डिभोर्सको तमासा

शुक्रबार, २७ पुष २०७५, ०५ : १८ अनिल यादव
डिभोर्सको तमासा

उत्सवबाट शुरु हुने वैवाहिक सम्बन्ध तमासा बनाएर टुंग्याउन कस्ले चाहला र ! जीवन हो, सधैँ चाहेकै मात्र कहाँ हुन्छ ? हुन्थ्यो भने त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र ईशा श्रेष्ठ (लामिछाने) बीच शुरु भएको वैवाहिक यात्रा २४ वर्षपछि किन यसरी तमासा बनेर टुंगिन्थ्यो र ! तर भइदियो ।

अमेरिकामा रहेकी ईशा नेपाल आएर मंसिर ९ मा रविसँग छोडपत्र गरेर उतै फर्किइन् । रवि यतै छन् । छोडपत्र भएको करिब डेढ महिनापछि एकाएक दुवैको सम्बन्धका तीता क्षणहरु बजारमा छाताछुल्ल भए । ईशाले ‘चौथो श्रीमतीका लागि शुभकामना’ दिँदा रविले ‘श्रीमतीको प्रेमी गनेर बस्न नसकेको’ तीतो प्रतिक्रिया फेसबुकमार्फत् सार्वजनिक गरेर व्यक्तिगत जीवनलाई तमासा बनाए ।

ईशा सामाजिक सञ्जालमा मौन छिन्, केही अनलाइन मिडियामा भने सक्रिय । रवि सामाजिक सञ्जाल फेसबुकसँगै अनलाइन मिडिया र आफ्नो कार्यक्रममा व्यक्तिगत सम्बन्धबारे सक्रिय भइरहे । आफूबारे आफैँ टिप्पणी गरिरहे । 

जब श्रीमतीको अफेयर्सबारे ‘स्क्रिन सट’सहितको अपाच्य प्रतिक्रिया सार्वजनिक गरे, उनका लागि ‘ब्याक फायर’ भयो । केही घण्टापछि आफ्नो प्रतिक्रिया डिलिट गरेर दोस्रो दिन ‘भो अब बोल्दिनँ’ भनेका उनी त्यसपछि भने सञ्जालमा निस्क्रिय छन्, आफ्ना बारेमा ।

‘नेपाली समाजमा डिभोर्स अझै सहज विषय भइसकेको छैन,’ समाजशास्त्री प्रा.डा. मीना उप्रेती भन्छिन्, ‘त्यसमाथि जोडीहरु डिभोर्सलगत्तै तनावमा गएर आफ्नो सम्बन्ध आफैँ छताछुल्ल पार्न थाले भने समस्या हुन्छ । दुनियाँलाई रमिता हुन्छ । श्रीमान्÷श्रीमती स्वतन्त्र हुन पाउँछन् तर कसैको चरित्रमाथि धावा बोल्नु उचित हैन ।’
 
विवेकलाई आवेगले जित्दा
‘सिधा कुरा जनतासँग’ टिभी कार्यक्रममा रविको वाक् शैली र शब्द चयनबारे बेलाबखतमा आलोचना भए पनि उनी सधैँ चर्चामा रहने गरेका छन् । कार्यक्रममार्फत् उनले केही उदाहरणीय काम पनि गरेकै हुन् । 
अमेरिकी नागरिक भए पनि नेपालमा श्रम स्वीकृति नलिई काम गरेको विवादमा तानिए पनि माहोल उनकै पक्षमा जाँदा त्यत्ति ड्यामेज भएन उनको छवि । अमेरिकी नागरिकता त्यागेर यतै टेलिभिजन कार्यक्रममार्फत् इस्यु ब्रेकमा सक्रिय भइरहे ।

एकाएक शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनी आफैँले विवादित पारिवारिक अवस्थाको सूचना ब्रेक गरेर सबैलाई चकित पारिदिए ।

शुक्रबार बिहान ९ः१३ मा लामिछानेले आफ्नै फेसबुकमा ‘श्रीमान् म ज्युँदै छु’ शीर्षकमा लामो स्टाटस लेख्दै आफ्ना निजी सम्बन्धका विवादित पाटा आफैँ खुलासा गरे । 
उनी यता जम्दै गर्दा ‘अमेरिकामा पारिवारिक लफडाका कारण नेपाल आएको’ गाईगुई नसुनिएको हैन तर व्यक्तिगत जीवनबारे कमैले चासो देखाएका थिए । 

