आकांक्षा कार्कीले ‘साइकोलजी’ पढेकी हुन् तर अहिले नाटक निर्देशन र अभिनयमा सक्रिय छिन् । काठमाडौं, टेकुस्थित आफ्नै घरको कौसीलाई उनले अहिले ‘कौसी थिएटर’ बनाएकी छन् । ‘लाइन’ ‘दयालु रुख’, ‘भजाइना मनोलग’, ‘सेम टाइम नेक्स्ट इयर’ आदि उनका रुचाइएका नाटक हुन् । आइतबार बिहान उनकै कौसीमा पुगेर अनिल यादवले गरेको अन्तरंग कुराकानीः
कुनै बेला तपाईंले घाम ताप्ने कौसी यही हो ?
मेरो घरै हो यो । मेरोभन्दा ’नि बुबाको (हाँस्दै) तर यो ठाउँ पहिला गोदामजस्तै थियो । हामी बस्ने घर ऊ त्यो पल्लो हो (थिएटर भएको घरसँगै टासिएको अर्को घर देखाउँदै) । पहिले यहाँमाथि पनि त्यति चढिँदैनथियो । काम गर्नलाई मलाई स्पेस चाहिएपछि नाटक रिहर्सलका लागि यसैलाई हल बनाऊँ भनेर सुरु गरेको हो । पछि लोभी हुँदै गएर, महाŒवकांक्षी हुँदै गएर नाटक घर नै बनाइयो ।
तपाईं इन्डियामा पढेको है ?
ब्याचलर्स र मास्टर्स दुवै भारतमा गरेँ । यसको पनि रमाइलो कथा छ । ब्याचलर्स सकिएपछि म एकदमै थिएटर गर्थेँ । बरु कलेज जाँदिन थिएँ तर फेस्टिभल चहारेर बस्थँे । त्यही देखेर मलाई प्रोफेसरहरु सुझाउँथे, ‘तँ एनएसडी (नेसनल स्कुल अफ ड्रामा) अप्लाई गर, नेपालबाट नाम निस्किने सम्भावना हुन्छ ।’ त्यो मेरो पनि चाहना थियो तर मैले घरमा सोध्दा आमाले मान्नु भएन । ‘तँलाई जे पनि गर्न दिएको छ तर थिएटर नै पढ्छु नभन्, अरु कुनै टेक्निकल विषय पढ् न’ भन्नुभयो । यही विषयले एक हप्ता हाम्रो कुरै भएन । रुवावासी नै भयो । फेरि घरमा आमासँग एक किसिमको डर पनि थियो । त्यसैले त्यतिबेला किन किन मलाई आमा सही जस्तो लाग्यो । सायद अहिलेको अवस्था भएको भए म जबर्जस्ती भए पनि ‘जोइन्’ गर्थें होला । त्यतिबेला नाइँ नै भन्न सकिनँ ।
त्यतिबेला ड्याडीको पनि सपोर्ट भएन ?
मेरो ड्याडी त घरमा दुधभातजस्तो हो । एकदमै सोझो । आमा हो क्या सबै गर्ने । ड्याडीलाई जे गरे पनि ओके । त्यसैले अहिले थिएटर बनाउनमा पनि धेरै ड्याडीको हात छ । भित्तामा रङ लाउनेदेखि पर्दा हाल्नेसम्म उहाँको सहयोग छ ।
भनेपछि थिएटरको मोह हुँदाहुँदै तपाईंले ममीका लागि साइकोलजी पढ्नुभयो ?
एनएसडी पढ्नु भनेको फेरि ब्याचलर जोइन गर्नुजस्तो थियो । त्यही भएर पनि ममीले नमान्नुभएको । साइकोलजी मेरो दोस्रो रोजाई थियो । मेरो आमा एकदमै प्रगतिशील । उहाँले हार्डवर्क गरेको भएरै हामीले आज पढ्न पाएको हो । सायद उहाँप्रतिको गहिरो सम्मान र डर दुवैका कारण नै त्यतिबेला थिएटरभन्दा पनि साइकोलजीले प्राथमिकता पायो ।
अहिले त्यही साइकोलजी पढेको थिएटरमा पनि खुब काम लागिरहेको होला ?
