नेपाली फिल्मका लागि बिल्कुलै नयाँ अनुहार हो– शिल्पा मास्के । उनले लिड रोलमा अभिनय गरेका दुई फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’ तीन हप्ताको अन्तरालमा रिलिज हुँदैछन् । ‘ब्रेकअप’को हालै रिलिज भएको ‘हरपल’ बोलको गीतमा शिल्पाले आशिरमान श्रेष्ठसँग दिएको किस सिन अहिले चर्चामा पनि छ । धेरैलाई थाहा नहोला, शिल्पाले तीन वर्षअघि हलिउडको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा ४५ सेकेन्डका लागि अभिनय गरेकी थिइन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
एकदमै व्यस्त हो ?
तीन हप्ताको ग्यापमा दुइटा फिल्म रिलिज हुँदैछ, त्यसैले व्यस्तता अलि बढी नै छ ।
एउटा कलाकारका लागि यो त सुखद् कुरा होइन नि ?
अलिकति ‘हेक्टिक’ त हुन्छ तैपनि ठीकै छ । दर्शकले एकैचोटी मलाई दुई फरक भूमिकामा देख्न पाउनुहुनेछ ।
तर कुन फिल्मको प्रमोसनमा बढी समय दिने भन्ने तनाव त भइरहेको होला नि ?
अँ, त्यो चाहिँ भइराछ तर दुवैलाई बराबर दिने हो । ‘ब्रेकअप’ रिलिज भएको एक हप्तासम्म म यसको प्रमोसनमा हिँड्छु । त्यसपछि ‘कागजपत्र’मा लागिहाल्छु ।
मनमा कताकता दुवै फिल्म छोटो ग्यापमा रिलिज नभइदिए हुन्थ्यो भन्ने त लागेको होला, है ?
हो नि ! त्यसो हुँदा कति राम्रो हुन्थ्यो ! तैपनि मैले यसलाई पनि पोजिटिभ्ली नै लिइरहेको छु ।
अब फिल्मको कुरा गरौँ । हालसालै ‘ब्रेकअप’को नयाँ गीत सार्वजनिक भयो, ‘हरपल’ । गीतमा तपाईले आशिरमानसँग दिएको किस सिनको बजारमा निकै चर्चा छ ...।
चर्चा छ र ? (प्रश्न टुंगिन नपाउँदै उनी मुस्कुराएर बोलिन्)।
छ नि ! बरु भन्दिनुस् न, यो सिनका लागि तपाई सहजै तयार भएको हो या पछि कन्भिन्स्ड हुनुभएको ?
मलाई स्क्रिप्ट आयो । मेकर्सको ब्याकग्राउन्ड हेर्छु । नरेन्द्रजी राम्रो सिनेमाटोग्राफर । त्यसैले सिन गर्दा गाह्रो भएन । आशिरमान र म दुवै कम्फर्टेबल थियौँ । अँ, यसले किस गरिराछ टाइपको वातावरण नै थिएन क्या ! बरु कहिले यो सिन सकेर अर्को गर्ने भन्ने हतार थियो (हाँस्दै) ।
भनेपछि तपाईंबाट कुनै ‘नाइँनास्ती’ भएन ?
अँ भएन । एउटा कलाकारका हिसाबले मलाई त्यस्तो कुनै ‘अब्लिगेसन’ या यो गर्नुहुन्छ, यो गर्नुहुन्न भन्ने लाग्दैन । त्यसैले सहज नै भयो । तर यो सिन कुनै चर्चा या प्रमोसनका लागि राखिएको भने होइन । यो फिल्मको पूरा कथा नै क्याजुअल रिलेसनसिपमा केन्द्रित छ । त्यसैले सिन कथाले मागेरै दिएको हो, जबरजस्ती चर्चा हुन्छ भनेर हाल्न खोजेको होइन (हाँस्दै) ।
एकछिन तपाईंको विगतमा फर्कौं । कसरी आइपुग्नुभयो अभिनयमा ?
