सूर्य अस्त : धरान मस्त

बिहिबार, २६ पुष २०७५, ०३ : ३० शुक्रवार
सूर्य अस्त : धरान मस्त

जब सूर्य मुर्झाउँदै जान्छ, स्टाइलिस्ट सहर धरानको पुतलीलाइन अनि बगरकोटका डिस्को, बार, लाउञ्ज र पबमा चहलपहल शुरु हुन्छ । जति रात छिप्पिदै जान्छ, म्युजिक र मदिराको कक्टेलले रोमान्टिक वातावरण बढ्दै जान्छ । 

लाहुरे शहरको रुपमा चिनिने धरान मस्तीमा अगाडि नै देखिन्छ । स्वतन्त्र विचारका युवापुस्ता विन्दास छन् यहाँ । पोखरा पनि कम छैन नाइट लाइफमा । रात्रि मस्तीमा काठमाडौंलाई आच्छुआच्छु पार्नसक्ने ल्याकत पूर्वमा यो शहरसँग मात्र छ । 

हरेक साँझ रेस्टुराँ, पब, लाउन्ज र रकबारमा मस्त देखिन्छन् धराने युवा । कालो बंगुरको बार्बिक्युमा चुस्स मदिराको स्वादमा रमिरहन्छन् उनीहरु । त्यसमा पनि चिसोको मौसममा झन् मात्तिन्छ धरान । 

धरानले केवल धरानेलाई मात्र रम्ने मौका दिएको छैन । पूर्वी नेपालका इटहरी, विराटनगर, बिर्तामोडसँगै भारतीय पर्यटकसमेत धाउँछन् धरान । दार्जलिङ र सिक्किमका त भए नै विहारबाट आउनेहरुको संख्या पनि बढ्दो छ यहाँ ।

२०१८ को बिदाइ अनि २०१९ को स्वागतका लागि धरानमा नेपाली र भारतीय नागरिक सराबरै थिए । त्यसमा पनि विशेष बगरकोटमा भव्य चहलपहल थियो रम्न÷रमाउन चाहनेहरुको ।

इटहरीले हल्का स्वरुप फेर्दै गइरहेको छ । नाइट क्लब र लाउन्जहरु खुल्न थालेका छन् त्यहाँ पनि तर अझै पनि पूर्व लागेपछि रात्रिकालीन मनोरञ्जनमा रमाउन चाहनेका लागि धरानको विकल्प देखिन्न ।

करिब १५ वर्षअघि सेकुवा कर्नरको रुपमा चिनिएको बगरकोट धरानको ठमेल बनिसक्यो । पुतलीलाइन पनि रात्रिकालीन मस्ती केन्द्र बन्दै गइरहेको छ । त्यहाँ खुलेका डिस्को, पब अनि  लाउन्ज र रकबारले रात्रिकालीन मस्तीमा रमाउनेको इच्छा पूरा गर्दै आएको छ । साँझ छिप्पिदै जाँदा बगरकोट र पुतलीबजार पनि तात्तिदै जान्छ । 

काठमाडौंको ठमेल र अनि पोखराझैँ धरानको रात्रिजीवनको प्रवृत्ति पनि उस्तै छ । अन्य दिन ठीकठीकै हुन्छ, गुड फ्राइडेमा भने मस्तले झुम्छ यो सहर । घुमन्ते, चिकित्सक, विद्यार्थी कोही एक्लै, कोही परिवारसँग त कोही जोडीसँगै रमाइरहेको भेटिन्छन् यहाँ ।

करिब १५ वर्षअघि डिजे ललितको फ्युजन नामक डिस्को क्लबको सुरुवात भएको थियो यहाँ । अहिले दर्जन बढी छन् डिस्को, लाउन्जहरु । पछिल्ला समय लाउन्जसँगै दोहोरी साँझमा झुम्मिनेको संख्या पनि उत्तिकै बढ्दै छ । यहाँ लाइभ म्युजिक र थिम पार्टी पनि बाक्लिन थालेका छन् । 

‘बेलुका धरानमा मस्ती गर्नुको मज्जा नै बेग्लै छ,’ धरानका कृष्ण राईले भने, ‘पुलिसले लेट नाइटसम्म बस्न दिन्न, नत्र इन्जोय डबल हुन्थ्यो !’

