र्यापर ‘५ः५५’ : ‘२०१९ मा -याप म्युजिकले तहल्का पिट्नेवाला छ’

शुक्रबार, ११ माघ २०७५, ०६ : ०४ अनिल यादव
र्यापर ‘५ः५५’ : ‘२०१९ मा -याप म्युजिकले तहल्का पिट्नेवाला छ’

उनको खास नाम चिराग सिंह खड्का हो तर सबैले ‘५ः५५’ भनेर चिन्छन् । आफ्नै स्टाइलमा बाँच्न रमाउने अनौठो स्वभावका  -यापर हुन् यिनी । युट्युबमा परिचित उनको नाम मात्र रोचक छैन, उनले गाएका गीतका बोलहरु पनि उस्तै रमाइला छन्– ‘बूढी’, ‘तोपेन्द्र’, ‘परिरा’छ पानी’, ‘जिन्दगी’, ‘माया’ आदि । भन्छन्, ‘मलाई जिन्दगीभन्दा बढी डर मिडियासँग लाग्छ ।’ उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः 

के छ त खबर ?
चलिरा’छ । राम्रै छ भन्नुपर्ला । 

नाम ५ः५५ किन ?
सबैले सोध्छन्, मलाई यो प्रश्न । तर यसको जवाफका लागि तपाईंले मेरा सबै गीत सुन्नुपर्ने हुन्छ क्या ! मैले एउटा गीतमा यसको कारण खुलाएको छु । 

त्यता पनि खोजौँला, अहिले पनि भन्दिनु न, हुन्न ?
५ः५५ को पछाडि धेरै कारण छन् किनभने यो नाम होइन, युनिभर्सल नम्बर हो । एस्ट्रोलोजी अनुसार यस्तो अंकले युनिभर्ससँग कनेक्ट गर्छ रे ! त्यो अवस्थामा तपाईंले सही निर्णय लिन सक्नुभयो भने राम्रो हुन्छ पनि भन्छन् । सबैले अल्फाबेट युज गर्छन्, म अलि फरक ढंगले लागौँ भनेर नम्बर राखेको हुँ । 

गीतको अन्त्यमा तपाईं ‘जय शम्भो’ पनि भनिरहनुहुन्छ, यसको पनि केही कारण छ ?
यो एउटा आस्था हो । हामी हिन्दु देशमा जन्मेको भएर पनि होला । आखिर कला र संस्कृति सँगैसँगै  हिँड्छन् । स–सानो कुराले पनि धेरै ठूलो प्रभाव पारिरहेको हुन्छ । मैले लास्टाँमा ‘जय शम्भो’ भन्दा त्यहाँ पनि पोजिटिभ भाइब्स आइरा’ हुन्छ ।  

एकछिन पछाडि फर्कौं । संगीतमा कसरी लाग्नुभयो ?
सानैदेखि र्यापर बन्छु, गीत गाउँछु भन्ने छँदै थिएन । मलाई कसैले उत्प्रेरित गरेको पनि होइन । यो आफैँ भा’को कुरा हो । कुनै बेला म काठमाडौंमा  मार्केटिङ म्यानेजरका रुपमा काम गर्थें । होटल, रेष्टुरेन्टतिर डुलिरहेको हुन्थेँ । जताततै म्युजिक नै म्युजिक हुन्थ्यो । त्यसपछि मैले काम छाडेर म्युजिकतिर लागेँ । मैले जति कुराहरु फिल गर्दै जान्थेँ, त्यो आर्टमार्फत् निस्किन थाल्यो । मैले भन्न नसकेका कुराहरु गीतमार्फत् भन्न थालेँ । यसरी भन्दा सजिलो पनि हुने रै’छ । आफैँलाई सन्तुष्टि पनि मिल्ने रै’छ । 

