विहेका लागि इमोसनल अत्याचार

सोमबार, २४ मङि्सर २०७५, ०२ : ४२ प्रजु पन्त
विहेका लागि इमोसनल अत्याचार

विवाहका लागि उमेर पुगेका युवा–युवतीलाई लगन जुर्ने महिना आउनु आपत आउनु बराबर हो । मंसिर लाग्यो कि घर परिवार, नातागोता अनि साथीभाइबाट करकर सुरु भइहाल्छ–– ‘ओई मंसिर लाग्यो त, के छ विचार ?’

‘तेरो कोही छ भने भन् त्यहीसँग बिहे गराउँला, नत्र हामी खोज्छौं’ भन्दै परिवारले फकाउने अनि ‘यो पालि जन्त लैजाने हैन ?’ भन्दै साथीहरुले जिस्काउने क्रम पनि मंसिरसँगै सुरु हुन्छ । कतिलाई त झुक्याएर केटाकेटी भेट गराइदिनेसम्मका काम हुन्छन् । त्यसैले अविवाहित उमेरदारका लागि मंसिर लाग्नु तनाव आउनु समान हो ।

‘आफन्त र साथीभाइबाट दिनकै विवाहको अफर आएर हैरान भइसकेँ,’ आरआर कलेजमा स्नातकोत्तर तेस्रो सेमेस्टरका रामले भने, ‘बिहे बिहे भन्ने शब्दले हैरानै पारिसक्यो ।’

शंकरदेव क्याम्पस स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत अम्बिकाले यस्तो झेल्न थालेको स्नातक पढ्दादेखि नै हो । लगनको मौसम आयो कि उनको घरमा बिहेको चर्चा चुलिइहाल्छ ।

‘ब्याचलर पढ्दादेखि नै बिहे गर्ने बेला भयो भनेर भनिरहनुहुन्थ्यो अहिले त तेरो कोही छ भने भन्, हैन भने हामीले भनेकोसँग बिहे गर्नुपर्छ भन्न थाल्नुभयो,’ उनले भनिन्, ‘यो बिहेको मौसम आएपछि झेल्नै तनाब हुन्छ भन्या !’

पहिला एसएलसी पास गर्नासाथ विवाहका लागि दबाब आउँथ्यो परिवारबाट । अहिले त कमसेकम स्नातकसम्म कुर्न थालेको छ परिवारले । समयसँगै विवाहको उमेर बढ्दो छ । प्रायः युवतीले २३ कटेपछि अनि युवक २५ तरेपछि विवाहको प्रेसर ह्वात्तै बढ्न थालेको छ ।

आरआर क्याम्पसका प्रेमलाई मंसिर लागेदेखि नै साथीभाइ, आफन्त, नातागोताले मंसिर लाग्यो त भनेर हैरानै पारिसकेका रहेछन् । यो महिनामा त आफन्त भेट्नै नहुने अवस्था आएको उनले बताए ।
‘कोही भेट्यो कि मंसिर लाग्यो त ! के छ केटा विचार ? आफैँले खोजेको भए भन्नुपर्यो नत्र एउटी राम्री केटी देखेको छु भनेर हैरान बनाउँछन्,’ उनले भने, ‘विवाह भनेको जिम्मेवारी हो । आफ्नो योजनाअनुसार गरौं भन्यो प्रेसरै प्रेसर ।’

आरआर क्याम्पसकै विद्यार्थी मनमतीले यस्तो प्रेसर धानेको पाँच वर्ष भएछ । हरेक साल अर्को वर्ष गर्ने भन्दै टारेकी उनले यो सालको प्रेसर धानिने हो या हैन दुविधामा रहेको बताइन् ।

‘अहिले पढाइ बिग्रन्छ भनेर टार्न खोज्यो, विवाहपछि पनि पढे भइहाल्छ,’ उनले मंसिरे तनाव साट्दै भनिन्, ‘विवाह त उमेरमै गर्नुपर्छ भनेर दबाब आइरहन्छ । अहिले पनि ल ल भनेर टार्दै आइरहेकी छु । अर्काे वर्ष पढाइ सकिन्छ, त्यसपछि भने टिक्नै गाह्रो होला जस्तो छ ।’

