धुलो—धुवाँले हार्ट फेलियरको जोखिम

बिहिबार, १९ पुष २०७५, ०४ : ५१ शुक्रवार
धुलो—धुवाँले हार्ट फेलियरको जोखिम

श्वास फेर्न गाह्रो हुने अवस्था दम हो । छिटो–छिटो र छोटो–छोटो श्वास फेर्नु पनि दम हो । दम रोगभन्दा पनि रोगको लक्षण हो । दम भएका बिरामीमा श्वासनली सुन्निने समस्या हुन्छ । जसका कारण फोक्सोमा हावा जान असहज हुन्छ । 

कारण
दम मुख्य गरी फोक्सो तथा श्वासप्रश्वास प्रणाली र मुटुसँग सम्बन्धित हुन्छ ।  फोक्सोसँग सम्बन्धित दममा फोक्सोले अक्सिजन ग्रहण गर्ने क्षमतामा कमी हुन्छ, यस्तो अवस्थामा श्वासप्रश्वासमा समस्या हुन्छ । कुनै कारणले फोक्सोमा खराबी भएको छ भने त्यस्तो व्यक्तिलाई श्वास फेर्न समस्या हुन्छ । निमोनिया, टीबीजस्ता कारणले फोक्सोमा खराबी भयो भने त्यस्तो व्यक्तिलाई श्वास फेर्न गाह्रो हुन्छ, त्यो पनि एक किसिमको दम हो । 

आज्मा भन्ने दमको मूल कारणले श्वासनली साँघुरिन्छ, श्वासनली साँघुरिएपछि शरीरमा आवश्यक अक्सिजनको मात्रा पुग्दैन र दमको अनुभूति हुन्छ । विशेषगरी एलर्जी हुने, रुघा बढी लाग्ने शरीर भएका व्यक्तिमा आज्मा दमको बढी जोखिम हुन सक्छ भने चुरोट, प्रदूषित वातावरणलगायतका कारणले दीर्घरुपमा श्वासनली साँघुरिन्छ र श्वासप्रश्वासमा समस्या हुन्छ । चुरोट,धुलो–धुवाँजस्ता कारणले हुने दमलाई सीओपिडी भनिन्छ । सिओपिडी दममा पनि श्वास नली साँघुरिने तथा क्षति हुने हुन्छ । 

मुटुको धमनीमा कुनै किसिमको बन्द (ब्लक) भएको छ भने छाती दुख्ने मात्रै नभएर श्वास फेर्न समेत गाह्रो हुन्छ । स्वाँ—स्वाँ हुन्छ । मुटुको रगत पम्प गर्ने क्षमतामा कमी भएको अवस्थामा पनि श्वास फेर्न कठिन हुन्छ । दम बढेको अनुभूति हुन्छ । मुटुको पम्प गर्ने क्षमतामा कमी भएको अवस्थालाई हार्ट फेलियर भनिन्छ । हार्टफेलियरमा दमको जस्तो अनूभूति हुन्छ । मुटुले राम्रोसँग पम्प नगर्दा रगतको केही हिस्सा तथा पानीको मात्रा फोक्सोमा खिचिन्छ र फोक्सोको श्वासप्रश्वासको मूल काममा अवरोध आउँछ । जसका कारण दमको समस्या हुन्छ । 

यही कारणले दम हुन्छ भन्ने एकिन गर्न कठिन हुन्छ । बुबा–आमालगायत परिवारका कोही अग्रजलाई दम भएको छ भने पनि वंशाणुगतरुपमा दम देखिन सक्छ । हावापानी तथा प्रदूषित वातावरणका कारणले पनि दमको समस्या हुन्छ । सामान्यतया बालबालिकामा वंशाणुगत कारणले दमको जोखिम हुन्छ भने उमेर ढल्किँदै जाँदा चुरोट, तमाखु, धुवाँ धुलो, प्रदूषणलगायतका कारणले दमको जोखिम हुन्छ । 