उनले शुक्रबार भाताभुङ्ग भएको वैवाहिक जीवनको समापन, अमेरिकामा छँदा श्रीमतीसँग सम्बन्धविच्छेदै नगरी विदेशी महिलासँग लिभिङ टुगेदरमा बस्दा छोरा भएको लगायतका विवादित तथ्य खुलाएर छक्क पारे ।

आफ्नो निजी जीवनको सूचना बिना प्रसंग ब्रेक गर्नुको कारण देखियो उनको वैवाहिक र निजी जीवनबारे आउन लागेको समाचार । सामग्री आएर आलोचना शुरु भएपछि प्रस्टीकरण दिनुभन्दा त्यस्तो सामग्री प्रकाशन हुनुअगाडि नै आफ्ना बारेका नितान्त गोपनीय कुरा आफैँले ब्रेक गरे र शुभचिन्तकमाझ आफ्नो विवादित पृष्ठभूमि पस्किए ।

‘वर्षौंसम्म मतभेद, अलग बसाइ र बोलचालसमेत नभएपछि राजीखुशीले आफ्ना सबै अधिकार लिएर मसँग सम्बन्ध विच्छेद गरेकी पूर्वपत्नीले आफू मबाट अन्यायमा परेको र मेरा कर्तुत सर्वजनिक गर्नुप¥यो भनेर केही पत्रकारलाई सम्झिछन्,’ उनले फेसबुकमा यसरी लेखे, ‘लगभग २४ वर्षअघि भएको विवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनसाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रायोजित हो त्यो म जन्दिनँ तर कसैकसैले ‘रविको कर्तुत’ वा ‘रविको असली रुप’जस्ता शीर्षक ‘रेडी टु पब्लिस’ अवस्थामा राखेको थाहा पाएकाले उहाँहरु सबैको काम सजिलो पार्दै म आफैँ आफ्ना कर्तुतहरु कबुल गर्दैछु ।’  

उनले अमेरिकामा रहँदा श्रीमती हुँदाहुँदै विवाहेत्तर सम्बन्धबाट छोरा भएको, श्रीमतीसँग १० वर्षदेखि अलग रहेको लगायतका नितान्त निजी जानकारी राख्दै स्वीकारसमेत गरेका छन् । 

भावनाले भरिएको उनको पोस्टबारे सञ्जालमा पक्ष–विपक्षमा तर्क र बहस चलिरहँदा त्यही दिन उनले घोषणा गरेझैँ केही अनलाइन न्युज पोर्टलमा उनकी पूर्वपत्नी ईशालाई उद्धृत गरिएको न्युज आउन थाल्यो । 
‘नमस्कार म ईशा लामिछाने, रवि लामिछानेकी पूर्वपत्नी’

प्रायःको प्रारम्भ यही वाक्यबाट भएको थियो । समाचारअनुसार च्याटबाट कुराकानी भएको थियो । समाचार प्रकाशन गर्ने सबै अनलाइनको सामग्री एकै थियो । पूर्व तयारी गरिएको समाचार या कपी पेस्टमा मात्र यस्तो हुने गर्छ । रविको दाबीअनुसार यो समाचारको स्रोत रेडिमेड समाचार बढी देखियो ।
समाचारमा ‘नेपाल आएर डिभोर्स गरेको तर सो डिभोर्स झुक्याएर र दबाब दिएर गराएको’ उल्लेख गरिएकाले धेरैको ध्यान तान्यो ।

समाचार सार्वजनिक हुनुभन्दा अगाडि रविले आफ्नो फेसबुक पेजमा जे जस्ता सामग्री आउन लागेको दाबी गरेका थिए, समाचारका विषयवस्तु उस्तै थिए ।

‘मसँग हुँदा पनि उसले अरु दुई जना युवती राखेको थियो । एक जना अमेरिकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ,’ ईशाको भनाइ दाबी गर्दै दैनिकीडटकमले पोस्ट गरेको समाचारमा उल्लेख छ ।

समाचार सार्वजनिक भएसँगै पक्षविपक्षमा सामाजिक सञ्जालमा बहस चलिरहेकै बेला अनलाइनखबरमा रविसँगको कुराकानीमा आधारित सामग्री प्रकाशित भयो, जसमा उनी फेसबुकमा प्रेषित सामग्री भन्दा बढी आक्रोशित देखिएका थिए । 

उनले  पूर्वपत्नीलाई ‘डिप्रेसनको रोगी’ भने
कुराकानीमा उनले ईशाबारे भनेका छन्, ‘उनी पहिलेदेखि नै औषधी खान्थिन् । डिप्रेसनका रोगीहरु एकदम हठी र कुरै नबुझ्ने हुँदारहेछन् । अहिले पनि उनी यो रोगबाट मुक्त भएकी छैनन् ।’ 

