‘नाच फिरिरीको यत्रो चर्चा होला भन्ने लागेको थिएन’: महेश काफ्ले

आइतबार, ०८ पुष २०७५, ०३ : ३० अनिल यादव
‘नाच फिरिरीको यत्रो चर्चा होला भन्ने लागेको थिएन’: महेश काफ्ले

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपल्ट जोडी बाँधेर अभिनय गरेको म्युजिक भिडियो ‘नाच फिरिरी’का गायक÷संगीतकार÷गीतकार हुन्, महेश काफ्ले । यो गीतले युट्युबमा तीन करोड २६ लाखभन्दा बढी भ्युज पाएको छ । यति मात्रै महेशको पूर्ण परिचय भने होइन । उनी लोक गायक भोजराज काफ्लेका छोरा हुन् । गायक तथा संगीतकार दिनेश काफ्लेका भाइ हुन् । १३ वर्षको उमेरसम्म महेशले बुबा भोजराजकै आधा दर्जन गीत गाए । ९ र १० वर्षको छँदा उनले सामाजिक समस्यामाथि बनेका दुई गीत ‘सौताको छोरा’ र ‘सौतेनी आमा’ गाउनुसँगै अभिनयसमेत गरे । ती दुवै गीत हिट भए । हाल २३ वर्ष पुगेका उनी गायनमा १० वर्षपछि कमब्याक भएका हुन्, ‘नाच फिरिरी’मार्फत् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

एउटै गीतले हिट हुनुभयो । नतिजा अपेक्षित नै हो त ? 
हुर्किसकेपछि पहिलोपल्ट गायनमा फर्कंदै थिएँ । त्यसैले राम्रो गीत गरौँ भन्ने थियो तर यो लेभलको चर्चा होला भन्ने कल्पनासम्म थिएन । जब गीतका लागि एरेन्जमेन्टको प्रोसेसमा गएँ, नजिकका साथीभाइलाई गीत सुनाउँदा राम्रो प्रतिक्रिया पाउँथेँ । यसबाटै दर्शकले रुचाइदेलान् भन्ने आशा भने छँदैथियो । 

अहिले आफूले गाएको ‘नाच फिरिरी’ वरिपरि बजिरहँदा, दर्शक नाचिरहँदा कस्तो महसुस हुन्छ ? 
चार–पाँच महिनाअघिको समय सम्झना आउँछ । त्यतिबेला यो गीत म एक्लै सुनिरहेको हुन्थेँ । अरुले सुनेपछि मन पराउनु होला कि नहोला, डर लाग्थ्यो । अहिले जताततै बजेको सुन्दा रमाइलो लाग्छ । जिम्मेवारी बढेको महसुस पनि भइरा’छ । अर्को गीत के होला भन्ने डर पनि उस्तै छ । 

किन हिट भएजस्तो लाग्छ यो गीत ?  
यो गीतको शब्द र संगीत पनि मेरै भएकाले म धेरै नजिक हुन सकेँ । स्रोता भएर सुन्दा गीतका सरल शब्द र टिपिकल मेलोडीले श्रोतालाई छोएको हुनुपर्छ । 

अलिअलि प्रभाव त निश्चल र स्वस्तिमा अभिनित भिडियो कथाको पनि पर्यो होला, है ?
अफकोर्स, त्यो त बिर्सनै हुन्न । 