म प्रायः इन्टर्नल स्टोरिजमा काम गर्छु । जस्तोसुकै नाटक होस्, म सुरुमा कलाकारहरुको आन्तरिक कथा, उनीहरुको बुझाई, व्यवहार र सोचलाई बुझ्न खोज्छु । मलाई कोही कलाकारलाई एकैचोटी स्क्रिप्ट रटाएर अभिनय गराएर मात्रै थिएटर हुँदैन भन्ने लाग्छ । पहिला परिवारजस्तो हुनुपर्छ र त्यो परिवार हुनका लागि साइकोलजिकल थेरापीले एकदमै सहयोग गर्छ । मान्छे त पूरै ‘न्याकेड’ हुन सक्नुप¥यो नि त आफ्नो आँखाअगाडि । इमोसनल्ली, फिजिकल्ली सबै रुपमा उसले दिन सक्नुप¥यो । मलाई के लाग्छ भने, हामीकहाँ यदि राम्रो थिएटर भइराखेको छैन भने त्यसको मुख्य कारण थिएटर मेकर्सले थिएटर कलाकारलाई बुझ्न नसक्नु पनि हो । एक्टर र डिरेक्टरले एकअर्कालाई हेट गरिगरि काम गरिराखेको हुन्छ । तर तपाईं हेट गर्नै सक्नुहुन्न क्या ! एकअर्काप्रति प्रेम र सम्मान त हुनैपर्छ । कलाकारले आफ्नो एकदमै निजी कथा पनि तपार्इंसँग सेयर गर्नु सक्नुपर्छ । अनि मात्र तपाईंले ऊबाट खोजेजस्तो काम लिन सक्नुहुन्छ । त्यस्तै म जेन्डर र फेमिनिज्मसम्बन्धी काम पनि गरिरहेको हुन्छु । यसमा पनि साइकोलजीले सहयोग पु¥याइरहेको हुन्छ ।
भारत र यहाँको नाटकमा तपाईले के फरक पाउनुभयो ?
त्यहाँ एकदमै प्रतिस्पर्धा छ । त्यहाँको प्रतिस्पर्धी स्वभावले मलाई यहाँ एकदमै सहयोग गरेको छ । अर्को कुरा, त्यहाँ नाटकका लागि मान्छेहरु हत्ते गर्छन । यहाँ यत्तिकै पनि थिएटर गर्दिऊँ न, भन्ने सोच हुन्छ । त्यहाँ त नाटकको खत्रा भोक हुन्छ । इन्डियामा छँदा नाटकका लागि हुने दुःख र रिसका कारण म दामीदामी प्ले बनाउन सक्थेँ तर यहाँ सुख छ, घरमा बसिरा’छु, संघर्ष छैन, त्यसले सजिलो गरी लिइँदोरहेछ ।
नाटकप्रति तपाईंको रुचि कसरी जाग्यो ?
म रातो बंगला स्कुल पढेँ । आमाले मलाई अफोर्ड गर्न सकेर होइन कि मेरो बच्चाले अंग्रेजी राम्रो बोल्न सक्नुपर्छ भनेर दुःख गरेर त्यहाँ पढाउनुभा’को थियो । आमा आफू डाक्टर भए पनि विदेशी सम्मेलनतिर जाँदा राम्रो अंग्रेजी बोल्न नसक्दा पछाडि परेको महसुस गर्नुहुन्थ्यो । हरेक वर्ष रातो बंगलामा नाटक गर्नुपथ्र्यो । हरेक वर्ष मैले नेतृत्व गर्थेँ । रुचि त्यहीँबाट सुरु भएको हो तर कलेज पढ्दासम्म पनि मैले नाटकलाई करिअर बनाउँछु भन्ने सोचेकी थिइनँ ।
कहिलेबाट नाटकमै करिअर बनाउँछु भन्ने सोच्नुभयो ?
कलेजमा मेरो एउटा विषय थिएटर थियो । अरु त साइकोलजी र लिटरेचर नै थियो तर मलाई सबैभन्दा बढी खुशी थिएटरको क्लास हुँदा लाग्थ्यो । एउटा प्ले बनाउँदा सबै दर्शकले ‘स्ट्यान्डिङ अभिएसन’ दिनुभएको थियो । यति धेरै ‘भ्यालिडेसन’ त मलाई म हुनुमा पनि भएन । जाबो एउटा प्ले बनाएर यति धेरै प्रेम पाउन सक्छु भने किन यही क्षेत्रमा भविष्य नबनाउने ? म एकदमै एन्जाइटी भएको मान्छे । थिएटर गर्दा त्यो सबै हटाइदिन्छ । नत्र म मेरो बुबाजस्तै डरपोक थिएँ तर थिएटरमा मलाई नाङ्गो हो भन्यो भने पनि म होइदिन्छु । त्यत्ति शक्ति छ ! त्यसैले मैले थिएटर गरिराखेको होला सायद ।
तपाईंका लागि नाटक गर्नु भनेको के हो ?