१९ वर्षको उमेरमा ईशासँग प्रेम विवाह गरेका उनले अमेरिका जानुअघिदेखि नै श्रीमतीसँग खटपट सुरु भएको अनलाइनसँग खुलाए । 

‘म भने परिवारका लागि दिनरात मिहिनेत गरिरहेको हुन्थेँ, उनी चाहिँ मेरो विषयमा अनेक शंका गर्थिन्,’ अनलाइनखबरसँगको कुराकानीमा उनले ईशालाई दोष दिँदै भनेका छन्, ‘अमेरिका आएपछि पनि हाम्रो सम्बन्ध सुध्रिएन । हामी एउटै ओछ्यानमा सुते पनि श्रीमान्–श्रीमती जसरी सुत्न सकेनौँ । म सधैँ देब्रे कोल्टो फर्केर सुत्थेँ र रातभरि त्यही पोजिसनमा निदाउँथेँ । अहिलेसम्म पनि मेरो देब्रे कोल्टो फर्केर सुत्ने बानी हटेको छैन ।’

डिभोर्ससँगै आफूसँग रहेको नेपाल र अमेरिकाको सबै सम्पत्ति ईशाको नाम गरिदिएका उनले लाजिम्पाटमा रहेको अपार्टमेन्ट, अमेरिकामा रहेको घर, छोरीहरुको आर्थिक दायित्व पनि वहन गर्ने जिम्मेवारी उठाएको बताउँदै सबै सम्पत्ति दिनुको कारण पूर्वश्रीमती ईशाको ब्ल्याकमेलिङ रहेको दाबी गरे ।

‘उनले मलाई मेरो निजी कुराहरु बाहिर ल्याइदिन्छु र तँलाई दुनियाँका अगाडि नंग्याइदिन्छु भनेर बारम्बार ब्ल्याकमेलिङ गर्दै आइन् । आफ्नो सबै शर्त नमान्दासम्म डिभोर्स गर्न तयार नै भइनन् । त्यसैले आफ्नो लागि बोझ बनिरहेको सम्बन्ध बिसाउनका लागि असमान सम्झौता गर्न बाध्य भएँ,’ उनले अनलाइनसँग भनेका छन् । 

उनको यो दाबीले ईशा सकेसम्म डिभोर्स नगर्ने तर उनी जुनसुकै सर्तमा भए पनि डिभोर्स गर्ने मुडमा रहेको देखायो । 

पहिलो फेसबुक पोस्टमा उनले ‘जीवनको पहिलो र अन्तिम स्तरहीन टिप्प्णी’ उल्लेख गरेका थिए । तर यो क्रम बेलुका न्युज २४ बाट प्रशारण हुने आफ्नै कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा पनि जारी राखे र आफ्नो डिभोर्स र आफ्नो विगतबारे झण्डै पाँच मिनेट प्रस्टीकरण दिए । 

केहीले ‘पूर्व श्रीमतीसँग सिधा कुरा गर्नुप¥यो’ भन्दै खिस्याए, कतिले विगतको कामले वर्तमानमा प्रभाव नपारोस् भन्ने कामना गरे । रवि प्रस्टीकरणमा सक्रिय भइरहँदा उनकी पूर्वपत्नी भने सामाजिक सञ्जालमा निस्क्रिय थिइन् ।

तर त्यो निस्क्रियता आँधी आउनु अगाडिको सन्नाटा पो रहेछ ! पुस २२ मा ईशाले अनलाइनखबरमार्फत् रविमाथि प्रहार गरिन् । कुराकानीमा आधारित सो सामग्रीमा उनले थप महिलाहरुसँगको सम्बन्धका फेहरिस्तहरु सार्वजनिक गरिन् ।

रविलाई चौथो सम्बन्धको सफलताको शुभकामना दिँदै उनले आफूले डिप्रेसनको औषधी खानुपछाडि पनि रवि नै कारक रहेको दाबी गर्दै भनिन्, ‘सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुप¥यो तर म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमान्ले बाहिर १० जनासित सम्बन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।’ 

मिडियामा बोल्नुको कारण रविको अन्तर्वार्ता र उनका प्रशंसकहरुको गालीगलौज रहेको खुलाउँदै उनले रविको चरित्रमाथि प्रहार गरिन्, ‘ मैले विभिन्न व्यक्तिहरुका मुखबाट रविजीको अमेरिकामा एकजना विवाहित नेपाली महिलासित अफेयर चलिरहेको भन्ने गाइँगुइँ सुन्न थालेँ । सुरुमा त हल्ला मात्रै होला भनेर त्यति ध्यान दिइनँ तर हल्ला बाक्लो हुँदै गयो । मेरो परिवार र आफन्तहरुको कानमा समेत यो कुरा प¥यो । जसले पनि यही कुरा सोध्न थाले, ‘के हो, तिम्रो बूढा त अमेरिकामा अर्कैसित बस्छ रे नि ?’ 

