एक यौनकर्मीको आत्मकथा : ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

मङ्गलबार, ०८ माघ २०७५, ०५ : ४५ प्रजु पन्त
एक यौनकर्मीको आत्मकथा : ‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’

रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी । एक तथ्यांकअनुसार नेपालमा यौनकर्मीको संख्या ५४ हजार नाघिसक्यो । त्यही ५४ हजारको संख्या मध्येकी एक थिइन्, उनी । भित्री मधेसकी एउटी सोझी युवती कसरी काठमाडौंकी मध्यम स्तरको यौनकर्मी हुन पुगिन् ? निकै लामो कसरतपछि आत्मकथा सुनाउन राजी भइन् । उनको सर्त थियो ‘मेरा छोराछोरी ठूला भइसके, उनीहरुलाई मेरो कामबारे थाहा छैन, परिचय नखुलाइदिनुहोला ।’ उनको सर्त स्वीकार भएसँगै उनी  शुक्रवारकर्मी प्रजु पन्तलाइ दुई दशक लामो यौनकर्म सुनाउन तयार भइन् ।

......................
जब समाउने हाँगो हुँदैन नि, आफ्नो शरीर बेच्न पनि तयार हुनुपर्दोरहेछ । म यौनकर्मी बन्नुको पछाडिको कारण पनि यही हो ।

सुरुमा मैले जे काम गरिरहेकी छु, त्यसलाई यौनकर्म भन्छन् भन्ने थाहा थिएन । भित्री मधेसमा जन्मिएकी म जसले खान दिन्थ्यो, आफ्नो गुजारा चलाउने खर्च दिन्थ्यो उसैसगँ रात बिताइदिन्थँे । कतिले त पैसा पनि दिँदैनथे । 

१९ वर्षकै उमेरमा श्रीमान् बित्नुभयो । त्यसपछि मेरो काला दिन सुरु भए । त्यतिबेला मेरो बच्चा दुई वर्षको मात्र थियो । अर्काे बच्चा २ महिनादेखि पेटमा थियो । 

आर्थिक अवस्था गाह्रै थियो । केही पुख्र्यौली सम्पत्ति त थियो तर दैनिक खर्च धान्न सक्ने खालको थिएन । त्यसमाथि पाहुना आइरहने, सन्तान पढाउनुपर्ने । श्रीमान् नभएपछि यी सबै खर्च धान्न गाह्रो भयो । 

श्रीमान्का अरु दाजुभाइ नभएका हैनन् तर उनीहरुले वास्तै गरेनन् । घर तिरकालाई मात्र के भन्नु ? माइतीले समेत वास्ता गरेनन् । १२ वर्षको  हुँदा नै आमा बित्नुभयो । बुबा अपाङ्ग हुनुहुन्थ्यो । दाजुको सरकारी जागिर थियो । उहाँले चाहेको भए भरथेग गरिदिन सक्नुहुन्थ्यो तर कहिल्यै ‘खर्च कसरी चलेको छ’ भनेर सोध्नु भएन ।

केही समय श्रीमान्को ठाउँमा काम पनि गरेँ । धेरै पढेकी थिइनँ । जागिर  पिउनको थियो । ५ वर्ष जागिरकै भरमा घर चल्यो । तर एक्कासि त्यो अफिसै बन्द भयो । मेरो कमाउने बाटो बन्द भयो । 
आम्दानी हरायो, यता छोराछोरी हुर्किए । पढाउने बेला भइसकेको थियो । कतैको आडभरोस थिएन । सासूआमाले माया त गर्नुहुन्थ्यो तर जेठाजूले देख्नै नसक्ने !

शिक्षकले झुक्याए 
श्रीमान् बित्नुभएको ७ महिनापछि दोस्रो सन्तान जन्माएँ । उमेर भर्खरकै थियो । एक हिसाबले मेरो जवानी बल्ल शुरु हुँदै थियो । खान, डुल्न मन लाग्ने उमेरमै म थचारिएकी थिएँ । 

मलाई पढाउने टिचर थिए । उनले म सानो छँदा कपाल कोरिदिनु हुन्थ्यो । स्कुलमा पढ्न सघाउनुहुन्थ्यो । विवाह भएर स्कुल छुटे पनि देखभेट भइरहन्थ्यो । एक दिन उहाँले पोखरा घुम्न जाउँ भन्नुभयो । त्यतिबेलासम्म म कतै गएकी थिइनँ । गुरुले नै जाउँ भनेपछि घरमा कुरा मिलाएँ ।