म बच्चैदेखि डान्स गर्थें । ९ कक्षामा पुगेपछि एसएलसीको तनावले अलि कम भयो । एसएलसी पास भएपछि पनि के पढ्ने दुविधा भयो । न साइन्स पढ्न मन लाग्ने, न आट्स, न म्यानेजमेन्ट । दुविधाकै बीचमा मैले सिए जोइन गरेँ । अनि, बेलायत गएँ । यो पनि मनबाट चाहेको विषय थिएन । भर्खर १६–१७ वर्षको उमेरमा के गर्ने भन्ने दुविधाकै बीचमा गरेको निर्णय थियो । यो पनि नभएपछि फेरि बिजनेस म्यानेजमेन्ट पढेँ । त्यो पनि चित्त बुझेन । तर पनि मैले यसमा डिग्री पूरा गरेँ । त्यसपछि सन् २०१३ मा नेपाल आएँ । त्यतिखेर मैले डान्स गिभ–अप गरेको नै ४–५ वर्ष भइसकेको थियो । युकेमा पनि ट्राइ नगरेको होइन तर विद्यार्थीलाई पढ्दै डान्स सिक्न एकदमै गाह्रो थियो । खर्च थेग्नै गाह्रो । घण्टाकै २५–३० पाउन्ड पथ्र्योे । मैले सकिनँ । अनि नेपाल आउँदा एउटा सर्ट फिल्म ‘सुटिङ एन एलेफेन्ट’को अडिसन भइरहेको थियो । पुरै क्रु युकेबाट आएको थियो । राम्रो नाच्नेको खोजी भइरहेको रहेछ । साथीहरुले मलाई जान उक्साए । ननाचेको धेरै वर्ष भएकाले मेरो ‘कन्भिडेन्ट लेभल’ कमजोर भइसकेको थियो । तैपनि ‘गइदिम् न त’ भनेर गएँ । कुनै गीत पनि लिएर गएको थिइनँ । अगाडि एउटा केटीले जुन गीतमा नाचेकी थिई, त्यही गीतमा नाचेँ । एक महिनापछि रिजल्ट आयो । नाम नस्कियो । बर्मेली युवतीको भूमिकाले बर्मेली डान्स गर्नुपरेको थियो । त्यो सर्ट फिल्म युट्युबमा छैन तर थुप्रै फेस्टिभलतिर अवार्ड जित्यो । सुटिङ सेटको पहिलो अनुभव त्यही फिल्मबाट भयो ।
त्यो मुभीको अनुभव कस्तो भयो ?
अझै याद छ, चितवनमा सुट हुँदा बिहानको चार बजे उठेको । त्यो ४५ डिग्रीको टेम्परेचर । हात्तीको सिन । बिहानको चार बजे रेडी भाको । दिउँसोको तीन बजे पालो आएको कसरी बिर्सनु ? त्यसरी पर्खिनुपर्छ भन्ने नै थाहा थिएन । दुःख भयो तर पनि त्यो अनुभव रमाइलो थियो । त्यतिखेरै लाइफमा के गर्ने, के नगर्ने भन्ने दुविधा मेरो मनबाट हटेर गयो । डान्समै केही गर्नुपर्छ भन्ने लागेको हो तर त्यतिबेला पनि एक्टिङमै लाग्छु भन्नेसम्म त पुगेकी थिइनँ तर सुटिङ सेटमा हुँदा रमाइलो फिल भयो । यस्तो लाग्यो, यो काम अब म जीवनभर इन्जोय गरेर गर्न सक्छु ।
म अब एक्टर बन्न सक्छु भन्ने फिल कहिले भयो त ?
