बाङ्लादेशमा चीन-भारतसँग शक्ति सन्तुलन चुनाैती

आइतबार, २९ पुष २०७५, ०७ : ५५ शुक्रवार
बाङ्लादेशमा चीन-भारतसँग शक्ति सन्तुलन चुनाैती

बाङ्लादेशमा एघारौँ संसदीय चुनावको परिणाम जस्तो आयो, प्रधानमन्त्री शेख हसिना वाजेदका लागि खुसीको कारण त थियो नै त्योभन्दा बढी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनफिङको समेत ‘बधाई’ले पुलकित पक्कै बनायो । हुन त चुनाव परिणामको एक सातापछि चीनले बधाई दिए पनि र भारतले चुनावलगत्तै बधाई दिएको भए पनि उनका लागि यो सुखद् पक्ष नै थियो ।

यो चुनावको रमाइलो पक्ष के छ भने शेख हसिना लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएकी छन् र त्यो पनि प्रचण्ड बहुमतबाट । यो चुनावमा विपक्षी पार्टी पूरै सोत्तर बन्न पुगेको छ ।

सन् २००९ मा सत्तामा आएपछि अवामी लिगको सरकारलाई अगुवाई गरिरहेकी शेख हसिनाले भारत र चीनलाई ‘सन्तुलित सम्बन्धमा राखेको’ जश पाइरहेकी छन् । हुन पनि बाङ्लादेशका लागि चीन र भारत दुवै महत्वपूर्ण छिमेकी हुन् तर उनका आलोचक स्वयं तिल्मिलाएका छन्, आखिर यी बूढी आमैले चीन र भारतबीच कसरी सन्तुलन कायम राखेकी छन् त ?

वास्तवमा भारत र चीनको बाङ्लादेशमा बेग्लाबेग्लै किसिमको रुचि छ । शेख हसिनाले पनि टक्कर दिने कूटनीतिलाई छाडेर दुवै छिमेकी सरकार रुष्ट हुने मौका कमै दिएकी छन् ।

सन्तुलित सम्बन्ध
केही राजनीतिक र कूटनीतिक विश्लेषकहरुको भनाइ छ, शेख हसिनाको सरकारले भारतलाई दुई कारणले आश्वस्त पारेको छ । पहिलो कारण राजनीतिक र दोस्रो सुरक्षा खतरा । उता चीनको रुचि बाङ्लादेशमा पूरै आर्थिक क्षेत्रमा मात्र छ ।

भारतको पूर्वोत्तर राज्यहरुबाट छुट्टिएर अलग देशको माग गरिरहेकाहरुलाई शेख हसिनाको सरकारले छूट दिन छाडेको छ । उसले भारत सरकारकै नीतिलाई आफ्नो नीति मानिरहेको छ । यति मात्र होइन, बाङ्लादेशमा पछिल्लो समय टाउको उठाउन थालेको इस्लामिक अतिवादलाई फैलनबाट रोक्ने कयौँ कदम पनि चालेकी छन् । बाङ्लादेशमा इस्लामिक अतिवादले टाउको उठाउनुको अर्थ भारतलाई पनि क्षति पुग्नु हो भन्ने मान्यता उनको सरकारले लिएको छ । फेरि इस्लामिक अतिवादीले भारत सक्रिय हुने र त्यसले बाङ्लादेशको सामरिक स्वार्थमा घात पुग्ने त छँदैछ ।

अर्कोतर्फ बाङ्लादेशको चीन सम्बन्ध विशुद्ध रुपमा व्यापारिक हितसँग जोडिएको छ । पछिल्लो समय चीनले बाङ्लादेशमा निकै ठूलो रकम लगानी गरिरहेको छ ।

खासगरी दक्षिण–उत्तर बाङ्लादेश जोड्ने पुल चीनको सहयोगबाट नै तयार भइरहेको छ । ६ किमि लामो यो पुलमा सडक र रेलको माध्यमबाट जोडिनेछ ।

यो पुल पद्मा नदीको एक कुनाबाट अर्को कुनासम्म चीनले लगानी गरेको छ । यसका लागि चीनले करिब ३७० करोड डलर लगानी गरेको रिपोर्टहरुले बताएका छन् ।

चीनले बाङ्लादेशलाई त्यतिबेला सहयोग गरेको छ, जब विश्व बैंकले यही परियोजनाका लागि आर्थिक सहयोग नगर्ने जनाउ दिएको थियो । यसपछि चीनले यस परियोजनामा लगानी गर्नका लागि चासो दियो मात्र होइन, यो अब पूरा हुने चरणमा छ ।