श्रीमान् थिएनन् । त्यत्तिबेला कसैले मायालु पाराले बोलाउनु नै ठूलो कुरा लाग्थ्यो । बाइकमा सरसँग पोखरा पुगेँ ।

पहिलो दिन कुराकानी गरियो सुतियो । त्यस्तो केही भएन । भोलिपल्ट गुरुले बियर खाउँ भन्नुभयो । मैले कहिल्यै खाएकी थिइनँ । उहाँले बढी नै कर गरेपछि खाएँ । केही समय अलि लट्ठ परेको अनुभव भयो । सरले कोठामा लिएर जानुभयो । 

त्यसपछि उहाँको र मेरो सेक्स सम्बन्ध भएछ । मैले यो कुरा भोलिपल्ट मात्र थाहा पाएँ । मलाई एकदमै नरमाइलो लाग्यो । माया गर्नेले सेक्स गर्छन् भन्ने लाग्थ्यो । त्यो समय मलाई पनि त्यस्तै लाग्यो । चित्त बुझाएँ । पछि थाहा भयो, सरले त मेरो बलात्कार गर्नुभएको रहेछ ! 

पोखराबाट गाउँ फर्किएपछि उहाँसँग भेट भइरहन्थ्यो । सँगै पनि हिँड्थ्यौँ । सबैले कुरा काट्थे । विवाह गर्छन् भन्थे । उमेर त्यस्तै थियो । ज्यानले नै केटा साथी खोज्थ्यो । तर म एउटा कुरामा भने प्रस्ट थिएँ । 
मलाई विवाह गरेको लोग्नेले मलाई असाध्यै माया गथ्र्यो । उसले उपहारको रुपमा दुई सन्तान छोडेर गएको थियो । मैले अर्काे विवाह गरेर बच्चा हुर्काइनँ भने उसको मायाको अपमान हुन्छ भन्ने लाग्थ्यो । त्यसैले अरुसँग सम्बन्ध राखे पनि विवाह गर्ने सोच कहिल्यै आएन ।

उहाँसँगको सम्बन्ध पनि नराम्रो लाग्न थाल्यो । जहिले आए पनि सेक्स गर्नै हतार । कुरा गर्न पनि नपाइने ! उसले मलाई यौन सन्तुष्टिका लागि मात्र उपयोग गरेझैँ लाग्न थाल्यो । एक दिन ठूलै झगडा भयो यही विषयमा र छोडिदिएँ । 

५ हजार दिने त्यो क्याप्टेन 
त्यो समयमा स्थानीय रेडियोमा ‘मेरो कथा’ भन्ने कार्यक्रम आउँथ्यो । मैले आफू विधवा भएपछि पाएको दुःख लेखेर त्यही कार्यक्रममा पठाएँ । ठेगाना पनि लेखेकी थिएँ । त्यसपछि त मलाई प्रहरी र सेनाका मान्छेहरुको चिठी पो आउन थाल्यो !

चिठी पठाउनेमा एक जना क्याप्टेन पनि थिए । उनले चिठी लेखेर खाता नम्बर मागे । मैले पठाइदिएँ । उनले त ५ हजार राखिदिएछन् । मान्छेको स्वार्थबारे त्यो बेलासम्म बुझ्ने भइसकेकी थिएँ । भेटै नभएको व्यक्तिले त्यत्तिकै पैसा दिँदा बडो अचम्म लागेको थियो । सबै स्वार्थी हुँदा रहेनछन् भन्ने त्यही दिन लाग्यो ।

चिठी पठाउने आर्मी र प्रहरीको संख्या बढिरहेको थियो । त्यो कार्यक्रमले आर्मी र पुलीससँग मेरो सम्बन्ध बढाइदियो । म त्यतिबेला निकै राम्री पनि थिएँ । गीत पनि गाउँथेँ । अफिस नजिकै ब्यारेक पनि थियो । ब्यारेकमा आउजाउ पनि बढी नै हुनथाल्यो । कतिले त विवाह गरौँ पनि भने तर छोराछोरी सम्झिएपछि मन लाग्दैनथ्यो । 