कुनै ढुंगा खानी, कोइला खानीलगायत धुलो धुवाँमा काम गर्ने व्यक्तिमा पनि दमको समस्या हुन सक्छ । पेशाका कारणले पनि दम बढेको उदाहरण देखिन्छ । पेशाका कारणले हुने रोगलाई अकुपेश्नल डिजिज भनिन्छ । 

धुलो धुवाँका कारणले भएको एलर्जीको समयमै उपचार नभए दमको जोखिम हुन्छ । मौसम परिवर्तनका कारणले पनि दमको जोखिम हुन्छ । मिल, पीठो तथा मैदा उद्योग, कपडा, सिमेन्ट उद्योग, सडकबाटो निर्माणलगायतमा काम गर्ने व्यक्तिमा पनि दम हुन सक्छ । श्वासप्रश्वास गर्दा फोक्सोमा धुलो–धुवाँ पुगेर दम हुन सक्छ । त्यसैले यस्तो क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ । मुटुको समस्या, निमोनिया, टीबी, विभिन्न किसिमका दीर्घ रोगका कारणले पनि दम हुन सक्छ । 


रोग हैन, लक्षण हो
दम भनेको रोग हैन, रोगको लक्षण हो । दमको जोखिम पनि के कारणले भएको छ भन्ने कुरामा भर पर्छ । कोही व्यक्तिलाई ज्वरो आएको छ भने टाइफाइट, निमोनिया, पिसाबको कारणले हो वा मेनेन्जाइटिसले ज्वरो आएको हो भन्ने बारेमा जसरी पत्ता लगाउन जरुरी छ, त्यसैगरी दमको लक्षण पत्ता लगाउनु पर्छ । 
दममा पनि विभिन्न रोगका कारणले श्वासप्रश्वासमा समस्या भएको हुन्छ ।

कसैलाई हृदयाघात(हर्टअट्याक) भएर अस्पतालको इमर्जेन्सीमै भर्ना हुनुपर्ने अवस्था भयो भने जोखिम बढी नै हुन्छ । दमको जोखिम दम हुने कारणमा भर पर्छ । रोगअनुसार कतिपय अवस्थामा जोखिम बढी हुन सक्छ भने कतिपय अवस्थामा जोखिम कम पनि हुन सक्छ ।  

हाछ्युुँ लाग्ने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने दमका लक्षण हुन् । 
दमको समस्या भएका व्यक्तिमा खोकी लागिरहन्छ । लामो खोकी पनि दमको एउटा लक्षण हो । छिटो–छिटो श्वास फेर्नु, श्वास फेर्न असहज हुनु, बारम्बार खोकी लाग्नुजस्ता दमका लक्षण हुन् । श्वास फेर्दा छातीमा घ्याँर—घ्याँर हुनु तथा छाती दुख्नु दमका लक्षण हुन् । 

वंशाणुगत जोखिम
कतिपय बच्चामा जन्मजातै दम तथा एलर्जी हुने किसिमको शरीर हुन्छ । बच्चामा जन्मजातै समस्याका कारणले छाला चिलाउने, काछमा घाउ आउने, रुघाखोकी बढी लाग्ने, बढी घ्याँर–घ्याँर हुने समस्या हुन्छ । बच्चामा वंशाणुगतरुपमै एलर्जी हुने किसिमको शरीर छ भने त्यस्ता बच्चामा दमको समस्या हुन सक्छ ।
प्रायः बच्चामा दमको समस्या वंशाणुगत नै हुन्छ । कहिलेकाहीँ भाइरल इन्फेक्सनका कारणले पनि दम हुन सक्छ । 

बच्चा बढ्दै गएपछि युुवा तथा वयस्क अवस्थामा वंशाणुगतरुपमा त दमको समस्या हुन सक्छ नै । त्यसबाहेक प्रदूषित वातावरण, धूमपान तथा मद्यपानको सञ्चित असरलगायतका कारणले पनि दम हुन सक्छ । 