औपचारिक संगीतयात्रा कहिलेबाट सुरु भएको हो ?
सन् २०१३ मा मैले ‘अति भो’ बोलको पहिलो गीत निकालेँ । त्यो नै मेरो औपचारिक सुरुवात भयो । त्यतिबेला ५ हजार, ७ हजार भ्युज मात्रै हुन्थ्यो तर त्यो नै ठूलो कुरा लाग्थ्यो । भूकम्पको बेला पनि गीत निकालेँ । भूकम्प आइरा’को थियो, म कोठामा हल्लिदै गीत लेखिरा’थँे । त्यो क्षण अझै याद छ मलाई । ‘माया’, ‘तोपेन्द्र’ लगायत धेरै गीत दर्शकले रुचाउन थाल्नुभयो । त्यसपछि अब गीतमै केही हुनेरै’छ भन्ने लागेर यतै सक्रिय छु । 

दर्शकमाझ तपाईं चिनिएको त युट्युबकै माध्यम त हो नि, हैन र ?
हो । युट्युब एकदमै ठूलो प्लेटफर्म भएको छ आर्टिस्टहरुका लागि । तपाईंको कला तपाईं आफैँ संसारलाई देखाउन सक्नुहुन्छ । 

तपाईंले युट्युबमा राखेका अधिकांश गीत ‘र’ छन् । बाजागाजा, एरेन्ज केही पनि गरिएको छैन । पुरै ‘लाइभ’ फिल हुन्छ । यस्तो किन ?
एक्सप्रेस गर्दाखेरी लाइभ नै सजिलो हुने रै’छ । स्टुडियो पुग्दा माइन्डसेट नै फरक भइदिँदोरै’छ । तपाईं एउटा कुरा सोचेर जानुहुन्छ, स्टुडियोमा जाँदा अर्को भइसक्छ । मलाई म जे हो, त्यही देखाउन मन छ । देखावटी भएर नभाको गाडी देखाउँदै, नभाको केटी देखाउँदै हिँड्न मन छैन । यसको अर्थ  गाडी देखाउनु नराम्रो हो भन्न खोजेको होइन है । सबैको आ–आफ्नै स्टायल हुन्छ । मलाई ‘र’ कुराहरु नै बढी मनपर्ने भएकाले त्यस्तै काम बढी गरिरहेको हुन्छु । तर म अब नेस्ट स्टुडियोसँग मिलेर मेरा गीतहरुमा म्युजिक छिराउने तयारी पनि गरिरहेको छु । 

स्टुडियोमै गएर पनि गाउनु त भएको छ, अनुभव कस्तो थियो ?
हो । ‘माया’ भन्ने गीत स्टुडियोमै गरेको हो । 

गाह्रो भयो ?
गाह्रो भन्दा फिलिङ्ग्स अर्कै आयो । रियल फिलिङ्स आएन । आत्मैदेखिको फिलिङ्स नआउने रै’छ । 

कौसीमै बसेर गीत गाउनुहुन्छ । अनि त्यसैलाई युट्युबमा भिडियो बनाएर अपलोड गर्नुहुन्छ । म्युजिक भिडियो बनाएर अलि व्यवस्थित ढंगले गरौँ भन्ने लाग्दैन ?
तपाईं म्युजिक भिडियो बनाउन सक्नुहुन्छ भने बनाउनुस् तर सक्नुहुन्न भने कुरेर नबस्नुस् । सबैसँग पैसा हुँदैन, क्यामेरा हुँदैन, यो हुँदैन, त्यो हुँदैन तर आर्ट भइरहेको हुन्छ । अनि त्यसलाई किन रोक्ने त ? तिमी जे सक्छौ, त्यो निकालिहाल्नुपर्छ । त्यो नसोच्नुस् कि मेरो लाइटिङ मिल्या छैन, मेरो भोकल मिल्या छैन, भिडियोमा मेकअप गर्नुपर्छ कि गर्नुपदैन ? अनेक सोच्नु भनेको समय खेर फाल्नु हो । तर न्यूनतम क्वालिटीको त ख्याल गर्नै पर्यो । लास्टाँमा भनिहालौँ, म मेरो ‘बुढी’ गीतको म्युजिक भिडियो चाँडै सार्वजनिक गर्दैछु । 