कर नतिर्न पुलिससँग लभ 
अहिले आमाले सन्तानलाई गर्ने मायाबाहेक सबै माया नक्कली लाग्छ । मैले पनि धेरैसँग मायाको नाटक गरेँ । मसँग पनि धेरैले मायाको नाटक गरे ।

घर भारतीय सीमानजिकै थियो । खर्च चलाउन भारतबाट सामान ल्याएर बेच्न थालेँ । सीमामा कर बुझाउनु पथ्र्यो । कर बुझाए नाफै हुँदैनथ्यो । सीमामा तीन वटा चेक पोस्ट थिए । तीन वटा चेकपोस्ट झेल्न निकै गाह्रो हुन्थ्यो । उपाय खोज्दा आफ्नै शरीर देखेँ । तीन वटै चेकपोस्टका प्रहरीसँग लभको नाटक गरेँ । उनीहरुलाई शरीरमार्फत् सन्तुष्ट पारेँ ।

तीन वटै चेकपोस्टमा ब्वाइफ्रेन्ड भएपछि कर तिर्नु पनि परेन, सामान पनि जफत भएन । त्यसमध्ये एउटा पुलिस त पागलै भयो मेरो प्रेममा । बिहे गरौँ भनेको थियो । सुनको गहना पनि बनाइदियो । अहिले कानमा रिङ लगाउँदा पनि उसैको याद आउँछ । त्यो उसैले बनाइदिएको थियो । मैले नै धोका पो दिएँ कि जस्तो पनि लाग्छ, मन पोल्छ । त्यस्ता धेरै पुलिससँग सम्बन्ध भयो तर अरुको याद आउँदैन । म पनि स्वार्थले उनीहरुसँग लागेकी थिएँ, उनीहरुले पनि स्वार्थैले मलाई सहयोग गर्थे ।

त्यो अविवाहित ग्राहक
बीचमा अब धेरै जनासँग लाग्दिनँ भनेर एउटा मात्र ब्वाइफ्रेन्ड पनि बनाएँ । ब्वाइफ्रेन्ड भएपछि सति सावित्री पनि भएँ म । उसले मलाई पैसा दिन्थ्यो तर विवाह गरिनँ । यसपछि ऊसँग मेरो सम्बन्ध टुट्यो । 
सबै सम्बन्ध पैसाका लागि मात्र पनि हुन्नथ्यो नि ! हाम्रो पनि मनै हुन्छ । कसैकसैसँग सेक्ससँगै माया पनि लागिहाल्थ्यो । 

मेरा जोडीहरु अविवाहितभन्दा विवाहितै बढी भए । अविवाहित पनि हुँदै नभएका भने हैनन् तर अविवाहितसँग सम्बन्ध भयो कि विवाह गरौँ भन्थे, त्यसैले सकेसम्म विवाहितसँगै लागेँ ।

एक जना मेरो गाउँ नजिकैको केटा थियो । मेरो साथीको होटल थियो । उसले बोलाई । म गएँ । दिउँसो एकछिनको २ हजार नाइटको ५ हजार दिनुपर्छ भनेकी थिएँ । 

कुरा मिलायो । पहिला पैसा लिनुपर्छ भन्ने थाहा थिएन । त्यो केटालाई मैले केही ढाँटिनँ । रेगुलर भेट्नुपर्ने भए पो ढाट्नु ! जे कामका लागि आएको हो, गर्छ–जान्छ भन्ने थियो ।

उसले सुरुमा नै तीन हजार दियो । एकदमै मिल्ने साथीझैँ भयो । त्यो दिन अबेला भएको थियो, बानेश्वरमा ल्याएर छोडिदियो । मलाई उसको बानी कस्तो छ भनेर चेक गर्न मन लाग्यो । मोबाइलमा ब्यालेन्स छैन भनेर ढाँटेँ  । उसले १ हजार रुपैयाँ ब्यालेन्स राखिदियो । 

ऊ विदेशबाट २÷३ महिनाको बिदामा आएको रहेछ । घर काठमाडौँबाहिर भए पनि एकदुई दिनमा आइहाल्यो । त्यसपछि हामी दुवै खुब घुम्यौँ । उसले मलाई टिप्स पनि दिन्थ्यो । स्कुटर किन भनेर ३० हजार पैसा दियो । 

