‘रियालिटी सो चर्चामा आउने छोटो बाटो’

बुधबार, ११ पुष २०७५, ०३ : ५४ पुष्पा थपलिया
‘रियालिटी सो चर्चामा आउने छोटो बाटो’

संगीत क्षेत्रमा लागेकामाझ यतिखेर झुण्डिएको नाम हो, सिडी विजय अधिकारी । पोखराका उनले ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनको उपाधि जिते । उनी फ्रेस गायक भने हैनन् । रियालिटी सोमा भाग लिनुअगाडि नै कर्णप्रिय गजल गाएर श्रोताका नजरमा परिसकेका थिए । ‘द भ्वाइस’को दीप समूहबाट पहिलो विजेता बनेका उनीसँग पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानीः

विजेता बनेदेखि अन्तर्वार्ता दिँदादिँदा थाकिसक्नु होला, है ?
हो नि ! सोमबार नेपालको एयरपोर्टमा ओर्लिएदेखि दिनभर केही खाएको छैन । एउटा अन्तर्वार्तामा त बोल्दाबोल्नै निदाएछु । धन्न कालो चस्मा लगाएकाले थाहै पाएनन् । फेरि सबैको प्रश्न उस्तै खालको हुँदा एउटै विषय दोहोर्याउनु पर्दा हैरान !

कस्ता प्रश्न ?
विजेता बन्दा कस्तो अनुभव भयो, कसको प्रेरणाले संगीत क्षेत्रमा लाग्नुभयो, जितको प्रेरणा कसलाई मान्नुहुन्छ । यस्तै यस्तै त हो !

यति धेरैले फलो गरिरहेका छन्, सेलिब्रेटीको फिलिङ्स आइरहेको होला नि, हैन ?
सबैले आफूलाई ध्यान दिँदा रमाइलो त लाग्ने नै भयो ! यति धेरै फोन आइरहेको छ र फोन उठाउन नपाउँदा मेरा शुभचिन्तकले ठूलो मान्छे भएछ अब त भनेको पो सुन्नुपर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ । यसका साथै अब झनै जिम्मेवारी बढेको अनुभव भैरहेको छ । मलाई जिताउन सबैको धेरै मिहिनेत छ । एकदमै प्रेसर फिल पनि गरिरहेको छु ।

तपाईं त कति धेरै रियालिटी सोहरुमा पनि सहभागी भइसक्नुभएको थियो, यसमा मोह चैं कसरी पलायो नि ?
यस्ता रियालिटी सो मा जाने रहर मेरो पहिलेदेखि नै हो । पोखरामै हुँदा पनि मैले धेरै रियालीटी सोहरुमा भाग लिएर कतै उपविजेता, कतै विजेताको उपाधि जितिसकेको छु । नेपाल टेलिभिजनबाट आउने ‘नेपाली तारा’को पनि म उपविजेता हो । रियालिटी सोमा जाँदा छोटो समयमा, कम लगानीमा चर्चा पाउन सक्छौं । अहिले पनि देखिहाल्नुभयो, रियालिटी सोकै कारण मलाई सबैले खोजिरहेका छन् । 

भनेपछि रियालिटी सोहरु चर्चा कमाउने छोटा बाटाहरु हुन् ? 
मिहिनेत गर्नुपर्यो, दर्शकको आँखामा क्लिक हुन सक्नुपर्यो । यति भए रियालिटी सोले जीवनमा उज्यालो छर्छ भन्नेमा म ढुक्क छु । मैले पहिले पनि संगीतको क्षेत्रमा धेरै काम गरिसकेको छु । मेरो कम्पोजिसनमा कति धेरै गायकगायिकाहरु चर्चित भइसकेका छन् । चर्चामा रहेका गायकगायिकाले पनि मसँग काम गरिसकेका छन् तर मलाई सबैले चिनेका थिएनन् । अहिले त धेरैमाझ म परिचित भइसकेँ । न त गीत निकाल्न दुःख गर्नुपर्यो, न त आर्थिक लगानी नै । सजिलै चर्चा कमाउन सकिने भएकाले यसलाई चर्चा कमाउने र यस क्षेत्रमा स्थापित हुने सर्टकर्ट बाटो भन्न मिल्छ । 

त्यसो भए तपाईंलाई पनि रियालिटी सोको सर्टकर्ट अपनाएर बनेको गायक भन्न मिल्छ ?
किन नमिल्नु ? मज्जासँग मिल्छ । यस्ता रियालिटी सोहरु नभएको भए मैले पाएका अवसरहरु पाउँदिनथेँ । अहिले म जे छु, त्यो यस्तै सोहरुकै परिणाम हो भन्दा गर्व पो लाग्छ !

