राज थापा चल्तीका कलाकार हुन् । धरानको पहिलो नाट्य समूह ‘अनाम नाट्य जमात’ का संस्थापक, समेत रहेका उनी २०४० सालमा रंगमञ्चमा छिरेर अहिलेसम्म निरन्तर रमाइरहेका छन् । अभिनयमा पोख्त राजले फिल्म लेखन, निर्देशन मात्रै होइन गीत गाउने र लेख्ने पनि गर्छन् । राजसँग मनोज घर्तीमगरले गरेको कुराकानी ।
कसैले सुनाएको थियो, राज थापा कलासँग जोडिएका जम्मै काम गर्न तयार हुन्छ । यो कति सत्य हो ?
मेरो पेशा कलाकारिता हो । कलाकारिताभित्र के–के पर्छन् म सबै गर्छु । फिल्म कथा लेख्छु, स्कृप्ट बनाउँछु । गीत पनि गाउँछु । अभिनयको प्रशिक्षण पनि दिन्छु । निर्देशन पनि गर्छु । डबिङ गर्छु । कास्टिङ डाइरेक्टर पनि भइजान्छु ।
बडो गजबको क्षमता रहेछ । तपाईंंलाई के भनेर चिन्ने ?
मलाई जसरी चिने पनि हुन्छ । मूलतः म रंगकर्मी हुँ । त्यसमा सबै चिज पर्छन् ।
कलाकारिता कसरी सुरु भयो ?
मैले भारतमा अध्ययन गरेको हुँ । भारतको त्रिपुरामा बंगला स्कुलमा ३÷४ कक्षामा पढ्दा कलामा मन गयो । बंगाली सरहरुले जुन कार्यक्रममा पनि नृत्यमा हाल्थे । उनीहरुले नै स्वर राम्रो छ भनेर गायनमा पनि राखिदिन्थे । स्कुलको कार्यक्रममा नाटक हुन थाले । अलिक ठूलो भएपछि यसले गायन पनि गर्छ, नृत्य पनि गर्छ नाटकमा पनि हालौं भनेपछि यतातिर लागे ।
बंगालमा जन्मेको मान्छे कसरी नेपाल आइपुग्नु भयो ?
मेरा बुबा लालबहादुर मगर, लाहुरे । १५ वर्षको उमेरमा बागलुङ नौतुना हुँदै कुनाघाटमा गएर भर्ती जानु भएको रहेछ । भारत र बेलायत छुटाउँदा बुबाको पल्टन भारतमै प¥यो । त्यसपछि बाबाले झापाको दमक नजिकै जग्गा किन्नु भएको रहेछ । आमा र बहिनी सिक्किमबाट झापा आउनुभएको थियो । म नेपाल खासै नआउने । बंगालबाट सिक्किम फर्के। त्यसपछि मुम्बईतिर जान्छु भन्ने लाग्यो । मुम्बई जाने भनेर घरबाट निस्किएँ । तर, कुन्नी किन हो मुम्बई जाने भनेको मान्छे म ठेगाना खोज्दै झापा पो आएँ ।
झापा आएपछि के गर्नुभयो ?
त्यतिबेला दमक यस्तो उजाड थियो कि भन्न पनि लाज लाग्छ । ग्यासलाइट र लालटिन बालेर साँझको बेला सहर चल्थ्यो । म कलकत्ता खाइसकेको मान्छे । यहाँ आउँदा सकस भयो । आएको हप्ता दिनमै भागेर सिलिगढी गएर बसेँ । फेरि आमा आउनुभयो र फकाएर झापा ल्याउनुभो ।
त्यसपछि कलाकारिता सुरु भयो त ?
कहाँ पाएर हुनु ? त्यतिबेला दार्जिलिङ, सिक्किमका मान्छेलाई अंग्रेजी पढाउन छिट्टै जागिर पाइहाल्थ्यो । म पनि २०४० सालमा मास्टर भएँ । मास्टरी गर्दा ५ कक्षासम्म पढाउँथे । पढाउने कामले तानेको थिएन । कलाकारिताको भोक हराएको थिएन । गीत गाउने सांगीतिक समूह खोलेँ । एउटा कार्यक्रममा सहभागी हुँदा सरस्वती सुब्बासँग भेट भो । उनी नृत्याङ्गना थिइन् । धरानमा नाटकमा काम गर्ने दाजुभाइहरु छन् म चिनाइदिन्छु भनेपछि २०४२ सालमा धरान आएँ । प्रेम सुब्बा, राजकुमार मादेन, केवल सुब्बालगायतसँग भेट भो । उनीहरुले ‘विवश आकाश’ भन्ने नाटक गर्दै रहेछन् । धरानमा त्यही नाटकमार्फत कलाकारितासँग जोडिने मौका पाएँ ।
नाटकमा कसरी इन्ट्रि मार्नु भयो ?
