नेपालको ‘मिस वर्ल्ड’ यात्रा : आशमै बित्यो दुई दशक

शनिबार, २९ मङि्सर २०७५, ०५ : ४० अनिल यादव
नेपालको ‘मिस वर्ल्ड’ यात्रा :  आशमै बित्यो दुई दशक

विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ मा मिस नेपाल श्रृंखला खतिवडा उपाधिको दाबेदारका रुपमा चर्चामा आइन् । नेतादेखि सामान्य नागरिकसम्म उनलाई ताज पहि-याउन मरिहत्ते गरे तर उनको यात्रा ‘टप १२’ मा पुगेर टुंगियो । 

अघिल्लो साता चीनमा भएको प्रतियोगिताको फाइनलमा उनको यात्रा टुंगिएसँगै नेपालको यस वर्ष पनि ‘मिस वर्ल्ड’  जित्ने सपना त्यत्तिकै तुहियो । 

यस वर्षको ‘मिस वर्ल्ड’ को ताज मेक्सिकोकी २६ वर्षीया सुन्दरी भनेस्सा पोन्सले हात पारिन् । चीनको सान्यामा भएको ६८ औं मिस वल्र्डको फाइनलमा एक सय १७ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि पाउँदा थाइल्यान्डकी निकोलिनी मिम्सनुकान ‘फस्ट रनर अप’ घोषित भइन् । 

यद्यपि श्रृंखलाले यसपालि ‘मिस वर्ल्ड’ का महत्त्वपूर्ण दुई विधामा अवार्ड हात पारिन्ः  ‘ब्युटी विद पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ । उत्कृष्ट १२ मा पुगेर दुई महत्त्वपूर्ण अवार्ड हात पारेको सफलतामै चित्त बुझाउन बाध्य भए ताजका आकांक्षी सर्वसाधारण नेपाली जनता । 

श्रृंखलाले नेपालको लोपोन्मुख जाति चेपाङ समुदायको स्वास्थ्यमाथि करिब ४० लाखको प्रोजेक्ट सञ्चालन गरेकी थिइन् । सोही प्रोजेक्टले उनलाई ‘ब्युटी विद पर्पोज’को उपाधि दिलाएको हो । 

दुई दशकदेखिको संघर्ष
नेपालमा मिस नेपाल आयोजना गर्दै आएको ‘हिडन ट्रेजर’ले सन् १९९७ बाट आफ्नो विजेतालाई ‘मिस वर्ल्ड’ मा पठाउन थालेको हो । बर्सेनि नयाँ–नयाँ मिस नेपाल ‘मिस वर्ल्ड’  बन्ने लक्ष्य बोकेर विश्व मैदानमा उत्रिरहेका छन् तर अहिलेसम्म नेपाल उपाधि नजिकसमेत हुन सकेको छैन । 

यसअघि सन् २०१३ को इन्डोनेसियामा भएको ‘मिस वर्ल्ड’ फाइनलमा त्यतिबेलाकी मिस नेपाल इशानी श्रेष्ठले नेपालको लागि पहिलो पटक ‘ब्युटी विद पर्पोज’को उपाधि जित्दै आफूलाई ‘मिस वर्ल्ड’ को उत्कृष्ट १० मा पु-याएकी थिइन् । 

यस पटक ताज पाउनेमा धेरै आशावादी नभए पनि टप फाइभसम्म पुग्ने आँकलन आएको थियो तर यात्रा १२ मै पुगेर टुंगियो ।

नेपालका तर्फबाट सन् १९९७ मा पहिलोपल्ट झरना बज्राचार्य मिस वल्र्डमा सहभागी बनेकी थिइन् । त्यतिबेला नेपालले कुनै उपाधि भने जितेन । 

सन् २०११ की मिस नेपाल मलिना जोशीले ‘ब्युटी विद पर्पोज’ अवार्डका लागि आफूलाई उत्कृष्ट २० सम्म पु-याएकी थिइन् । 

सन् २०११ की मिस नेपाल श्रृष्टि श्रेष्ठ टप–३० (क्वार्टर फाइनल) सम्म पुगेकी थिइन् । त्यतिबेला उनी ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ बिच’ उपाधिका लागि उत्कृष्ट १० को प्रतिस्पर्धासम्म पुगेकी थिइन् । 

सन् २०१५ की मिस नेपाल इभाना मानन्धर पनि ‘ब्युटी विद पर्पोज’को उपाधिका लागि उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन् । सन् २०१६ की मिस नेपाल अश्मी श्रेष्ठ भने ब्युटी विद अ पर्पोज टप फाइभ प्रतिस्पर्धी बन्न सफल भएकी थिइन् । 

अघिल्लो वर्ष (सन् २०१७) मिस वर्ल्डमा सहभागी भएकी पूर्व मिस नेपाल निकिता चण्डक भने मिस वर्ल्डको टप मोडल प्रतिस्पर्धामा सहभागी बन्ने पहिलो मिस नेपाल बनिन् । 

उत्कृष्ट ४० (क्वार्टर फाइनल)सम्म पुगेकी उनले आफूलाई त्यतिबेला ब्युटी विद अ पर्पोजको टप २० र मल्टिमिडिया अवार्डको टप फाइभ र पिपुल्स च्वाइज अवार्डको टप फाइभसम्म उभ्याउन सफल भएकी थिइन् । 