संगीत क्षेत्रमा तपाईंको यात्रा दुई चरणमा देखियो । पहिलो बालक हुँदाको चरण र अर्को अहिले । यत्रो समय किन ग्याप ? 
पढाइतिर लागियो । पढाइसँगै संगीतमा लागेको पनि होइन । योभन्दा अघि म पत्रकारिता गर्थें । तीन वर्ष जति इमेज च्यानलमा स्पोर्ट्स रिपोर्टिङ गरेँ ।  राम्रै भइरहेको थियो तर पत्रकारिता गर्दैगर्दा पनि मेरो दिमागमा संगीत सधैँ गुन्जिरहेको हुन्थ्यो । बाहिर हल्ला नगरे पनि भित्रभित्रै म संगीतको धुन बनाइरहेको हुन्थेँ । मेरो खास रुचि संगीत नै हो, म यतै लाग्नुपर्छ भन्ने महसुस पत्रकारितामा लागेपछि नै भएको हो । सायद म पत्रकारितामा नलागेको भए मेरो संगीत मोह यसरी प्रष्फुटन हुने थिएन । वर्षौंदेखि कुण्ठिएको मेरो संगीत रुचि बल्ल पोखिँदैछ ।  

निश्चल–स्वस्तिमाको जोडीलाई धेरैले म्युजिक भिडियोमा खेलाउन चाहेका थिए तर सकिरहेका थिएनन् । कसरी मनाउनुभयो तपाईंले ? 
यसको पनि रोचक कथा छ । मेरो साथी छ, आकाश खड्का (फिल्म पत्रकार) । उसलाई मेरो संगीत रुचि थाहा थियो । यो गीत पनि सुनाएको थिएँ । मेरो मनमा यो गीतमा निश्चल र स्वस्तिमा फिचर्ड भए कस्तो राम्रो हुन्थ्यो भन्ने एक किसिमको फेन्टासी नै थियो । संयोगले आकाशले यो गीत आसिफ साह दाइलाई सुनाउन खोजेछ । सुरुमा मान्नुभएन ।

दुई–तीन पल्ट कर गरेपछि सुन्नुभएछ । मन परेछ । त्यसपछि उहाँको मिल्ने साथी निश्चल दाइ (बस्नेत)लाई सुनाउनुभएछ । निश्चल दाइले यो गीत त राम्रो छ भनेर कमेन्ट दिनुभएछ । तिमी खेल्ने हो त ? भनेर जिस्काउँदै सोध्नुभएछ । उहाँले सजिलै खेल्छु भन्नुभएछ । पछि स्वस्तिमाले गीत मन पराएपछि ओके भएको हो । 

भनेपछि भिडियोका लागि जुन जोडीको कल्पना गर्नुभएको थियो, त्यही जोडी वास्तविकताका पात्र पो भएछन् त !
हो नि ! निश्चल दाइले गीत फिल्ममै राख्न खोज्नुभएको हो तर आसिफ दाइले गायकको पनि प्रमोट होस्, पहिलो कमब्याक सङ हो भनेर भिडियो नै बनाऊ भन्नुभयो । गीत सुनेपछि मलाई पहिलोपल्ट निश्चल दाइ र स्वस्तिमाजीले भेट्न बोलाउँदा म त चकित भएको थिएँ । किन थाहा छ ? मलाई भन्दा बढी कन्ठ त उहाँलाई यो गीत भइसकेको रै’छ ।

दुवै जनाले गुन्गुनाइरहनु भएको थियो । निश्चल दाइलाई भेट्न जाँदा उहाँले मलाई भेट्न बोलाएको भन्ने विश्वासै लागिरहेको थिएन । यो गीत मैले तीन वर्षअघि कम्पोज गरेको थिएँ । दुई वर्षअघि नै अडियो रेडी गरेको थिएँ । दाइहरुले भिडियो खेल्ने भनेर ओके गरेको आठ महिनापछि मात्र गीतको सुट भएको थियो । सुटिङको समय नमिल्दा भिडियो बनाउन धेरै समय लाग्यो तर मैले पनि हतार गरिनँ, धैर्य गरेर बसेँ । आखिर धीरताको फल मीठो पनि भयो । 

यो गीतको मेलोडी कसरी बनाउनुभयो ? कुनै कथा छ ? 
तीन वर्षअघि, असारकै महिना थियो । म घरमा थिएँ । झ्यालबाहिर हेरिरहेको थिएँ । पानी परिरहेको थियो । हावा चलिरहेको थियो । मौसम नियालिरहँदा अचानक दिमागमा धुन आयोः 
हावा चल्यो सिरिरी
हातै झिरिरी
म बजाउँछु मुरली तिरिरी, 
तिमी नाच फिरिरी ...

