लोकदोहोरीको क्षेत्रमा परिचित नाम हो– कुलेन्द्र विश्वकर्मा । ५ हजार बढी गीत गाइसकेका उनले दर्जनाैंं हिट गीत दिएका छन् । उनले गायिका विष्णु माझीसँग मिलेर गाएको गीत ‘सालको पातको टपरी...’ ले युट्युबमा करोड बढी भ्युज पाएर सर्वाधिक हेरिएको लोकदोहोरी गीतको रेकर्ड राखिरहेको छ । यही सेरोफेरोमा उनीसँग अनिल यादवले विश्वकर्मासँग गरेको अन्तरंग कुराकानीः
‘सालको पातको टपरी’ अहिले सर्वाधिक चर्चामा छ । कहिल्यै लोकदोहोरी नसुन्नेहरुले पनि यो गीत मन परेको प्रतिक्रिया दिइरहेका छन् । कस्तो लागिरहेछ ?
एकदमै खुशी लागिरहेको छ नि । पुराना त छँदै थिए । पूर्व पश्चिम जताततै लोकप्रिय छ यो गीत । नयाँ–नयाँ श्रोता कमाउन पनि पाइयो ।
गीतले यसरी बजार पिट्ला भन्ने सोच्नुभएको थियो ?
गीत फरक ढंगले बनेको थियो, त्यसैले दर्शकले रुचाउनुहोला भन्ने त लागेको थियो तर यति धेरै सफलता पाउला, युट्युबमा रेकर्ड नै राख्ला, इतिहास नै बनाउला भन्ने लागेको थिएन ।
के कारण यति धेरै चल्यो होला भन्ने लाग्छ ?
पछिल्लो समय दोहोरी गीत फोहोरी भए, छाडा भए, उत्ताउला भए, घर परिवार बसेर हेर्न नसकिएका गुनासा आइरहेका थिए । यस्तो अवस्थाबाट विरक्तिएका दर्शकका लागि यो गीत फरक भइदियो । स्वच्छ भइदियो । सबैभन्दा महत्वपूर्ण, यो गीत आफैँमा टिपिकल पनि छ । नवराज पन्तजीले बोलिचालीमा प्रयोग भइरहने शब्द लेख्नुभएको छ । सुनेरै नअघाइने भाका वसन्तजी थापाले बनाउनुभयो । अनि सुरिलो स्वरकी विष्णु माझीले मलाई स्वरमा साथ दिनुभएको छ । यी सब कारणले गीत चल्न मद्दत पुर्यायो भन्ने लाग्छ ।
तपाईं आफैँले लोकदोहोरी पछिल्लो समय फोहोरी भएको प्रसंग निकाल्नुभयो । यस्तो किन भइरहेको होला ?
पछिल्लो समय सबै कलाकार स्टेजमुखी भइदिए क्या ! सबैलाई स्टेज चाहियो । सबैलाई स्टेजमा गएर कम्मर मर्काउनुपर्यो । धुलो उड्ने गरी सबैलाई उफार्नु पर्यो । यस्तो लोभ सबै कलाकारलाई लाग्छ तर यस्तो लोभ लाग्दैमा आफ्नो संस्कृतिलाई नै नंग्याउनु त भएन नि ! तर यहाँ यस्तो पनि भयो । मेला महोत्सवलाई नै टार्गेट गरेर काम गर्दा पनि यस्तो भएको हो । तर गीत त मेला महोत्सवभन्दा पनि दर्शकलाई सोचेर बनाउनुपर्यो नि ! यहाँ भल्गर गीत गाउँछु भन्ने हो भने जसले गाउन पनि सक्छ । म पनि सक्छु तर मेरो चेतनाले मलाई त्यसो गर्न दिँदैन ।
अहिलेसम्म तपाईले गाउनुभएको गीत संख्या कति पुग्यो ?
त्यस्तै ५–६ हजार ।
५ या छ हजार ?
५ हजार क्रस भइसकेको छ । धेरै गाइयो, सबै सम्झेर साध्य पनि छैन ।
कति पैसाका लागि गाइयो, कति कलाका लागि गाइयो ?