मलाई लाग्छ, मैले नाटक गर्दैगर्दा धेरै जीवनहरु परिवर्तन गरिरहेकी छु । अनि आफ्नै जीवन पनि परिवर्तन गरिरहेकी छु । थिएटरको कारणले मेरो जीवन गतिशील भइरहेको छ । थिएटरकै कारण म समसमायिक विषयवस्तुप्रति जानकार हुन्छु किनकि म पढिराकी हुन्छु । मलाई लाग्छ, म थिएटरकै कारण बलियो छु ।
नेपालमा राम्रा नाटक घरहरु बन्द भइरहेको अवस्था र चलिरहेकाहरु अप्ठेरो अवस्थाबाट गुज्रिरहेका बेला तपाईंलाई भारतमै केही गर्न छाडेर किन नेपाल फर्किनुभयो ?
म नेपाल फर्कदा थिएटर गर्छु भनेर फर्केको होइन । मैले एउटा जागिर पाएकी थिएँ इन्डियामा । म ११ अप्रिलमा बिदाको लागि फर्किएकी थिएँ । जुन महिनादेखि म काम ज्वाइन गर्न लागेकी थिएँ । एकदमै रमाइलो काम थियो । त्यो थिएटर र साइकोलजीको मिश्रण थियो । पढाउनुपर्ने काम थियो । ६० हजार आइसी तलब पक्का थियो तर म यता फर्किएको १४ दिनपछि भुइँचालो गयो । त्यसपछि म आत्तिएँ । यता परिवार छाडेर उता जान मन लागेन । त्यसपछि मलाई यतै युलेन्स स्कुल खुमलटार (ललितपुर)ले थिएटर साइकोलजी पढाउने जब अफर ग¥यो । एक वर्ष काम पनि गरेँ । त्यही एक वर्षमा मैले पार्ट टाइमका रुपमा दुइटा नाटक गरेँ, ‘भजाइना मोनोलग’ र ‘लुक ब्याक् इन् एंगल’ । जागिरबाट पैसा पनि राम्रै आइरा’को थियो । वचत पनि भइरहेकै थियो । तैपनि मलाई केही न केही मिस भइरहेको फिल भइरहेको थियो । मलाई त घरमा पागल नै भन्छन् । पढेको छ, अंग्रेजी राम्रो छ, डेढ लाखको काम सजिलै पाउँछु तैपनि किन बौलाएकी होला भन्छन् । अहिले पनि आमा र बाउबाहेक अरु आफन्तले भेट्दा कहिलेसम्म यसरी भनेर सोध्ने गर्छन् । हुन त परिवारबाट सपोर्ट भएका कारण पनि मैले नाटक आँटे । नत्र एकदमै अभाव भएको भए सायद म आँट्न सक्दिन थिएँ होला । मैले आँटे किन भने मलाई सुनचाँदी कमाउनु थिएन । मलाई त त्यो गर्नु थियो जे गर्दा म असाध्यै खुशी हुन्थेँ र त्यही गरिरहेकी पनि छु ।
अहिले नेपालमा नाटकको बजार बढाउनुपर्ने अवस्था छ । तपाईंको पछिल्लो नाटक ‘सेम टाइम नेक्सट इयर’ ५ सय (रुपैयाँ) तिरेर हेर्दैगर्दा मलाई नाटकघरले बजारभन्दा पनि शुल्क बढाइरहेको महसुस भयो । के लाग्छ तपाईंलाई ?
हैन, नेपाली नाटकमा हाम्रो शुल्क ३ सय र २ सय नै हो । अंग्रेजी नाटकमा हामीले ५ सय र १ हजार राखेका हौँ । अंग्रेजी नाटक हेर्न त्यति रकम तिर्न सक्ने जमात नै आउँछ, त्यसैले त्यति राखिएको हो । नढाँटी भन्नुपर्दा, यो हाम्रो मार्केटिङ रणनीति हो ।
यो त पैसा हुनेले मात्रै अंग्रेजी भाषा बुझ्छ जस्तो कुरा भयो नि । यसरी कम आर्थिक अवस्था भएका तर अंग्रेजी नाटक हेर्न रुचाउनेहरुलाई त नजरअन्दाज गर्न मिल्छ र ?
