‘मनकारी’ उद्योगी

बुधबार, ११ पुष २०७५, ०४ : ०३ दिलिप पौडेल
‘मनकारी’ उद्योगी

उनको अफिसमा ह्विल चियरको स्टोर नै छ । तर, उनी ह्विल चियरका व्यापारी भने होइनन् । उनको अस्पताल पनि छैन । अपांगलाई सघाउन ह्विल चियर खरिद गरेर राखेका हुन् । ‘अपांग आए भने ह्विल चियर दिएर पठाउँछु,’ मोरङ सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकका भोला दुलालले भने । 
दुलाल उमेरले भर्खर ४० नाघेका छन् । करिब दुई दर्जन व्यवसायमा आबद्ध दुलाल स्थापित उद्योगी हुन् । बाबु बाजेले सुरु गरेको व्यावसायिक घरानाको उत्तराधिकारी नभई आफ्नै मिहिनेतले स्थापित भएका दुलालको अर्को उपनाम जोडिएको छ–‘मनकारी उद्योगी’ । 

धन भएर मन नहुने धेरै छन् । तर, दुलाल त्यस्ता उद्योगी हुन् उनले सामाजिक उत्तरदायित्वको बहानामा मात्र होइन हृदयदेखि नै सहयोगी भावनाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणको क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । ‘सामाजिक सेवा भनेपछि हुरुक्क हुन्छ,’ दुलालले भने ।

व्यावसायिक यात्रामा दुई दशक बिताएका दुलालले आफ्नो आम्दानीको २५ प्रतिशत सामाजिक काममा खर्चने गरेको बताउँछन् । ‘मेरो नाममा भएका कम्पनीको ब्यालेन्स सिटको प्रोफिटबाट २५ प्रतिशत समाज सेवामा लगाउने अठोट लिएको छु,’ उनले भने, ‘वार्षिक करिब दुई करोड रुपैयाँ सामाजिक काममा खर्च गर्छु ।’

सत्कार मेसिनरीबाट व्यावसायिक यात्रा सुरु गरेका दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) का प्रबन्ध निर्देशक हुन् । दुलाल पिएलओसहित विराटकोल, सीताकोल फेबिकल, जि–सेभेन पेन्टस्, मोटरसाइकलको ट्युब उद्योग, होटल, निजी विद्यालय र दर्जनभन्दा बढी ट्रेडिङ व्यवसायमा आबद्ध छन् । अटो ल्युब प्रालि, अन्नपूर्ण ट्रेड लिंक प्रालि, ब्राइट फ्युचर एजुकेसन फाउन्डेसन प्रालिका अध्यक्ष हुन् । विभिन्न देशबाट लुब्रिकेन्ट्स आयात गरेर बिक्री गर्दै आएका छन् ।  दुलालले निजी विद्यालय, होटल, कृषि फार्म, हाइड्रो पावरलगायत क्षेत्रमा लगानी गरेका छन् ।

उनले व्यक्तिगत लगानीमा लाखौं रुपैयाँ लगानी गरेर विद्यालय, खानेपानी योजना, छात्रवृत्ति, मठ,मन्दिर, शौचालय निर्माण विद्यार्थीका लागि छात्रवृत्तिमा मोटो रकम खर्च गर्दै आएका छन् । 

आफ्नै लगानीमा १६ वटा विद्यालयमा कक्षा कोठा निर्माण गरेर हस्तान्त्रण गरेका छन् । जनता प्रावि, सुकुना मावि, मदरा स्कुल, सरस्वती मावि बेलेपुर, बुद्ध मावि देवी झोला, महेन्द्र मावि शुक्रबारेलगायतका विद्यालयमा भवन निर्माण गरेका हुन् । एउटै विद्यालयमा साढे तीनदेखि १६ लाख रुपैयाँ खर्चिएको बताए ।
नर्सरीदेखि स्नातक तहसम्म अध्ययन गर्ने ७५ जना अनाथ बालबालिकालाई अध्ययनका लागि सम्पूर्ण कुरा व्यहोर्दै आएका छन् । विद्यार्थीका लागि छात्रवृत्ति स्वरुप, फिस, पोशाक, कपी, किताबको व्यवस्था गर्ने गरेका छन् ।   

