीलाई तनाव
बिहेको प्रश्नले अविवाहित कलाकारलाई मात्रै होइन, डिभोर्सी सेलिब्रेटीलाई समेत उस्तै खेदिरहेको छ । निर्माता छविराज ओझासँग डिभोर्स गरेर एक्लो जीवन बिताइरहेकी रेखा थापालाई तीन वर्षयता बिहेको प्रेसर बढी छ । 

‘अब बिहे गर्नुपर्छ, अब गर्नुपर्छ भन्नेहरु एकदमै धेरै छन्, ममीले पनि अब गर्नुपर्छ भनिरहनुभएको छ,’ उनी भन्दै थिइन्, ‘तर मैले बिहे अरुको लागि गर्ने होइन । न परिवारको लागि, न समाजको लागि गर्ने हो । यो मेरो नितान्त व्यक्तिगत जिन्दगी बिताउने कुरा हो । पहिलो बिहे गर्दा म बच्चै थिएँ, परिपक्व थिइनँ । अब सोचविचार गरेर अनि बुझेर मात्रै गर्छु ।’

उमेर पुग्दै जाँदा बिहेको डर भने उनले महसुस गरिरहेकी छन् । ‘तर बिहे भनेको एकदमै गाह्रो कुरा हो । मन मिल्नुपर्यो, कुरा मिल्नुपर्यो । म आफैँले आफैँलाई त बेलाबेला बुझ्न सक्दिनँ भने अर्को व्यक्ति र परिवारलाई समेत बुझ्न कहिलेकाहीँ गाह्रो हुन्छ । यो एकदमै कठिन कुुरा हो ।’

उनले ४० वर्ष पुगेपछि बिहे गर्ने बताइन् । भन्दै थिइन्, ‘म एकदमै धार्मिक मान्छे हो । लेखेको छ भने यही महिना पनि हुनसक्छ तर कहिले लेखेको छ, को सँग लेखेको छ मलाई कुनै आइडिया छैन । म त बिहेका लागि तयार छु तर खोइ जुरेकै छैन ।’

गायक धीरज राईसँगको पहिलो बिहे असफल भएपछि अहिले एक्लो जीवन बिताइरहेकी अभिनेत्री छुल्ठिम गुरुङलाई पनि बिहेको दबाब छ तर बाआमाबाट होइन, आफन्तहरुबाट । कहिलेकाहीँ साथीहरुले पनि जिस्काइरहन्छन् रे ! भन्दै थिइन्, ‘आफन्तहरु अब छिट्टै बिहे गर्नुप¥यो भन्छन् नत्र ढिला हुन्छ भन्छन् । एउटा त्यस्तो भयो भन्दैमा अर्को त्यस्तो हुँदैन भन्दै सम्झाउँछन् तर म भने बिहे नगर्ने सोचमै छु अहिलेसम्म ।’

श्रीमान्सँग अलग्गिएर एक्लो जीवन बिताइरहेकी गायिका मिलन अमात्य पनि छुल्ठिमजस्तै बिहे नगर्ने सोचाइमा छिन् तर बिहेको दबाब भने छ । ‘घर परिवार र आफन्तबाट बिहे गर्ने कुरा त आइरहेको हुन्छ तर म अहिलेसम्म गर्ने सोचाइमा छैन,’ उनले भनिन् । 
 

Leave A Comment