मनोरञ्जन वैरी प्रशासन

आइतबार, २९ पुष २०७५, ०७ : ३३ शुक्रवार
मनोरञ्जन वैरी प्रशासन

खुसुक्क सुत्न मात्र पक्कै कोही पर्यटक आउँदैनन् । घुमघामसँगै रमाइलो पनि अधिकांशको लक्ष्य हुन्छ नै । कहाँ–कहाँ, के–के सुविधा छ, त्यसको आँकलन गरेर खर्च छुट्ट्याएर घुम्न आउने गर्छन् घुमन्तेहरु । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटक र आन्तरिक घुमन्तेको स्वभाव पनि यही देखिन्छ । 

घुमघामसँगै रात्रिकालीन मनोरञ्जन पनि पर्यटन क्षेत्रको पाटो हो तर सरकार रात्रिकालीन मनोरञ्जनप्रति अति अनुदार छ । नेपालको प्रशासन यति अनुदार छ कि ऊ रमाइलो गर्न चाहने अन्तर्राष्ट्रिय होस् या आन्तरिक पर्यटक हुन्, उनीहरुलाई समय सीमामा बाँध्न बढी केन्द्रित देखिन्छ । पर्यटक खर्च गर्न चाहन्छन् तर प्रशासनको व्यवहार हेर्दा पर्यटकको पैसा खर्च होला कि भन्ने चिन्तामा बढी छन् कि भन्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटक रमाउन चाहने काठमाडौंको ठमेल, पोखराको लेकसाइड अनि धरानमा रात्रिकालीन मनोरञ्जन व्यापारलाई स्थानीय प्रशासनले निश्चित समय–सीमाभित्र साँघुर्याउनु यही गलत अभ्यास हो, नमुना हो ।

द्वन्द्वकालमा विविध समस्या थिए । त्यसैले त्यो बेला सुरक्षा निकायले तोकेको समयसीमालाई आम नागरिकले पनि सामान्य रुपमै लिए । द्वन्द्व सकियो, शान्ति प्रक्रिया लगभग निचोडमा पुग्दा पनि स्थानीय प्रशासन र सुरक्षा निकायको व्यवहार रात्रिकालीन मनोरञ्जनमैत्री बन्न सकेन ।

काठमाडौँको ठमेल ११ बजेपछि खोल्न पाइँदैन, पोखराको लेकसाइडको अवस्था पनि उस्तै छ । धरानका बार र लाउन्जहरुमा पनि ११ बज्नासाथ प्रहरी लौरो ठक्ठकाउँदै बन्द गर्न आइपुग्छ । लामो रस्साकस्सीपछि ठमेल केही खुकुलो हुँदै २ बजेसम्म पुगे पनि अन्यको अवस्था उस्तै छ ।

रात्रिकालीन मनोरञ्जन क्षेत्रमा समयको अंकुशको कारण सुरक्षालाई देखाउँदै आएका छन्, सुरक्षा संगठन र स्थानीय प्रशासनले । मनोरञ्जन स्थलमा हुने मदिरापानले अपराध बढाएको उनीहरुको निष्कर्ष छ तर यो आफ्नो कमजोरी ढाकछोप गर्ने बहानाबाहेक केही हैन ।

भिडभाड सडकमा निर्धक्क हिँड्न पाउनु बलियो सुरक्षाको आधार हो तर यहाँ सडक सुनसान बनाएर बलियो सुरक्षा प्रबन्धको ध्वाँस दिने बानी लागेको छ, सुरक्षा संगठन र स्थानीय प्रशासनलाई । समयको पाबन्दी लगाउनुको अर्को मनोविज्ञान सुरक्षा संगठन र स्थानीय प्रशासनका कुनियत भएकाहरुको अतिरिक्त आम्दानीको स्रोत पनि हो । 

रात्रिकालीन व्यवसाय निर्बाध चलाउने वातावरण बनाउन व्यवसायीको पनि केही जिम्मेवारी छ र प्रशासनको पनि । आफ्नो परिधिभित्रका ग्राहकको सुरक्षा प्रबन्ध, निगरानीका लागि क्लोज सर्किट टेलिभिजनको जडान जस्ता दायित्व व्यवसायीको पनि हो । गैरकानुनी गतिविधिमाथि निगरानी र कानुनविपरीत जानेमाथि कार्बाही सुरक्षा संगठनको जिम्मेवारी हो । 

नागरिकको सुरक्षा राज्यको प्रमुख प्राथमिकता बन्नु सामान्य हो तर यसको विकल्प पूर्ण नियन्त्रणमुखी नीति पक्कै हैन । त्यसैले रात्रिकालीन मनोरञ्जक क्षेत्रलाई बन्देज लगाउनुको साटो नीति बनाएर व्यवस्थित गर्नु उत्तम हुन्छ ।
 

Leave A Comment