‘सर मलाई त यहाँको कर्मचारीले के–के गथ्र्यो, गर्थ्यो !’
लागू औषध पुनस्र्थापना केन्द्रमा रहेकाहरुलाई सञ्चालकले दुःख दिएको सूचनाको आधारमा उद्धार गरिएकामध्ये दुई जनाले शंकास्पद सूचना दिएपछि काठमाडौं परिसरका डिएसपी होविन्द्र बोगटीको ध्यान तानियो ।
‘के–के गथ्र्यो भन, अब तिनीहरुले तिमीलाई केही गर्न सक्दैनन् ।’
डिएसपी बोगटीलाई लागेको थियो, प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये कसैले उनीहरुलाई दुःख दिएका थिए । एक थिए, ट्रान्सफर्मेसन नेपाल प्रालिका सञ्चालक सन्तोष घिमिरे र अर्का कर्मचारी समीप मल्ल ।
प्रहरीलाई सूचना दिन चाहने एक १४ वर्षका थिए, अर्का २१ का ।
एक जना १२ कक्षामा पढ्दापढ्दै दुव्र्यसनमा फँसेका थिए भने अर्का कक्षा ९ मै कुलतमा परेका । कक्षा नौमा पढ्ने १४ वर्षका नाबालक नौ महिनादेखि पुनस्र्थापना केन्द्रमा थिए भने कक्षा १२ मा पढ्ने एक वर्षदेखि । दुवैको परिवारले सन्तान सुध्रने आशामा चार लाख रुपैयाँ खर्च गरेर ट्रान्सफर्मेसन नेपालमा राखेका थिए ।
‘हामी सबैलाई एकै ठाउँमा म्याट्रेसमा सुताउँथे,’ एक पीडितले भने, ‘त्यही बेलामा उसले पछाडिबाट गर्यो ।’
अर्कोले पनि त्यस्तै भनेपछि दुव्र्यसनमा फँसेकालाई चिकित्सकीय उपचार, मनोपरामर्शदाता र स्वस्थ वातावरणको सहयोगमा दुव्र्यसनमुक्त बनाउने भन्दै राखिएको संस्थामा उनीहरुको यौन शोषण नै हुने गरेको खुल्यो तर यौन दुव्र्यवहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेका घिमिरे र मल्ल थिएनन् । त्यही संस्थाका पूर्व कर्मचारी सुदीप ढुंगाना थिए ।
उद्धार गरिएका दुई जनाले दिएको जानकारीअनुसार प्रालिको कर्मचारीका रुपमा काम गर्दा ३६ वर्षका ढुंगानाले ती दुई जनासँग जबर्जस्ती समलैंगिक सम्बन्ध राख्ने गरेका थिए । नमाने चरम शारीरिक यातना दिने भएकाले उनीहरु खुरुखुरु मान्थे ।
ढुंगाना तीन महिना अघिसम्म त्यही संस्थामा काम गर्थे । उनी नयाँ बस्तीमा बस्ने गरेको र ट्रान्सफर्मेसन नेपाल छाडेर नार्कोनन नेपालमा सहायकका रुपमा काम गर्ने गरेको खुलेपछि प्रहरी नार्कोनन नेपाल पुगेर ढुंगानालाई पक्राउ गर्यो । अहिले उनी बाल यौन दुराचारको अभियोगमा हिरासतमा छन् ।
‘आवास गृहमा राख्दा कर्मचारी र सुधारका लागि आएकालाई समेत एकै ठाउँमा सुताउने गरिएको रहेछ,’ अनुसन्धानमा संलग्न डिएसपी बोगटीले भने, ‘पीडित दुई जनासँग ढुंगाना सुत्ने क्रममा यौन शोषण गरेको देखियो । ढुंगानालाई यस्तो आरोप लगाउनेमध्ये एक जनाको उमेर १४ वर्ष रहेकाले उनीमाथि बाल यौन दुराचारको अभियोगमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ ।’