मेरो फेरि लिरिक्ससँगै धुन सिर्जना गर्ने बानी छ । त्यतिबेला धुनसँगै लिरिक्स पनि सरर आउन थाल्योः
असारे महिना, सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओडेर आ’को सानी...
यत्तिकै गुन्गुनाउँदै दाइलाई सुनाएँ । ‘यो त राम्रो छ त’ भन्नुभयो । हौसला बढ्यो । अरुलाई सुनाएँ । फिडब्याक राम्रो आयो । अनि गीत बनाएँ । 

बुबा (भोजराज काफ्ले)को प्रतिक्रिया कस्तो छ नि ? 
बुबालाई मैले यो गीत बनाएको कुरा नै थाहा थिएन । गीत रिलिज हुनै लाग्दा मात्रै थाहा पाउनुभएको हो । बच्चामा गाएको लामो समय गाउन छोडिसकेपछि बुबालाई मैले गायनमा भविष्य बनाउँछु भन्ने लागेको थिएन । म पत्रकारितातिर लागिसकेको थिएँ । अब उतै राम्रो गर्ला भन्ने सोच्नुभएको थियो तर त्यस्तो भएन । अहिले खुलेर खुसी त व्यक्त गर्नुभएको छैन तर खुशी नै हुनुभयो होला जस्तो लाग्छ । आखिर छोरा नै हुँ ! (हाँस्दै)

जे होस्, संगीतमा आउन तपाईंले संघर्ष भने गर्नु परेन है ?
बाहिरबाट आउने अरुलाई भएजस्तो खान–बस्नको दुःख त भएन तर संघर्ष त हरेक मान्छेको जिन्दगीमा हुन्छ । मात्रै कस्तो संघर्ष भन्ने हो । मलाई अझै याद छ, सानोछँदा दाइ (दिनेश काफ्ले)ले गाएको ‘आमा रातो सारी, सिन्दुर पोतो किन नलाको’ भन्ने गीत एकदमै हिट भा’को थियो । त्यतिबेला ड्याडीको मतिरभन्दा पनि दाइतिर नजर थियो । यसले संगीतमा खासै गर्ला भन्ने सोच्नुभएको थिएन सायद । म भने आफूभित्रको संगीत मोह झल्काउनका लागि बुबासँग दाइले गाइरहेकै बेला बीचमा गएर गाइदिन्थेँ । बुबाले वास्ता गर्नु हुन्थेन ।

ठूलो भएपछि जब संगीत नै गर्नुपर्छ भन्ने रियलाइज भयो, त्यसपछि ‘नाच फिरिरी’ ल्याएँ । यो गीत बनाउनेदेखि बजारमा ल्याउेनसम्म मैले एक्लै दुःख गरेँ । ड्याडीलाई केही सहयोग मागिनँ । स्टुडियो धाउनेदेखि एरेन्ज गराउने सबै आफैँले गरेँ । कोही मान्छे भेट्दा मैले मेरो पुरानो परिचय दिइनँ । पहिला गाएका गीतहरुबारे कुरा गरिनँ । निश्चल दाइलाई त मेरो पुरानो गीतबारे थाहै थिएन । पछि थाहा पाएर ‘ए त्यो गीत तिम्ले गाको हो’ भन्नुभाको थियो ।

मैले चाहेको म फलानाको छोरा हुँ, फलोना गीत मैले गा’को हो भन्दै हिँड्न सक्थेँ । तर त्यस्तो जरुरी ठानिनँ । आफू अघि बढ्ने हो भने आफ्नै किसिमले बढ्नुपर्छ र आफ्नै धरातल आफैँले बनाउनुपर्छ भन्ने ठानेँ । अरु नयाँ गायकले जिरो लेभलबाट सुरु गरेजसरी नै मैले पनि सुरु गरेँ । 