तपाईंका लागि गीत गाउनु भनेको के हो ?
खुशी हो । 

आफ्ना गीतमार्फत् अडियन्सलाई के दिन चाहनुहुन्छ ?
पोजटिभ भाइब्स दिन चाहन्छु । खुशी दिन चाहन्छु । यसको अर्थ अडियन्स खुशी छैनन् र मेरो गीत सुनेर खुशी हुनुस् भन्न खोजेको पनि होइन तर मलाई अडियन्सको पोजिटिभ म्यासेजले ऊर्जा दिन्छ । तपाईंको गीत सुनेर मेरो लाइफ चेन्ज भयो भनेर म्यासेज पठाउनेहरुसम्म छन् । 

कुन गीतले रै’छ त्यसरी लाइफ नै चेन्ज गरिदिएको ?
मेरो ‘जिन्दगी’ भन्ने गीतले । मैले यो गीतमा सरर गुलेली बजाउँदै जिन्दगी के रै’छ, त्योबारे भनेको छु । एउटा भाइले यो गीत सुनेपछि मलाई फोन गरेर ‘म सधैँ डिप्रेसनमा बसिरहेको हुन्थेँ तर तपाईंको गीत सुनेर मलाई जतिखेर पनि हासुँहासुँ लाग्छ । म बिहानदेखि बेलुकासम्म तपाईंकै गीत सुनेर काम गर्न जान्छु’ ह्यान त्यान भन्नुभएको थियो । एउटा आर्टिस्टको लागि यो भन्दा खुशीको कुरा के हुनसक्छ र ! 

तपाईंको नजरमा नेपाली  -याप म्युजिक कता गइरहेको छ ?
धेरै राम्रो भइरा’को छ । नेपालमा यो २०१९ अब र्यापको लागि हो । सबै र्यापरहरु अब जागिरहेका छन्, जोशिइरहेका छन् । सबै फ्रन्टमा आइरहेका छन् । मुभीदेखि सबै काममा र्यापको प्रयोग भइरहेको छ । हेर्दै जानुस्, २०१९ मा र्याप म्युजिकले तहल्का पिट्नेवाला छ । 

तपाईंको विचारमा र्याप म्युजिकलाई यहाँ सबैखाले श्रोताले किन स्वीकार्न सकिरहेका छैनन् ?
जेनरेसन ग्यापको कारणले पनि हो । किनभने र्याप त पश्चिमा देशबाट आएको म्युजिक हो । हाम्रो आफ्नै म्युजिक त लोकदोहोरी हो । त्यसैले यहाँ कतिपय मान्छेले अझै पनि  -याप भनेको झगडा गर्नु, मुख छाड्नु हो, ट्यापेले गाउने कुरा हो भनेर बुझिरहेका छन् तर अब बिस्तारै सबैले बुझ्दैछन् । हलिउड र बलिउडले  -यापलाई प्रयोग गर्न थालेपछि यता पनि प्रयोग हुन थालेको छ । नढाँटी भन्नुपर्दा, हामी फेरि  -यापमा बढी टिनेजर्स नै फोकस्ड गर्छौं । -याप गाउँदा जोश बढी नै चाहिन्छ । गाउनेले पनि जोशिलो भएर गाउनुपर्छ, सुन्नेले पनि जोशिएर सुन्न सक्नुपर्छ । 

गीत गाउन तपाईंले  -याप शैली नै किन रोज्नुभयो ? 
म नारायण गोपाल शैलीमा गीत गाउँदा थोरै समयमा धेरै लिरिक्स गाउन सक्दिनँ तर  -यापमार्फत् एउटै लाइनमा धेरै कुरा भन्न सकिन्छ । उता १० लाइनमा एउटा गीत बन्छ । तर हाम्रो एक भर्स नै १८ लाइनको हुन्छ । यसो हुँदा हामीले एउटा  -याप गीतमार्फत् धेरै कुरा भन्न सक्छौँ । 