पछि त विवाह गरौँ भनेर धेरै रोयो । ‘मेरो बाऊ आमालाई भन्छु बच्चा चैँ छैन भन’ भन्थ्यो । कोर्ट म्यारिज गरेर जाने भनेर सपिङ पनि ग¥यो । ऊ गयो । विदेशबाट पनि हुण्डीबाट ३० हजार पैसा पठायो । उसले फोन गरेको गर्यै गथ्र्यो । पछि मैले उठाइनँ ।

(कुराकानीकै बीचमा उनको मोबाइल बज्यो । अफिसतिर छु भनेर राखिन् । भनिन्, ‘यो चैँ अहिलेको बूढाको फोन । बूढा ? कस्तो बूढा ? उनको उत्तर थियो, ‘पाँच वर्षदेखि ऊ मेरो ब्वाईफ्रेन्ड भएको छ । मैले आफ्नो पेसा पनि छोडेको छैन, उसले घरपरिवार पनि छोडेको छैन ।’) 

केही वर्षअघि यो अहिले फोन आएको मान्छेसँग मेरो सम्बन्ध अघि बढ्दै थियो । विदेश गएको केटाको कल आयो । त्यसपछि यसले फोन फालिदियो । अनि ऊ मलाई नै भेट्न नेपाल आयो । दोहोरीमा ‘मलाई बिर्सेर जाने भए जाऊ तर अन्तिम पल्ट भेट्न आऊ’ भन्ने गीत गाउन लगायो ।  दोहोरीभित्रै बसेर ऊ धेरै रोयो ।
धेरै पैसा पाउन धेरै ग्राहकसँग झूटो पनि बोलेकी छु । जसले धेरै पैसा दिन्थ्यो उसैसँग पनि गइयो । कहिलेकाहीँ सम्झँदा कसैको मायामा खेलवाड पो गरेँ कि जस्तो पनि लाग्छ तर मेरो पनि आफ्ना बाध्यता र निर्णय थिए ।

उल्टै मेरै पैसामा मोज
टन्न पैसा दिने मात्र हैन, पैसा नदिने, मेरो भएको सामान पनि चोरेर लैजाने ग्राहक त कति आए कति ! कोही त सेक्स गरिभ्याएपछि ‘तँलाई रण्डी’ भनेर गाली गरेर पैसा नदिई भाग्थे । त्यतिबेला के बोलुँ न के नबोलुँ हुन्थ्यो । 

म गाउँमा छँदा जतिबेला मलाई कसैले खान दिएकै भरमा उनीहरुसँग सुतिदिन्थेँ, त्यो बेलामा एकचोटी केही कामले काठमाडौँ आएँ ।  एउटा आर्मीसँग अकस्मात भेट भयो । अहिले सम्झँदा बागबजार लगेर राखेको रहेछ । उसले होटलमा लगेर राखिदियो । मसँग केही पैसा मात्र थियो । 
 

उसले होटलको बिल मैसँग माग्यो । सबै बिल तिर्यो । अगांलो हाल्ने, किस गर्नेबित्तिकै माया गरेको अनुभव भइहाल्यो मलाई । रातभरि मलाई भोग्यो । 
उसले सबै पैसा माग्यो, मैले दिएँ । भद्रकालीमा काम गर्छु भन्थ्यो । मलाई खासमा नाम पनि थाहा थिएन । अहिले जस्तो भएको भए त सबै हेर्थें नि ! 

एकैछिनमा आउँछु भनेर गएको ऊ भोक लागिसक्यो आउँदैन । कतै जान भाडा पनि थिएन । भद्रकाली मन्दिर बसेर रोएँ, सरापेँ । कहाँ पुग्यो कहाँ पुग्यो ! संयोग भनौँ, गाउँकै एक जना दाइसँग भेट भयो । पैसा हरायो भनेर ढाटेँ । उहाँले दिनुभयो । 

सुन चोर्ने ग्राहक
गाउँमा छँदा घरनजिकै आर्मी ब्यारेक थियो । एक आर्मीसँग नजिक भएँ । ऊसँग परालको टौवामा सम्बन्ध भयो । त्यो बेला कानको टप नै हरायो । मैले उसलाई भनेँ तर उसले वास्तै गरेन । मैले उसलाई सरापेँ । पैसा पनि दिएन । ‘तँ नबोली जा’ भनेर उल्टो थर्कायो । पैसा दिएन । सुन पनि खाइदियो । अहिले पनि उसको र मेरो भेटघाट हुन्छ । अहिले भेट हुँदा बहिनी नमस्कार भन्छ । 