सबिनाको तनाव डबल रहेछ । आरआरमै पढिरहेकी उनले घर परिवारको प्रेसर त जसोतसो म्यानेज गर्दै आएकी थिइन् । यो वर्ष त प्रेमीले समेत ल मंसिर आयो अब बिहे गरौं भन्न थालेछन् ।
‘घरमा पहिलेदेखि बिहे गर् भनेर दबाब आएको आयै थियो,’ उनले भनिन्, ‘हुँदाहुँदा ब्वाइफ्रेन्डले पनि यो मंसिर त कट्न हुन्न भन्दै थियो । पढाइ बिग्रन्छ भनेर टारेकी छु । के हुन्छ ? भन्नै सकिन्न ।’

तेरो छ कि खोजौं ?
संयुक्त परिवार, अधिकांश कृषिमा आश्रित । पहिले विवाह गर्नु भनेको काम सघाउने सदस्य थपिनु पनि थियो । त्यसैले १६ कटेपछि बिहे गर्न चिना हेराउने र जोडी खोज्ने काम सुरु भइहाल्थ्यो । त्यत्ति पारिवारिक बोझ पनि नहुने हुँदा युवायुवतीले त्यत्ति नाइँनास्ती पनि गर्दैनथे ।

अहिलेको पुस्ता करिअरमुखी छ । संघर्ष चरम अवस्थामा छ । पढाइ नसिध्याई अवसर पाइन्न । लगालग पास भए पनि स्नातकोत्तर सक्काउँदा २५ टेकिहाल्छ । त्यसपछि कामको अनुभव, सेटल यस्तै यस्तैमै २–

४ वर्ष बित्दा ३० हाराहारी पुगेको देखिन्छ, विवाहको उमेर ।
तर परिवारको मन न हो ! केही भइपोहाल्छ कि भनेर २० कट्न नपाउँदै विवाहको प्रेसर सुरु भइहाल्छ । अझ युवतीका लागि त प्रेसर डबल हुन्छ । 

२३ देखि ३० वर्ष उमेर समूहका युवापुस्तासँगको कुराकानीमा अहिले परिवारको मनस्थिति केही फेरिएको देखियो । पहिला त प्रेमी या प्रेमिका भएको चाल पाए भने चड्कन लगाइहाल्थे । अहिले भने पटक–पटक भन्दा पनि विवाह गर्न नमाने ‘तेरो छ भने भन उसैसित बिहे गराइदिउँला’ भन्न थालेका छन् ।
‘असारपछि एकैचोटी मंसिरमा लगन आउने भएर पनि होला विवाह गर्ने बेला भयो है भन्नुहुन्छ,’ शंंकरदेवमा पढ्ने प्रकाशले भने, ‘हैन कमाएपछि गरौँला नि भन्यो, दुवैजना कमाउने भएपछि सहज हुन्छ भनेर फकाइरहनुभएको छ ।’

इमोसनल अत्याचार
शंकरदेवमै पढ्ने लुसीको अनुभव उस्तै सकसपूर्ण रहेछ । उनलाई मंसिर मात्र होइन, लगन भएका जुनै महिना आउँदा पनि दबाब आउने रहेछ । दबाब पनि एसएलसी पढ्दादेखि आउन थालेको । १२ पास गरेपछि उनी  काठमाडौँ आइन् । त्यसपछि पनि बिहेको टोकसो हटेको छैन । लुसी भन्छिन्, ‘लगनको महिना आयो कि फोन गरेर नानी तेरा साथीहरुले विवाह गरिसके अब त तैँले नि गर्नुप¥यो बाबै भनेर हैरान पार्छन् ।’
उता पार्वतीलाई त इमोसनल अत्याचारै भइरहेको रहेछ । घर परिवारको जोड नचलेपछि उनको बिहे गराउन हजुरआमा कस्सिएको देखियो । 

‘आमाले भन्दा पनि हजुरआमाले नातिनीको बिहे खाएर मर्न पाए हुन्थ्यो भनेर प्रेसर दिएको दिएै हुनुहुन्छ,’ उनले भनिन्, ‘हजुरआमा बुढी पनि भइसक्नु भयो । गरौं कि क्या हो लाग्ने घरिघरि त !’ 
‘मंसिर लागेपछि साथीहरुलाई त फोन गर्न पनि सकस,’ उनले गुनासो गर्दै भनिन्, ‘फोन ग¥यो कि ‘ओई, निम्ता दिन फोन गरेकी !’ भनेर हैरान ।’ 

