माइग्रेन पो भयो कि !

आइतबार, १३ माघ २०७५, ०३ : १८ शुक्रवार
माइग्रेन पो भयो कि !

डा. भवेश थापा 
उपप्राध्यापक तथा फिजिसियन  
मेडिसिन विभाग, वीर अस्पताल 
माइग्रेन भन्नाले एक किसिमको टाउको दुख्ने समस्या हो । माइग्रेन सानो उमेरदेखि बृद्धावस्थासम्म हुन्छ । माइग्रेन हुँदा सामान्यतः टाउकाको एकापट्टिको भाग दुख्छ भने करिब ३० प्रतिशत व्यक्तिमा दुवैपट्टि दुखेको पाइन्छ । माइग्रेन जुनसुकै सिजनमा पनि हुन सक्छ । यही सिजन र यही समयमा हुन्छ भन्ने हुँदैन ।
माइग्रेन विशेषगरी ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिलाई बढी हुने समस्या हो ।  नेपालमा यो समस्या सामान्य छ । पुरुषको तुलनामा महिलामा बढी माइग्रेन देखिन्छ । पुरुषमा माइग्रेनभन्दा टेन्सन टाइप हेडेक बढी देखिन्छ । 

अध्ययनअनुसार महिलामा बढी माइग्रेन देखिएको छ । विशेषगरी महिनावारीको समयमा बढी देखिन्छ । हार्मोनल परिवर्तनको कारणले पनि हुन सक्छ । महिलामा बढी माइग्रेन देखिए पनि के कारणले माइग्रेन बढी देखिएको हो भन्ने ठ्याक्कै भन्न कठिन छ । 

माइग्रेन हुँदा २÷४ दिनसम्म टाउको दुख्ने त्यसपछि करिब एक हप्ता वा १५ दिनपछि टाउको दुख्न थाल्छ । यसरी ठीक हुँदै फेरि फर्केर आएर पुनः दुख्ने हुन्छ । कतिपयलाई भने दीर्घकालीन रुपमा सधैँ टाउको दुख्ने समस्या हुन सक्छ, जसलाई क्रोनिक माइग्रेन भनिन्छ । 

माइग्रेनमा बिस्तारै टाउको दुख्न सुरु गर्छ । सुरुमा कम दुख्छ । बिस्तारै धेरै दुख्दै जान थाल्छ । सामान्यतः टाउको दुख्न थालेको ४÷५ घण्टामा अति टाउको दुख्छ । सहनै नसक्ने गरी दुख्छ । एक पटक टाउको दुख्दा सामान्यतः चार घण्टादेखि लगातार २÷३ दिनसम्म पनि दुख्न सक्छ । दुखाइ आफैँ पनि कम हुन सक्छ । ठीक हुन्छ । ठीक भएपछि केही समय सामान्य लक्षण पनि देखिँदैनन् । केही दिनपछि आफैँ फर्केर आउँछ र पुनः टाउको दुख्न थाल्छ ।  

कारण
माइग्रेन हुनुका विभिन्न कारण छन् । एउटा मात्रै कारण छैनन् । विशेषगरी हार्मोनको सन्तुलन नमिलेका कारणले माइग्रेन भएको देखिन्छ ।

दिमागको तत्वको गडबडीका कारणले माइग्रेन हुन सक्छ । दिमागभित्र असंख्य स्नायु हुन्छन् । यिनै स्नायुको गडबडी र दिमागी रसायनको गडबडीले टाउको दुख्छ । दिमाग भित्रका नशा सुन्निएर टाउको दुख्न सक्छ, जसलाई ब्लड भेसल डाइलेट हुने भनिन्छ । वंशाणुगत कारणले पनि माइग्रेन हुन्छ । परिवारमा कसैको माइग्रेनको समस्या छ भने  माइग्रेन हुन सक्छ । बुबा—आमामा समस्या छ भने पनि सन्तानमा माइग्रेन हुन सक्छ । 

प्रदूषण, धुलोधुवाँ, तनाव, अनिदोका कारणले पनि माइग्रेनलाई बढावा दिन्छ । यस्ता तत्वले माइग्रेन भएकालाई व्यक्तिलाई माइग्रेन हुन थप सहयोग गर्छ । माइग्रेन हुन सहयोग गर्ने तत्वलाई चिकित्सकीय भाषामा ट्रिगर फ्याक्ट भनिन्छ । 

खानपानले पनि माइग्रेनको जोखिम हुन्छ । रक्सी पिउँदा माइग्रेन हुने समस्या भएका व्यक्तिलाई बढावा दिन्छ । महिलाको महिनावारीको समयमा पनि टाउको दुख्ने समस्या हुन्छ । कुनै गन्धका कारण पनि टाउको दुख्ने समस्या हुन्छ । कसैकसैलाई म्युजिक सुन्दा टाउको दुख्ने समस्या बढ्छ  । ठूलो आवाजले पनि कतिपयलाई असर गर्छ । भिडभाड र कोलाहलमा थप दुख्न सक्छ । हार्मोन असन्तुलित हुन्छ । 