त्यस्तो होइन । एउटा नाटक बनाउन ७–८ लाख खर्च हुन्छ । अझ अंग्रेजी नाटकमा मिहिनेत पनि एकदमै धेरै हुन्छ । नाटकको लागत खर्च उठाउनै पनि हामीलाई हम्मेहम्मे पर्छ । लास्ट नाटक त हामी घाटामै गयौँ । फेरि थिएटर कम्युुनिटी र प्रेसलाई हामी कम शुल्क नै लिन्छौँ ।
तपाईंको नजरमा अहिलेको नेपाली नाटकको ट्रेन्ड कस्तो छ ?
मेरो नजरमा क्वालिटी छैन तर हामीजस्तो युवा नाटककर्मीले कसैको नाटकलाई नराम्रो भन्न पनि मिल्दैन किनभने म सुनिल पोखरेल, अनुप बराल होइन । जसले टिप्पणी गरेको सुनिन्छ, उहाँहरुले नगरिदिँदा नाटक सजिलो भयो, सस्तो कमेडीतिर गयो । सामाजिक सन्देशको नाममा सस्तो नाटक बन्ने क्रम बढिरा’छ । यसको कारण के पनि हो भने नेपालमा एक्टिङको तालिम हुन्छ तर थिएटर मेकिङको हुन्न । तीन महिनाको थिएटर कोर्समा अभिनय कसरी गर्ने भनेर सिकाइन्छ तर नाटक कसरी बनाउने भनेर सिकाइँदैन । हामी १२ जना नाटक निर्देशकलाई हालसालै मण्डला थिएटरले डिरेक्टर्स वर्क सप आयोजना ग¥यो । त्यो एकदमै फाइदाजनक भयो ।
पछिल्लो समय नेपाली रंगमञ्चमा महिलाको उपस्थिति बलियो हुँदै गइरहेको हो ?
(एकछिन सोचेर) अँ, अहिले हो । पहिला नाटकहरु एकदमै पुरुषप्रधान हुन्थे । मैले गरेको नाटक ‘भजाइना मनोलग’ पनि एउटा ठूलो स्टेप थियो, महिला उपस्थिति बलियो देखाउन । सिर्जना सुब्बाको ‘यूमा’ नाटक पनि महिलाप्रधान नै थियो । सिर्जना अधिकारी पनि आफैँ निर्देशनमा आउनुभयो । त्यसपछि अस्ति भर्खर नम्रता केसीले पनि ‘राजेन्द्रलक्ष्मी’ गरिन् । अहिले नाटकमा महिलाका कथाहरु सशक्त ढंगले आइरहेका छन् । तर अझै पनि महिला नाटककर्मीहरु आफूलाई फेमिनिस्ट हुँ भन्न डराउनुहुन्छ । धेरै सिनियर दिदीहरुमा पनि मैले त्यस्तै पाएकी छु । म उहाँहरुलाई छलफलमा खुलेरै भन्ने पनि गर्छु, फेमिनिस्ट हुनु भनेको बराबर हुनु हो । यो भनेको नराम्रो कुराको होइन । एकदमै ट्यालेन्ट महिलाहरु हुनुहुन्छ नाटकमा तर आफू दबिएको कुरामा आवाज उठाउन सक्नुहुन्न । मलाई एकदमै मनपर्ने थिएटर आर्टिस्ट पशुपति राई हो । आइ लभ हर । जति ट्यालेन्ट छ, त्यति नै मात्रामा म गर्नसक्छु भन्ने भावना छैन । साँच्चै भन्नुपर्दा हामीकहाँ साहसको अभाव छ । त्यो स्कुलिङको कारणले पनि हो जस्तो लाग्छ । हामीलाई गुरुकुलले ‘फेन्टास्टिक’ एक्टर हुन सिकायो तर लिडर हुन सिकाएन । मैले हेर्दा त्यो बेलाको दिदीहरुको काममा कुनै खोट लाउने ठाउँ छैन । पूरै इमान्दार भएर काम गर्नुहुन्छ तर बोल्नै सक्नुहुन्न ! यत्रो ‘मीटू मुभमेन्ट’ विश्वभर चल्यो । नेपालसम्म कुरा उठ्यो तर कोही बोल्नुभएन तर मलाई थाहा छ, दिदीहरुसँग मीटूको एकदमै धेरै केस छन् । कलाकारले त अभिनय मात्रै गरेर भएन, सामाजिक–राजनीतिक रुपमा पनि आफूलाई खरो उतार्न सक्नुपर्यो नि !
