आलोचना गर्ने तरिका

बुधबार, ११ पुष २०७५, ०७ : ५९ प्रकाश जंग थापा
आलोचना गर्ने तरिका

कोही पनि व्यक्ति आलोचना प्रतिरक्षित हुन सक्दैन । कुनै न कुनै परिवेश वा कुरामा आलोचित हुन पुग्छन् नै । सधैं पर्फेक्ट, सही र निपुण हुन सकिँदैन । जानी नजानी गल्ती हुने गर्छन् । जुन कुनै हैसियतमा रहेर जति सुकै राम्रो काम गरे पनि मान्छेले आलोचना गर्ने ठाउँ भेट्छन् । खोट देखाउने बहाना पाउँछन् । आलोचनात्मक टिप्पणीले पीडा अवश्य दिन्छ । त्यसैले कोही पनि त्यस्तो नकारात्मक टिप्पणी सुन्न चाहँदैनन् । प्रतिरक्षामा उत्रन समय लगाउँदैनन् ।

आफू कमजोर भएको वा अपूर्ण रहेको स्वीकार्न रत्तिभर चाहँदैनन् । आखिर किन यस्तो हुन्छ ? मान्छे किन चित्त नबुझेको खण्डमा आलोचना गर्न तत्पर रहन्छन् ? यसलाइ न्यूरोविज्ञानले व्याख्या गरेको छ । बीस हजार वर्ष पहिले मान्छे शिकारी थिए । त्यसपछि उनीहरु संग्रहकर्ता बने । आजको जस्तो सुव्यवस्थित समाज थिएन । शिकार गरेर वा अरु जातिमाथि आक्रमण गरेर ल्याइएको खानेकुरामा निर्भर रहनुको विकल्प थिएन ।

यसो गर्दा उनीहरु पनि शिकार हुन सक्ने उत्तिकै सम्भावना हुन्थ्यो । अरु क्रुर वर्गबाट जीवन रक्षा गर्नुपर्ने अवस्था थियो । यसमा मस्तिष्कको ठूलो योगदान रह्यो । कुनै पनि नकारात्मक कुराप्रति चाँडोभन्दा चाँडो प्रतिक्रिया जनाउन मस्तिष्कले महŒवपूर्ण भूमिका खेलेको थियो । जसका कारण  त्यसबेला मानिसहरु सुरक्षित रहन सक्षम हुन्थे । मानवीय मस्तिष्क नकारात्मक कुराप्रति चाँडै प्रतिक्रिया जनाउने हिसाबले विकसित हुँदै गयो । आजको आधुनिक युगमा जब आलोचना हुन्छ, असुरक्षित महसुुस गरिन्छ ।

बीस हजार वर्ष अगाडिका मानिसले जस्तै नकारात्मक टिप्पणीविरुद्ध हामी तुरुन्त चनाखो हुन्छाैं । आलोचकविरुद्ध संवादमा उत्रिहाल्छौँ । आफ्नो इगो रक्षाका लागि प्रतिकारमा जाइलाग्छौँ । आलोचना खेप्नु पर्दा हामीलाइ पीडा हुन्छ भने हामीले अरुको आलोचना गर्दा उनीहरुलाई पनि उत्तिकै पीडा हुन्छ । 

उसो भए के आलोचना नै नसुन्ने त ? अरुका आलोच्य विषयलाई टिप्पणी नै नगर्नु त ? अरु रिसाउलान् र सम्बन्ध टुट्ला भनेर आलोचक नै नहुने त ? युनिभर्सिटी अफ मिचिगनको एउटा रिसर्चले पुष्टि गरेको छ, सही डोजको प्रगतिशील आलोचनाले टिमको कार्य क्षमता बढाउँछ ।

टिमको उत्पादकत्व उच्च बनाइराख्छ । कुनै टिमको आलोचना भएन भने के होला ? होमा हो मिलाए के होला ? अवश्य पनि टिमको प्रगति हुँदैन । उल्लेख्य योगदान गर्न सकिँदैन । अपेक्षित परिणाम प्राप्त हुँदैन । ग्रोथ सम्भव छैन । यही कुरा अन्य व्यक्तिमा पनि लागु हुन्छ । त्यस कारण कुनै पनि व्यक्ति, टिम वा संस्थाको सुधार र प्रगतिका लागि आलोचना हुनु वा गर्नु आवश्यक छ । 

यसको अर्थ, आलोचना गर्ने भन्दैमा मनमा जे आउँछ, त्यही ओकल्ने कुरा पनि भएन । आलोचना जिम्मेवारीका साथ गरिन्छ, हचुवामा होइन । खोट देखाउन सजिलो छ । खोट वा कमजोर पक्ष मेटाउन सक्ने विधि पनि दिन सक्नुपर्छ आलोचकले । कसैको हेयर स्टाइल मन परेन रे !