प्रारम्भकै लागू औषध सुधार केन्द्रमा रहेकाहरुमाथि यौन दुराचार हुने गरेको सूचनाको आधारमा प्रहरी काठमाडौंको सुकेधारामा रहेको ट्रान्सफर्मेसन नेपाल प्रालिको सुधार केन्द्र पुगेको थिएन । त्यहाँबाट भागेका १३ जनाले सो केन्द्रमा सुधारका लागि राखिएकाहरुमाथि अमानवीय व्यवहार हुने गरेको सूचना आएपछि प्रहरी अवस्था बुझ्न गत बिहीबार सुकेधारा पुगेको थियो ।
सुकेधारामा पुग्दा आएको सूचना सत्य देखिएपछि प्रहरीले त्यहाँ राखिएका २१ जनाको उद्धार गर्दै सञ्चालक घिमिरे र कर्मचारी मल्ललाई पक्राउ गर्यो । सुधार केन्द्रको प्रत्यक्ष अनुगमन र दुव्र्यसनमुक्त हुन त्यहाँ बसेकाहरुको जानकारीका आधारमा त्यहाँ रहेका माथि अमानवीय व्यवहार हुने गरेको देखिएपछि प्रहरीले सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको थियो ।
सुधार केन्द्रको आवरणमा धन्दा
दुव्र्यसनमा फँसेकाहरुलाई सुधारेर समाजमा पुनस्र्थापना गर्ने लक्ष्यले खोलिएका भए पनि अधिकांश सुधार केन्द्र समाजसेवाको आवरणमा व्यापारमा लिप्त देखिँदैआएका छन् । कुबाटोमा लागेका पारिवारिक सदस्यलाई सुधारेर ठीक बनाइदिने भन्दै उनीहरुले परिवारका सदस्यलाई भावनात्मक परिबन्दमा पारेर मोटो रकम असुल्ने गरेको यस अगाडिका केही सुधार केन्द्रको बदमासीबाट खुलेको थियो नै ।
ट्रान्सफर्मेसन नेपाल पनि उही ड्याङको संस्था थियो । सो संस्थाले दुव्र्यसनमा फँसेकालाई दुव्र्यसनमुक्त बनाउने भन्दै उनीहरुको परिवारसँग वार्षिक चार लाख १० हजार शुल्क लिन्थे । शुल्क अग्रिम नबुझाई भर्ना नै लिँदैनथे ।
पैसा खर्च गर्दा बिग्रिएको सदस्य सुध्रन्छ भने ठीकै छ भनेर परिवार पनि मोटो रकम बुझाउन राजी हुन्थ्यो तर परिवारका सदस्यबाट मोटो रकम लिएका सञ्चालकहरु नै सुधारको वातावरण बनाउनुको साटो उल्टो यातना दिन्थे ।
परिवारका सदस्य सुधार केन्द्रमा रहेका आफ्ना सदस्य हेर्न आउँदा कोही पढिरहेको त कोही ध्यान गरिरहेको देख्दा खुसी हुँदै फर्कन्थे । केन्द्रको असलियत भने भिन्न थियो । सुधारको नाममा उनीहरुमाथि अमानवीय यातना भइरहेको त थियो नै दुव्र्यसनीमा फँसेका उनीहरुलाई घिमिरेले हतियारका रुपमा प्रयोग गर्दै परिवारसँग मोटो रकम असुलिरहेका थिए ।
‘गाँजाको लतमा परेर बर्बादै हुन लागेपछि छोरा सुध्रने आशमा पैसा तिरेर संस्थामा राखेँ,’ एक वर्षदेखि ट्रान्सफर्मेसन नेपालमा रहेका एक दुव्र्यसनीका एक जना अभिभावकले भने, ‘सुध्रेला भनेर त्यत्रो पैसा दिएको त कुट्न पैसा दिएजस्तो पो भएछ ! अहिले नरमाइलो लागिरहेछ ।’