चीनसँग सहजता
शेख हसिनाको सरकारले चीनसँग यस्तै केही परियोजनामा अंशियार बनाएको छ । यस कारण पनि सि जिनफिङलाई अवामी लिगको सरकार सत्तामा रहनु नै सहज छ ।

हसिनाबाहेक अन्यको सरकार आएमा समीक्षाका नाममा ती परियोजनालाई निशाना बनाउने वा अड्काइदिने सम्भावना पनि हुन्थ्यो । यसले चीनको ठूलो लगानी डुब्ने सम्भावना पनि हुन्थ्यो ।
सन् २०१४ मा शेख हसिनाको चीन भ्रमणपछि नै दुवै देशबीच न्यानोपन बढेको थियो । त्यसैले पनि सन् २०१६ मा सिले ढाका भ्रमण गरेका थिए । उनको यो भ्रमण कति महत्वको थियो भने त्यही बेला दुवै देशबीच २६ वटा सम्झौता भएका थिए ।

अधिकारीहरुका अनुसार चीनले विभिन्न परियोजनाका लागि बाङ्लादेशलाई २४ अर्ब डलर ऋण दिनेछ । तीमध्ये अधिकांश भौतिक निर्माणका लागि हुनेछ । यही ऋणअन्तर्गत नै पदमा नदीमाथि पुल बनेको हो भने चटगाउँमा कर्णपुली सुरुङ निर्माण भइरहेको छ ।

यो सुरुङको २० हजार करोड टका खर्चमध्ये ९ हजार करोड टका त चीनको लगानी हो । नौ किमि लामो यो सुरुङ साढे तीन किमि नदीमुनिबाट दौडन्छ । चीनले सुरुङ बनाउनका लागि १२.१२ मिटर ब्यासको एउटा मेसिन बाङ्लादेश पठाएको थियो ।

यसका अतिरिक्त बाङ्लादेशमा विद्युतको समस्या समाधानका लागि दुई ठूला थर्मल प्लान्ट र एउटा फर्टिलाइजर प्लान्ट पनि बनाउने भएको छ । यसबाहेक चीनबाट बाङ्लादेशले पनडुब्बी जहाज किन्ने सम्झौतासमेत गरेको छ ।

ढाका विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक दिलावर हुसेन भन्छन्, ‘चीनसँग बाङ्लादेशले सैन्य मुद्दासँगै आर्थिक सम्बन्धलाई पनि जोड दिएको छ र यसमा त्यति धेरै जटिलता पनि छैन । तर भारतसँग कूटनीतिक सम्बन्धमा सामञ्जस्य बनाउन चाहिँ महत्वको कुरा हुनेछ ।’

कूटनीतिक सफलता
प्राध्यापक हुसेनका अनुसार बाङ्लादेशको कूटनीतिले भारत र चीनलाई सामञ्जस्य बनाउने प्रयास गरिरहेकाले अहिलेसम्म कुनै समस्या आएको छैन ।

उदाहरणका लागि, सोनादियामा पोर्ट बनाउनका लागि भारत र चीन दुवैले चासो देखाएका थिए । यसमा बाङ्लादेशले कुनै एक देशलाई ठेक्का दिएन किनभने यसो गर्दा कुनै अर्को देश रिसाउन सक्थ्यो । कुनै एक देश रिसाउने कुरा बाङ्लादेशको हितमा हुने थिएन ।

मुन्सी फैज अहमद २००७ देखि २०१२ सम्म चीनमा बाङ्ला राजदूतका रुपमा काम गरे । उनी यतिबेला बाङ्लादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिजका अध्यक्ष छन् । उनको भनाइ छ, ‘बाङ्लादेशको सम्बन्ध राजनीतिक र सुरक्षाका कुरामा मात्र जोडिएका छैनन्, आर्थिक मुद्दा पनि जोडिएको छ ।’

‘चीन ठूलो साझेदार छ तर भारतसँग पनि हाम्रो आर्थिक सम्बन्ध कुनै कम छैन,’ उनी भन्छन्, ‘तर दुवै देशलाई चित्त नदुखाई अघि बढ्न जरुरी थियो र यस मामिलामा यो सरकार चुकेको अहिलेसम्म देखिएको छैन ।’ देशको आवश्यकताअनुसार दुुवै देशसँग सम्बन्ध बनाएको उनको भनाइ छ ।
बिबिसी

Leave A Comment