पैसाका लागि गीत गाउन थालेको धेरै भएको छैन । त्यही २–४ वर्ष भयो । कहिले इष्टमित्र भनेर गाइयो, कहिले साथीभाइ भनेर गाइयो । कहिले गीत चल्छ कि त भनेर पनि गाइयो । संघर्षकै बेलामा मैले एक हजार बढी गीत गाएँ होला, त्यो पनि पैसा नलिइकन । बीचको समयमा आउने जाने भाडा मात्रै लिएर पनि गाइयो । अब भने पैसा पनि कमाउनुपर्छ भन्ने फिल भएको छ ।
अधिकांश दोहोरी गायक÷गायिकालाई कति गाउनुभयो भनेर सोध्दा हजारौँ गाइसकेको जवाफ दिन्छन् । दोहोरीका कलाकारको किन यसरी स्तरभन्दा संख्यातिर ध्यान गएको हो ?
संख्या धेरै हुने कुरा सही हो । कुनै बेला म एकै दिनमा १२–१३ वटा गीतसम्म गाउँथे । त्यो पनि २०–२५ मिनेटका । नट अ जोक !
मैले सोध्ने खोजेको, ‘तर यो राम्रो हो र ?’
त्यतिबेला मैले ती कुरालाई अवसरका रुपमा लिएको थिएँ । संघर्षको बेलामा त नोटिस हुनका लागि नै हो गाउने । एउटा गाइन्छ, चल्दैन । अर्को चलिहाल्छ कि भनेर गायो । फेरि चल्दैन । यसरी आशैआशमा धेरै भइदिन्छ । चलेपछि हो अलि चुजी भएर गाउने । फेरि यो गीत हिट हुुनु भनेको अँधेरोमा ढुंगा हानेजस्तै हो । संख्या धेरै हुनुमा अवसर, आशा, चर्चा, पैसा सबै फ्याक्टरले काम गरेको छ भन्ने लाग्छ ।
आफ्नो संगीत यात्रालाई आफैँ समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
संगीत मैले चाहेको विषय थियो । त्यसैले यहाँ काम गर्दा म सधैँ खुशी भएँ, छु पनि । त्यसो त जिन्दगीमा उतारचढाव धेरै नआएको होइन । धेरै समय त सुखभन्दा पनि दुःखैले पार गरेँ । मसँगै चिउरा र पानीका भरमा दिन कटाएका साथीहरु आज कोही सिरियल, कोही फिल्मका हिरो भा’का छन् । म आफू पनि आफ्नो क्षेत्रमा राम्रै गरिरहेको छु भन्ने लाग्छ ।
आफ्नो गीतले सर्वत्र बजार पिटिरहँदा ति संघर्षका दिनलाई तपाई कसरी सम्झिनुहुन्छ ?
हिँड्ने मान्छे न हो लड्ने ! बसिरह्यो भने त न मान्छे लड्छ, न उठ्छ । तर संघर्ष गरिरह्यो भने सफलता एक दिन आउँछ–आउँछ । त्यसैले मैले कहिल्यै संघर्ष गर्न छाडिनँ । एउटा गीत गाउनका लागि बिहानदेखि रातिको १२ बजेसम्म कुरेका दिनहरु पनि छन् । गाडी चढ्ने भाडा नभएर पैदल हिँड्नुपरेका क्षणहरु पनि छन् । दालमोठ चिउरा बाँडेर दिन काटेका समय पनि छन् । आज ती दिन सम्झँदा मन फुरुङ्ग भएर आउँछ । ती दिन थिए र त आज मैले सफलताको स्वाद महसुस गर्न पाएँ । यसरी तपाईंलाई केही कुरा सुनाउन पाएँ ।
सुरुमा अवसर पाउन कत्ति सहज थियो ?
पक्कै थिएन । म त त्यस्तो बेलामा आको मान्छे हुँ जतिबेला राजु परियार दाइले मार्केट तताउनु भएको थियो । । चान्स पाउनै गाह्रो । वैकल्पिक गायकका लागि पनि आवाज निकै राम्रो खोजिन्थ्यो । त्यसैले मैले राजु दाइसँगै बि साइडमा गाउने मौका पाउँथे ।
गायक बन्ने सपना सानैदेखिको हो ?