लागू औषध पुनस्र्थापना केन्द्रको छाता संगठन फेडरेसन अफ ड्रग डिमान्ड रिडक्सनका पूर्व अध्यक्ष कर्मा शेर्पा सुधार गृहमा बस्नेले मासिक १५ हजारभन्दा बढी रकम लिन नपाइने भए पनि प्रालिमा दर्ता गरेर सञ्चालन गरेका पुनस्र्थापना केन्द्रले मनपरि ढंगले पैसा लिने गरेको बताउँछन् ।
मन्त्रालयअन्तर्गत दर्ता भएका सुधार गृहको अनुगमन हुने गरे पनि अन्यको हकमा भने त्यस्तो नहुने उनले बताए । उनले प्रालिमा दर्ता भएका सुधार केन्द्र अनुगमन भन्दा बाहिर गएको देखिएको बताए ।
५० भाटा, ५ सय उठबस
घिमिरेले सुधारको धन्दा चलाउन काठमाडौं सुकेधारामा कम्पाउडसहितको साढे २ तले घर भाडामा लिएका थिए । कालो गेट रहेको घर सुनसान थियो । घरको कम्पाउन्डका उनले तीन वटा कुकुर छाडिदिएका थिए सुरक्षाका लागि । घरको सुनसान वातावरणले त्यहाँ ३० जना भन्दा बढी बस्छन् भन्ने भेउ पाउनै मुस्किल हुन्थ्यो ।
प्रहरी टोली घरको कम्पाउण्डभित्र प्रवेश गरेपछि मात्र झ्यालझ्यालबाट सुधारका लागि बसेकाहरु चिच्याएका थिए । प्रहरी सिधै घरभित्र जान पनि सकेन । घरको मूल गेटमा बाहिरबाटै ताल्चा लगाइएको थियो । घरमा होहल्ला भएपछि भित्र एक युवा देखिए । उनी गार्ड जो आफैँ थुनिएका थिए । प्रहरीले गार्डसँग मागेर ताल्चा खोले । केही समयमा सञ्चालक घिमिरे हात जोड्दै आइपुगे ।
प्रहरी सरासर दुव्र्यसनमा फँसेकालाई सुमार्गमा ल्याउन राखेको कोठामा पुग्यो । कोठा ह्वास्स पिसाबको गन्धले भरिएको थियो । कोठामा केही बट्टा फेला परेका थिए, जुन पिसाबले भरिएका थिए । प्रहरीले एक, दुई गर्दै त्यहाँ रहेका सबैलाई बाहिर निकाल्दै विवरण संकलन गर्न थाल्यो ।
उमेर १७ देखि ७० वर्षसम्मका थिए । कसैको खुट्टा सुन्निएको, कसैको खुट्टा भाँचिएको, कसैको ढाडमा समस्या थियो । कोही शिक्षक, कोही डाक्टर, कोही इन्जिनियर थिए । कोही हङकङ र अस्ट्रेलियामा दुव्र्यसनमा फँसेर सुध्रन आएकाहरु समेत थिए । प्रहरीले उद्धार गरेकाहरुमध्ये कोही त चार वर्षदेखि त्यही संस्थामा र त्यही कोठामा बसेको खुल्यो ।
‘केही गल्ती गर्यो भने ५० भाटा हिर्काउँथ्यो, ५ सय चोटी उठबस गराउँथ्यो,’ सुधार केन्द्रमा रहेका एक दुव्र्यसनीले भने, ‘दिनमा एक पटक मात्र शौचालय जान पाइन्थ्यो । फेरि पिसाब गर्नुपरे बोतलमा गर्नुपथ्र्यो ।’
कोठाको अवस्था र सुधारका लागि केन्द्रमा बसेकाहरुको बयानका आधारमा सुधारको आवरणमा यातनागृह चलाएको देखेपछि प्रहरीले सबैको उद्धार ग¥यो भने सञ्चालक तथा कर्मचारीलाई हिरासतमा राख्यो ।
