चोला फेर्न खोज्दै धराने रंगमञ्च

आइतबार, ०६ माघ २०७५, ०५ : ३४ सन्ताेष काफ्ले
चोला फेर्न खोज्दै धराने रंगमञ्च

अन्तर्राष्ट्रिय क्षेत्रसम्म चर्चा कमाएको धराने रंगकर्म केही समय थला परेझैँ देखियो । नाट्यकर्मी लाखापाखा लागे । सुनसानझैँ भयो धराने रंगमञ्च । पुराना नाट्यकर्मी सुस्ताए, नयाँ आएनन् ।

धरानको पुरानो नाट्यकर्मीको संस्था ‘अनाम’ बेनामझैँ बनिसक्यो । अहिले अर्को संस्था ‘आरम्भ’ नयाँ रंगकर्मीलाई प्रशिक्षण दिँदै नाटक मञ्चनमा शुरु गरे पनि केही चहलपहल ल्याउने गर्ने प्रयासमा जुटेको छ । 

अहिले रंगभूमि एकेडेमी पनि सक्रिय हुने प्रयासमा देखिन्छ । आरम्भले एक वर्ष बीचमा एक दर्जन नाटन मञ्चन ग¥यो भने रंगभूमिले तीन दिन टिकट कटाएरै नाटक मञ्चन गरेको थियो । 

अनुभवी र युवाको प्रयास
२०४५ सालमा स्थापना भएको आरम्भ नाट्य समूहले २०४६ सालको जनआन्दोनमा आधारित नाटक ‘दमनको राप’ ३२ पटकसम्म प्रदर्शन गरेको थियो । यो समूहले राष्ट्रिय,  अन्तर्राष्ट्रिय पुरस्करसमेत पायो । 
रंगकर्ममा राम्रो कमाइ हुन छाडेपछि कलाकार विदेशिए ।

विदेशिएका केही फर्किए । कोही अर्कै व्यापारमा रहेकाको मनमा मञ्चको मोहले तानेपछि ‘आरम्भ नाट्य डबली’ घोषणा गर्दै सक्रिय भए रंगकर्मी । 
अग्रज पत्रकार तथा लेखक गोपाल देवानको नेतृृत्वमा, सन्तोष थेबे, राजन दाहाल, सुवर्ण पलिखे, सचिन क्षेत्री, राजेश थापा मगर, राजीव आचार्य, प्रताप राई लगायतका रंगकर्मी यही छातामार्फत् धराने रंगमञ्चको विरासत जोगाउन खटिएका छन् अहिले । 

आरम्भका अध्यक्ष गोपाल देवान पहिला व्यवसायिक बन्न नसक्दा रंगकर्मी पलायन भए पनि अहिले सबै सक्षम भएर फर्किएकाले धरानको रंगमञ्च जाग्ने बताउँछन् । 

रंगभूमि एकेडेमीले केही समयअघि धरान सभागृहमा तीन दिनसम्म लगातार नाटक मञ्चन गरेको थियो । त्यसबाट राम्रै प्रतिक्रिया आएपछि उनीहरु हौसिएका छन् । 

एकेडेमीका सञ्चालक विष्णु मोक्तान धरानको रंगमञ्च सुस्ताएपछि एकेडेमी सुरु गरेको बताउँदै धरानको रंगमञ्चको आकर्षण फर्काउन सक्रिय हुने बताए । 

हिन्दी नाटकबाट प्रारम्भ
२००४ सालतिर हिन्दी नाटक मञ्चन हुने धरानमा २००७ पछि नेपाली नाटक मञ्चन शुरु भएको थियो । 
२००८ सालमा मञ्चित भीमनीधि तिवारीको नाटक ‘जीवनज्योति’ को पहिलोपटक टिकट सो भएको मानिन्छ । २०१० देखि भने धराने कलाकर्मीकै लेखन, निर्देशनमा नाटक सुरु भयो । २०२० सालदेखि धराने रंगकर्मले गति लियो । त्यसबेला फ्रेन्ड्स क्लब, लोकनृत्य संघ, सांस्कृतिक संस्थान, नयाँ लहरजस्ता संस्था स्थापना भए । 

२०२८ सालमा धराने रंगकर्मीले काठमाडौँको राष्ट्रिय नाचघर पुगेर नाटक मञ्चन गरे । २०४४ देखि २०४८ बीचमा धरानमा नाट्य संस्था स्थापनाको प्रतिस्पर्धा नै चल्यो । अनाम, आरम्भ, समर्पण, सिर्जना, श्रृंखला, अनुराग, छिमेकी, मोकशुरा, शंकर, सहारा, सरगम, सृष्टि, हाम्रो नाट्य जमात लगायतका संस्था खोलिए ।
चलचित्र र टेलिभिजनको प्रभाव बढ्दै गयो । आम्दानीको निश्चित स्रोत पनि भएन । समूह बन्द भए, कलाकार पलायन । अनाम फुट्यो ।  

अझै छ समस्या
काठमाडौं र पोखरामा समेत नाटकको क्रेज बढ्दो क्रममा छ । रंगमञ्चका कलाकारको माग फिल्ममा बढ्दो छ । काठमाडौंमा बढेको क्रेज धरानसम्म नआइपुग्ने कुरै भएन । त्यसैले त पुराना र नयाँ रंगकर्मी तातेका छन् अहिले । समस्याको चाङ भने अझै उस्तै छ । नाटक मञ्चन गर्ने गतिलो एउटा थिएटरसमेत छैन धरानमा ।

‘स्रोत साधनको अभाव भए पनि धराने रंगकर्म जोगाउन लागि परेका छौँ,’ आरम्भका अध्यक्ष देवानले भने, ‘तर अझै पनि समस्या त छन् । रंगकर्म अझै व्यावसायिक बन्न सकेकै छैन ।’
 

Leave A Comment