अहिले कोहीसँग नाइट बस्ने गरी जाने बेलामा गहना नलगाई जान थालेँ । कहिले लगाएर गएको बेला छ भने ग्राहक ट्वाइलेट गएको बेला त्यही डस्नामुनि लुकाउँछु । 

काठमाडौं यात्रा
करिब १० वर्ष गाउँमा यसरी नै बसियो । धेरै जनासँग सम्बन्ध भयो । माइतीकाहरु हाम्रो बेइज्जत गरी भन्थे तर जिम्मेवारी चाहिँ नलिने । हेर्ने बेलामा वास्तै नगर्ने अनि बेइज्जत भो भनेर मात्र हुन्छ ? म र मेरा बच्चा भोकै मर्नु ?
यसपछि गाउँमा बस्न मन लागेन र काठमाडौं आएकी थिएँ । 

काठमाडौँमा आएपछि मात्र थाहा भयो, मैले गाउँमा बस्दा गरेको काम त यौनकर्मीको रहेछ ! म जस्तै अरु पनि हुने रहेछन् ! पहिला त यही धन्दा पनि के गर्नु भन्ने लाग्थ्यो । बाध्यता थियो । काठमाडौं आएपछि केही गल्ती गरेझैँ लागेन । जसले जे सक्छ, त्यही गर्ने त हो !

रेगुलर पाटर्नरसँग नो कण्डम
पेसाले नै यौनकर्म भएपछि मन मिल्नु नमिल्नु ठूलो कुरा भएन । पैसा पाए भयो । पैसामा कुरा मिल्यो कि सम्बन्ध भइहाल्थ्यो । नयाँसँग त कण्डम नलगाई मान्दै मान्दिनँ तर रेगुलर ग्राहक हो भने छूट पनि हुन्छ । 
कण्डम संस्थाले दिन्थ्यो तर प्रायः आइरहने ग्राहकहरु कण्डम लगाउन मान्दैनन् । त्यो ग्राहकले मलाई घरमा दाल, चामल किन्ने पैसा दिन्थ्यो, त्यो संस्थाले कण्डम मात्र दिन्थ्यो । कण्डम खानु भएन ! 
काठमाडौं आएपछि गाउँमा झैँ बोलाउना साथ जान छाडियो । काठमाडौं आएपछि त प्रोफेसनल भइयो । बोलाएपछि पहिला पैसाको कुरा हुन्छ । फिक्स भएर पैसा पाएपछि मात्र जाने हो । रेट ग्राहकअनुसार हुन्छ ।

ग्राहक नेता, पुलिस र आर्मी
मेरा प्रायः ग्राहक नेता, पुलिस र आर्मी नै हुन् । अन्य पनि नहुने हैनन् तर त्यसमा यिनको संख्या अलि बढी नै छ । मध्यम स्तरका नेता मेरोमा आइरहनुहुन्छ । 

उहाँहरु यस्तो सम्बन्ध गोप्य रहोस् भन्ने चाहनु हुन्छ । धेरै नबोल्ने, काम सक्ने अनि गइहाल्ने बानी हुन्छ उहाँहरुको । जसले यस्तो सम्बन्ध बाहिर खुलाउँदैनन्, नेताहरु त्यसकैमा त आउने हुन् ! 

मैले मिसकल गर्नेबित्तिकै कलब्याक गर्ने नेता अहिले पनि छन् । सांसदसँग पनि रात बिताएकी छु । नेता र सांसदसँग बस्दा हामी आफैँले होटलमा कोठा लिनुपर्छ । उनीहरु त आउने मात्र हो । नेताले सेक्स गर्दागर्दै ‘यौन व्यवसायीको लागि कस्तो नीति बनाउने’ भनेर पनि सोध्छन् ।मेरा रेगुलर ग्राहक आर्मी र पुलिस पनि छन् । आर्मीमा जर्नेलसम्मका व्यक्तिसँग बसेकी छु । पुलिस त कति आए आए ! 