तपाईंले त ‘नेपाल आइडल’मा पनि अडिसन दिनुभएको थियो, किन त्यता छोडेर ‘द भ्वाइस’तिर ?
अँ, मैले ‘नेपाल आइडल’मा अडिसन दिएर गोल्डेन टिकट पनि पाएको थिएँ तर ‘नेपाल आइडल’को सेकेन्ड सिजन जित्नुभन्दा बरु ‘द भ्वाइस’को पहिलो सिजनको विजेता भन्दा बढी मज्जा आउलाजस्तो लागेर ‘द भ्वाइस’मा गएको हुँ । फेरि ‘नेपाल आइडल’मा मैले गोल्डेन टिकट मात्रै पाएँ, गोल्डेन माइक नै पाएको भए एक्कैचोटी टप १२ मा पुग्थेँ । त्यस्तो भएको भए ‘द भ्वाइस’मा जाँदिनथेँ होला । 

आइडल भन्दा द भ्वाइस राम्रो भनेर त्यता जानुभएको त हैन नि ?
हैन हैन । मलाई त सबैखालको सिङ्गिङ रियालिटी सोहरु मनपर्छ । पहिलो सिजनका हिसाबले मात्रै मलाई ‘द भ्वाइस’ले लोभ्याएको हो । अहिले पनि म आइडलको रेगुलर दर्शक हो । सबै एपिसोड नछुटाई हेर्छु । 

प्रमोद खरेल र दीप श्रेष्ठको कोचिङमा रहनुभयो । कसको के कुरा राम्रो लाग्यो ?
म ‘द भ्वाइस’को विजेता बन्नुको कारण मेरा दुई कोच नै हुनुहुन्छ । कोच प्रमोद अहिलेका चर्चित गायक अनि अर्को लिजेन्ड कोच दीप । दुवैको कोचिङमा रहन पाउनु नै मेरो प्लस प्वाइन्ट हो । मैले कोच प्रमोदबाट कसरी दर्शकको मन जित्न सकिन्छ भनेर सिकेँ, कोच दीपमार्फत् त विजेता नै बनेँ । 

कोच दीपले स्टिल नगरेको भए त आजको दिनै आउँथेन नि ? 
हो त ! अनि अर्को कुरा कोच दीपको टीममा मभन्दा कमजोर प्रतिस्पर्धी पर्नु पनि मेरो प्लस प्वाइन्ट बन्न पुग्यो जस्तो लाग्छ । अन्य टीममा खत्राखत्रा प्रतिस्पर्धी थिए । ब्याटल राउन्डमा रहेका मेरा प्रतिस्पर्धी योगेन्द्र पनि निकै कडा प्रतिस्पर्धी हुनुहुन्थ्यो तर उहाँ पहिले नै आउट हुनुमा उहाँभन्दा अझै कडा प्रतिस्पर्धी त्यहाँ रहनु हो । 

अनि तपाईंलाई त कुनै कोचले कहिल्यै सेफ गरेनन्, सधैँ भोटिङमै पठाए, चित्त दुख्दैनथ्यो ?
किन नदुख्नु नि ! राम्रै पर्फमेन्स गरेँजस्तो लाग्थ्यो मलाई त । अबको पालो मलाई कोचले सेफ गर्लान् कि जस्तो लाग्थ्यो तर सधैँ निराश हुनुपथ्र्यो । त्यो बेलामा त म कोचको विश्वास गर्न लायकै रहेनछु कि जस्तो पनि लाग्थ्यो । 

रियालिटी सोहरुमा दर्शकले पोखराबासीलाई मात्रै किन जिताएका होलान् है !
(हाँस्दै..) हामी पोखरेलीहरु आफ्नो भनेपछि ज्यान दिन पनि तयार हुन्छौं । यसैको परिणाम होला जस्तो लाग्छ । फेरि भोट त पोखरेलीले मात्रै होइन, सबैले गर्नुभयो होला, अलि बढी चैं त्यताबाट आयो कि ! 

