हुटहुटीले ल्याएको सफलता

आइतबार, ०६ माघ २०७५, ०५ : २४ प्रजु पन्त
हुटहुटीले ल्याएको सफलता

श्यामवदन श्रेष्ठले १३ वर्षसम्म पढाइन् । उनलाई अचानक लाग्यो, कति अरुको काम मात्र गरुँ ? आफ्नै केही काम गर्न पाए कति जाती हुन्थ्यो ! उनलाई आफ्नै काम गर्ने हुटहुटीले छाडेन । पढाउनतर्फ मन गएन । अनि सुरु भयो, उनको व्यावसायिक यात्रा नेपाल नटक्राफ्ट सेन्टर प्रालिमार्फत् ।

अरुले त्यति ध्यान नदिएको तर सम्भावना प्रशस्त भएको क्षेत्र खोजिन् ह्यान्डी क्राफ्ट । उनले यससम्बन्धी कुनै तालिम लिएकी थिइनन् । उनले केवल आफ्नो सपनालाई काममा बद्लिन्  ।

त्यसैको सकारात्मक प्रभावले उनी सार्क चेम्बर वुमेन इन्टरप्रेनर काउन्सिल नेपालको बेस्ट वुमन इन्टरप्रेनर २०१८ घोषित भइन् । उनी प्रशन्न थिइन् आफ्नो कामको मूल्यांकन भएकोमा ।
‘सफल हुनलाई के गर्नुपर्ने रहेछ ?’ शुक्रवारको प्रश्नमा उनले भनिन् ‘मान्छेले आफ्नो इच्छा र क्षमता चिन्नुपर्ने रहेछ । त्यसपछि निरन्तर काम गर्ने चाह र लगनशीलता नै सफलताको फर्मुला हो ।’ 
नेपाल विभिन्न जातजातिको बसोबास भएको क्षेत्र हो ।

यहाँ जात र ठाउँअनुसार पोशाकदेखि दैनिक जीवनमा प्रयोग गर्ने फाइबरजन्य उत्पादन हुन्छ । उनले रोजिन्, फाइबरबाट उत्पादित वस्तु बनाउने । 

‘नेपालमा सीपको सम्मान गर्ने बानी छैन,’ श्रेष्ठले भनिन्, ‘सीपलाई सम्मान गर्नुपर्छ भनेर मैले स्थानीय उत्पादनलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरेर बजारीकरण गर्नुपर्छ भनेर लागेकी हुँ ।’
उनको उद्योगले राई, लिम्बु, गुरुङ, थारु, नेवार आदि जातिका महिलाले घरमै बनाउने सामानको बजारीकरण र स्तरोन्नतिमा ध्यान दिएको छ । 

‘हाम्रोमा थारु महिलाले बनाउने बास्केट धेरै राम्रो हुन्छ, एक हप्ता लगाएर बनाएका हुन्छन्,’ उनले भनिन्, ‘त्यसको मूल्य पाँच सय पनि राखेका हुँदैनन् । श्रमको मूल्य पनि आओस् र यहाँ मात्र हैन बाहिरी देशमा पनि हाम्रो उत्पादन निर्यात गर्न सकियोस् भन्ने उद्देश्यले कम्पनी सुरु गरेकी थिएँ । आज राम्रो भइरहेको छ ।’ उनको कम्पनीले अमेरिका, जापान, जर्मनी र डेनमार्कमा स्थानीय उत्पादन निर्यात गर्ने गरेको छ ।

सम्भावनाले भरिएको देश 
श्रेष्ठलाई नेपालमा धेरै कुरामा सम्भावना भएको लाग्छ । ‘यहाँ  धेरै कुरामा काम गर्न सकिन्छ,’ श्रेष्ठले भनिन्, ‘अरुको देखासिकी हैन, आफैँले नयाँ र फरक काम सोचेर गर्न आवश्यक छ ।’ स्थानीय उत्पादनलाई बढावा दिन सीपलाई भरपूर उपयोग गर्दै बजारीकरणमा ध्यान दिनुपर्ने उनले बताइन् । स्रोत र साधन बढी भएको मुलुकमा जुन क्षेत्रमा काम गरे पनि हुने उनको धारणा छ । 

‘घरमा तपाईं मस्यौरा बनाउनुहुन्छ, अचार बनाउनुहुन्छ, नयाँ–नयाँ भाँडाकुँडा बुन्नुहुन्छ, त्यसमा अझै निखार ल्याउनुहोस् र बजारीकरण गर्नुहोस् । सफल उद्यमी बन्न कुनै गाह्रो छैन,’ श्रेष्ठको सुझाव छ । 

स्पष्ट उद्देश्य हुनुपर्छ 
२५ वर्ष अगाडि पयर्टन क्षेत्रमा महिला गाइड थिएनन् । पोखराजस्तो सहरमा तीन जना दिदीबहिनीले गेस्ट हाउस खोलेका थिए । महिलाले मात्र खोलेको गेस्ट हाउस देखेर सबैले अचम्म मानेर हेर्ने जमाना थियो, त्यो । 
महिला पयर्टक पनि  आउँथे तर हुँदैनथे महिला गाइड अनि लक्कीका दिदी बहिनीलाई लाग्यो महिला गाइड हुन किन नहुने ? दाउरा घाँस गरेर भीरपाखा गरेका दिदिबहिनीलाई तालिम दिए कसो सकिँदैन होला त ? उनीहरु लागे तालिमका लागि दार्जलिङ । अनि सुरु भयो टे«किङ कम्पनीको यात्रा ।  

११ जनवरीमा भएको बेस्ट वुमन इन्टरप्रेनरको सेकेन्ड रनरअप घोषणा भइन् उनी । पोखरामा रहेको उनको कम्पनीले दुई हजारभन्दा बढी महिलालाई टुरिस्ट गाइडको तालिम दिइसकेको छ । 

‘संख्या बढाउन मात्र तालिम दिएको भए त दसौँ हजार पुग्थे होलान्,’ लक्कीले भनिन्, ‘हामीले गुणस्तरीयता ध्यान दियाँै । हाम्रा दिदीबहिनी हिँड्न त जत्ति पनि सक्थे तर त्यो ठाउँबारे ज्ञान, भाषा लगायतको समस्या थियो । यसलाई हामीले ध्यान दियौँ ।’

 

Leave A Comment