एक मोडलको बयान ‘हो, म गे हुँ’

आइतबार, ०८ पुष २०७५, ०४ : ०९ शुक्रवार
एक मोडलको बयान ‘हो, म गे हुँ’

-अनुज पिटर राई 
राम्रो इकोनोमी भएको परिवारमा मेरो जन्म भयो । त्यसमाथि आफ्नै बुबा प्रिन्सिपल भएकाले पनि होला, स्कुलमा सबैले माया गर्थे । स्कुलमा थोरै केटीहरु थिए, त्यो पनि सबै मेरा आफन्त । कोही दिदी, कोही बहिनी । सबैसँग नाता भएकोले केटीहरु मेरा राम्रा साथी बने । म केटा अनि केटीहरुसँग दोस्ती भएपछि यी दुई गु्रपको राम्रो मेडियटर पो बनेँ !

प्लस टु पढ्दा पनि मेरो संगत केटीहरुसँगै बढी भयो । उनीहरुसँग म मेरा सबै कुराहरु सेयर गर्न सक्थेँ । बैंशको उमेरमा पुग्दा पनि केटी देखेर मनमा कौतुहल हुने अनि कुनै दिन केटीलाई बिहे गरेर घरजम गरौँला भन्ने सोच नै आएन । सानै भएकाले त्यस्तो सोचाइ नआएको होला, ठूलो भएपछि केटीहरुप्रति फिलिङ्स आउला भन्ने लाग्थ्यो ।

फेरि प्लस टुमा पढ्दा आमबुबाभन्दा टाढा भाइबहिनी लिएर बस्नुपर्यो । उनीहरुको पढाइलेखाइ तथा हेरचाह मेरो काँधमा आइलाग्यो । त्यो समयमा उनीहरुलाई ध्यान दिँदा मैले आफैँप्रति ध्यान दिन पाइनँ । म के मन पराउँछु, कस्तो मान्छे मनपर्छ भन्नेबारे सोच्ने फुर्सद ब्याचलर पढ्दा मात्रै पाएँ ।

ब्याचलर पढ्दै गर्दा मेरा कुनै गर्लफ्रेन्ड थिएनन् । म सँगैका केटा साथीहरु हरेक दिन नयाँ केटी लिएर हिँड्थे, केटीसँग बिताएका पलहरुको कुरा गर्थे तर मसँग सुनाउनुपर्ने त्यस्ता कुरै हुँदैनथे ।

केटीसँग त्यो नजरले समय बिताउन नपाएकाले पो मलाई त्यस्तो फिलिङ्स नआएको हो कि भन्ने पनि लाग्थ्यो । हुन पनि स्कुल लेभलमा केटीहरु सबै नाता पर्ने दिदीबहिनी थिए, प्लस टु पढ्दा घरमा सबै आमाले गर्ने काम गर्नुपर्ने भएकाले मलाई केटीप्रति चासो नबढेको हो कि भन्ने भयो । 

त्यसपछि मैले गर्लफ्रेन्ड बनाउन सुरु गरेँ । धेरैलाई डेटमा लगेँ, धेरै केटीहरुसँग समय बिताएँ तर अहँ, केटीप्रति आउनुपर्ने फिलिङ्स नै आएन । बरु केटा देख्दा पो मुटुको धड्कन बढेको फिल हुन थाल्यो । 
केटाहरु देख्दा मनपर्ने, उनीहरुसँग समय बिताउँदा मन खुशी हुने, उनीहरुसँगै जिन्दगी बिताउन पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । 

यता फ्यामिलीमा भने, बिहेको प्रेसर आउन थाल्यो । घर–व्यवहार हेर्ने, हेर्दा पनि राम्रो अनि मतवाली फ्यामिलीबाट पनि ब्याचलर पास गरेको केटो भएपछि केटीको कुनै कमी भएन । धेरैतिरबाट राम्रो  घरानाका केटीको बिहे प्रस्ताव आउन थाल्यो । 

मेरै परिवारले एक जना लन्डन बस्ने केटीसँग बिहेको छिनोफानो गरिदिनुभयो । रक्सी पिएपछि हाम्रो इङ्गेजमेन्ट मात्रै होइन, सँगै बस्न पाउने अधिकार पनि हुन्छ । 

त्यसपछि हामी चारजना (मेरा दुई साथीहरु, म र उनी) प्रि हनिमुनका लागि गयौं । मैले मेरा साथीहरुलाई केटीप्रति फिलिङ्स नै नआउने सुनाएको थिएँ, उसले भियाग्रा खाए सबै ठीक हुने सुनाएको थियो । त्यसैले मैले प्रिहनिमुनका लागि भियाग्रा खाएको थिएँ, साथै होटलले दिएको स्पेसल वाइन पनि थियो । 

