सपनाको संसार

बिहिबार, २६ पुष २०७५, ०४ : ४७ उपेन्द्र खड्का
सपनाको संसार

निद्राका बारेमा केही भ्रम र केही वास्तविकता देखिन्छन् । २४ घण्टाको दिन र रात हुन्छ । किन दिन र रात बन्यो भन्ने ठ्याक्कै भन्न नसिकए पनि आरामका लागि नै रात बनेको हुनुपर्ने त्रि.वि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्रोफेसर डा.सरोजप्रसाद वझाको तर्क छ । राति भएपछि मानिसको मस्तिष्क केही हदसम्म डाउन हुन्छ । डा.वझाका अनुसार दिउँसोको तुलनामा रातिको समयमा मस्तिष्क निष्क्रिय हुन्छ । 

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर डा. इन्दुप्रसाद ढुंगेल पनि डा. वझाको तर्कमा सहमत देखिन्छन् । शरीरको विभिन्न अंगले आफ्नो निश्चित समयमा काम गर्ने बताउँछन्, डा. ढुंगेल । खाने समयमा खान खोज्ने, सुत्ने समयमा सुत्न खोज्ने किसिमको शरीरको फिजियोलोजी हुने उनले बताए । 
निद्रा पनि दैनिक जीवनको अभिन्न अंग हो । स्वस्थ हुनका लागि सामान्यतया दैनिक ६ देखि ८ घण्टा सुत्नु आवश्यक हुने चिकित्सकको तर्क छ । 

‘७५ वर्ष बाँच्ने व्यक्तिले २५ वर्ष सुतेरै बिताएको हुन्छ ।’ एक मिनेटमा १० देखि १५ पटक आँखा झिम्क्याइन्छ,’डा. ढुंगेल भन्छन्‘ ल्याक्रिमल ग्रन्थीले आँसु निकाल्छ, जसले आँखा झिम्क्याउँदा भिजाउन सहयोग गर्छ ।’

निद्राका दुई साइकल
चिकित्सकका अनुसार निद्राका दुई चरण हुन्छन्, ¥यापिड आइ मोमेन्ट (आरइएम) र नन् ¥यापिड आइ मोमेन्ट (एनआरइएम) । ¥यापिड मोमेन्ट भन्नाले निद्राको भर्खरै सुरुवाती चरण हो । यसै समयमा सपना आउँछ । यो हल्का निद्राको चरण हो । आरइएमपछि एनआरइएमको चरणमा पुगिने बताउँछन्, डा. वझा । 
चिकित्सक सामान्यतया देखिएका सबै सपनाको सम्झना नहुने बताउँछन् ।

सुतेको समयमा मस्तिष्कको सेरेब्रल कर्टेक्सको सेन्टरले धेरै काम गरेको हुँदैन । निष्क्रिय हुँदै जान्छ भने उठेको समयमा सेरेब्रल कर्टेक्सले काम गर्ने र एक्टिभ हुने बताउँछन्, डा. ढुंगेल । 

ढुंगेलका अनुसार इन्सिफालोग्रामले मस्तिष्कको अवस्था मापन गर्न सकिन्छ । सुरुमा सुत्दा आँखा हल्का बन्द हुने तर चल्दैन । ढुंगेलका अनुसार गहिरो निद्रामा आँखा चल्ने भए पनि थाहा हुँदैन । 

हल्का निद्राको चरण करिब २० मिनेटको हुन्छ । सुतेको २५ मिनेट पनि निद्रा लागेन भने अनिद्राको समस्या हुन सक्ने मनोविद् गोपाल ढकाल बताउँछन् । गहिरो निद्राको चरण करिब ७० मिनेटको हुन्छ । 
 ९० मिनेटमा निद्राको एक चरण पूरा हुन्छ । ९० मिनेटपछि व्यक्ति पुनः हल्का निद्रामा पुग्छ  र फेरी गहिरो निद्रामा पुग्छ । निद्रा आउने–हराउने भइरहन्छ । यसरी सुतुञ्जेल यो साइकल चलि रहने चिकित्सकको तर्क छ ।