दुलालको सहयोगमा दीपेन्द्र प्रहरी स्कुल धरानमा २५ जना, ब्राइट फ्युचर बोर्डिङ स्कुलमा ३७ जना, सकुना कलेजमा १२ जना र अन्य विभिन्न कलेजमा २५ जना विद्यार्थीले स्नातक तह अध्ययन गरिरहेका छन् । वीरगञ्ज, बारा कलैया, धरानलगायत विभिन्न जिल्लाका विद्यार्थी रहेका छन् । ‘नर्सरीदेखि ब्याचलरसम्म विद्यार्थी अध्ययन गर्छन्,’ उनले भने । पढ्न नसक्ने विद्यार्थीलाई सूचना निकालेर नै आह्वान गर्ने गरेका छन् । इन्द्रपुर खानेपानी सहरी विकास आयोजनामा एक करोड रुपैयाँको पाँच कठ्ठा जग्गा उपलब्ध गराएको बताए । 

उनी अहिले सार्वजनिक शौचालय निर्माणमा तल्लीन छन् । सुन्दरहरैंचा नगरपालिकाअन्तर्गतका सडकमा सुविधा सम्पन्न शौचालय  निर्माण अघि बढाएका छन् । ‘विमानस्थलमा जस्तै सफासुग्गर शौचालय बनाउँदै छौं,’ उनले भने, ‘महिला, पुरुषसहित अपांगमैत्री शौचालय निर्माण गरेका छौं ।’ शौचालयमा स्मोकिङ जोनसहित उपल्लो तलामा पुस्तकालय, प्रतिक्षालय पनि रहनेछन् । सुन्दरहरैंचाको १३

किलोमिटर अन्तर्गत बलिया चोक, गच्छया चोक, गोडगाउँ चोक, सलकपुर, विराटचोक, खोर्साने र हरैंचामा निर्माणाधीन छन् । ‘दुई ठाउँमा निर्माणको अन्तिम चरणमा छन्,’ उनले भने, ‘मुलुककै नमुना सुविधा सम्पन्न शौचालय बनाउने योजना छ ।’

ती शौचालय निर्माणमा उनले २५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्ने योजनामा छन् । ‘११ लाख ५१ हजार रुपैयाँ सहयोग गरेँ,’ उनले भने, ‘२५ लाख पु¥याउने प्रतिबद्धता जनाएको छु ।’ सो अभियानमा एक जनता एक सय रुपैयाँको अभियान सञ्चालन गरेका छन् । शौचालय निर्माणमा नगरपालिकाले कुल लागतको ३५ प्रतिशत व्यहोर्ने प्रतिबद्धता जनाएको छ । 

आमा दुर्गादेवी दुलालको नाममा एकल महिला प्रतिष्ठान पनि सञ्चालनमा ल्याउने तयारी गरेका छन् । प्रत्येक वडामा वृद्धवृद्ध भेटघाट जमघट हुने स्थलको रुपमा विकास गर्न लागेको बताए । ‘भवन निर्माण गरेर वृद्ध चौतारी बनाउँछु,’ उनले भने, ‘त्यहाँ भजनकृतनसहित स्वास्थ्य जाँचको पनि व्यवस्था मिलाउँछौं ।’ इटहरीको घाटमा क्रियापुत्री भवन निर्माणमा ११ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

दुलालले आफ्नै आमाको नाममा दुर्गादेवी दुलाल स्पोर्टस् ग्राम हल निर्माण गरेका छन् । दुलाल सन् २०१३ का नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष हुन् । जेसीजमा लागेकाले दुलालले युवाको क्षमता विकासका तालिममा पनि सघाउँदै आएका छन् । उनी सामाजिक संस्था लायन्स क्लबमा पनि आबद्ध रहेका छन् । 

दुलाल उद्योगी मात्र नभएर समाज सेवाका पर्याय भएको सुन्दरहरैंचा नगरपालिकाका मेयर  शिवप्रसाद ढकाल बताउँछन् । ‘वहाँ उद्योगी मात्र नभएर सच्चा समाजसेवी हो,’ ढकालले भने, ‘हरेक क्षेत्रमा आफ्नै लगानीमा सहयोग गर्दै आउनुभएको छ ।’ दुलालले धेरै सामाजिक क्षेत्रमा योगदान पुर्याएको  ढकालले बताए । ‘दिनदुखीलाई अप्ठ्यारो पर्दा सबैले दुलाललाइ नै सम्झिन्छन्,’ उनले भने, ‘नगरपालिकाका हरेक सामाजिक इनोभेटिभ कामको नेतृत्व वहाँले गर्दैै आउनु भएको छ ।’ दुलालले विभिन्न क्षेत्र ठूलो धनराशि खर्च गरेर सहयोग गरेकाले नगरपालिकालाई पनि धेरै सजिलो भएको बताए ।