कस्तो बेलामा फुर्छ त -याप ? 
भन्नै सकिन्न । कहिले रातिको १ बजे फुरिरा’ हुन्छ, कहिले बिहान उठ्नेबित्तिकै फुर्छ । कहिले सपनामै शब्दहरु फुरिराहुन्छ । 

गाँजा तानेको बेला झन् दामी फुर्छ भन्छन्, सही हो ?
त्यो त मलाई खासै थाहा भएन । गीतमा कसैलाई रक्सी खाएर फुर्ला, कसैलाई गाँजा तानेर फुर्ला, कसैको केही नगरी फुर्ला । त्यो सबै आ–आफ्नो स्टायल हो ।

तपाईंलाई ?
मेरो माइन्ड जबसम्म फ्रेस हुन्छ, तबसम्म लेख्न सक्छु, गाउन सक्छु । सुरुमा खुल्नुप-यो क्या ! त्यसपछि -याप त कति फुर्छ, फुर्छ । 

प्रायः चश्मा लाइरहनुहुन्थ्यो । आज लाउनुभएन छ है ?
अँ, आज घाम नै लागेन क्या ! (हाँस्दै) 

तपाईंको एउटा  -याप गीतको बोल नै छ ‘भालु’ । यो त अलि अमर्यादित सुनिएन र ? 
जनावर भालु हो नि त्यो । तपाईंले के बुझ्नुभयो र ?

एक त द्विअर्थी शब्द त्यसमाथि त्यो गीत पूरा सुन्दा तपाईंले जनावरको कुरा गरेको होइन भन्ने त क्लियर नै हुन्छ नि, होइन र ?
डबल मिनिङ त हरेक शब्दमा हुन्छ नि ! तपाईंले कसरी लिनुहुन्छ भन्ने कुरा पो मह-त्वपूर्ण होला त ! अब मैले ‘भालु’ भन्दा तपाईंले अरुअरु ‘भालु’ बुझ्नुभयो भने त्यो त तपाईंको नेगेटिभिटी भयो नि, होइन र ? यो त मेरो प्रोब्लम भएन नि ! फेरि मैले यो गीतमार्फत् कसैलाई होच्याउन खोजेको होइन । गीतमा मायाको कुरा छ । मायाको कुरा त गर्न पाइयो नि यार ! 

त्यो शब्द प्रयोग नगरी पनि तपाईंले भन्न खोजेको कुरा त भन्न सकिन्थ्यो होला नि ? 
मज्जाले सकिन्थ्यो तर मलाई त्यही शब्द प्रयोग गर्न मन लाग्यो । गर्ने के ? (हाँस्दै) तर म फेरि पनि भन्छु, मैले मेरो काममा आफ्नो तालमा गर्छु तर कसैको नराम्रो सोच्दिनँ । 

प्रायः -याप गीतमा ‘रफ वर्ड्स’ बढी सुनिन्छ । छाडा शब्दको प्रयोगबिना -याप गाउन नसकिने हो ?
त्यस्तो होइन । यो फिलिङ्स हो । मुख पनि कसरी छाड्ने हो अनि के कारण छाडेको हो ? त्यसमा भर पर्छ । यहाँ त मान्छेहरु जो हामीलाई तिम्ले छाडा शब्द बोलेछौ भन्न आइरहेका हुन्छन्, उनीहरु नै पर पुगेर फोनमा बोल्दा छाडा बोलिरहेका हुन्छन् । गीतमा छाडा बोल्न नमिल्ने, फोनमा मिल्ने ? हामी रियालिटीमा किन नबाँच्ने ? जे छ त्यही छ । स्वीकार गर्न सिकौँ न ! किन जज गर्ने अरुलाई ? गीतमा ‘साला’ भन्दा फरक पर्ने तर घरमा कसैलाई गएर ‘ओइ साला, भात पका’ भन्दा फरक नपर्ने ! यस्तो किन गर्ने क्या ?