ईशाको सामग्री प्रकाशित भएको केही घण्टापछि रविको फेसबुकमा उनले पूर्व श्रीमतीको चरित्रबारे विष्फोटक सामग्री राखे । अब बोल्दिनँ भनेका रवि उत्तेजित हुँदै निजी सामग्री सञ्जालमा राख्दै गए ।
‘इज्जत लिलाम गर्ने मनसाय नहुँदानहुँदै पनि अप्रिय र अपाच्य सामग्री सार्वजनिक गर्नुप¥यो भन्दै उनले कुनै एक युवकसँग पूर्व श्रीमती ईशाको च्याट सहितको तस्बिर सार्वजनिक गरे जसमा ईशालाई केटाले ‘आइलभयु’ लेखेका थिए । 

‘हिलो छ्यापाछ्याप गर्ने मनशाय मेरो थिएन,’ उनले उक्त पोस्टमा लेखेका थिए, ‘मैले पनि बारम्बर श्रीमतीका प्रेमीहरु गनेर बस्न चाहिनँ । अर्का विदेशी महानुभावलाई घरमै बोलाएर हात जोडेर मेरी श्रीमतीलाई छोडिदेऊ भनेर छोरीहरुकै अगाडि बिन्ती बिसाएको कुरा छोरीहरुले धर्म नछोडी सम्झिऊन् ।’ 

ब्याक फायर कदम
रवि र ईशाबारे आएका सामग्रीबारे सञ्जालमा एक मत बन्न सकेको थिएन । बन्ने कुरा पनि भएन । पक्ष विपक्षमा बहस जारी थियो । बहसमा रविको शुभचिन्तक हावी थिए । ‘कानुनी रुपमा डिभोर्स गरेको विषय यसरी उछाल्न आवश्यक छैन,’ उनीहरुले तर्क गरिरहे ।

तर पूर्व श्रीमतीको चरित्रमाथि सिधै प्रहार गर्दै राखिएको पोस्टले माहोल रविको विपक्षमा गयो । एकले अर्कालाई हिलो छ्यापाछ्याप गर्ने क्रम जारी भए पनि दुई छोरी सँगै रहेकी पूर्वश्रीमतीबारे उनले राखेको आक्रोशित धारणा उनकै प्रशंसकहरुले पनि रुचाएनन् । केही समयपछि सायद रविलाई पनि यो बोध भयो होला, उनले सो पोस्ट डिलेट गरे । 

‘दुनियालाई त रमिता हुन्छ, हुन्छ तर सन्तानलाई छुट्टिएका आमाबाबुको यस्तो गतिविधिले नराम्रो असर पर्छ,’ समाजशास्त्री डा. मीना उप्रेतीले भनिन्, ‘श्रीमान्–श्रीमतीलाई त एकअर्काको राम्रो÷नराम्रो थाहा भइहाल्छ तर डिभोर्सपछि त्यस्तो सार्वजनिक गर्दै हिँड्नु इथिकल होइन ।’ 

भोलिपल्ट फेसबुक हेर्दा रविको स्क्रिन सट समावेश स्टाटस डिलिट भइसकेको थियो । 
यो आरोप प्रत्यारोपकै क्रममा केही नयाँ तर्क र दाबी आएपछि यसबारे प्रस्ट हुन शुक्रवारकर्मीले उनलाई सम्पर्क गर्दा बोल्ने मुडमा देखिएनन् । लामो प्रयासपछि फोन उठ्यो र भने, ‘अब केही बोल्दिनँ । यसलाई यहीँ रोकौँ ।’ 

यस बीचमा सोमबार रविको फेसबुकमा नयाँ पोस्ट आयो जसमा ‘व्यक्तिगत विषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने’ उल्लेख छ ।