‘सुधार गृहको नाममा अमानवीय व्यवहार र यातना नै दिएर राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि हिरासतमा राखिएको हो,’ डिएसपी बोगटीले भने, ‘बदमासीहरु देखिएपछि दुई जनाविरुद्ध अमानवीय व्यवहारको अभियोग र एक जनाविरुद्ध बाल यौन दुराचारको अभियोगमा अनुसन्धान गरिरहेका छौं ।’
सेटिङमा अनुगमन
ट्रान्सफर्मेसन नेपालको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यो लागू औषधमुक्त समाज निर्माणको लक्ष्यसहित सात वर्षअघि स्थापना भएको हो । संस्था सुरु भएको सात वर्ष भए पनि अझै यो अवैध नै देखियो । लागू औषध पुनस्र्थापना केन्द्र सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्तामार्फत् पनि सकिन्छ तर लागू औषध प्रयोगकर्ताहरुको उपचार तथा पुनस्र्थापना केन्द्र सञ्चालन निर्देशिकाअनुसार यस्ता केन्द्र अनिवार्य रुपमा गृहमा आबद्ध हुन जरुरी छ । घिमिरेले भने आफ्नो संस्था गृहमा आबद्ध गराएका थिएनन् ।
उनले गृहमा आवद्ध नगराए पनि अनुगमन र सुधारको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयले सो संस्थाका अनुगमन गर्दै सञ्चालनको अनुमति दिँदै आएको थियो । अचम्म त के भने गत बिहीबार प्रहरी पुग्दा सो संस्थामा देखिएको दुर्दशा जिल्ला प्रशासन कार्यालयका अधिकारी डेढ महिनाअगाडि अनुगमनमा जाँदा देखेका थिएनन् ।
छक्क पार्ने तथ्य त के हो भने सुधार केन्द्रले चिकित्सक र मनोपरामर्शदाता अनिवार्य रुपमा राख्नुपर्छ । ट्रान्सफर्मेसन नेपालमा यी दुवै थिएनन् । तापनि जिल्ला प्रशासन कार्यालयले उसलाई गृहमा आबद्ध नभएको, लाइब्रेरी र अडियोभिजुअल सुविधा नभएको मात्रै कैफियत देखाएर उन्मुक्ति दिएको देखियो ।
अन्य पनि उस्तै
गृह मन्त्रालयको लागू औषध नियन्त्रण शाखाको तथ्यांकअनुसार नेपालमा लगभग दुई लाख हाराहारीका लागू औषध दुव्र्यसनी छन् । उनीहरुलाई सुधार गरेर सामान्य जीवनमा फर्काउने भन्दै थुप्रै सुधार केन्द्र खुलेका छन् तर तिनको यकिन तथ्यांक भेट्न मुस्किल पर्छ । गृहको लागू औषध नियन्त्रणमा शाखामा जिल्लाअनुसार राखिएको सुधार केन्द्रको संख्या ९८ छ । तर शाखाकै आधारिक वेबसाइटमा राखिएको अर्को तथ्यांकमा नेपालभर ५ सय ६१ वटा पुनस्र्थापना केन्द्र रहेको उल्लेख छ । यीमध्ये सरकारी तहमा नेपाल प्रहरीको आसरा सुधार केन्द्र मात्रै हो भने बाँकी सबै निजी ।