तपाईं खासमा संगीतकार कि गायक हुने ?
म आफैँ लेख्छु, आफैँ संगीत गर्छु र आफैँ गाउँछु पनि । अब दोस्रो गीत पनि त्यसै गरी निकाल्दैछु । एउटै मात्र परिचय बनाउने भन्ने छैन । 

अरुको संगीतमा गीत गाउने कि नगाउने ?
बढी आफूले लेखेको र सिर्जना गरेको धुनमा गाउन रुचाउँछु तर भविष्यमा अरुका गीतमा सहकार्य नहोला भन्न सक्दिनँ । 

तपाईंको घरभरि गायक छन् भन्ने त धेरैलाई थाहा नहोला, है ?
अँ, धेरैलाई थाहा छैन होला । केहीलाई मात्र थाहा होला । 

घरमा माहोल त पूरै सांगीतिक हुन्छ होला, है ?
कुरा त अरु पनि हुन्छन् तर संगीतको पनि हुन्छ । जतिखेर पनि गीतसंगीतकै कुरा हुन्छ भन्ने चाहिँ होइन है ! (हाँस्दै) बजारमा संगीतसम्बन्धी चर्चा र नयाँ सिर्जना आएका बेला तिनीहरुको चर्चा हुन्छ । 

‘नाच फिरिरी’पछि बाटोमा हिँड्दा दर्शकले कत्तिको चिन्छन् ?
पर्सनल्ली धेरैले चिन्नुहुन्न तर कतैकतै चिनेको अनुभव पनि छ । साथीहरुसँग सधैँ जाने क्याफे थियो । ‘नाच फिरिरी’ रिलिज भइसकेपछि पहिलोपल्ट लाइभ रेस्पोन्स त्यहीँ पाएँ । एउटा लेडिजहरुको ग्रुप ‘नाच फिरिरी गाउने तपाईं नै होइन’ भन्दै आउनुभएको थियो । फोटो खिचाउनुभएको थियो । फेसबुकतिर बढी राम्रो रेस्पोन्स छ । फ्रेन्ड रिक्वेस्ट अचेल धेरै आउँछ । 

एउटा रमाइलो प्रश्न । ‘नाच फिरीरी’को भिडियोमा स्वस्तिामालाई निश्चलले लगेजस्तै तपाईंले आफ्नो गःलफ्रेन्डलाई फिल्म हेर्न कत्तिको लानुहुन्छ ?
साथीहरुसँग त गइएको छ तर गःलफ्रेन्ड त भए पो लानु ! (हाँस्दै)

गफ दिनुभएजस्तो छ !
होइन, साँच्चै हो (हाँस्दै) । 

नेपालमा गीत गाएर बाँच्न सकिएला जस्तो लाग्छ ?
सिरियस प्रश्न गर्नुभयो । मलाई लाग्छ, जिन्दगीमा सबैभन्दा ठूलो कुरा भनेकै सन्तुष्टि हो । पैसा कमाउने भनेको त आफूले कति मिहिनेत गर्ने, कति इमान्दार हुने भन्नेमा भर पर्छ होला सायद । राम्रो गर्दा राम्रै होला भन्ने आशा छ । 

अहिले संगीतकर्मीहरु बाच्ने बलियो आधार त स्टेज नै हो । स्टेज कार्यक्रमको अफर कत्तिको आइराछ ?
धेरै ठाउँमा मैले कार्यक्रम क्यान्सिल गर्नुपरेको अवस्था छ । बच्चा बेलाको गीतलाई बिर्सने हो भने त मेरो एउटा मात्रै गीत छ नि त अहिले । त्यसो हुँदा स्टेज चढ्दा पनि अरुकै गीत गाउनुपर्छ । त्यसैले अहिले म स्टेजभन्दा पनि गीतको संख्या बढाउनतिर केन्द्रित छु । अनि मात्र स्टेज जमाउने हो । 
 

Leave A Comment