त्यसपछि म लन्डन गएँ । त्यहाँको एक्टिङ एजेन्सीहरु जोइन गर्न थालेँ । हलिउडमा ब्याकग्राउन्ड आर्टिस्टको रुपमा काम गर्न थालेँ । एउटा दुइटा फिल्मा गरेँ पनि । ‘डक्टर स्ट्रेन्ज’ भन्ने ठूलो फिल्म बन्न लागेको थियो । सबै आर्टिस्टहरुलाई अडिसन कल आइराको थियो । त्यतिबेला मैले पनि अडिसन दिएँ । सेलेक्ट भएँ । अन सेटमा चार पाँच महिना काम ग¥यौँ । त्यसपछि एक्टिङ प्रतिको मेरो लगाव ह्वात्तै बढेर गयो ।
‘डक्टर स्ट्रेन्ज’मा तपाईंको रोल त एक मिनेटको पनि छैन तर मिहिनेत ५ महिनासम्म ?
हो, जम्मा ४५ सेकेन्डको रोल छ तर मिहिनेत धेरै गर्नुप-यो । मार्सल आर्ट्सदेखि धेरै कुरा सिकाइयो । ५ महिनाजति टाइम दिनुप-यो ।
त्यसो भए इमान्दार भएर भन्दिनुस् त, नेपालमा तपाईंले प्रमुख भूमिकामा अभिनय गरेको दुई फिल्म ‘ब्रेकअप’ र ‘कागजपत्र’मा पनि त्यत्रो मिहिनेत भयो कि भएन ?
मिहिनेत त यहाँ पनि धेरै भयो ।
तुलना गर्नुपर्दा ?
तुलना नै गर्दा त स्वाभाविक रुपमा यताको भन्दा उता धेरै नै मिहिनेत हुन्छ । बजेट पनि त्यस्तै हुन्छ । प्रोडक्सन भ्यालु पनि उस्तै ‘रिच’ हुन्छ । त्यो ४५ सेकेन्डको सिनको लागि तीन महिना त ट्रेनिङ नै गराइएको थियो ।
४५ सेकेन्डको अवसर पाइसक्नुभएको थियो । हलिउडमै ठूलो भूमिका खोज्न छाडेर किन नेपालतिर आउनुभएको ?
अनेस्ट्ली भन्नुपर्दा, हलिउड इज हलिउड ।
कम्तीमा बाटो त खुलिसकेको थियो नि तपाईंका लागि, होइन र ?
अँ, बाटो त खुलेको थियो । अहिले पनि बन्द त कहाँ भएको छ र ? (हाँस्दै) । जो कोही कलाकार पनि लिडको लोभी हुन्छ । एउटा टाइम त, बाहिर एक्लै काम गर्दागर्दा म फ्रस्टेट पनि भइसकेकी थिएँ । कति अडिसन गएँ, भएन । होइन अब त सकिँदैन, गिभअप गर्दिउँ जस्तो फिल पनि भयो । एक्टिङ पनि १ वर्षजति सिकेकी थिएँ । एडहरु पनि गरिरहेकी थिएँ । नेपालबाट अफर आउन थाल्यो । बरु काम नगरी–नगरी अडिसनमा फेल हुँदै बस्नुभन्दा यता काम गरेर आफूलाई बलियो बनाउँजस्तो लाग्यो । त्यसपछि हलिउडले एकदिन कसो नपत्याउँला र ! (हाँस्दै) ।
हलिउड र नेपालको काम गर्ने तरिकामा के फरक रहेछ ? तपाईंको अनुभवमा कहाँ चुक्दारहेछौँ हामी ?
एक त यहाँको बजेट थोरै हुन्छ । त्यसैले बजेट र प्रोडक्सन भ्यालुको चर्चा नगरौँ । चर्चा गर्नुपर्ने कुरा के लाग्यो भने यहाँ प्रि–प्रोडक्सनमा हामी त्यति धेरै टाइम दिदैनौँ, जति त्यहाँ दिइन्छ । ससानो कुरामा पनि त्यहाँ ध्यान दिन्छन् । मेरो ४५ सेकेन्डको सिन गर्नकै लागि मात्रै त्यहाँ तीन दिन लागेको थियो । अनुशासनको कुरा गर्दा यता पनि उताजस्तै राम्रै छ । यत्ति हो, पंक्चुअल, प्रोफेसनल, आर्टिस्टहरुलाई रेस्पेक्ट दिने मामिलामा त्यहाँ धेरै राम्रो छ ।
‘ब्रेकअप’ तपाईंलाई अफर आएको पहिलो नेपाली फिल्म हो ?