कस्ता छन् बार र लाउन्ज ?
धरानको मालिंगो रक बारमा खानासँगै लाइभ म्युजिक हुन्छ । धरानकै बुम¥याम लाउञ्ज एन्ड बारमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि बुम¥याङ राम्रो छनोट हुने गरेको छ । भिन्टेज लाउन्ज एन्ड बार, बगरकोटमा रहेको एमएच लाउन्ज एन्ड बार लगायत पनि मनोरञ्जनको व्यापारमा सक्रिय छन् । लाइभ म्युजिकमा मस्ती दिने फ्रेन्ड गार्डेन अनि डिस्कोका लागि बजमा पुग्छन् अचेल किशोर किशोरीहरु । 

भिन्टेजका सञ्चालक एसडब्लु लामिछानेका अनुसार लेट नाइट पार्टीका लागि विशेषगरी युवापुस्ता बढी सक्रिय छन् । धरान घुम्न आउनेहरु त आउने नै भए, अहिले स्थानीयसमेत परिवारसँगै ह्याङ आउटमा रम्न थालेका छन् । रात्रिकालीन म्युजिकल क्याफे र रेस्टुरेन्ट भन्दा पनि डिजे पार्टीमा युवाहरुको आकर्षण बढी देखिन्छ । 

‘लाउन्ज र लाइभ म्युजिकमा धराने समाज बिस्तारै अभ्यस्त हुँदैछ,’ डिजे ललितले भने, ‘सुरुसुरुमा डिस्को तथा डिजेइङ सेसन सुरु गर्दा समाजले नराम्रो नजरले हेर्ने गरेको थियो । अहिले तिनै परिवारका केटाकेटीहरु आउँछन् र नाचेर जान्छन् ।’ 

रात्रिकालीन मनोरञ्जनका लागि नयाँ–नयाँ उपाय पनि अपनाइरहन्छन् धराने युवा । कहिले पुल पार्टी, कहिले मास्क पार्टीको आयोजना भइरहन्छ यहाँ । पछिल्लो समय कन्सर्टको संख्या पनि ह्वात्तै बढेको छ । राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कलाकारहरु धरानको सांगीतिक माहोल तताउन आइरहन्छन् ।


भिलेन बन्यो प्रहरी

काठमाडौं र पोखरामा झैँ धरानको नाइट मस्तीमा प्रहरी प्रशासन उदार हुन सकेको छैन । पार्टीहरु बल्ल जम्न थाल्दा बन्द गरौं भन्दै आइपुग्छन् प्रहरी । मुस्किलले ८ बजेबाट तात्न शुरु हुने माहोल ११ तिर पुग्दा फुल डोजमा हुन्छ । त्यही बेला सञ्चालकहरु बन्द गर्नुप¥यो भन्न आइपुग्छन् । 

‘जब ग्राहक संगीतमा रम्ने मुडमा आउँछन्, त्यही बेला प्रहरी बन्द गर्न आइपुग्छन्,’ धरान, बगरकोटमा सञ्चालित अर्किड किचनका सञ्चालक दिलिप राई भन्छन्, ‘ गेस्टलाई बाध्य भएर जानु भन्नुपर्छ । बडो नमज्जा लाग्छ ।’

होटल व्यवसायी संघ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठ धरानमा रात्रिकालीन मनोरञ्जन व्यवसाय बिस्तारै फस्टाउँदै गए पनि प्रहरी प्रशासन भने सहयोगी नभएको बताउँछन् । धरान घुम्न आउने आन्तरिक तथा अन्य देशका पर्यटक मध्यरातसम्म मस्ती गर्ने मुडमा हुँदा पनि प्रहरी प्रशासनका कारण चाँडै बन्द गर्न बाध्य भएको उनले बताए ।

‘पर्यटक मस्ती गर्ने मुडमा हुन्छन्,’ श्रेष्ठ भन्छन्, ‘उनीहरु १–२ बजेसम्म रम्न चाहन्छन् तर प्रहरी १० बजेदेखि नै बन्द गराउन आइपुग्छन् । अनि कसरी बन्छ पर्यटकीय शहर ?’

धरानका मालिंगो रक बारका सञ्चालक राजदीप राई रात्रिकालीन रेस्टुराँलाई हेर्ने प्रहरी नजर नबदलिएकोमा खिन्न देखिए । सुरक्षाको सबै प्रबन्ध मिलाए पनि जबर्जस्ती बन्द गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

‘सुरक्षित रुपमा  सिसी क्यामेरा, सेक्युरिटीसहित रक सञ्चालनमा ल्याएका छौँ,’ राईले भने, ‘प्रहरी कार्यालय पनि दुई सय मिटरको दुरीमा छ तर पनि  १० बजे नै बन्द गर्न बाध्य बनाइन्छ । प्रहरीको काम सुरक्षा दिने त हो तर सुरक्षाको नाममा व्यवसायमा बन्देज पो लगाइन्छ !’