सामान्यतयाः एक दिनमा निद्राको ४ देखि ६ साइकल पूरा हुन्छ । ढकाल पनि निद्राका सपना देख्ने चरण र नदेख्ने चरण गरी दुई प्रकारका हुने बताउँछन् । भर्खरै झुम्झुम गर्दै निदाउने चरणलाई निद्राको कुकुरे चरण भनिन्छ । त्यसपछि गहिरो निद्रामा  पुगिन्छ । 

सुतेको करिब ९० मिनेटमा सपनाको चरणमा पुग्ने बताउँछन्, ढकाल । यो साइकल चलिरहन्छ । ढकालका अनुसार सपना नदेखिकन गहिरो निद्रामा पुगिदैन । तर सपना देख्ने समय भने घटबढ भइरहन्छ । आठ घण्टा सुत्दा ३ देखि ७ वटासम्म सपना देखिने ढकाल बताउँछन् । 

५० प्रतिशत सपना पाँच मिनेटभित्र बिर्सन्छ भने ९० प्रतिशत सपना १० मिनेटमा बिर्सिन्छ । मनोविद् ढकालका अनुसार ब्यूँझिने समयको सपना भने सम्झना हुन्छ । 
व्यक्तिको जैविक घडी

हरेक व्यक्तिको बोयोलोजिकल जैविक घडी हुन्छ । जैविक घडी चले पनि स्वचालित (अटोमेटिक) प्रणाली हुन्छ । शरीरको स्वचालित घडीअनुसार शारीरिक अंगले काम गरेको हुन्छ । मुटु, कलेजोलगायतको अंग चलिरहेका हुन्छन् । जैविक घडी  पनि आराम चाहिन्छ । त्यसै कारणले स्वचालित रुपमा हर्मनको परिवर्तन हुन्छ । 

रातिको समयमा अँध्यारोमा मेलाटोनिन हर्मन बढ्छ, जुन हर्मन निद्रा र व्यक्तिलाई जवान देखिनका लागि आवश्यक हुने बताउँछन्, डा.वझा । उज्यालोमा मेलाटोनिन गौण हुन्छ । त्यसैले रातिको समयमा सुत्नु आवश्यक हुन्छ । उज्यालोमा मेलाटोनिन हर्मन निस्किँदैन । निद्रा कम हुन्छ । त्यसैले राम्रो निद्राका लागि अँध्यारोमा सुत्नु उपयुक्त हुने बताउँछन्, चिकित्सक । 
निद्राको असर

मानव जीवनलाई सहज रुपमा अगाडि बढाउनका लागि सुत्ने, खाने, बस्ने, हिँड्नेलगायतका नियमित जीवन चक्र जीउन उपयुक्त हुन्छ । डा. वझाका अनुसार निद्रा जीवनको आधारभूत आवश्यकता हो । निद्राको गडबढीले शारीरिक तथा मानसिक समस्या हुनुका साथै शरीर आलस्य हुने, अल्छि लाग्ने, शारीरिक तथा मानसिकरुपमा कमजोर भएको अनुभूति हुन्छ । दैनिक कार्यमा असर हुन्छ । 

निद्रा कम लाग्ने एउटा कारण इन्सोम्निया रोग पनि हो । तनावका कारण पनि निद्रा कम लाग्छ भने मनोवैज्ञानिक कारणले पनि निद्रा कम लाग्ने बताउँछन्, चिकित्सक । 

इन्जाइटी, डिप्रेसन, क्यान्सरजस्ता कारणले निद्रामा गडबढी हुन्छ । ढकालका अनुसार निद्राको गडबढीलाई उपचार गरेर सन्तुलनमा ल्याउन सकिन्छ ।