पुनस्र्थापना केन्द्रको संख्याको अन्योलझैँ अनुगमनमा पनि अन्योल देखिन्छ । गृहले यस्ता सुधार केन्द्र सञ्चालनका लागि अनुदानसमेत दिने गरेको छ । सरकारीसँगै गैर सरकारी निकायबाट समेत दुव्र्यसनमुक्त समाज निर्माण गर्ने भन्दै यस्ता संस्थाले आर्थिक सहयोग लिनेगरेका छन् । बलियो अनुगमनको अभावमा सुधारको आवरणमा खोलिएका यस्ता संस्थाका गतिविधि भने विवादमा पर्ने गरेका छन् ।
ट्रान्सफर्मेसन नेपाल मात्रै हैन, दुव्र्यसनमा फँसेर दिक्क भएका परिवारलाई सुधारको आश देखाएर धन्दा चलाउने यस्ता संस्था अन्य पनि देखिन्छन् । गत जेठमा सबिना कार्कीले त भक्तपुरको फेब रिह्याब सेन्टरका सञ्चालकले उनका श्रीमान्सँग मिलेर हुँदै नभएको दुव्र्यसनी रहेको भन्दै ८ महिना जबर्जस्ती बन्धक बनाएर राखेको दाबी गरेकी थिइन् ।
सुधार केन्द्रमा राखिएका आफ्ना सदस्यलाई भेट्न नदिएको, घर फर्काउन खोज्दा नदिने गरेको, विभिन्न बहानामा चर्को शुल्क उठाउने गरेको, शारीरिक र मानसिक यातना दिएको जस्ता गुनासाहरु आइरहन्छन्, यस्ता संस्थाबारे तर बलियो अनुगमन र निगरानीको अभावमा तथा दुव्र्यसनमा फँसेका व्यक्ति उम्कन बहाना बनाएको होला भनेर पत्यार नगर्दा बदमासी गर्ने संस्थाका सञ्चालकहरुले उन्मुक्ति पाउँदै आएको देखिन्छ ।
गृह मन्त्रालय, लागू औषध नियन्त्रण शाखाका मुख्य औषध नियन्त्रण अधिकारी, सह—सचिव नारायण प्रसाद शर्मा दुवाडी सुधार गृह जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर सञ्चालन गर्न पाइने बताउँछन् ।
दुवाडीका अनुसार एनजीओका रुपमा दर्ता भएका पुनस्र्थापना केन्द्र मन्त्रालयअन्तर्गत जिल्ला प्रशासनमा दर्ता भएसँगै कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता भएर पनि सञ्चालित रहेको बताए ।
उनले प्रालिमा दर्ता भएर सञ्चालन भएका सुधार गृहलाई पनि कुनै न कुनै हिसाबले अनुगमन गरिने गरेको दाबी गरे पनि सुधार केन्द्रको नाममा भएको बदमासीको अनुगमन संयन्त्र र प्रभावकारिताको पाटोमा उनी प्रवेश गर्न चाहेनन् ।
नेपालको कानुनअनुसार लागू औषध कारोबार कानुनविपरीत भए पनि दुव्र्यसन अपराध हैन । लागू औषधसम्बन्धी कानुनले दुव्र्यसनलाई दण्ड सजाय भन्दा उपचारमा जोड दिन्छ । लागू औषध कारोबार नियन्त्रणका लागि प्रहरीले कारोबारीसँगै प्रयोगकर्तालाई समेत पक्राउ गर्छ । पक्राउपछि पहिलो प्राथमिकता पुनस्र्थापना केन्द्र पठाउने हुन्छ । लागू औषध नियन्त्रण ब्युरोसँगै प्रहरीको अन्य इकाईले पनि दुव्र्यसनीलाई नियन्त्रणमा लिने गरेको छ ।