‘कति राम्री भएकी ? मंसिर नकट्ला है !’ भनेर जिस्क्याउनेको पनि कुनै कमी छैन । उनले भनिन्, ‘जवाफ दिँदादिँदै हैरानै बनाउँछन् ।’

विवाहः न ढिला, न चाँडो
इन्स्टिच्युट अफ फेमिली स्टडिज्ले सन् २०१५ मा प्रकाशित गरेको आलेखमा उल्लेख भएअनुसार विवाहका लागि सही उमेर २८ देखि ३२ वर्ष हो । निकोलास वेलफिङगरले गरेको अध्ययनमा उमेरलाई विभाजन गरेर जिम्मेवारीअनुसार विवाह गर्न योग्य उमेरको पहिचान गरिएको छ । आइएफएसस्टडिज्डटओआरजीमा रहेको अध्ययन प्रतिवेदनमा यसलाई ‘गोल्डलिक्स थ्योरी अफ म्यरिज’ उल्लेख गरिएको छ ।

अध्ययनमा चाँडै र धेरै ढिला विवाह गर्दा सम्बन्धविच्छेदको जोखिम बढी हुने उल्लेख छ । उनले २००६ देखि २०१० सम्मको अमेरिकाको विवाहको तथ्यांक केलाएर विवाहका लागि उचित उमेर २८ देखि ३२ रहेको निष्कर्ष निकालिएको हो ।

जिम्मवारीबोध गर्नसक्ने, आर्थिक उपार्जनमा सक्रिय हुने, अर्काको भावनाको सम्मान गर्ने स्वभाव, सामाजिक उत्तरदायित्वबारे अनुभव जस्ता कारण उनले २८ कटेपछि विवाह गर्दा राम्रो हुने निष्कर्ष निकालेका हुन् ।

उनले उमेर ढल्काएर विवाह गर्दा पनि जोखिम हुने उल्लेख गरेका छन् । ४० पार विवाह गर्ने व्यक्तिले आफ्नै शैलीको जीवनशैली बनाइसकेको हुँदा विवाहपछि एडजस्ट हुन समस्या आउने, आफ्नो जीवनबारे आफ्नै नियम बनाइसकेको हुँदा अर्काको भावनाको कदर गर्ने, व्यावहारिक नहुने जस्ता समस्या देखिने गरेको अध्ययनमा उल्लेख छ ।

ढल्कदो उमेरमा हुने विवाहको जोखिमबारे उनले गरेको विश्लेषणमा केही अनुसन्धानकर्ताले असहमति जनाए पनि कम उमेरबारे उनले गरेको विश्लेषणमा भने सहमत देखिन्छन् । 

४० कटेपछि हुने विवाहमा जोखिम बढी हुने, सम्बन्धविच्छेद बढ्ने उनको निष्कर्षमा असहमति जनाउँदै युनिभर्सिटी अफ मेरिल्यान्डका फिलिप कोहेनले विवाहका लागि योग्य उमेर ४५ देखि ४९ उल्लेख गरेका छन् ।

हेर्दा त्यत्रो उमेरमा विवाह भन्ने लाग्छ सक्छ तर पछिल्लो समय नेपालमा पनि सरदर आयु बढ्दो क्रममा छ । अमेरिकी समाजको आधारमा गरिएका अध्ययन ठ्याक्कै हाम्रोमा लागू नहुन सक्छ तर शिक्षा, अवसर र कमाइ सुरु हुने समयको गणना गर्ने हो भने विवाहका लागि २८ वर्षको उमेर सबैभन्दा उत्तम देखिन्छ ।

विद्रोही पुस्ता
एक दशक अघिसम्म अभिभावकले विवाहको तयारी गरे पनि अस्विकार असम्भव नै हुन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । विवाहको प्रेसर धान्न सक्ने र परिवारलाई मनाउनसक्ने भएका छन् युवा पुस्ता । आफुले रोजेको उमेर र अवस्था मात्रै हैन आफुले छानेकोसँग विवाह गर्नेक्रम समेत बढेको छ यो सकारात्मक पक्ष हो ।
 

(तस्विर माेडलिगंमा अाधारित । माेडल ः दीपिका भट्ट, तस्बिर ः कृष्पा श्रेष्ठ)

Leave A Comment