नेपालले मिस वल्र्डमा सहभागिता जनाएयता सबै मिस नेपालले सहभागिता जनाए, सिवाय एक । उनी हुन्, सन् २००२ की मिस नेपाल विजेता माल्भिका सुब्बा । कारण– त्यो वर्षको मिस नेपालको आयोजना मिस वर्ल्ड आयोजना भइसकेपछि मात्रै सम्पन्न भयो । 

कसरी छानिन्छ मिस वर्ल्ड ?
मिस वर्ल्ड हुने प्रतिस्पर्धा जति चर्को देखिन्छ, यो त्यत्ति नै विवादित पनि । प्रतिस्पर्धीमध्येबाट मिस वर्ल्डको छनोटको प्रक्रियामाथि सधैँ प्रश्न उठ्ने गरेको छ । प्रतिस्पर्धीमध्येबाट मिस वर्ल्डको छनोटमा उत्कृष्ट प्रतिभा भन्दा बढी प्रतियोगिताका आयोजकको नेतृत्वको प्रभाव बढी हुने गरेको भन्दै यो प्रतिस्पर्धा आलोचित हुने गरेको छ । 
प्रतियोगिताका प्रायोजकको बजारको आधारमा मिस वर्ल्डको चयन हुने गरेको आरोपसमेत लाग्ने गरेको छ । पटक पटक भारतबाट मिस वर्ल्डको चयन हुनुमा त्यहाँको बजार मुख्य कारण रहेको विश्लेषण हुने गरेको छ भने चीनबाट मिस वल्र्ड चयन हुँदा बजार र चिनियाँ राजनीतिक सिद्धान्त माथिको प्रहारका रुपमा अथ्र्याइएको थियो । 


‘टाइटल जित्न अब समय लाग्दैन’
मलिना जोशी
मिस नेपाल वर्ल्ड, २०११/अभिनेत्री

यसपालिको नेपालको ‘मिस वर्ल्ड’ यात्रालाई कसरी लिनुहुन्छ ?
श्रृंखलाको सहभागिता राम्रो र उत्साहजनक भयो । एकदमै ठूलो र महत्त्वपूर्ण दुई वटा टाइटल उनले जितिन् । सारा देशले सपोर्ट ग-यो । यो एकदमै ठूलो उपलब्धि हो भन्ने लाग्छ । 

नेपाल मिस वर्ल्ड​मा सहभागी हुँदा के फाइदा हुन्छ ?
सबैभन्दा ठूलो कुरा, देशलाई चिनाइरहेको हुन्छ । हामी त्यहाँ प्रतिस्पर्धीका रुपमा पुग्दा हाम्रो नामले बोलाइँदैन । कतिले त हाम्रो देशको नाम पनि सुनेका हुँदैनन् । त्यहाँ  हरेक मान्छेले तपाईंलाई नामलेभन्दा देशको नामले बोलाउँछन् । यो भन्दा ठूलो फाइदा अर्को के हुन सक्छ !

अहिलेसम्म नेपालले उपाधि जित्न नसक्नुको कारण के लाग्छ ?
बिस्तारै प्रगति भइरहेको छ । हरेक वर्ष सहभागी हुने मिस नेपालले केही न केही बाटो बनाइदिरहनुभएको छ । यसपल्ट पनि राम्रो उपलब्धि हात प-यो । लाग्छ, अब यस्तै हो भने मिस वर्ल्डको टाइटल जित्न समय लाग्दैन । चाँडै जित्नेछौँ । अहिले कत्तिले सानो देश भएर हेप्यो भन्ने टिप्पणी गरेको पनि सुनेँ तर मलाई लागेन । नत्र नेपालले कसरी जित्यो दुइटा अवार्ड ? 

यसपालि नेपाल उत्कृष्ट पाँचमा पुग्नुपथ्र्यो, फेयर भएन भन्ने कुरा उठिराछ, के भन्नुहुन्छ ?
यस्तो कुरा त हरेक वर्ष उठ्ने गर्छ । म मिस नेपाल हुँदा पनि यस्तै विवाद भएको थियो । अरु प्रतिस्पर्धीका सपोर्टरले स्वभाविक रुपमा आफ्नो प्रतिष्पर्धीले नजितेपछि यस्तो प्रश्न उठाउँछन् । म यसलाई गम्भीर रुपमा लिन्नँ । 

तपाईंको अनुभवमा मिस वर्ल्डमा सहभागी हुने प्रतिस्पर्धी के कुरामा बढी प्रतिबद्ध हुनुपर्छ ?
अरु त सबै भइहाल्छ तर मैले प्रतिनिधित्व गरेको देश सानो हो, त्यो कारणले मैले जित्दिनँ होला भन्ने धारणा दिमागबाट हटाउनुपर्छ । म जित्छु भन्ने आत्मविश्वास बलियो हुनुपर्छ । त्यहीअनुसार तपाईंले आफूलाई तयारी गर्नुपर्छ । त्यहीअनुसार तपाईंले आफूलाई हरेक कुरामा पर्फेक्ट बनाउनुपर्छ । अनि त कसो नजितिएला !

Leave A Comment