कतिपय सुधार केन्द्र सञ्चालकले सुधारका लागि दुव्र्यसनी खोज्न प्रहरीसँगै सेटिङ मिलाउने गरेको देखिन्छ । त्यत्ति नचलेका सुधार केन्द्रहरुले प्रहरीसँग सेटिङ मिलाएर पक्राउ परेका दुव्र्यसनीलाई आफ्नो संस्था लैजाने गरेका छन् ।
त्यसबापत प्रहरीलाई निश्चित कमिसन पनि दिने गर्छन् । प्रहरीले आफ्नो नियन्त्रणमा लिएका दुव्र्यसनीलाई कि आफूले भनेको सुधार केन्द्रमा लैजानू नत्र मुद्दा प्रक्रिया अगाडि बढ्छ भन्ने गरेका छन् । ट्र्यापमा परेका अभिभावकले सुधार केन्द्रको क्षमता भन्दा सिफारिसको आधारमा केन्द्रमा पुर्याउँछन् र सञ्चालकले मोटो रकम उठाउँछन् ।
लागू औषध नियन्त्रण ब्युरोका डिआइजी दिनेश अमात्य दुुुव्र्यसनमा फँसेकालाई सुधार केन्द्र पठाइने गरेको बताउँछन् । उनले दुव्र्यसनीमा फँसेका व्यक्तिलाई परिवारले लान सक्ने अवस्था भए परिवारलाई जिम्मा लगाउने र नसक्ने अवस्थामा सुधार केन्द्र पठाउने गरेको बताए ।
‘सुधार केन्द्रमा पठाएपछि त्यत्तिकै बस्दैनौँ,’ उनले भने, ‘१५÷१५ दिनमा सुधार केन्द्रले ब्युरोलाई रिपोर्ट बुझाउनु पर्छ । केन्द्रको अनुगमन पनि हुन्छ ।’
समाजसेवीको आवरण
पूर्व उपराष्ट्रपति परमानन्द झाबाट सम्मानपत्र, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, वनमन्त्री शक्ति बस्नेत अनि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगै कुम जोड्दै प्रशंसापत्र बोकेको, मुख्यमन्त्री शेरधन राई, कांग्रेस नेता जगदीश नरसिंह केसीसँग कुम जोडेर उभिएको तस्बिर हेर्दा लाग्छ, ट्रान्सफर्मेसन नेपालका सञ्चालक घिमिरे निकै ठूलो समाजदेवी देखिन्छन् । उनका यी तस्बिर फेसबुक पेजमा मज्जाले हेर्न सकिन्छ ।
तर उनको जे कतुर्त सार्वजनिक भयो, त्यसले समाजसेवाको आवरणमा धन्दा चलाउने व्यक्तिका रुपमा उदाङ्गिए उनी । प्रहरी हिरासतमा रहेका सञ्चालक घिमिरे आफैँ पूर्व दुव्र्यसनी हुन् । उनी सात वर्ष नार्कोनन नेपालमा बसेर दुव्र्यसनमुक्त भएपछि आफैँ संस्थापक भएर ट्रान्सफर्मेसन नेपाल प्रालि खोलेका थिए । लागू औषध र मदिराको कुलतमा फँसेकाहरुलाई लतमुक्त बनाउने वाचाको आवरणमा यातना गृह चलाइरहेको पुष्टि भयो ।
परिवारको साथ महत्वपूर्ण
प्रोफेसर डा. सरोज प्रसाद वझा
मानसिक स्वास्थ्य विभाग प्रमुख
त्रि.वि. शिक्षण अस्पताल
दुव्र्यसनको लत लागेको व्यक्ति गाँजा, चुरोट, रक्सी लगायतका लागू पदार्थ नखाई बस्नै सक्दैन । नखाए छटपटी हुन्छ । खाँदा आनन्द दिन्छ र ठीक हुन्छ । नेपालमा लागू औषध सेवन गर्नेमध्ये गाँजा, अफिमजन्य वस्तु, चुरोट, रक्सीको नसामा बढी मात्रामा फँसेका पाइन्छन् । लागू पदार्थमा फँस्नेमध्ये नेपालमा ९० प्रतिशतभन्दा बढी पुरुष नै हुन्छन् ।