तपाईंको गीत सुनेर घरमा कस्तो रेस्पोन्स आउँछ ?
घरमा बिहान बेलुका ड्याडले ममलाई डेडिकेट गर्दै ‘ए बूढी’ भन्दै मेरै गीत गाइरहनुहुन्छ । घरमा मलाई ड्याडले नै तोपेन्द्र भनेर बोलाउनुहुन्छ । ‘ओई, तोपे’ भन्नुहुन्छ । मैले भन्न खोजेको, सपोर्ट भन्ने कुरा छ क्या ! मम् ड्याडको सपोर्टबिना म यहाँसम्म आइपुग्थिन् । 

नाम राख्ने मामिलामा तपाईं साँच्चिकै युनिक हुनुहुन्छ । आफ्नो टाइटल नै ५ः५५ राख्नुभयो । गीतका टाइटलहरु पनि पनि कहिले ‘बूढी’, कहिले ‘भालु’, कहिले ‘तोपेन्द्र’ त कहिले के ! किन हो यस्तो ?
सिम्पल वर्ड्स युज गरेको मात्र हो । अरु केही होइन (हाँस्दै) । 
 
दर्शकले सजिलै नोटिस गरुन् भनेर हो ?
मान्छेले मलाई नोटिस गरोस्, मसँग फोटो खिचाओस्, मेरो पछि लागोस् भन्ने सोचेर म कहिल्यै काम गर्दिनँ । जो–जोले मेरो गीत सुन्छन्, जोजोले मलाई चिन्छन्, उनीहरुलाई थाहा छ म किन यस्तो गर्छु । मैले चर्चा खोज्दै हिँड्न थाले भने त मेरो गीत हराइहाल्छ नि ! मेन कुरा त मेरो गीत हो । त्यसपछि मात्रै हो चर्चा । 

नेपाली म्युजिकमा के–कस्ता समस्या देख्नुहुन्छ ?
पहिलो कुरा, सो, कन्सर्ट, इभेन्ट्सहरु राम्रो भइरहेको छैन । भए पनि आयोजकले समयमा पैसा नदिने, बोलाइदिने अनि कुराइदिने जस्ता समस्या धेरै छन् । कलाकारलाई अझै सम्मान छैन । रियालिटी सो हुन्छ तर कतै -यापलाई प्राथमिकता छैन, बि–बोइङलाई पनि छैन । हिपपप अझै पनि युट्युबमा मात्रै सीमित छ । यस्तै छन् समस्या ।

के कारण हो त ?
किनभने हामीले अलिकति रफ वर्ड सोसाइटीका लागि युज गर्छौं । युट्युबमा इट्स ओके । जे गर्न पनि पाइयो । तर रेडियो र टिभीमा बजाइदिँदैनन्, देखाइदिँदैनन् तर नबजाए पनि ठीकै छ, हामीलाई युट्युबले पुगिरा’छ । बढी मिडिया भएर पनि काम छैन क्या ! नभाको नभाको कुरा पनि भन्दिन्छन् । त्यही भएर डर लाग्छ मिडियासँग । त्यसैले एउटा कुरा बोल्दा पनि १० चोटी सोचेर बोल्छु म । बरु युट्युबमा जे पनि बोल्दिए हुन्छ । मलाई जिन्दगीभन्दा पनि मिडियासँग डर लाग्छ क्या ! (हाँस्दै)

त्यसो भए भन्दिनुस्, अहिले कत्तिको सोचेर बोलिरहनुभएको छ त ?
सोच्नै त प-यो नि ! बरु नबोल्नुस्, सुन्नुमात्रै अरुको कुरा । धेरै अगाडि पुगिन्छ तर धेरै बोल्यो भने दुःख पाइन्छ । 

