नायक सुशान्तको फिटनेश सूत्र ‘ब्यागमा दुई कोसा केरा’

आइतबार, ०६ माघ २०७५, ०५ : ५२ उपेन्द्र खड्का
नायक सुशान्तको फिटनेश सूत्र ‘ब्यागमा दुई कोसा केरा’

अभिनेता सुशान्त कार्की आकर्षक बडीका धनी हुन् । सिक्स प्याक बडी छ उनको । ३१ वर्षका उनले विभिन्न फिल्ममा अभिनय गरेका छन् । कार्कीले शुक्रवारकर्मी उपेन्द्र खड्कासँग साटेको फिटनेश सूत्र :

बिहानको व्यायाम अढाई घण्टा
बिहान उठ्नेबित्तिकै नयाँ बजारमा रहेको आफू बस्ने कोठाबाट शरीरको गति नयाँबजारस्थित रहेको निशान जिम्न्यास्टिक हलतर्फ हुत्याउँछन्, अभिनेता कार्की । उनको यो दौड करिब १५ मिनेटको हुन्छ । तीन किलो मिटर दौडिन्छन् । जगिङ गर्छन् । त्यसपछि करिब ९० मिनेट जिम्न्यास्टिक हलमा जिम्न्यास्टिकसम्बन्धी व्यायाम गर्छन्,। जिम्न्यास्टिकपछि करिब ४५ मिनेट एब्सको व्यायाम गर्छन् । पेटका लागि एब्सको व्यायाम गरिन्छ । बिहानको व्यायाम सक्न उनलाई करिब दुईदेखि साढे २ घण्टा लाग्छ । 
बिहानको व्यायाम सकेपछि नयाँबजारस्थित रहेको कोठामा हिँड्दै फर्किन्छन् ।

ढिँडोसँग आधाकिलो मासु
बिहानको व्यायाम सकेपछि डेरामा फर्र्किएर तीन गिलास हल्का मनतातो पानी पिउँछन्, उनी । व्यायाम गर्नुअघि तरल पदार्थ पिउँदा व्यायाम  गर्न गाह्रो हुने भएकाले बिहान हल्का मुख भिजाउने बाहेक धेरै पानी पिउँदैनन् । कहिल्यै चिसो पानी पिउँदैनन् रे । 

खानपिनमा उनी निक्कै ध्यान दिँदा रहेछन् । चिल्लो र पिरो खाँदैनन् । भटमास, चना, मकै, गहुँलगायतका गेडागुडी आफैँ भुटेर मिलमा पिसेर ल्याउँछन्, र दूधसँग सातु खाँदा रहेछन् ।

बिहानको खाना खान करिब ११ बज्छ । बिहानको खानाका रुपमा छालारहित आधाकिलो चिकेनको चेष्ट पार्ट (कुखुराको छातिको भाग) ल्याउँछन् । दुईपटक उसिनेर चिल्लो फ्याँक्छन् । लसुन र दुई दाना टमाटर, अदुवा, हल्का मसला र एउटा खुर्सानी हालेर कुखुराको मासु पकाउँछन् । मासु पकाएपछि कोदो र फापरको ढिँडो पकाउँछन् । 
‘म कहिल्यै चामलको भात खाँदिन । ढिँडो खान्छु,’ उनले भने ।

ब्यागमा दुई कोसा केरा
खाना खाएपछि दिउँसो सुटिङलगायतका काम हुन्छन् । करिब ४÷५ घण्टा काम गर्छन् रे । ब्यागमा दुई कोसा केरा, दुईवटा स्याउलगायतका फलफूल बोकेर हिँड्दा रहेछन् उनी । जहाँ भोक लाग्यो त्यहीँ बाइक रोकेर खान्छन् रे । आफूले बोकेको खाजा फलफूल खान उनलाई कुनै ठाउँ चाहिँदैन रे । एक डेढ घण्टामा थोरै थोरै खाइरहन्छन् रे । चकलेट पनि बोक्छन् । सितिमिति होटलमा बसेर खाजा खाँदैनन् । 

बेलुका पुनः जिम
प्रत्येक दिन बेलुका ४ देखि ६ बजेसम्म जमलमा रहेको नेपाल व्यायाम मन्दिर जिमहलमा पुग्छन् । दुई घण्टा व्यायाम गर्छन् । बेलुका बडी बिल्डिङका लागि विभिन्न किसिमका जिम गर्छन् । 
यसका लागि साप्ताहिक कार्यतालिका रहेछ उनको ।

आइतबार ब्याक र बाइसेपको व्यायाम, यो व्यायामले शरीरको साइडको भाग (काखीमुनि) र आम्स (पाखुरा) को मांशपेशी बलियो तथा मजबुत बनाउन सहयोग गर्छ । 

सोमबार चेष्ट (छाती) र ट्राइसेपको व्यायाम गर्छन् । जसले छाती मजबुत बनाउँछ । मंगलबार डेल्ट,(सोल्जर÷कुम) र थाइ (तिघ्रा) को व्यायाम गर्दा रहेछन्, कार्की । यिनै व्यायाम हप्ताभरि रिपिट भइरहन्छ । 

बेलुका १० वटा अण्डा
बेलुकाको जिम सकेर डेरा फर्किएपछि मनतातो पानी पिउँछन् । दुई कोसा केरा खान्छन् । 
कार्की भन्छन्, ‘एक गिलास दूधमा दुई चम्चा मह हालेर पिउँछु ।’ त्यसपछि करिब एक घण्टा म्युजिकल तथा गीत, संगीत र मुभिमा रमाउँछन् । 

उनले बेलुका खाना खान छोडेको चार वर्ष भएछ । मह र दूध खाएको एक घण्टापछि दसवटा अण्डा खान्छन् । अण्डाको पहेंलो भाग फालेर सेतो भाग मात्रै खाँन्छन्,रे । बेलुकाको १० बजेपछि एक कचौरा सातु दूध वा पानीमा घोलेर खान्छन् । त्यसपछि सुत्छन् ।

 

Leave A Comment