किन भाग्दैछन् साउदीका महिला ?

आइतबार, ०६ माघ २०७५, ०५ : ४४ शुक्रवार
किन भाग्दैछन् साउदीका महिला ?

पछिल्लो समय मुस्लिम महिलाहरु ज्यानै जोखिममा राखेर धमाधम देश छोड्दै भाग्दैछन् र अन्तर्यमा स्वतन्त्रता देखिँदैछ ।

परिवारसहित टर्कीमा बिदा मनाउन हिँडेकी सहद अल मुहमिद अचानक गायब भइन् । उनको परिवारले उनलाई धुइँपाताल खोज्यो । प्रहरीमा निवेदन चढायो तर अँहँ, टर्कीको प्रहरीले उनको भेउपत्तो पाउन सकेन । जब पत्तो पायो, सहदले टर्कीको सिमा पार गरी जर्जियाको बाटो समातिसकेकी थिइन् ।
त्यसो त बिदा मनाउन निस्किएका बेला परिवारकै आँखा छलेर भाग्नु सहदका लागि सजिलो कुरा थिएन । त्यसमाथि उनी परिवारको छायाँबाट जति भाग्न चाहन्थिन्, भागेर कहाँ जाने भन्ने प्रश्नले उत्तिकै सताउँथ्यो । 
आखिर जहाँ गए पनि साउदी अरब प्रहरीले पक्रेर परिवारको जिम्मा लगाइहाल्थ्यो । जिम्मा लगाउनु त छँदैथियो, त्यसपछि परिवारले उनको जुन अवस्था बनाउँथ्यो, त्यसबारे उनी परिचित नै थिइन् ।
साउदी नियमअनुसार परिवारको सहमतिबेगर सहदले एक पाइला पनि सार्न पाउँदिन थिइन् । परिवारको सहमतिमा पाइला सारे, ज्यानै लिए पनि त्यसलाई अपराध मानिदैनथ्यो । त्यसैले भाग्नका लागि उनले विदेशी मुलुक नै रोज्नुप¥यो । 

१७ वर्षीया सहद अल मुहमिदले परिवार घुम्दाघुम्दा थाकेर मस्त निदाएको मौका छोपिन् । उनी टर्कीको छिमेकी मुलुक जर्जिया छिरिन् । त्यहाँ आपूmलाई शरणार्थी घोषित गरिन् । उनी साउदी अरेबिया त्यागेर नयाँ जीवन बाँच्न चाहन्थिन् । अनेकौँ समस्या भोगिन् र अन्ततः आफूले रोजेकै जीवन पाइन् पनि ।
यतिबेला १९ वर्ष पुगिसकेकी सहदले स्विडेनबाट फोनमा भनिन्, ‘अहिले म यस्तो मुलुकमा छु जहाँ महिलाका लागि पनि अधिकार छ ।’

यतिबेला साउदी अरबकी अर्की युवती थाइल्यान्ड पुगेको र त्यहाँबाट क्यानडामा शरण पाएको खबरले सहदको घटनालाई ताजा बनाइदिएको छ । 

गएको साता सहाफ अल्किनम कुवेतबाट भागेर थाइल्यान्ड पुगिन् । त्यहाँ पासपोर्ट खोसिएपछि होटलको कोठामा बसेर आफूले अस्ट्रेलियामा शरण लिन खोजेको विश्वलाई बताइन् । उनलाई विश्वमाझ आफ्नो भनाई राख्न सघायो ट्वीटरले । 

एउटा ठूलो चर्चा, साउदी अरबको अन्तर्राष्ट्रिय बेइज्जती र सामाजिक सञ्जालमा भएको अभियानका कारण संयुक्त राष्ट्रसंघले उनलाई गएको बुधबार शरणार्थी घोषित गर्यो । त्यसपछि उनी थाइल्यान्ड छाडेर क्यानडातर्फ हान्निइन् । क्यानडाले उनलाई तत्काल शरण पनि दियो । 

साउदी अरबबाट भागेर स्वतन्त्र हुन चाहना आजको होइन । सन् १९७० कै दशकमा एक जना साउदी राजकुमारी आफ्नो प्रेमीसँग भाग्ने प्रयास गर्दागर्दै पक्राउ परेकी थिइन् । राजकुमारी र उनीसँगै भाग्ने प्रयास गरेका पुरुषलाई संयुक्त रुपमा साउदी प्रशासनले व्यभिचारको आरोप लगाउँदै फाँसीको सजाय दिएको थियो ।
ज्यान जोखिम राखेर, पक्राउ परे हुने सजायका बाबजुद पनि देशबाट एक्लै भाग्न खोज्ने साउदी महिलाको संख्या पछिल्लो समय बढ्न थालेको छ । त्यहाँका अधिकारकर्मीहरुको धारणा मान्ने हो भने त्यहाँको सामाजिक र कानुनी दबाबका बीच उनीहरुले भाग्ने बाटोलाई सामाजिक सञ्जाललाई माध्यम बनाइरहेका छन् । फेसबुक, ट्वीटर र अन्य सञ्जालमार्फत् उनीहरु भाग्ने बाटो खोजिरहेका छन् र तीमध्ये कतिपय सफल पनि भएका छन् ।

‘१५ वर्षअघिसम्म पनि यी महिलाहरुलाई घरबाट भाग्नेबारे सोच्न कठिन थियो,’ साउदी अरब ह्युमन राइट्स वाचका अधिकारी एडम कुगल भन्छन्, ‘यतिबेला विभिन्न माध्यमबाट बाहिरी संसारमा सम्पर्क बढेपछि उनीहरुले हिम्मत गर्न थालेका छन् ।’

त्यसो त हिम्मत गरे पनि कतिपयको भाग्य त्यति दह्रो छैन, जति क्यानडामा सहज रुपमा सहाफले शरणार्थीको मान्यता पाइन् । सन् २०१७ मा ३१ वर्षीया अश्वाक र २९ वर्षीया अरिज हमिदले टर्कीमा गएर शरणार्थीको मान्यता पाउन संघर्ष गर्नुप¥यो । उनीहरुले अहिलेसम्म शरणार्थीको मान्यता पाउन सकेका छैनन् । उनीहरुलाई यतिबेला एउटै डर छ, कतै उनीहरुलाई टर्की सरकारले साउदी प्रहरीको जिम्मा नलगाइदिओस् ।

जसरी थाइल्यान्डमा छिर्नेबित्तिकै सहाफले ट्वीटरको सहयोगले संसारको ध्यानाकर्षण गर्दै आफ्नो ज्यान जोगाउन सकिन्, अरुको हकमा भने त्यस्तो हुन सकेको छैन । सन् २०१७ मा २४ वर्षीया दिना अलि लस्लुमले फिलिपिन्समा आफू भागेर आइपुगेको र सहयोगका लागि याचना गरेको भिडियो राखेकी थिइन् । उनलाई सहयोग गर्ने कोही फेला परेनन् । उनी राजधानी मनिलाको एयरपोर्टमा राखियो र उनको परिवारले लिएर गयो । उनको अवस्था अहिले के छ, कसैलाई थाहा छैन ।

त्यसै पनि साउदी सरकारले यस किसिमको अन्तर्राष्ट्रिय बेइज्जतीविरुद्ध कडा प्रशासनिक संरचना बनाएको छ । कोही उम्कने सम्भावना नै रहँदैन । यस्तोमा कसैले त्यस्तो प्रयास गरे, युवती मात्र होइन, परिवारकै लागि आपत आइलाग्ने पक्का छ । यसरी भाग्नेहरुलाई आपराधिक मुद्दा चलाइन्छ र देशको बेइज्जती गरेको आरोपमा जेल हालिन्छ ।

‘साउदी महिलालाई अझै पनि सरकारी सम्पत्ति ठानिन्छ,’ अमेरिकामा विद्यार्थीका रुपमा पुगेकी मौदी अल्जोहनीले पढाइ सकिएलगत्तै शरणार्थीका रुपमा आफूलाई ग्रहण गर्न गरेको अनुरोध सम्झँदै भनिन्, ‘कुनै पनि स्त्रीको राजनीतिक सोच जे होस्, तर उसले परिवारले अह्राएकै गर्नुपर्छ ।’
साउदी अरब छाड्न सफल पाँच जना महिलाले भाग्नुका विविध कारण बताए पनि एउटा कुरामा समानता थियो । आफूलाई परिवारको बपौती ठान्न उनीहरुले अस्वीकार गरेका थिए । 

सहाफले यसअघि देश छाड्न सफल भएका महिलाहरुसँग सरसल्लाह गरेको बुझिएको छ । भाग्न सफल हुनेहरुमध्ये सबैको ध्यान टर्कीको छिमेकी मुलुक जर्जिया छिर्ने हुन्छ, जहाँ जान साउदी नागरिकलाई कुनै भिसा चाहिँदैन । केहीको रुचि अस्ट्रेलिया छ किनभने त्यहाँ अनलाइनमार्फत् भिसा आवेदन गर्न सकिन्छ । तर उनीहरुको ठूलो समस्या के छ भने विदेशी नियोग छिर्न पनि त्यहाँका महिलाले कुनै पुरुष नै लिएर जानु पर्छ । एक्लै निवेदन दिन सक्तैनन् ।

सबैको एउटै धारणा छ, उनीहरु पक्राउ परे भने सरकारले उनीहरुको रक्षाका लागि कुनै काम गर्दैन । परिवारले जे चाह्यो, त्यही हुन्छ । त्यसमाथि सरकारले वक्र दृष्टि लगायो भने त ज्यानै जाने जोखिम पनि हुन्छ ।

केही चाहिँ देशको कडा इस्लामिक नियमले आफूलाई सीमित घेरामा पारेकाले अन्य देश भाग्न चाहन्छन् । इस्लामिक नियमले महिलाले लगाउने, हिँड्ने, काम गर्ने, आफ्नो सपना पूरा गर्ने कुरामा बाधा उत्पन्न गर्ने गरेको धारणा राख्छन् । खासगरी पुरुषप्रधान नियमविरुद्ध आफूहरुले विद्रोह गरेको बताउँछन् उनीहरु । 
‘यहाँ पुरुष अभिभावकत्वलाई यति जोड दिइन्छ कि त्यसले हामीलाई हर कदममा बाँध्ने काम गर्छ,’ स्विडेन भागेकी सहद भन्छिन्, ‘यही कारणले महिलाहरु भाग्न चाहन्छन् ।’ 

साउदी अरबमा सबै महिलालाई विवाह, यात्रा र केही निश्चित औषधिउपचारका लागि पुरुष अभिभावकको सहमति अनिवार्य रुपमा चाहिन्छ ।

झन् रफिकले त आफूले इस्लाम धर्म त्याग्दै देशबाट भागेको बताएपछि हलचल मच्चिनु स्वाभाविकै थियो । उनलाई देशले फिर्ता बोलाउन त चाहेको थियो नै संसारभरिको ध्यान उनीतर्फ आकर्षित भएको थियो ।
यसका बाबजुद पनि साउदी अरब मात्र होइन मध्यपूर्व र संसारभरि महिलामाथिको पुरुष एकाधिकारका बारेमा छलफल हुने सम्भावना कमै छ । किनभने सदियौँदेखि पुरुष र महिला विचारले बाँधिएका छन् र पहिले भइरहेकै कुरालाई ठीक ठान्नेहरुको जमात कम छैन ।
 

Leave A Comment