अनि यो सब कुरा तपाईंले बोलेरै भनिरहनुभएको छ है ? (हाँस्दै)
हो । बोलेरै भनिरहेको छु तर बुझाउनलाई भनिरहेको छु (हाँस्दै) । यही बेला एउटा रमाइलो किस्सा याद आयोः दुईतीन वर्षअघि एउटा भाइले म रिपोर्टर हुँ, -यापसम्बन्धी न्युज लेख्ने गर्छु, हजुरको बारेमा पनि लेखौँ भनेर कल ग-यो । तपाईं जसरी कफी सपमा भेट्न गएँ । साथीसँग गएको थिएँ । आधा घन्टा जति मज्जाले गफ दिएँ । गफ सकिएपछि थाहा भयो, ऊ त रिपोर्टर होइन, मेरो फ्यान पो रहेछ ! मसँग कुरा गर्न रिपोर्टर भएको बहाना बनाएछ । थोरै रिस पनि उठ्यो । बरु जे हो, त्यही भनेर बोलाको भए पनि म जान्थेँ, खुशी हुन्थेँ । ढाटेर भेट्दा अलि चित्त बुझेन । 

त्यसपछि त कसैले रिपोर्टर भनेर कल गर्दा पनि ‘क्रस भेरिफाई’ गर्नुहुन्छ होला ?
हो । गिरीश (खतिवडा) दाइले रिफर गरेको भएर पनि मैले तपाईंलाई भेटेको हो । नत्र भेट्थिन होला । 

म्यूजिक इन्डस्ट्रीको के कुराले चित्त दुख्छ ?
चित्त मलाई केही कुराले पनि दुख्दैन । म कसैको राम्रो पनि भन्दिनँ, नराम्रो पनि भन्दिनँ । म आफ्नै बाटोमा हिँडिराछु । आफ्नै गन्तव्यमा छु । यो ग्ल्यामर, यो मिडिया, के के हुन्छ नि, मलाई त्यसको भित्र जानु नै छैन । मलाई यत्तिकै रमाइलो भइराछ । मलाई कौशीमा बसेर ‘ए बूढी’ गाउँदा रमाइलो लाग्छ । मलाई पानीमा भिज्दै आफ्नै गीत ‘परिराछ पानी’ सुन्दा साह्रै मज्जा लाग्छ । 

आफूलाई नै मनपर्ने आफ्नो गीत ?
मेरो ‘जिन्दगी’ भन्ने गीत म आफैँले लेखेको हो र जस्तो लाग्छ । युट्युबमा बजाउँदा ‘ल, म आफैँ हुँ र यो गाउने’ जस्तो पनि लाग्छ । 

कसरी लेख्नुभएको थियो ?
राति निन्द्रा लागिराथेन । साढे ३ बजिसकेको थियो । निन्द्रा नलाग्दा म म्युजिक बजाउने गर्छु, लेख्ने गर्छु । साढे ३ बजेदेखि लेख्न थालेको बिहानसम्म लेख्यालेख्यै भएछु । अनि मैले ओछ्यानबाट उठ्नेबित्तिकै बिहानको ८ बजे रेकर्ड गरेर युट्युबमा अपलोड गरेँ ।

रंगरोगन केही पनि गर्न मन लागेन ? 
अँहँ । निक्लेको आर्टलाई देखाइहाल्ने हो । मेकअप गरिरहन जरुरी छैन । म जे हुँ, त्यही हुँ । नाटक गर्न मन लाग्दैन । मैले ‘जिन्दगी’ -यापमै भनेको छु निः 
‘देखावटी संसारमा प्रशस्त छन् नौटंकीहरु
के सबलाई हेर्दै म पनि यहाँ नौटंकी गरुँ ?’

Leave A Comment