दुलाल कठिन परिस्थितिबाटै व्यवसायमा आएका हुन् । ‘एसएलसी पास गरेपछि घरमा पढ्ने अवस्था थिएन,’ दुलालले आफ्नो विगत स्मरण गर्दै भने, ‘बुबाको मृत्युपछि पढाइ खर्च जुटाउन हम्मे थियो ।’

बाबुको मृत्युले अध्ययन गर्नमा मात्र नभएर परिवार सञ्चालनमा कठिनाइ भएको स्मरण गर्छन् । ‘बुबा खसेकाले आमा, दिदीहरुले पढाउने, हुर्काउने गर्नुभयो,’ उनले भने, ‘आम्दानीको स्रोत नहुँदा घर परिवार चुर्लुम्म ऋणमा डुब्यो ।’ एसएलसी पास गरेपछि आमाले आफँै गरिखानु पर्छ भनेपछि दुलालले मामाको सहायताले दमकको मेसिनरी स्टोर्समा काम गर्न सुरु गरेका थिए । ‘सम्पत्ति बिक्री गर्दा पनि गाउँमा ऋण तिर्न नसक्ने अवस्था थियो,’ उनले भने, ‘आमाले आफैँ गरि खानुपर्छ भनेपछि त्यहाँबाट काम सिकेँ ।’

त्यहाँ काम गर्दा व्यवसाय म पनि गर्न सक्छु भन्ने दुलालमा आँट थपिएको थियो । कृषि सामग्रीको पार्ट बेच्ने पसल भएकाले धेरै धेरै कुरा थाहा पाएँ । तत्कालीन समयमा किसानले कृषि विकास बैंकबाट अनुदानमा ऋण लिन्थे । विराट चोकमा कृषि विकास बैंकको नयाँ शाखा विस्तार भएको थियो । दुलालले मनमनै गमे, ‘अब आफ्नै व्यवसाय गर्नुपर्छ ।’

दुलालको छनोटमा पर्यो मोरङको विराटचोक । बैंक भएको ठाउँमा छनोट गरेर व्यवसाय गरेँ भने सफल हुन्छु भन्ने लागेपछि उनले २०४९ सालमा आएर विराटचोकमा ७० हजार रुपैयाँबाट सत्कार मेसिनरी सुरु गरेका थिए । ‘ठूलो व्यावसायिक योजना बनाएर व्यवसाय सुरु गरेको होइन,’ उनले भने, ‘जब व्यवसायमा सुरु गरेँ । निकै मिहिनेत गरेँ र सफलता पाएँ ।’ दुलालले १८ घण्टासम्म काम गर्थेँ । इमानदारिताका साथ काम गरेपछि पाँच, सात वर्षमा राम्रै पैसा कमाएँ । ‘ट्रेडिङ त सधैँ बाहिरबाट सामान ल्याएर बेच्ने भएकाले स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने लागेर उद्योग सुरु गरेँ,’ उनले भने ।  दुलालले सुरु गरेको पहिलो उद्योग पिएलओ लुब्रिकेन्ट्स हो ।

स्थिर सरकार बन्दा पनि अपेक्षित रुपमा लगानीको वातावरण नबनेकोमा भने उनको चित्त दुखाइ छ । मुलुकमा नीतिगत समस्या सुल्झिए लगानी बढ्ने विश्वास गर्छन् । उनले मुुलुकमा लगानीका प्रचुर सम्भावना रहेको बताए । दुलालले पूर्वाधार, जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षाको क्षेत्रमा लगानीको अवसर देख्छन् ।

‘भारत र चीन हाम्रा लागि दुई ठूला बजार छन्,’ उनले भने, ‘त्यसलाई उपयोग गर्न बहुराष्ट्रिय कम्पनी नेपालमा ल्याउनु पर्छ ।’  दुलालले पहिलोपटक मुलुकमा रासायनिक मल सञ्चालनका लागि तयारी थालेको बताए ।  ‘दुई अर्ब रुपैयाँमाथि लगानीमा रासायनिक मल उद्योग सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने, ‘विदेशीसँगको साझेदारितामा नयाँ परियोजना अघि बढाउँदै छौं ।’

Leave A Comment