दुव्र्यसनीमा फँसिसकेकालाई पुनः पुरानै अवस्थामा ल्याउने केही उपचार विधि छन् । दुव्र्यसनीमा फँसिसकेपछि डिटक्सिफिकेसन उपचार पहिलो विधि हो । यस विधिमा दुईदेखि तीन हप्तासम्म अस्पतालमा भर्ना गरेर उपचार गरिन्छ ।
डिटक्सिफिकेसन विधिमा दुुव्र्यसनीमा फँसेकालाई परामर्श दिने तथा औषधी सेवन गराइन्छ । २÷३ हप्ता अस्पतालमा बसिसकेपछि डिस्चार्ज गरिन्छ । यसरी उपचार गर्दा हरबखत परिवारसँग हुन जरुरी हुन्छ ।
दोस्रो विधि परामर्श तथा उपचार त गरिन्छ नै परिवार तथा समाजमा पुनस्र्थापन पनि गरिन्छ । परिवार, आफन्त तथा समाजमा नियमित भेटघाट गराइन्छ । त्यसपछि आवश्यकताअनुसार परिवार तथा आफन्तमा भेटघाट गर्न सकिन्छ । यी दुव्र्यसनीमा फँसेकालाई उपचार गर्ने वैज्ञानिक पद्धति हुन् ।
डिस्चार्ज भएर घर गैसकेपछि अवस्थाअनुसार महिनामा एक पटक चिकित्सककहाँ जानु उपयुक्त हुन्छ । उपचारपश्चात् लागू औषध छोडेको ६ महिनामा दुव्र्यसनीमा फँसेका व्यक्ति पुरानै अवस्थामा आउँछन् । अध्ययनअनुसार उपचारपश्चात् ६० प्रतिशत भन्दा धेरै व्यक्ति पुरानै अवस्थामा आउँछन् ।
लागू औषधको दुव्र्यसनीमा फँसेका व्यक्तिको सफल उपचार पद्धति छ, निको हुन्छ । तर लामो समयसम्म उपचार पनि नगर्ने तथा नियमित रुपमा लागू औषध सेवन गर्नाले डिप्रेसन मात्रै हैन, कडा किसिमको मानसिक रोगको जोखिम पनि हुन सक्छ ।
उपचारका अनेक विधि छन् । यी सबै विधि अपनाउँदा उनीहरुलाई परिवारबाट टाढा भने राख्न हुन्न । उपचारपछि उनीहरुलाई परिवारमा सहज रुपमा फर्काउनका लागि मलाई परिवारको साथ छ भन्ने आत्मविश्वास बढाउन आवश्यक हुन्छ ।
यस्तो छ मापदण्ड
–३० देखि ३५ जनासम्म सेवाग्राही बस्न सक्ने गरी एक रोपनी जग्गामा बनेको कम्पाउन्डयुक्त भवन परिसर हुनुपर्नेछ ।
–पुस्तकालय, कम्प्युटर, खेलकुद, शारीरिक व्यायाम, योगाभ्यास, जिम, ध्यान, एरोबिक्स जस्ता क्रियाकलापहरू सञ्चालन गर्न पर्याप्त ठाउँ भएको हुनुपर्नेछ ।
–बिरामीहरूको भेटघाट, व्यक्तिगत सम्पर्क र न्यूनतम÷आधारभूत मानव अधिकारको आधारमा सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ ।
–उपचार तथा पुनस्र्थापना केन्द्रमा चिकित्सक, मनोवैज्ञानिक, परामर्शदाता, स्वास्थ्य सहायक÷मनोविज्ञ÷अक्युपन्चरिस्ट÷
–ध्यान प्रशिक्षक÷योग प्रशिक्षक हुनुपर्नेछ ।
–उपचार तथा परामर्श सेवाको क्रममा सम्बन्धित बिरामी र निजको परिवारबीच निरन्तर सम्पर्क र भेटघाटको व्यवस्था गराउने र सेवालाई परिवारमैत्री बनाइनु पर्नेछ ।
Leave A Comment