अब अलिकति पारिवारिक कुरा गरौँ । तपाईंंको इन्टरकास्ट लभ म्यारिज । कसरी पट्याउनुभयो राईकी छोरीलाई ?
(हाँस्दै...) निकै गाह्रो परेको थियो नि पट्याउन । उनलाई मैले दुबईमा भेटेको हुँ । हामी एउटै बारमा गजल गाउँथ्यौँ । मलाई सुरुमै मेरी श्रीमतीलाई पनि गायिका नै बनाउने रहर थियो । उनको स्वर निकै मनपर्यो । अनि त दिनरात नभनेर पछि लागिपरिहालेँ नि ! उनी बारमै स्पिकरहरु मिलाउने, स्टेजको बन्दोबस्त गर्ने काम पनि गर्थिन् । म त्यो बेला अघिपछि लागेर उनलाई फकाउँथेँ । पछि उनी मानेपछि घरमा फोन गरेँ । मेरो बुबा अलि फ्रेन्डली स्वभावको भएकाले उहाँलाई फोन गरेर बुबा बिहे गर्छु भनेँ । उहाँले केटी को हो भनेर सोध्नुभयो । मैले पनि सानसँग मनीषा राई भनेँ । उहाँले हुन्छ भन्नुभयो । घरमा हुन्छ भनेपछि कसले रोक्न सक्ने ? अनि उनको घरमा चैं हाम्रो बिहेको बारेमा पछि मात्रै थाहा भयो, हाम्रो घरमा चैं बाजा बजाएरै भित्र्याएको हो । 

तपाईंकी श्रीमती पनि गायिका । उहाँको ठाउँमा तपाईं हुनुभएको भए यसरी नै सपोर्ट गर्नुहुन्थ्यो ?
मेरो ठाउँमा उहाँ भन्नाले ?    

दुई महिनाको छोरा, छोरी अनि घर तपाईं एक्लैले धानेर मनीषाजी रियालिटी सोमा जानुभएको भए ?
ए...ए । मज्जाले सहयोग गर्थें नि ! मैले जुन उपाधि हात पारेको छु, त्यो मेरो मात्रै होइन, आम दर्शक अनि सबैभन्दा धेरै मेरी श्रीमतीकै सफलता हो । म छु उनी छन्, उनी छन् र त म छु नि ! 

मनीषाजीलाई पनि तपाईंलाई जस्तै सफल गायिका बन्ने रहर होला नि ?
किन नहुनु ? उनलाई झनै मलाईभन्दा धेरै रहर छ । अब छोराछोरी हुर्कन्छन् अनि त सफल गायिका बनाउने उनैलाई त हो नि ! त्यसका लागि म आफू पनि मरिमेटेर लाग्नेछु । फेरि उनले अवसर मात्रै पाउनुपर्छ, अगाडि बढ्न कसैले रोक्न सक्दैन । उनीसँग राम्रो प्रतिभा छ ।

भ्वाइसमा हुँदाहुँदै बच्चा पनि जन्मियो है ?
त्यही त ! यो वर्ष मेरालागि उपलब्धिमूलक रह्यो । हुन त हाम्रो जीवनमा छोरी आएदेखि लक्ष्मी नै आएजस्तो भयो । संगीतका धेरै कामहरु गर्ने मौका यो बीचमा पाएँ । यो वर्ष भने हामी बूढाबूढी मिलेर घर बनाउने आँट गर्यौँ, ऋणको कुरा त आफ्नै ठाउँमा छ । यही वर्ष छोरो जन्मियो । जिम्मेवारी बढ्यो । भ्वाइसको विजेता पनि भइयो, झनै जिम्मेवारी बढ्यो । सबै वर्ष लक्की भए पनि यो वर्ष ठोस उपलब्धि पनि हासिल गर्न सकियो ।

भर्खर जन्मिएको बच्चा छोडेर जाँदा, बाबुको मन कस्तो हुँदोरहेछ त ?
धेरै पीडा हुन्छ नि ! कतै छाडेर नजाउँजस्तो लाग्दालाग्दै पनि छोडेर जानुपर्छ । सुरुसुरुमा त साह्रै धेरै याद आउँथ्यो तर भिडियोमा कुराकानी गर्दा, आफ्ना बच्चाहरु हेर्दा न्यास्रो अलि कम हुँदै गयो । बरु यो टेक्नोलोजी नभएको भए के पो हुन्थ्यो होला जस्तो लाग्छ मलाई । 
 

Leave A Comment