हो । सानैदेखि गीतै गाउने इच्छा थियो । एउटा–दुइटा गीत रेकर्ड गर्ने साह्रै ठूलो रहर थियो ।
तर आज एउटा के पाँच हजार बढी भइदियो है !
हो । सायद गीतै गाएर जिन्दगी कटाउनु लेखेको रै’छ ।
बजारमा हल्ला छ, लाखौँ दर्शकको मनमा बसेको ‘सालको पात’मा नाच्नलाई सुष्मा कार्कीले रिजेक्ट गरेकी थिइन् । खबर सही हो ?
मोडल मैले होइन, निर्देशक शिव विकले खोज्नुभएको हो । तर मलाई जानकारी भएसम्म सुष्मा कार्कीलाई अफर गरिएको होइन । बरु प्रियंका कार्कीलाई भने अफर गरिएको हो । उहाँले एक हप्तासम्म ‘पख्नुस्, पख्नुस्’ भन्दै गीत होल्ड गर्नुभएछ । अनि, अन्तिममा आएर ‘मलाई गीत मन परेन’ भन्ने जवाफ दिनुभएछ ।
भनेपछि प्रियंकालाई मन नपरेको गीत आज सर्वत्र हिट भयो ?
हुन त उहाँले हेपेरै रिजेक्ट गरेको भन्ने कुरा आ’को थियो । तैपनि म यस्तो कुरा मिडियामा ल्याउन चाहन्नँ, त्यसैले नल्याएको हो । अरु वर्षा राउत, वर्षा शिवाकोटीहरुलाई पनि अफर गरेको थियो रे ! अस्ति दीपकराज गिरीले भन्नुभयो, ‘अहिले हामी बाँचिरहेकै लोकगीतका कारण हो ।’ अहिले प्रियंका, वर्षाजी लगायत जतिले पनि नाचिरहेका हिट गीत छन्, ती सबै लोकगीत होइनन् ? मैले र विष्णु माझीले गाउने हो भने त्यो लोक भइदिन्छ तर फिल्ममा राखेको भएर सायद प्रियंकाजीहरुलाई त्यो अर्कै लाग्छ । अनि हामीले मरिष्का पोखरेललाई राखेका हौँ । उहाँ एकदमै ट्यालेन्ट र शालिन कलाकार लाग्यो । के काम गर्ने, के काम नगर्ने त्यो छान्ने अधिकार सबैलाई हुन्छ । यो दोहोरी भनेर हेप्ने मानसिकता फिल्मका कलाकारले हटाइदिए हुन्थ्यो । अहिले फिल्ममा चम्किनुभएका राजनराज शिवाकोटी मेरो साथी हो । उहाँले बनाएका गीतहरु ती सब दोहोरी गीत होइनन् ? उहाँ दोहोरी बनाउँदाबनाउँदा हार खाएर त्यता जानुभएको हो । उहाँका थुप्रै गीत विष्णु माझी र राजु परियारले गाउनुभाको छ । त्यसैले म अनुरोध गर्छु, ‘आफू फिल्मका कलाकार भएँ भन्दैमा अरुसँग हात मिलाउन पनि गाह्रो मान्नु भएन । यो प्रवृत्ति ठीक होइन ।’ आखिर विदेश जाँदा धेरै फिल्मका कलाकार लास्टाँमा दर्शक र आयोजकको मागअनुसार नाच्ने त दोहोरी गीतमै हो । तर दुःख त कतिखेर लाग्छ भने उहाँहरु एयरपोर्ट पुगेपछि फेरि हाम्लाई चिन्नुहुन्न ।
अब प्रसंग बदलौँ । गायिका विष्णु माझीसँग सबैभन्दा धेरै गीत गाउने गायक सायद तपाईं नै होला ?
होला । थोरैमा पनि चार–पाँच सय गीत मैले उहाँसँग गाएको छु ।
दर्शकमाझ सधैँ रहस्यमै हुनुहुन्छ गायिका विष्णु माझी । ‘सालको पात’ हिट भएपछि अहिले उहाँको सर्वत्र खोजी र चासो बढेको छ । उहाँसँग तपाईंको त्यत्रो सहकार्य भइसक्यो । के कारण उहाँ सार्वजनिक हुन नचाहेको हो ?