हार्ट फेलियरको जोखिम
बुढेसकाल लाग्दै गएपछि मुटुको पम्प गर्ने क्षमतामा कमी आउँदै जान्छ र मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । जसलाई हार्ट फेलियर भनिन्छ । मुटुले राम्रोसँग पम्प नगर्दा श्वास बढ्ने, खुट्टा सुन्निनेजस्ता समस्या देखिन्छन् । धेरैजसो हार्ट फेलियर र सिओपीडीका बिरामी दमको जस्तो लक्षण लिएर बढी आउँछन् । 

कतिपय अवस्थामा मानसिक कारणले श्वास फेर्न गाह्रो भयो भन्दै विशेषगरी युवाहरु चिकित्सककहाँ पुगेको देखिन्छ । छातीमा गाह्रो भयो भनेर चिन्ताग्रस्त भएर १८÷२० वर्षका युवा–युवती चिकित्सककहाँ पुग्ने गरेको देखिन्छ । मनोरोगका कारणले पनि सो समस्या भएको हुन्छ । त्यस्ता मनोरोग भएकालाई मनोपरामर्श तथा मनोचिकित्सकीय पद्धतिअनुुसार उपचार विधि अपनाउनु पर्छ । 

उपचार 
दमको विभिन्न उपचार विधि तथा पद्धति छन् । कारणअनुसार उपचार गरिन्छ । कुनै संक्रमणको कारणले व्यक्तिलाई श्वास बढेको छ वा श्वासप्रश्वासमा समस्या भएको छ भने अवस्था हेरेर एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्ने हुन सक्छ । मूल दम हो भने विभिन्न तान्ने विधि पनि छन् । खाने चक्कि पनि छन्, आवश्यकताअनुसार प्रयोग गरिन्छ ।
मुटुका कारणले हार्ट फेलियर भएको हो भने हार्ट फेलियरको उपचार गरिन्छ । त्यसैले के कारणले दम भएको छ कारण पत्ता लगाउनु महत्वपूर्ण हुन्छ । दम दीर्घ रोग हो । 

पछिल्लो समय सबै उमेर समूहमा दमको समस्या बढ्दै गएको देखिन्छ । वातावरणीय प्रदूषण, खानपानलगायतका कारणले दमको समस्या बढेको देखिन्छ । उमेर बढ्दै जाँदा दमको समस्या अझ बढी हुन सक्छ । दमको समस्या भएका व्यक्ति धुलोधुवाँबाट त जोगिनु पर्छ नै खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ । दम रोगीले फ्रिजमा राखेको चिसो खानेकुरा खान हुँदैन । चिसोले दम झन् बढ्न सक्छ । झोलिलो किसिमको तातो खाना तथा गेडागुडी खाँदा राम्रो हुन्छ । 

दम रोगीले जाडो मौसममा विशेष ध्यान दिनुपर्छ । जाडो मौसममा दम रोगीले बिहानै मर्निङवाक गर्ने तथा हिँडडुल गर्नु उचित हुँदैन । बिहान चिसोमा हिँड्दा श्वासप्रश्वासमा असहज भई जोखिम हुन सक्छ । दम भएका व्यक्तिलाई औषधि उपचार गर्न सकिन्छ । पानीको बाफ लिँदा पनि दम कम हुन सक्छ । दमरोगीले चिकित्सकको सल्लाहमा खानपान तथा उपचार गर्नुपर्छ । 

दमबाट बच्नका लागि सावधानी अपनाउन जरुरी छ । जाडोको समयमा न्यानो कपडा लगाउनुका साथै न्यानोमा बस्नु पर्छ । विशेष गरी बालबालिका तथा वृद्ध–वृद्धालाई चिसोको समयमा विशेष ध्यान दिनुपर्छ । रुघा, खोकीलगायतका समस्या भए चिकित्सकको सल्लाह लिई जाँच गराउनुपर्छ । 

प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment