धरान रनको उपाधि कोजु र पुनलाई

आइतबार, ०३ चैत २०७५, ०२ : ४१ शुक्रवार
धरान रनको उपाधि कोजु र पुनलाई


३१ मिनेट १६ सेकेण्ड र ३७ मिनेट ४७ सेकेण्डमा १० किमि दौड पूरा गर्दै धरान रनद्वारा आयोजित आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि पुरुषतर्फ बागलुङका तीर्थ पुन र महिलातर्फ कान्छिमाया कोजुले जिते । 
पुन भारतीय गोर्खा सेनामा कार्यरत छन् भने कोजु नेपालको सशस्त्र प्रहरी बलमा कार्यरत छिन् । पुनले यो सिजनसहित धरान रनको उपाधि चारपटक र कोजुले दुईपटक जितेका छन् । 
पुरुषतर्फको दोस्रो अनिस थापा, तेस्रो गजेन्द्र राई भए भने महिलातर्फ दोस्रो सन्तोषी श्रेष्ठ र तेस्रो पुष्पा भण्डारी भइन् । 

१६ वर्षमुनि र १२ वर्षमुनिसँगै भेट्रान समूहबीच पनि छुट्टै प्रतिस्पर्धा गराइएको थियो । 

दौड धरान ९ पुतली लाइनबाट सुरु भएर नारायण चोक, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी टंकी, रंगशाला, जानकी चोक, जिरो पोइन्ट, लक्ष्मी चोक, हुँदै देशीलाइनमा टुङ्गिएको थियो । 
दौडमा ३५ सय धावकहरु दौडेका थिए । धरान रन च्यारिटी प्रतियोगिताबाट संकलित रकममध्ये पुरस्कार दिएर बाँकी रहेको रकम  ‘नेवा एजुकेसन फण्ड’ मार्फत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेसनरीका सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । 

Leave A Comment