त्यही त ‘मीटू मुभमेन्ट’चल्दा नेपाली कलाकारहरु लगभग मौनजस्तै देखिए । यसले त नेपाली रंगमञ्चमा दुव्र्यव्यहार छैन भन्ने पो देखायो, होइन र ?
हो । तर दुव्र्यवहार किन छैन ? छ । फिल्म जत्तिको नहोला तर छ । ‘मीटू’पछि मैले नाटकको दुव्र्यवहारमाथि रिसर्च गरेर एउटा आर्टिकल लेख्न खोजेकी थिएँ । त्यतिबेला सबैजना महिलाहरु कुरा सेयर गर्न तयार हुने तर ‘मेरो नाम नलेख्दिनु भन्ने’ । फेरि हामी–हामीबीच दुव्र्यवहार गर्ने को हो, के हो नाम सबै थाहा छ । ओपन सेक्रेटजस्तै छ । म तीनजना थिएटरका यस्ता नाम भन्दिन सक्छु जो दुव्र्यवहारमा संलग्न छन् तर के भने उनीहरु नाटकका पावरफुल पर्सन हुन् । सबैले मानेका मान्छे हुन् । सर हुन् । उनीहरुसँग काम गर्नु अझै पनि बाध्यता छ । फेरि उनीहरुप्रति महिलाहरुको एक किसिमको सहानुभुति पनि सुनियो । ‘हो, बुढा पात्तिएको छ तर के गर्नु मर्न लागेको छ, होस्, नभनौँ । विचराको जिन्दगी किन बर्बाद गर्नु’ भन्नेहरु पनि धेरै पाएँ ।
तपाईं आफूले दुव्र्यव्यहार भोग्नुभएको छ कि छैन ?
ठूलै नभोगे पनि सानोतिनो भोगेकी छु । म नामै भन्छु तर पत्रिकामा नलेख्दिनुस् (उनले नाम भनिन् तर उनको आग्रहअनुसार हामीले यहाँ लेखेनौँ) । उहाँविरुद्ध २०–२५ जनाको कम्प्लेन सुनेकी छु । बूढा हेर्दा मायालाग्दा छन् । हामीले उसलाई हेर्दा त्यस्तो लाग्छ तर उसको हेराई भने एकदमै नराम्रो छ । ‘टच’ राम्रो छैन । योङ गल्र्सहरुलाई एकदमै टार्गेट गर्नुहुन्छ । अरुको तुलनामा मलाई अलि कम नै गर्नुभाको छ तर अरुको त डरलाग्दो अनुभव छ । १५ जनाले लिखित रुपमै उसको विरुद्ध बोलेको प्रमाण छ मसँग । तर थिएटरको पर्दा पछाडिको काम उनी एकदमै पपुलर छन् । उनीसँग काम नगर्नुको अर्को विकल्प छैन । मैले एकचोटी त गाली नै गरेकी छु । र, म तपाईंलाई एउटा कुरा सुनाइहालौँ– म ‘मीटू’लाई नै लिएर नाटक बनाउने तयारीमा छु । हाम्रो रंगमञ्चका दुव्र्यवहार नाटककै माध्यमबाट भए पनि भन्ने मन छ । नढाँटी भन्नुपर्दा, नाटक मेरा लागि रिस पोख्ने माध्यम पनि हो । इन्डियामा हुँदा पनि त्यसै गर्थें । कुनै विषयले रिस उठ्यो भने नाटक बनाइहाल्थेँ । अटोमा चढ्दाको एउटा तीतो अनुभव छ । बिहान अटोमा चढेर नाटक रिहर्सल गर्न कलेज गइरहेकी थिएँ । अटोको भाडा २७ रुपैयाँ उठेको थियो । मैले चेन्ज पैसा नै दिएकी थिएँ । ‘अटो गाइ’ले मलाई त्यो खुद्रा तीन रुपैयाँ फिर्ता दिँदैथियो । कति राम्रो मान्छेजस्तो लागिरा’थ्यो तर कुरा त अर्कै रहेछ । ऊ त अटोमै पाइन्ट–साइन्ट फुकालेर ‘मास्टरबिटिङ’ गरिरा’को रै’छ । म त छक्क परेँ । अटोवालासँग रिस पनि मैले नाटकमार्फतै पोखेँ– ‘अटो अब्युज’ भनेर । मान्छेहरु मलाई तँ किन फेमिनिस्ट भइस् भनेर सोध्छन्, यस्तै अनुभवहरुका कारण पनि म यस्ती भएकी हुँ ।
तपाईंको हेराईमा महिला मेकर्सले बनाएको नाटकमा मात्रै महिलाको चरित्र चित्रण बलियो भइरहेको छ या पुरुष मेकर्समा पनि त्यो चेत देखिँदैछ ?
