सञ्चारमन्त्रीको दम्भ

आइतबार, ०८ पुष २०७५, ०३ : ४६ शुक्रवार
सञ्चारमन्त्रीको दम्भ

जहाँ जहाँ मञ्च पाउँछन्, सरकारी प्रवक्ता गोकुल बास्कोटाको तारोमा सञ्चारकर्मी र सञ्चारमाध्यम नै पर्नेगरेका छन् । उनको नजरमा सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ तर मिडियाले प्रोपोगाण्डा गर्दै सरकार सुस्त भयो भनेर ‘फेक न्युज’ लेख्छन् ।

किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा प्रहरीले दोस्रो चरणमा पक्राउ गरेका दुई युवा घटनाको समयमा प्रहरीको हिरासतमा रहेको तथ्य बास्कोटालाई झुटो लागिरहेको छ । शान्ति र भाइचाराको आवरणमा एक आइएनजिओले गरेको कार्यक्रममा सरकार लम्पसार पर्दा आम नागरिकले दुखेको चित्त उजागर गर्दा उनलाई यो फेक न्युज लाग्छ ।

सुशासन, चुस्त प्रशासन, विकासको रफ्तार सबैतिर सरकार असफल भइरहेको छ । यही तथ्य सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पूर्व पत्रकारसमेत रहेका सञ्चारमन्त्री बास्कोटालाई सह्य भइरहेको छैन । निर्मला पन्तको हत्या र बलात्कारको दोषीलाई पक्राउ गर्न जारी रहेको नागरिक दबाब अभियानबारे सरकारी मिडियामा समाचार नदिन उनले दिएको उर्दी सार्वजनिक हुँदा गोजीमा नेपाल पत्रकार महासंघको सदस्यता कार्ड बोकेर उनी उफ्रिरहेका छन्, ‘मिडियाले झुटो खबर दियो ।’

आफूले बोलेको कुनै विषयले झमेला आइलाग्यो भने ‘नबोलेको लेखिदिएछन्’ भन्दै पन्छिने प्रवृत्ति नेपाली नेताहरुको आम रोग हो । अहिले सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीका नेताहरुको सिको गर्दै नेपालमा फेक न्युज, प्रोपोगाण्डा जस्ता शब्द भिœयाउँदै सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार गरिरहेका हुन् तर विडम्बना उनका सबै प्रयास असफल भइरहेको छ ।  

सत्ता सधैँ भजन रुचाउँछ, रचनात्मक आलोचनासमेत स्वीकार्न सक्दैन । त्यो अति विकसित मुलुक अमेरिका होस् या हाम्रै छिमेकी मुलुक भारत होस्, त्यहाँका नेताको तारोमा सधैँ सञ्चारमाध्यम र सञ्चारकर्मी पर्दै आएका उदाहरण नै काफी छन् यसको पुष्ट्याइँका लागि । 

त्यसैको सिको गर्दै सञ्चारमन्त्री सरकारको कमजोरी ढाकछोप गर्न आफ्ना कमजोरी स्वीकार गर्नुको साटो सञ्चारकर्मी र निजी सञ्चारमाध्यमविरुद्ध सञ्चारमन्त्री गालीमा उत्रिएका छन् । जसको कुनै अर्थ छैन ।
सरकार कुन तहसम्म असफल भइरहेको छ, त्यो जगजाहेर नै छ । विकास र समृद्धिको सरकारी नाराको कार्यान्वयन तह कस्तो छ, जनजन जानकार छन् । सरकारको प्राथमिकता आम नागरिकको समस्या समाधानमा छ कि प्रोपोगाण्डामा– त्यो छर्लंगै भएको विषय हो ।

त्यसैले सरकारका असफलताका फेहरिस्त सार्वजनिक गर्दै सचेत गराइरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमको आलोचनामा खर्चिने समय सरकारले आफ्नै कामको मूल्यांकन गरी कमजोरी सुधारमा लगाउने हो भने सरकार, देश र नागरिककै कल्याण हुनेछ । 

दुई तिहाईको दम्भमा जे गर्न पनि सक्छु भनेर आफ्ना यस्तै हर्कत जारी राख्ने हो भने दम्भको परिणाम के हुन्छ, हालै भारतको छत्तिसगढ, राजस्थान लगायत भारतीय राज्यमा भएको विधानसभाको निर्वाचन र सुलभ बहुमत प्राप्त सत्ताधारी दल बिजेपीको अवस्था हेरे पुग्छ ।
 

Leave A Comment