सम्पादकीय : पीडित माथिको अत्याचार

बुधबार, ११ पुष २०७५, ०७ : ४१ शुक्रवार
सम्पादकीय : पीडित माथिको अत्याचार

दुव्र्यसन आफैँमा अपराध हैन । यो परिस्थितिले निम्त्याउने अवस्था हो । भ्रम, के हुने रहेछ भन्ने जिज्ञासु स्वभाव, चाख न भन्ने साथीभाइको कर आदिका कारण व्यक्ति दुव्र्यसनको जालोमा जकडिदै जान्छ । प्रारम्भमा रहरबाट शुरु हुने यस्ता क्रियाकलाप पछि लत बनिदिन्छ र मानिस दुव्र्यसनी बन्न पुग्छ ।

दुव्र्यसनमा फँसेको व्यक्ति पनि आफूले आफ्नो जीवन जोखिममा पारेकोबारे जानकार हुन्छ तर नशाले मस्तिष्क कब्जा गरिदिँदा खराब चिज हो भन्ने जान्दाजान्दै पनि नशा छाड्नै नसक्ने अवस्थामा पुगेको हुन्छ । नशामा फँसेकाहरु नशामुक्त हुन सक्छन् । त्यसका लागि खाँचो छ त उपचार र मनोपरामर्शको । उनीहरुलाई नशामुक्त बनाउन कहिलेकाहीँ परामर्श र निगरानी नै काफी हुन्छ । केहीको हकमा भने उपचारै गर्नुपर्ने अवस्था समेत हुनसक्छ ।

त्यसैले नशाका आदत भएकाहरुको असामान्य जीवनलाई सामान्य बनाउन हरेक सरकारले पुनस्र्थापना गर्ने नीति बनाएको हुन्छ । उपचार पद्धति भित्र्याउँछ र नशामा जकडिएका आफ्ना नागरिकलाई नशामुक्त बनाउन सघाउँछ ।

नेपालमा पनि लागू औषधको कुलतमा फँसेकाहरुलाई नशामुक्त गराउने सरकारी नीति नै छ । गृह मन्त्रालय मातहत बलिया निकाय छन् । दातृ संस्थाहरुले सहयोग गर्छन् । उनीहरुको हितका लागि भन्दै सयौं पुनस्र्थापना केन्द्रहरुसमेत खुलेका छन् ।

नेपालमा लागू औषधमा फँसेकाहरुलाई नशामुक्त बनाउने नीति प्रभावकारीरुपमा अगाडि बढ्न सकेको छैन । बजेट गोष्ठी, सेमिनार र झारा टार्ने जनचेतनामूलक कार्यक्रममा सकिनु नेपालको नियति नै हो ।

उपचारपद्धति सर्वसुलभ छैन । पुनस्र्थापना केन्द्र प्रभावकारी छैनन् । झन् गत साता सार्वजनिक भएको एक पुनस्र्थापना केन्द्रमा दुव्र्यसनमुक्त हुन केन्द्रमा बसेकाहरुमाथि हुने गरेको यातना र यौन दुव्र्यवहारको घटनाले त सुधारको आवरणमा खुलेका यस्ता संस्थाले असल कामको आवरणमा चलाइरहेको धन्दा छरपस्ट नै भयो । 

नेपालमा दुव्र्यसनीको संख्या कति छ भन्ने यकिन छैन । सरकारी आँकडामा सालाखाला दुई लाख देखिन्छ । गैर सरकारी संस्थाहरुको आँकडामा ५ लाख पारि देखिन्छ । हरेक वर्ष नेपालमा दुव्र्यसनीको संख्या बढिरहेको छ । यो सत्य हो ।

एक तथ्यांकअनुसार कुलतमा फँसेकाहरुको उमेर समूह १७ देखि ३५ वर्ष उमेर समूहका धेरै छन् । उमेर समूहको आधारमै भन्न सकिन्छ, यो कुलतले ऊर्जावान् युवा समूहको जीवनमाथि मात्रै हैन, देशको भविष्यमाथि नै खेलवाड भइरहेको छ । एक मात्र सरकारी पुनस्र्थापना केन्द्र हुनुले राज्य कुलतमा फँसेका नागरिकलाई नशामुक्त बनाउन गम्भीर छैन भन्ने पुष्टि गर्छ नै निजी रुपमा खुलेका संस्थामा हुने गरेको शारीरिक यातना र यौन दुव्र्यवहारको घटनाले राज्यको अनुगमन संयन्त्रको लज्जास्पद अवस्था पनि छरपस्ट पारेको छ ।

कुलतमा फँसेकाहरुमाथि समाज र परिवारको दृष्टिकोण पनि सकारात्मक पाइँदैन । यसले उनीहरुलाई कुलतबाट मुक्त भएर सामान्य जीवनमा फर्कन सकस पारिरहेको हुन्छ । त्यसैले परिवार, समाज र राज्यले दुव्र्यसनी प्रतिको दृष्टिकोण बदल्दै उनीहरुलाई सामान्य जीवनमा फर्काउन जिम्मेवार पहल शुरु गर्न आवश्यक छ ।
 

Leave A Comment