त्यही त यो कुरा रहस्यमय छ ! विश्वास नलाग्ला तर विष्णु माझी कहाँ बस्नुहुन्छ भन्ने कुरा मलाई नै थाहा छैन । हामीले उहाँलाई देख्ने भनेको स्टुडियोमा मात्रै हो । हामीले उहाँसँग गीत गर्नुप¥यो भने उहाँको श्रीमान्लाई फोन गर्ने हो । अथवा, म्यासेज पठाउने हो । अनि उहाँले ‘यति गते टाइम राख्दिनू’ भनेपछि त्यहीअनुसार गर्ने हो । अनि त्यही टाइममा उहाँ आउनुहुन्छ, गीत गाउनुहुन्छ । त्यसपछि पैसा लिएर जानुहुन्छ । मैले यत्रो समय काम गरिसकेँ तर उहाँलाई कहिल्यै गीतको डमी पठाउनु परेको छैन । सिधै स्टुडियोमै आएर गाइदिनुहुन्छ ।
त्यतिबेला उहाँको अनुहार देख्न पाइन्छ कि पाइँदैन ?
छोपेरै आउनुुहुन्छ, त्यसैले देखिँदैन । पछिल्ला दुई–तीन वर्ष यता उहाँ स्टुडियोमा पनि पर्दा लाएर गाउनुहुन्छ । उहाँको व्यक्तिगत इच्छाको कुरा हो त्यसैले मैले अनुहार देखाउनुस् भन्न पनि मिल्दैन । उहाँ संवाद खासै रुचाउनु हुन्न जस्तो लाग्छ ।
पैसा उहाँलाई नै दिनुहुन्छ कि उहाँको श्रीमान्लाई ?
होइन, विष्णुजीले नै लिनुहुन्छ ।
उहाँसँग यत्रो धेरै गीत गाइसक्नुभयो । किन सार्वजनिक हुन नचाहेको भनेर कहिल्यै सोध्नुभएन ?
खासै सोधिन्न । धेरै पहिला एकचोटी सोधेको थिएँ । जवाफ आएन । त्यसपछि त्यही हालखबर सोध्ने हो । म उहाँको व्यक्तिगत जीवनबारे त्यति जानकार नभए पनि उहाँको स्वरको म ठूलो फ्यान हुँ । उहाँ स्वरको रानी हो । उहाँलाई १० औँ लाख तिरेर स्टेजमा उतार्न चाहन्छन् मान्छेहरु । तर के गर्ने ! उहाँ मान्नुहुन्न !!
उहाँले तपाईंसँगै बढी गीत गाउनुको कारण के होला ?
त्यो त संयोग हो । मैले पनि एल्बम गर्दा विष्णु माझी खोज्छु । कसैलाई रिफर गर्नुपर्दा पनि म विष्णु माझी राखौँ न त भन्छु । फेरि पहिले उहाँको रेट धेरै थिएन नि त ! ८–१० हजारमा गाउनुहुन्थ्यो । त्यसरी उहाँसँग बढी हुन गएको हो ।
उहाँको श्रीमान् सुन्दरमणि अधिकारीसँग तपाईंको कुराकानी कत्तिको हुन्छ ?
हुन्छ तर व्यक्तिगत विषयमा त्यस्तो गफगाफै हुन्न तर बाहिर मिडियातिर जसरी विष्णु माझी ठूलो अन्यायमा परेकी छन्, उद्दार गर्नुप¥यो जस्ता कुरा आइराछन् त्यो सही हो भन्ने लाग्दैन । उहाँ जत्तिको मान्छे अन्यायमा परेको भए केही बोल्नुहुन्थ्यो । केही न केही इशारा दिनुहुन्थ्यो । फेरि विष्णुजी आफैँमा क्षमतावान् हुनुहुन्छ । स्वर त्यस्तै शक्तिशाली छ । उहाँ आफैँमा शान्त मान्छे लाग्छ । आफ्नै शैलीमा जीउन चाहने मान्छेजस्तो लाग्छ ।
Leave A Comment