पुरुषमा त अझै त्यो चेत देखिँदैन । हालै दया दाइले (दयाहाङ राई)ले ‘जालिनी’ बनाउनुभयो तर त्यो नाटकमा ‘जालिनी’ नै थिएन क्या ! यतिसम्म कि ‘माधवी’जस्ता नाटकमा पनि महिलाहरुलाई ‘रानी’ बनाउनुबाहेक अरु क्रान्तिकारी भूमिका दिइएको पाइँदैन । एक–दुई जनाले बनाइरा’छन् तर त्यो पनि मनबाटै चेत खुलेरभन्दा पनि मिडियाले महिलाको चरित्र चित्रण कमजोर भयो भनेर प्रश्न सोध्दासोध्दा बनाउन थालेको हो कि ? दुविधामा छन् मेकर्सहरु ।
आफ्नो कुरा धेरै दर्शकमाझ पुरयाउन त नाटकभन्दा प्रभावकारी माध्यम फिल्म हो । फिल्मतिर जाने सोचमा हुनुहुन्न ?
फिल्म खेल्ने मन छ । बबी सिंह भन्ने डिरेक्टरले जागिर छुटाएर ‘सयपत्री’ भन्ने फिल्म खेलाएको थियो । फिल्ममा सुरजसिंह ठकुरी, सन्दीप क्षेत्री लगायत कलाकार थिए । २० दिन पोखरामा सुटिङ पनि भयो । ५० लाख खर्च पनि ग¥यो तर फिल्म बनेन, त्यत्तिमै रोकियो । यसले म डिस्टर्ब पनि भएँ । त्यसपछि फिल्म खेल्ने कुरामा निकै सचेत छु । नढाँटी भन्नुपर्दा राम्रो ब्यानरबाट अफर पनि आएको छैन । फेरि म त्यस्तो ‘स्ट्यान्डर्ड, ग्ल्यामर्स लुकिङ वुमन’ होइन नि त ! हिरोइनको परम्परागत मानकअनुसारको लुक्स छैन नि त मेरो !
हिरोको लुक्सका अर्थमा दयाहाङ राई, विपिन कार्कीहरुले परम्परागत मान्यता तोडिदिए पनि हिरोइनका मामिलामा अझै उस्तै मान्यता छ भन्न खोज्नुभएको हो ?
हो । नत्र ‘डाइङ क्यान्डल’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड नै पाउनुभएकी सिर्जना सुब्बाले अरु पनि दमदार भूमिका पाउनुपर्ने हो नि ! होइन र ? उसले भिलेजरको भूमिका मात्रै डिजर्भ गर्ने हो र ? पशुपति राईले फेन्टास्टिक रोल पाउनुपर्ने हो । सरिता गिरीहरुले आमा, माइजूजस्तो रोल मात्रै गर्ने हो र ? सिरियस फिल्ममेकर्सहरु यो कुरामा सचेत छन् । तर तपाईं मान्नुस्÷नमान्नुस् उनीहरु पनि फिल्म बनाउने बेलामा हिरोइन नै खोज्छन् । नत्र ‘प्रसाद’मा नम्रता श्रेष्ठलाई नक्कली कपाल लगाइवरी खेलाउन आवश्यकै थिएन । म भएकी भए त्यो रोलका लागि शान्ति गिरी कास्ट गर्थे । विपिन कार्की र शान्ति गिरी क्या दामी देखिन्थ्यो ! तर किन नम्रता कास्ट गरियो ? जवाफ सजिलो छ, किनभने नम्रता ब्रान्ड हो ।
तस्बिर: कृष्पा श्रेष्ठ
Leave A Comment