बंगालमा नाटक गरेको भनेपछि सबैले चासो देखाए । नाटकमा मलाई मुख्य रोल दिए । नेपालीमा म अलि कमजोर थिएँ । भाषा मिलेन । अंग्रेजी, हिन्दी, नेपाली सबै मिसाएर बोल्दो रहेछु । यो त हुँदैन भनेर तनाव गराए । तर, मैले प्रयास गरिरहेँ । यति सम्म कि लाटी र लाठी छुटाउन नसक्ने थिएँ । मलाई हुँदैन नै भने । निर्देशक राजकुमार मादेन हुनुहुन्थ्यो । निर्देशकले प्रयास गरेपछि हुन्छ भनेपछि मैले बेसरी मिहिनेत गरेँ । दुई महिना रिहर्सल गरेपछि मुख्य पात्र पक्का भयो ।
मास्टरी छाडेर गरेको नाटकले गुजारा चल्थ्यो त ?
खान बस्न पुगेजस्तो लाग्छ । खानका लागि क्यान्टिनमा भनेको थिएँ । सैनिक भवनमा सुत्थे । मेरो बस्ने टुंगो थिएन । डेरा पनि थिएन । नाटक सुपरहिट भयो । पुनः प्रदर्शन गर्न थालेपछि हामीसँग नविन सुब्बा जोडिन आइपुगे । उनी ताप्लेजुङबाट पढ्न आएका रहेछन् । उनले अभिनय गर्छु भनेर आएका थिए । तर, अभिनय गरेनन् । प्रोडक्सनको जिम्मा लिए । त्यसपछि नविन र म रुम पार्टनर भएर बस्यौं ।
काठमाडौंमा कलाकारिताका लागि के–के गर्नुभयो ?
नाट्य जगतमा चिनिएपछि भिडियो फिल्म खेल्नतिर लागेँ । भर्खरै सुरु भएकाले ‘प्रतिक्षा’, ‘तपस्या’ लगायतका फिल्म खेलेँ । पहिलो ठूलो फिल्म ‘तपस्या’ थियो । फिल्मले खासै पैसा दिन्थेन । धेरै काम भने नाटकमै गरियो । ‘बहादुर’, ‘अंशबण्डा’, ‘खुकुरी’, त्यसपछि तरेवा नामको लिम्बु फिल्म गरेँ । त्यो पहिलो टेलिचलचित्र थियो । लगत्तै नुमाफुङमा काम गरियो ।
आजभोलि के–के गर्नु हुन्छ ?
नाटक लेख्ने, फिल्म लेख्ने,सबै काम गरिरहेको छु । कहिले प्रशिक्षण दिने, काष्टिङ डाइरेक्टर, प्रोडक्सन डाइरेक्टरका रुपमा पनि काम गर्छु । जीविकोपार्जनका लागि सबै गर्नुपर्ने रहेछ ।
तपाईंले काम गरेका मध्ये सबैभन्दा राम्रो र सम्झन सकिने फिल्म, नाटकका नाम सुनाउनुहोस् न ?
नाटक त कति गरियो कति ? सेलेक्टेडबाहेक नाम सम्झनै कठिन हुन्छ । नाटकमा ‘पिंजडा’, ‘अविरल बग्दछ इन्द्रावती’, ‘चरणदास चोर’, ‘जातै सोध्नु जोगीको’, ‘खोल’, ‘जंगे पिलर’, ‘कोर्ट मार्सल’, ‘सिंहदरबार’, ‘जुकाको अदालत’ थुप्रै खेलियो । फिल्ममा सायद, ‘टलकजंग भर्सेज टुल्के’, ‘शब्द’, ‘रैंया’ँ, ‘दोख’, ‘शिरफुल, ‘ऐना’ ‘झ्यालको पुतली’, ‘बहादुर’, ‘अंशबण्डा’, ‘खुकुरी, लगायतमा काम गरेँ ।
Leave A Comment