फेरि जोसँग जे कमी छ, मान्छेको जातलाई त्यही बढी देखाउनुपर्ने रहेछ ! मलाई केटीप्रति फिलिङ्स नआए पनि देखाउनकै लागि आफू मात्तिएको अभिनय गरेँ र मेरो मंगेतरलाई कोठामा जाउँ भन्न थालेँ । मेरो मनमा भने उसैले नाइँ भने हुन्थ्यो जस्तो लागिरहेको थियो तर त्यस्तो भएन । 

कोठामा पुगेपछि उसलाई किस गर्न थालेँ तर अहँ, केही भएन । त्यसपछि मैले नै आज बढी मातेको छु, अर्कोचोटी फेरि हनिमुन मनाउँला भनेँ । उसले हुन्छ भनी र अर्कोपट्टि फर्केर सुती तर म त्यो रातभर निदाउन सकिनँ । अनि मनमा प्रश्न उब्जियोे, जाबो एक रात त म यो केटीसँग बिताउन सक्दिनँ भने जिन्दगीभर कसरी बिताउन सकुँला ?

मलाई केटा मनपर्छ भन्ने हिन्ट दिन म हल्का मेकअप गरेर मंगेतरको अगाडि जान्थें तर त्यतिखेर कोरियन फिल्मको ट्रेन्ड नेपालमा खुब चलेकाले उसलाई पनि कोरियन स्टाइल होला भन्ने लागेछ । मलाई भगवान्ले यस्तो जन्मिन मात्रै साथ दिनुभएन, त्यहाँ पनि कृपा गर्नुभयो ।

पछि मैले ब्लु डाइमन्ड सोसाइटीको बारेमा थाहा पाएँ र त्यहाँ गएँ । त्यहाँ गएपछि मात्रै थाहा भयो, मजस्तो केटाकेटी त त्यहाँ धेरै हुनुहुँदोरहेछ । कति बाहिर खुल्न नचाहनुहुने रहेछ, कति परिवारबाट बहिष्कारमा पर्नुभएको रहेछ । 

परिवारको मामिलामा भने म भाग्यमानी भएँ । मेरो परिवारले मलाई स्वीकार्नुभयो तर सरकारले भने अहिलेसम्म स्वीकारेको छैन । 

मेरा बुबाआमाको प्रेम विवाह हो । उहाँहरुको आँखामा म जहिले हेर्दा पनि छुट्टैखालको प्रेम देख्छु । मेरी बहिनी लुकीलुकी ज्वाइँसँग गफ गरेको देख्दा मलाई पनि त्यस्तै गर्न मनलाग्छ । मलाई पनि मेरो आफन्तहरुलाई यो मेरो श्रीमान् हो, तिम्रो ज्वाइँ हो, भेना हो भनेर चिनाउन मन लाग्छ तर समाजले त यस्तो सम्बन्ध मन पराउँदैन नै, सरकारले पनि समलैंगिक विवाहलाई मान्यता नदिने कारण आफ्नो वैवाहिक अधिकारबाट वञ्चित छु । म यस्तो जन्मनुमा मेरो केही गल्ती छैन तर देशको कानुनका कारण वैवाहिक अवसरबाट म वञ्चित हुन पुगेँ । के म जीवनभर सिंगल भएर बस्ने होला त ? सम्झँदा पनि कस्तो कस्तो लाग्छ । 

म आफूलाई गे भनेर चिनाउनुमा गर्व गर्छु । पुरुषले पुरुष हो भन्दा र महिलाले महिला हो भन्दा लुक्नु पर्दैन । अनि, म गे हुँ, गे भनेर चिनाउन किन पछि पर्नु जस्तो लाग्छ । तर म गे हो भन्नेबित्तिकै मेरै साथीहरुको पनि हेर्ने नजर फरक पर्छ । सबैले गे भनेको छाडा हुन्छन्, एग्रेसिभ हुन्छन् भन्ने सोच्छन् तर यो सबै यही समाजको, यही सरकारको देन हो । जब सबैबाट लुकेर, आफ्नो मनलाई बाँधेर, कुण्ठित भएर बसिन्छ नि, उनीहरु स्वतन्त्र हुन पाउँदा आफूलाई रोक्नै सक्दैनन् र छाडा भएको आरोप खेप्छन् ।

(आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राईले आफ्नो यौनिक पहिचान खुलाउँदै गरेको सम्बोधनको सम्पादित अंश ।)
 

Leave A Comment