त्यसयता व्यक्तिगत सम्बन्धबारे रविको फेसबुकमा थप पोस्ट आएका छैनन् । पूर्व श्रीमती सञ्जालमा निस्क्रिय नै छिन् । अनलाइनमा पनि उनलाई उद्धृत गर्दै थप सामग्री आएका छैनन् ।

तमासामा निकिताको प्रवेश
डिभोर्स पछिको रवि र ईशाको लफडा उनीहरुबीच मात्रै समेटिएन । यसमा तानिइन्, नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल पनि । ईशाले भनेको दाबी गरिएको पहिलो सामग्रीमा निकिताको नामै उल्लेख गरेर लेखिएको थियो, ‘मसँग डिभोर्स गरेकै बेला निकिता पौडेलसँग इन्गेजमेन्ट गरेको छ । सायद अब केही दिनमा बिहे गर्छ होला !’

ईशासँगको कुराकानीमा आधारित अनलाइनखबरको सामग्रीमा उनले कसैको नाम लिएकी छैनन् । एक डिभोर्सी महिला भनेकी छन् । उनले संकेत गरेकी महिला निकिता हुन् भन्ने देखिन्छ ।
निकिता डिर्भोसी हुन् । उनको एक सन्तान पूर्वपतिसँगै छन् ।

केही स्रोतले उनीहरु करिब १० महिनादेखि एकै अपार्टमेन्टमा ‘लिभ इन रिलेसनसिप’मा रहेकोसम्म दाबी गरे । निकिताको दबाबमा डिभोर्स भएको भन्नेसम्मका सूचना आए । 
हो त ?

लिभिङ टुगेदरको पुष्ट्याइँका लागि निकितासँग सम्पर्क गर्दा उनले केही बोल्न चाहिनन् । 
‘यो मेरो व्यक्तिगत मामिला हो,’ उनले भनिन्, ‘म आफ्नै घरमा परिवारसहित बस्छु । म एउटी एकल महिलाको निजी जीवनको सम्मान गर्न हजुरलाई अनुरोध गर्छु । महिलाप्रति सम्मान राखिदिन फेरि पनि विनम्र अनुरोध गर्छु ’ उनले सन्देश पठाइन् । 

यी दुवैको सम्बन्धबारे ईशाको दाबी सार्वजनिक भएको दिन मेरोफिल्मडटकमले रवि र निकितासँग दुवैको सम्बन्धबारे कुरा गरेर सामग्री प्रकाशित गरेको थियो, जसमा दुवैले आफूहरु राम्रो साथी भएको स्वीकारेका थिए । 

‘उहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो,’ निकितालाई कोट गर्दै मेरोफिल्मले लेखेको छ, ‘अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ । हाम्रो राम्रोसँग चिनजान भएको भर्खरै १–२ महिना मात्र भयो होला । पहिला पत्रकार रवि लामिछाने भनेर चिन्थेँ, अहिले हामी राम्रो साथी हौँ ।’ 

‘निकिताजी र म राम्रो साथी हौँ,’ मेरोफिल्ममा रविको भनाइ छ, ‘हामी निकै नजिक छौँ । बिहे नै भएको भन्ने कुरा त कि निकिताजी ले भन्नु पर्यो कि मैले । हामी दुवैले भनेका छैनौँ । मलाई चाहनेहरु, मेरो शुभचिन्तकहरुको ध्यान डाइभर्ट गर्नका लागि नियोजित ढंगबाट ती समाचारहरु आएका हुन् । बिहे नै गर्ने हो भने भनेरै गर्छौँ । लुकाउन आवश्यक केही छैन ।’
यी दुवैको सम्बन्ध के हो त ?

शुक्रवारकर्मी रिपोर्टिङका क्रममा काठमाडौंको मित्रपार्कस्थित अम्बे अपार्टमेन्ट पुग्दा रवि र निकिताको निकटताबारे अपार्टमेन्टका धेरै जानकार भेटिए । केहीले यी दुवै १० महिनादेखि ‘लिभ इन टुगेदर’मा रहेको दाबी गरे । यो रिपोर्ट तयार पार्दासम्म उनी भाडामा बस्दै आएको सो अपार्टमेन्टको तेस्रो तल्ला अझै नछाडेको पाइयो । ‘उनी त्यहाँ नबसे पनि भाडा तिरिरहेका छन्,’ स्रोतले भन्यो, ‘आउँदो १ माघदेखि छाड्ने कुरा छ ।’