मादक पदार्थ सेवनपछि अराजकता बढ्ने र त्यसले सुरक्षा चुनौती भएकाले चाँडै बन्द गराउनु परेको प्रहरीको तर्क छ । इलाका प्रहरीका कार्यालय धरानका डिएसपी सुमन तिम्सिना बेलुका अधिक मादक पदार्थ सेवनले झगडा हुने लगायतका सुरक्षामा असर पर्ने गतिविधि हुने गरेकाले १० देखि ११ बजेभित्र बन्द गराउने गरेको बताए । 

‘यो प्रहरीको मात्र निर्णय हैन,’ डिएसपी तिम्सिनाले भने, ‘जिल्ला सुरक्षा समितिको समेत निर्देशन भएकाले बन्द गराएका हौं ।’

सेक्स र ड्रग्सले डिस्टर्ब
रात्रिकालीन मनोरञ्जन मौलाएसँगै देखिने समस्या सेक्स मार्केट र ड्रग्सको समस्या धरानमा पनि छ । भारतीय सीमाबाट सहजै भित्रिने लागू औषधको कुचक्रमा यहाँका केही युवा फँसेका छन् । विराटनगर र इटहरीतिरका लागू औषध कारोबारीसमेत धरान क्षेत्रमा सक्रिय देखिन्छन् ।

धरान, इटहरी र इनरुवा केन्द्रित लागू औषध प्रयोगकर्तासम्बन्धी सर्भेक्षणमा सुनसरी लागू औषध दुव्र्यसनमा पोखराभन्दा पनि अगाडि देखाएको थियो । सो राष्ट्रिय तथ्यांक विभागको सर्भेक्षणमा पहिलो जिल्लामा काठमाडौं देखिएको थियो भने दोस्रोमा सुनसरी, तेस्रोमा कास्की ।

आन्तरिक र वाह्य पर्यटकको संख्या बढेसँगै यौन मस्तीका लागि यौनकर्मीको खोजी शुरु भएपछि यौनधन्दासमेत मौलाउँदै गएको छ धरानमा । विशेष गरी भेडेटार र धरान घुम्न आउने भारतीय पर्यटक रात्रिकालीन मस्तीसँगै यौनसाथीको समेत खोजीमा हुँदा इटहरी र विराटनगरमा संगठित रुपमा यौन धन्दामा सक्रिय रहेकाहरुको प्रभाव धरानमा समेत देखिन थालेको छ । यसले रात्रिकालीन मनोरञ्जनमा अंकुश लगाउन चाहनेका लागि राम्रो बहानासमेत दिएको छ ।

सौन्दर्य प्रतियोगिताको केन्द्र
धरानमा भर्खरै मिस पूर्वाञ्चल प्रतियोगिता भयो । मिस नेपालपछिको प्रतिष्ठित प्रतियोगिता मानिने यो प्रतियोगिता नौ वर्षदेखि चल्दै आएको छ । यही वर्ष झापाकी पूजा श्रेष्ठ विजयी बनेकी छन् । मिस पूर्वाञ्चल मात्रै हैन, धरान अन्य सौन्दर्य प्रतियोगितामा समेत काठमाडौंपछि केन्द्र बन्दै आएको छ । यो वर्ष मिस प्रदेश वन, मिस प्लस टु र मिस एसइई आयोजना भइसकेको छ । म्युजिकल कन्सर्टको संख्या पनि बढ्दो छ । भारतीय गायक धमेन्द्र बर्मा मात्र होइन नेपालकै नेपथ्य, शिव लामिछानेको कन्सर्ट आयोजना भइसक्यो । 

लाहुरेले बनाएको शहर

धरान शहर १९५८ मा बसेको मानिन्छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले चन्द्रपुर बजार बसालेसँगै धरानको समेत जग बसेको मानिन्छ । विक्रम संवत् २०१० मा ब्रिटिस सरकारले धरानमा ब्रिटिस गोर्खा सैनिक कार्यालय खोलेपछि यो पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्र बन्यो ।

ब्रिटिसले गोर्खा सैनिक क्याम्प खोलेसँगै धरानमा लाहुर जाने क्रम बढ्यो । लाहुरेसँगै विदेशिने युवा पुस्ताले उताको सिको गर्दै धरानमा पनि मनोरञ्जनको माध्यमहरु भिœयाए । अवकासपछि धरान फर्किएका लाहुरेहरुले विदेशको अनुभवको आधारमा चिटिक्क परेको घर बनाउँदा धरान पूर्वकै व्यवस्थित सहरको रुपमा विकसित हुँदै गयो । 

यो सहर नेपालको फेसनमा नमुनै मानिन्थ्यो कुनैबेला । धरानबासी लाहुरे बनेर बेलायत, बु्रनाई, हङकङ पुग्न थाले । लाहुरे अभिभावकसँगै विभिन्न देश पुगेका युवापुस्ताले धरानमा फेसन भिœयाए । युरोपियन फेसन काठमाडौंमा आउनु अगाडि धरान भित्रिन्थ्यो कुनै समय ।

अहिले भने धरानमा लाहुरेको मात्र दबदबा छैन । १० वर्ष अगाडि बेलायतले गोर्खा सेनामा काम गरेकालाई आवासीय भिसा दिने निर्णय गरेसँगै धेरै लाहुरे र उनका परिवार बाहिरिए ।
 

Leave A Comment