डे«स सेन्स नै छैन रे ! यहाँ त्यस व्यक्तिलाई कस्तो हेयर स्टाइल फिट हुन्छ त्यो भन्न सक्नुपर्छ । व्यक्तिको शारीरिक बनावटअनुसार कस्तो डे«सअप गर्दा आकर्षक देखिन्छ, त्यो पनि सिफारिस गर्न सक्नुपर्छ । लुगा लगाउन नजान्ने, व्यक्तित्व नभएकोे पाखे भनेर आलोचना मात्रै गर्नु हुँदैन । आलोचना गर्दा व्यक्तित्वमाथि आक्रमण गर्नु घातक सिद्ध हुन्छ । आलोचना चरित्र हत्याको तहमा झर्नु हुँदैन । सकेसम्म उसको स्वभाव र काममाथि टिप्पणी र आलोचना हुनुपर्छ अनि मात्र समस्याको खाडल पुरिँदै जान्छ । 

आलोचनाको स्वाद नमीठो हुन्छ, त्यसैले चाख्न कोही चाहँदैन । चखाउन भने सकिन्छ । यसका लागि निम्न तरिकाले आलोचना गर्न सकिन्छ ।

(क) आफ्नो प्रमुख उद्देश्य ख्याल गर्ने 
भने जस्तो नहुँदा, अपेक्षा पूरा नहुँदा आलोचना गर्छौं । एउटा सानो उदाहरणः एक जना राजनीतिज्ञले उत्तेजक भाषण गरिदिए रे ! त्यो हामीलाई चित्त बुझेन रे ! अब हामी भन्छाँै, फलानो नेता कस्तो घटिया ! कस्तो वाहियात विचार ! पार्टी नै खराब, मान्छे नै खराब ! यी सब रिसको झोँकमा फलाक्छौँ, प्रतिशोधको भावमा । यी कुरा ती नेतालाई आदर्श मान्ने साथीले सुने भने ? के हुनु ? वैचारिक झगडा सुरु हुन्छ र अन्त्यमा हात हालाहालसम्म हुनसक्छ । यसले सम्बन्धमा पूर्णविराम लगाइदिन सक्छ । त्यसैले कसैको आलोचना गनु पूर्व सतर्क रहौँ । कतै म रिसको झोंक आलोचना त गर्दैछैन ? प्रतिशोधको भावना त हावी छैन ? यस्ता प्रश्नमा मन्थन गर्ने गरौँ ।

(ख) निजी भेट गर्ने
हरेक व्यक्तिको आत्म स्वाभिमान हुन्छ । कसैको अगाडि सानो हुन चाहँदैन । कसैले गिराउन खोजेको मन पराउँदैन । कुनै पनि अवस्थामा आत्मसम्मान रक्षा गर्न चाहन्छ । चाहे त्यो बच्चा होस् वा वृद्ध, अपहेलित हुन रुचाउँदैन । त्यसैले कसैप्रति दुखेसो–गुनासो छ भने निजी भेट गरेर व्यक्त गर्नुपर्छ । सोसल मिडियामा तुष पोखेर केही हुँदैन, घाटा मात्रै हुन्छ । आमने–सामने आफ्नो कुरा राख्दा एकले अर्कालाई बुझ्ने अवसर प्राप्त हुन्छ । हरेक व्यक्तिको कोमल पाटो हुन्छ । कार्यालयमा कोही मन परेन भने सोसल मिडियामा गाली गरिदिन्छौँ । अफिसमा सहकर्मी मन परेन भने खुलेरै आलोचना गरिदिन्छौँ । यस्तो व्यवहारले कसैलाई भलो गर्दैन । निजी भेटमा मनमा गढेका कुरा राख्ने बानी बसालौं ।

(ग) स्यान्डविच मोडेल प्रयोग गर्ने
स्टानफोर्ड युनिभर्सिटीको एउटा सोधअनुसार व्यक्तिले एक पटकमा एउटा मात्रै आलोचना सुन्न सक्छ । त्यसैले आलोचना गर्दा मुख्य कुरामा केन्द्रित हुनु जरुरी छ । मोडेलअनुसार सूचना तीन चरणमा सम्पे्रषण गरिन्छ । सुरुमा, सकारात्मक पक्ष भनिन्छ । अर्थात् प्रशंसा गरिन्छ । दोस्रोमा, नकारात्मक पक्ष भनिन्छ । र, तेस्रोमा पुनः सकारात्मक पक्षमाथि प्रकाश पारिन्छ । यसो गर्नाले आलोचनाको प्रभाव कम हुन्छ । 
सुरु र अन्त्यमा प्रशंसा अनि बीचमा आलोचना गरिएको छ भने यस्तो आलोचनाले मानिसको इगोलाई दुखाउँदैन । यस्तो आलोचनाले मानिसमा प्रतिशोधको भावना जागृत गराउँदैन । यस्तो आलोचनाले आलोच्य व्यक्तिले आफूलाई सच्याउनतर्फ प्रेरित हुन्छ । जसले तपाईंको उद्देश्य पनि पूरा हुन्छ, अगाडिको मानिसले पनि राम्रोसँग गल्ती महसुस गर्छ ।
उसो भए अबदेखि आलोचना गर्नुपर्नेलाई स्यान्डविच खुवाउने होइन त ?
 

Leave A Comment