निकिता भने सोही अपार्टमेन्टको दुई नम्बर ब्लकको छैटौँ तल्लामा बस्छिन् । उनी बस्ने अपार्टमेन्ट श्रेष्ठ टेलरिङका सञ्चालकको हो । करिब एक वर्ष चार महिनादेखि निकिताले उक्त अपार्टमेन्ट भाडामा लिएकी हुन् ।

रवि सोही अपार्टमेन्टमा करिब चार वर्षदेखि बस्दै आइरहेका छन् । रवि सुरुमा सोही अपार्टमेन्टको पहिलो तल्लामा भाडामा बस्थे । पछि तेस्रो तल्लामा सरे । ‘अहिले दुवै सँगै बस्छन्,’ रिपोर्टिङका क्रममा शुक्रवारले भेटेका स्रोतले भन्यो । निकिताले उनी निकट फिल्मकर्मीलाई रविसँगको आफ्नो सम्बन्धका बारेमा खुलेर कुरा गर्ने गरेको स्रोतले बतायो । 

 

‘चरित्रहत्यामा लाग्दा दुनियाँलाई रमिता’
प्रा.डा. मीना उप्रेती,समाजशास्त्री

डिभोर्स र विवाह नितान्त व्यक्तिगत कुरा हुन् तर नेपाली समाजले अझै डिभोर्सलाई सहज रुपमा पचाउन सकिरहेको छैन । समाज अर्काको नितान्त व्यक्तिगत कुराको चर्चा खोजिरहेको हुन्छ । त्यही बेला कसैले त्यो कुरा आफैँ बाहिर ल्याउँछ भने समाजमा रमिता त हुने नै भयो । त्यसमाथि अहिले सामाजिक सञ्जाल सक्रिय छ र यो इथिक्सअनुसार चलिरहेको पनि छैन । 

डिभोर्स गरेपछि जोडीहरु यति तनावमा हुन्छन् कि उनीहरुलाई त्यो परिस्थिति नियन्त्रण गर्नै गाह्रो हुन्छ । अब के गर्ने भन्ने अन्योल हुन्छ । त्यसपछि उनीहरु आफ्नो पूर्वपति या पत्नीका सम्बन्धबारे छताछुल्ल पार्न थाल्छन् ।  एकअर्काको खैरो खन्न थाल्छन् । एकअर्कालाई नराम्रो देखाउन उद्दत हुन्छन् । एकअर्कालाई सिध्याउने खेलमा लाग्छन् । त्यसो गर्दैगर्दा आफैँ सिद्धिएको उनीहरु पत्तै पाउँदैनन् ।

रवि लामिछाने र ईशाबीच पनि यस्तै समस्या देखापरेको हो । एकअर्काको चरित्र हत्यामा लाग्दा दुनियाँलाई रमिता भयो । पश्चिमा संस्कृतिमा यस्तो हुँदैन । डिभोर्सपछि पनि सम्बन्ध हेल्दी हुन्छ । पूर्व पति र पूर्व पत्नीको बिहेमा हाँसीखुशी गएको मैले आफ्नै आँखाले देखेकी छु । एकअर्कालाई मन पर्न छाडेको दिन श्रीमान्÷श्रीमती स्वतन्त्र हुन पाउँछन् तर कसैको चरित्रमाथि धावा बोल्न पाइँदैन । एकअर्कालाई सधैँ सम्मान गर्नुपर्छ । अरुलाई चर्चा गर्ने विषय बन्न हुँदैन । झन् सन्तान पनि भइसकेका जोडीले डिभोर्स गर्दा त एकअर्काको नराम्रो कुरा गर्नै हुन्न । श्रीमान्–श्रीमतीबीच एकअर्काको नराम्रो कुरा त थाहा भइहाल्छ नि ! तर त्यो बाहिर ल्याउनु इथिकल होइन । डिभोर्स गरिसकेपछि अतितलाई कोट्याउनु राम्रो होइन । यस्ता कुराले सन्तानलाई पनि असर गर्छ । 

हामीकहाँ पढेलेखेका मान्छेले पनि यस्तो गरिरहेको पाइन्छ । त्यो भनेको आफूले कसरी चर्चा कमाउने, अरुलाई कसरी गिराउने नियत जस्तो देखिन्छ । अचेल डिभोर्सलाई सम्पत्ति लगायत अन्य सम्बन्धसँग जोडेर पनि हेर्न थालिएको छ । यो ठीक होइन । 

फेरि हाम्रो समाज यस्तो छ कि धेरै मान्छेहरु कुनै कुरालाई गहिराईमा नबुझी छिटो विश्लेषण गरिदिन्छन् । यो राम्रो कुरा होइन ।

Leave A Comment