बाल्यावस्थामा १८÷२० घण्टा निदाउँदा पनि राम्रै मानिन्छ । वयस्कमा ६ देखि ८ घण्टा निदाउनु उपयुक्त हुन्छ भने उमेर बढ्दै गएपछि ७०÷८० को उमेरमा कम निद्रा भए पनि पुग्ने चिकित्सक बताउँछन् । बुढेसकालमा शरीरको सक्रियता पनि कम हुने भएकाले कम निदाउँदा पनि निद्रा पुग्छ । बच्चामा शारीरिक तथा मानसिक विकास तीब्र गतिमा हुने भएकाले बच्चाका लागि निद्रा धेरै आवश्यक हुने बताउँछन्, डा.वझा । स्वस्थ रहनका लागि ठिक समयमा सुत्ने र ठिक समयमा उठ्ने गर्नुपर्छ । 

कति सुत्ने ?
सामान्यतयाः जाडोको समयमा राति १० बजेदेखि बिहान ६ बजेसम्म सुत्नु उपयुक्त हुने डा.वझाको सुझाव छ ।
गहिरो निद्रामा नपर्दा फ्रेस हुँदैन । वयस्क व्यक्ति ७५ प्रतिशत गहिरो निद्रामा पर्नुपर्ने बताउँछन्, चिकित्सक । यदि आठ घण्टा सुतियो भने स्वस्थ व्यक्तिमा दुई घण्टा सपना देखिने बताउँछन्, ढकाल । चुरोट, रक्सीलगायतका मादक पदार्थ तथा लागूऔषध सेवन गर्नाले पनि डरलाग्दो सपना र निद्रामा गडबढी हुने र  व्यक्ति स्वस्थ नहुने बताउँछन्, चिकित्सक । 

डा. वझाका अनुसार निद्राको गडबढीका कारणले सपना बढी देखिन्छ । स्वस्थ व्यक्तिमा सपना कम देखिन्छ । ठ्याक्कै कुन समयको सपना सम्झिन्छ भनेर भन्न कठिन भए पनि हल्का निद्राको चरणमा प्रवेश गर्दै गरेको अवस्थाको सपना भने बढी सम्झिन्छ । 

दिउँसोको समयमा सामान्यतयाः पूरा ९० मिनेटको साइकल सुतिँदैन । त्यसैले दिउँसो सुत्दा देखेको सपना बढी याद हुने बताउँछन्,डा.वझा । जति अनुभव बढ्दै गयो सपना पनि त्यतिनै देखिँदै जाने चिकित्सकको तर्क छ ।

सपनालाई पनि निदाएको समयमा हुने मानिसको जीवनकारुपमा लिन्छन् मनोविद ढकाल । सपनाले पनि मनोवैज्ञानिक असर हुने बताउँछन् ढकाल । तर सपना पूरा हुुुने कुरामा ढकालको पनि सहमति छैन । सपना देखिए पनि व्यूँझिसकेपछि सपनाको अस्तित्व सकिने बताउँछन्,ढकाल । तर सपनालाई विभिन्न तरिकाले अर्थ्याइँदा सपनाले मनोवैज्ञानिक असर गर्ने मनोचिकित्सक बताउँछन् । 

पेन्ड्राइभ जस्तै मस्तिष्क
चिकित्सकका अनुसार पेन्ड्राइभमा स्टोर गरेजसरीनै जन्मेदेखि भएका गतिविधि मस्तिस्कमा स्टोर भएर रहेका हुन्छन् । जति गतिविधि भए पनि मस्तिस्क भरिँदैन । साना साना कुरा पनि मस्तिस्कमा रेकर्ड भएर बसेका हुन्छन् । सपना देखेको समयमा मस्तिस्क चल्ने भएकाले आफूले देखेका, भोगेका तथा कल्पना गरेको विषयवस्तुको दृश्य सपनामा आउने ढकाल बताउँछन् । 

पटकपटक डरलाग्दो सपना देखियो भने त्यसले व्यक्तिलाई मानसिक असर पर्न सक्छ । सपनालाई विभिन्न तरिकाले अथ्र्याउँदा सपनाले असर गर्न सक्ने बताउँछन्,चिकित्सक । सपनाको चरणमा ब्यूँझिदा सपना सम्झिन सक्छ । 

