दिन फिर्दै सिरियलको

बिहिबार, २६ पुष २०७५, ०४ : ५३ भोला अधिकारी
दिन फिर्दै सिरियलको

हास्य सिरियलको बोलवाला बढिरहेको बेला केही पारिवारिक सिरियललाई दर्शकले रुचाएका छन् । अधिकांश टेलिभिजनमा दिनकै हास्यरसका टेलिफिल्म प्रसारण हुने गरेकोमा केही च्यानलले भने पारिवारिक सिरियललाई समेत स्थान दिएका छन् । केही सिरियललाई दर्शकले रुचाएका पनि छन् ।

रुचाइँदै ‘डियर जिन्दगी’
मेघा सिरियल ‘डियर जिन्दगी’ नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । कि इन्टरटेनमेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलमा जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । सिरियल पूर्ण पारिवारिक कथामा आधारित रहने सिरियलका प्रोड्युसर रघुनाथ सापकोटाले  बताए । 
‘नेपाली सिरियल हास्यव्यङ्ग मात्र भएकोले हामीले पारिवारिक सिरियल दर्शकमाझ पस्केका छौँ,’ उनले भने, ‘प्रतिक्रिया राम्रो आइरहेको छ ।’

सिरियलमा सुनिल थापा, श्रेया कार्की, शुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।

‘माया भन्ने चिज यस्तै छ’  मा युवा भाव
एपिवानबाटै अर्को लभ स्टोरी सिरियल ‘माया भन्ने चिज यस्तै छ’  प्रसारण भइरहेको छ । युवापुस्तामा देखिएको प्रेमको सेरोफेरो समेटेर तयार पारेको यस सिरियलमा रेसिका उदास, विनयराज पोख्रेल, निरक बम, विशाल पाण्डे, मनोज थापा मगर, प्रशान्ति पौडेल, सीमा अधिकारी, कविता सिग्देल ओस्ती, शिक्षा न्यौपाने, गौरव बिष्ट, सन्देश शाक्यलगायतको अभिनय हेर्न सकिन्छ । 

बन्द भो ‘शंका आशंका’ 
कमेडी सिरियल मौलाइरहेको बेला पारिवारिक टेलिसिरियल टिक्न सकेको छैन । यस्तै एपिवानबाट प्रसारण हुँदै आएको पारिवारिक सिरियल ‘शंका आशंका’ ७ भाग नपुग्दै बन्द भएको छ । दर्शकको मन जित्दै गरेको यस सिरियल एकाएक बन्द भएको हो । 

पवन केसीले निर्देशन गर्दै आएको यो सिरियल ५२ भागसम्म लैजाने तयारी भए पनि बीचैमा बन्द भयो । अहिले सिरियलको पुरानै भाग प्रसारण भइरहेको छ । 


 

Leave A Comment