होइन, त्योभन्दा अघि ‘लिलिबिली’को आको थियो । समय नमिलेर खेल्न सकिएन । अफर आएका फिल्म त अरु पनि टन्नै छन्, तर अहिले नभनौँ (हाँस्दै) ।
‘ब्रेकअप’सँग कसरी जोडिनुभयो नि ?
‘ब्रेकअप’को त रोल नै आत्मनिर्भर र बोल्ड टाइपको हो । पहिला मेरो कपाल एकदमै छोटो थियो । हेमराज (फिल्म निर्देशक हेमराज बिसी) दाइलाई त्यस्तै बोल्ड टाइपको लुक्स चाहिएको रहेछ । उहाँले मलाई फेसबुक, इन्स्टाग्रामतिर वाच गरिरहनुभएको रहेछ । म लन्डनमै थिएँ त्यतिबेला । उहाँले मलाई अफर गर्नुभयो । नेपाल आएँ । स्क्रिन टेस्ट र अडिसन दिएँ । त्यसरी खेल्ने पक्का भयो ।
अहिले पनि तपार्इंको बढीजसो बसाइ लन्डनतिर नै हो ?
साढे १ वर्ष भइसक्यो म अहिले यतै छु । मेरो फ्यामिली यतै छ । काम पर्दा मात्रै उता जान्छु । पढ्न भनेर उता गएको हो । मलाई पहिल्यैदेखि नेपाल नै मनपर्छ ।
पहिलो फिल्म रिलिज नहुँदै दोस्रो फिल्मको अफर कसरी आयो नि ?
अपिल (विष्ट, फिल्म निर्देशक) दाइलाई हिरोइनको खाँचो भएको रैछ । मेरो पनि ‘ब्रेकअप’को सुटिङ सुरु भइसकेको थिएन । फ्रि नै थिएँ । हेमराज दाइले नै अपिल दाइलाई मेरो बारेमा कुरा गर्दिनुभएछ । ‘कागजपत्र’मा फेरि सबै थिएटर एक्टर हुनुहुन्थ्यो । उहाँहरुसँग काम गर्ने मन पनि थियो । नाजिर (हुसेन) थिए लिड रोलमा । खुंखार एक्टर भन्छु म । उहाँहरुसँग काम गर्दा मलाई त एक महिना एक्टिङ स्कुलमै गएजस्तो फिल भयो ।
‘कागजपत्र’मा तपाईं गाउँले युवतीको भूमिकामा हुनुहुन्छ । सायद ‘ब्रेकअप’को क्यारेक्टरभन्दा यो क्यारेक्टर गर्न तपाईलाई गाह्रो भयो कि ?
म सक्दै सक्दिनँ त भएन । गाउँले भए पनि पढ्न त पढेलेखेकै केटी छ । अर्को कुरा, बाआमाको कामले गर्दाखेरी म सानैदेखि थुप्रै जिल्ला घुम्न पाएँ ।
के काम गर्नुहुन्थ्यो बाआमा ?
बाबा प्रोजेक्ट (एनजिओ)मा काम गर्नुहुन्थ्यो । आमा सरकारी नर्स । अहिले त रिटायर्ड भइसक्नुभयो । त्यतिबेला उहाँहरुको पोस्टिङ जताजता हुन्थ्यो, म त्यतैत्यतै पुग्थेँ । धनकुटा, धरान, बागलुङ, खाँदबारी ...। खाँदबारीमा त म सात–आठ वर्षै बसेँ । मेरो प्राइमरी एजुकेसन नै खाँदबारीमा गरेको हुँ ।
भनेपछि गाउँको अनुभव पनि मज्जाले लिनुभएको छ ?