सपनाको असर
राम्रोसँग निदाउँदा शारीरिक तथा मानसिकरुपमा दिनभरि हाम्रो शरीर फ्रेस हुन्छ । निद्राको सामान्य साइकल पूरा भएको छ भने सपना सम्झना नहुने बताउँछन्,चिकित्सक । व्यक्तिका करिब ८० प्रतिशत मनका सोच तथा इच्छा दबिएर बसेका हुन्छन्, भने २० प्रतिशत भन्दा कम इच्छा बाहिर प्रस्फुटित हुने बताउँछन्,डा.वझा । सपना भन्नाले दबिएर बसेका सोच नै प्रस्फुटित हुनु हो । त्यसैले सपनाका बारेमा व्याख्या गर्नु त्यति जरुरी नहुने चिकित्सकको भनाइ छ । मनोविद् ढकाल पनि दमित इच्छा सपनाको माध्यमबाट पूरा हुने बताउँछन् । 

मनका तीन तह हुने बताउँछन्, ढकाल । चेतन (चेतनामा भएको), अवचेतन (अर्धचेत), अचेतन (पूरै अचेत)  ।  ढकालका अनुसार मनका दमित इच्छा अचेतन अवस्थामा पुगेर बसेका हुन्छन् र सपनाको माध्यमबाट बाहिर प्रस्फुटित भएपछि मनको इच्छा पूरा हुन्छ र मानसिक रोग लाग्नबाट बच्न सकिन्छ ।

सपनाको राम्रो तथा खराब असरको बारेमा व्याख्या गर्नु आवश्यक नहुने बताउँछन्,चिकित्सक । 
सपनाको आ–आफ्नो धर्म, सँस्कृति अनुसार व्याख्या हुने गरेको छ । वैज्ञानिक रुपमा भने वास्तविक जीवनमा सपनाको नकारात्मक असर नदेखिएको बताउँछन्,डा.वझा । 

धार्मिक तथा साँस्कृतिक मान्यताअनुुसार राम्रो र नराम्रो संकेत सपनाको माध्यमबाट हुने बताउँछन्,वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनाल । विहानी पख उठ्ने समयमा देखिएका सपना बढी प्रभावकारी हुने बताउँछन्,डा. खनाल । खनाल पनि मनमा घुमेका तथा कल्पना गरेका कुरानै सपनामा आउने बताउँछन् । 

ऐठन
गहिरो निद्रामा प्रवेश गरेपछि रक्तचाप, श्वास प्रश्वासको गति पनि शिथिल हुँदै जाने बताउँछन्, ढकाल । ढकालका अनुसार सपनाको चरणमा भने नारीको धड्कन्, मुटुको धड्कन, श्वासप्रश्वासको गति बढ्छ । सपना देखेको समयमा शरीरको गतिविधि बढ्छ । 

सपनाको चरणमा मस्तिष्क ब्युझिएजक्तिकै सक्रिय हुन्छ भने शरीर शिथिल तथा निष्क्रिय हुन्छ । हात खुट्टा चल्दैनन् । सपना देख्दै गर्दा आत्तिएर उठ्यो भने शरीर सिथिल हुनाले चल्दैन जसलाई ऐठन भनिन्छ । एक्कासि ब्युझिँदा मस्तिष्कले शरीर नियन्त्रण गर्न नसक्ने भएकाले श्वास फेर्न गाह्रो हुने, चिट चिट पसिना आउनेजस्ता समस्या हुन्छन् । 

गहिरो निद्रामा व्यक्ति शारीरिक तथा मानसिकरुपमा शिथिल हुन्छ । तर कहिलेकाहीँ मस्तिष्कको सन्देश शरीरमा प्रवाह हुने कारणले अनायासै शरीर चल्न थाल्छ । यस्तोे अवस्थामा निदाएको समयमा बोल्ने, हातखुट्टा चलाउने, हिँड्ने लगायतका गतिविधि गर्ने बताउँछन्, मनोविद् ढकाल । 
 

Leave A Comment