ग्राहक गनेर सकिन्न
एक दिनमा ४÷५ जनासँग समेत सम्बन्ध राखेकी छु । योभन्दा धेरै जनासँग सकिन्न अहिले । तर अहिलेसम्म कति ग्राहक भए होलान् गन्न सक्दिनँ । बूढाहरुले भर्खरका केटी खोज्छन् । भर्खरका केटाहरुले भने अलि उमेर पुगेको खोज्छन् । तर १५÷१६ वर्ष उमेरका केटासँग सम्बन्ध राख्न भने लाजै लाग्छ ।

एक जना भनेर तीन जना आउँदा  
एकचोटी काठमाडौँमा होटलमा एकजनाले मसँग सम्बन्ध राख्ने भनेर  आयो । उसलाई मैले सक्दो खुसी बनाउने प्रयास गरेँ । जब उसले काम सक्यो, त्यसपछि म नउठ्दै अर्काे केटा पनि आयो । ऊसँग पनि गर् भन्यो, गरेँ । ऊ गयो, फेरि अर्काे आयो । तीनै जनाले भोग गरे तर एक पैसा दिएनन् । यस्तो सम्झँदा अहिले पनि नमज्जा लाग्छ ।

सेक्स भावनात्मक र शारीरिक मिलन भन्ने गरेको पनि सुनिन्छ तर हामीजस्ता यौनकर्मीको भावना कसले बुझ्ने ? कोही ग्राहक त पशुजस्तै हुन्छन् । 


एक दिन त्यस्तै पशुजस्तो ग्राहक मेरो भागमा पर्यो । उसको सेक्स गर्ने  तरिका शरीरलाई निकै पीडा दिने रहेछ । उसले जसरी बस् भन्यो उसरी बस्न पर्ने । नयाँ–नयाँ स्टाइलमा बस्न लगाउँथ्यो, नबसे झपाथ्र्यो । भन्थ्यो– ‘मैले तँलाई पैसाले किनेको हो, मैले जसरी बस्, गर् भन्छु तैँले उसैगरी मान्नुपर्छ’ । त्यो समयमा यति दुखेको थियो कि म त २÷४ दिन काम नै गर्न सकिनँ । 

म मध्यम स्तरकी
यौनकर्मीको पनि स्तर हुने रहेछ । यो पनि काठमाडौं आएपछि नै थाहा पाएकी हुँ । मैले जसरी काम गर्छु, यो मध्यम स्तरमा पर्ने रहेछ । एक प्लेट मम र चाउमिनमा शरीर बेच्नेहरु पनि यही काठमाडौंमा छन् । उनीहरु निम्न स्तरमा पर्ने रहेछन् । दिनकै लाखौं लिने उच्च तहमा पर्ने रहेछन् ।

पेशा गर्दागर्दै ४० हाराहारी पुगेँ । अहिले ग्राहक खोज्दै हिँड्दिनँ । फोन  आएपछि जान्छु । अहिले मेरो फिक्स रेट पनि छैन । ग्राहक आफैंले बुझेर दिन्छन् । एक रातको त्यस्तै १०÷२० हजारसम्म दिन्छन् । कोहीसँग त माग्नै पनि मिल्दैन । प्राय गर्लफ्रेन्ड मानेकोसँग पैसा माग्दिनँ ।

कुनै पछुतो छैन
मेरो कहानी सुन्दा पछुतो रहेछ कि जस्तो लाग्दो हो तर छैन । श्रीमान् हुँदाहुँदै, आर्थिक स्रोत बलियो हुँदाहुँदै यस्तो काममा लागेको भए पनि किन लागे हुँला भन्ने हुँदो हो । 
पहिला दुःख पाएँ तर अहिले यही पेशाले मलाई काठमाडौंमा मज्जाले बस्न सक्ने बनाएको छ । सन्तानलाई स्कुलमा पढाउन पाएकी छु । आर्थिक अवस्था राम्रै छ ।
माइतीले हेरेनन्, घरकाले भरथेग गरेनन् । कुनै काम गर्न न सीप थियो न शिक्षा । मैले त्यो बेलामा आफन्तको साथ खोजेकै हो नि ! कसैले दिएन । के खाइस्, के लाइस् ? बालबच्चा कसरी पढाउँछेस् भन्ने कोही भएनन् । अनि जे जानेँ, त्यही गरेँ ।

तस्बिर ः कृष्पा श्रेष्ठ

Leave A Comment