हो, मज्जैले लिएकी छु । त्यही भएर मलाई बाहिर जाँदा काठमाडौं आउन पनि मन लाग्दैन । थानकोट छिर्नेबित्तिकै एकदमै डिप्रेस्ड फिल गर्छु ।
नेपाली फिल्म क्षेत्रको तपाई नवअभिनेत्री । तपाईंको अनुभवमा यो इन्डस्ट्रीले नयाँहरुलाई कसरी स्वागत गर्दोरहेछ त ?
लक्किली, मलाई त एकदमै राम्रो ट्रिट भयो ।
अहिले विश्वभर मीटू मुभमेन्ट चलिरहेका बेला तपाईंले पनि त्यस्तो कुनै दुव्र्यवहारको सामना गर्नुप-यो कि ?
पर्सनल्ली मैले त्यस्तो दुव्र्यवहार सहनुपरेन किनभने म मान्छेहरुलाई भेट्नुअघि डिस्टेन्स राख्छु क्या ! सजिलै कसैलाई भेटिहाल्दिनँ । कसैले फोन ग¥यो र उसलाई भेट्न जाँदैछु भने पनि पहिले उसको बारेमा रिसर्च गरेर अर्थात् उसको स्वभावको बारेमा जानकारी लिएरै जान्छु । बरु अनप्रोफेसनालिज्म भने एकदमै फेस गर्नुपरेको छ । एउटा टाइममा बोलाउने अनि नआइदिने । तीन घन्टासम्म कुराइदिनेजस्ता समस्या चाहिँ भोगेकी छु ।
यो मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्यो ?
चित्त दुख्नेभन्दा पनि नपच्ने कुरा चैँ एक्टिङलाई सजिलै लिइन्छ क्या ! बरु अडिसन नै गरेर कलाकार लिइदेऊ तर फेसबुक÷इन्स्टाग्रामबाट फोटो हेरेर कसरी थाहा पाउने क्या उसले एक्टिङ गर्न सक्छ कि सक्दैन ! जस्ट लाइक, म्युजिकल्ली गर्यो, एक्टर बनाइदेऊ । जस्ट लाइक, इन्स्टाग्राममा फोटो हाल्यो, एक्टर बनाइदेऊ । कसैले कलाकार बन्नका लागि कडा मिहिनेत गरेका छन्, त्यसैले कसैलाई कलाकार सहजै नबनाइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई । यस्तै सहजता कारण पनि महिलाहरुले फिल्ममा कमजोर भूमिका निर्वाह गर्नुपरेको छ । कतिपय हिरोइन त ट्रेलरमा पनि देखिँदैनन्, डमीजस्तो क्या ! यो त अति भयो नि ! त्यसैले म स्क्रिप्ट हेर्दाखेरी केटीको रोल कस्तो छ भनेर हेर्छु । आई क्यान्डी मात्र नहोस् केटीको रोल । हिरोको वरिपरि नाच्ने, हिरोले आएर बचाउने, केही त गरोस्, कम्तीमा ! त्यही भएर मेरो दुइटै फिल्ममा क्यारेक्टर बलियो छ ।
फिल्मको नाम ‘ब्रेकअप’ । रियल लाइफमा यही ‘ब्रेकअप’को अनुभव कतिपल्ट गर्नुभयो ?
पक्कै पनि भा’को छ । कसको ब्रेकअप हुँदैन र ? दुई पल्ट भयो (हाँस्दै) ।
अहिले ?
अहिले त सिंगल छु । कस्तो डाउट गरेर हेर्नुभा’को ! (हाँस्दै)
जवाफ नै त्यस्तो दिनुभयो त !
सिंगल त भन्न परिहाल्यो नि !
ए, भनेपछि सिंगल चाहिँ होइन ?
थाहा पाउने मान्छेले थाहा पाइहाल्छ । अरुको लागि म सिंगल हो (हाँस्दै) ।
त्यसो भए मैले मिलाएर बुझेँ है त ! (हाँस्दै)
हस्, मिलाएर बुझ्नुस् ।
तस्बिरः कृष्पा श्रेष्ठ
Leave A Comment