थरी—थरीका लक्षण
माइग्रेनको मुख्य लक्षण टाउकोको एकपट्टिको भाग दुख्नु हो । करिब ६० देखि ७० प्रतिशत व्यक्तिमा टाउकोको एक पट्टिको भाग टन्टनी टाउको दुख्छ । भुक–झुक झट्का हान्छ । टाउको दुखाइसँगै वाकवाकी लाग्ने, उल्टी (भमिट) हुने जस्ता समस्या हुन्छ । उज्यालो बत्ती तथा कुनै किसिमका आवाजले पनि माइग्रेन भएका व्यक्तिलाई थप टाउको दुखाउँछ । त्यसैले टाउको दुखेको समयमा व्यक्ति शान्त ठाउँमा र अँध्यारोमा बस्न रुचाएको पाइन्छ । माइगे्रनमा आँखा दुख्ने, रुघा लागेजस्तो हुन सक्छ । 

माइग्रेन जटिल किसिमको समस्या भने हैन । सबै टाउको दुखाइ माइग्रेन होइन । सामान्य टाउको दुखाइ हो वा कुनै रोगको लक्षण स्वरुप टाउको दुखेको हो भनेर छुट्याउनु पर्छ । ट्युमर, पिनास मेनेन्जाइटिसको कारणले पनि टाउको दुख्ने भएकाले माइग्रेन वा अन्य रोगका कारणले टाउको दुखेको हो भन्ने छुट्याउनु पर्छ । माइग्रेन र पिनास उस्तै हुने भएकाले माइग्रेन र पिनास छुट्याउन जरुरी हुन्छ । सामान्यतः माइग्रेनको दीर्घकालीन असर भने हुँदैन । माइग्रेन अर्थात् टाउको दुखाइको असर भने सही नसक्नुको हुन्छ । टाउको दुखाइले व्यक्तिको दैनिकीमा असर पर्छ ।

जुनसुकै समयमा टाउको दुख्ने, राति सुतेको समयमा पनि टाउको दुख्ने, बिहान उठ्नेबित्तिकै टाउको दुख्ने, टाउको दुखाइसँगै भमिट भएको खण्डमा भने सजग हुनुपर्छ । उमेर ढल्कँदै जाँदा नयाँ किसिमले टाउको दुख्यो भने ट्युमर वा कुनै रोगको कारणले टाउको दुख्न सक्छ । यस्तो अवस्थामा स्वास्थ्य जाँच गराउनु पर्छ । निरन्तर टाउको दुख्दा डिप्रेसन हुने डर हुन्छ । त्यसैले बेलैमा चिकित्सकको परामर्श लिनु पर्छ । 

कतिपयलाई माइग्रेन हुनुभन्दा केही घण्टा अगाडि झर्को लाग्ने लक्षण देखा पर्न सक्छन् । कतिपयलाई टाउको दुख्नु भन्दा १÷२ दिन अगाडि भोक लागिरहने लक्षण हुन्छ । खाइरहन मन लाग्छ । 

तिर्मिर आकार
कतिपय माइग्रेनमा टाउकै नदुख्ने पनि हुन्छ । टाउको नदुखे पनि चक्कर लाग्ने हुन सक्छ । टाउको दुख्नु भन्दा १÷२ घण्टा अगाडि हेर्दा झिलिमिली देखिने, कुनै किसिमको आकार देखिने, हेर्दा प्रकाशमा चम्किलो झिरीमिरी आकार देखिने हुन्छ, यसरी देखिनुलाई मेडिकल भाषामा ‘औरा’ भनिन्छ । तिर्मिर देखिने, कानमा केही कुरा गुञ्जिएको जस्तो हुन सक्छ । यस्तो लक्षण देखिएपछि टाउको दुख्न थाल्छ । कतिपयलाई भने औरा मात्रै आएर टाउको नदुख्न पनि सक्छ । टाउको नदुखी चक्करै मात्रै लाग्न सक्छ । औरा आउनेबित्तिकै टाउको दुख्ने संकेत थाहा हुने भएकाले सजक हुनु पर्छ । 

उपचारपछि निर्मूल
माइग्रेनको उपचारका विभिन्न पद्यति छन् । सबैभन्दा पहिला के कारणले माइग्रेन भएको हो भन्ने पत्ता लगाउन जरुरी हुन्छ । तनाव, अनिद्राको कारणले माइग्रेन भएको भए तनाव तथा अनिद्राको व्यवस्थापन गर्नुपर्छ । रक्सी, वाइन सेवनको कारणले माइग्रेन भएको हो भने त्यस्ता तŒव खानु हुँदैन । गन्धको कारणले टाउको दुख्छ भने गन्धबाट टाढा रहनु पर्छ । लामो समयसम्म पिनास रहँदा पनि यसले दुःख दिन सक्छ ।

सामान्यतः माइग्रेनलाई दुई किसिमले उपचार गरिन्छ । एउटा, टाउको दुखेको समयमा गरिने उपचार र भविष्यमा टाउकै दुख्न नदिने उपचार । टाउको दुखेको समयमा गरिने उपचार धेरै किसिमका छन् । कहिलेकाहीँ टाउको दुखेको समयमा सामान्य प्यारासिटामोल खान सकिन्छ । सामान्य पेनकिलरले पनि दुखाइ कम हुन्छ । 

धेरै टाउको दुखेको खण्डमा भने चिकित्सकसँगको परामर्श तथा स्वास्थ्य परीक्षण गराएर मात्र औषधि खानु पर्छ । कतिपय अवस्थामा इन्जेक्सन पनि दिइन्छ । माइग्रेनसँगै कतिलाई त भमिटिङ पनि हुन्छ । भमिट भएको अवस्थामा माइगे्रनको साथै भमिटिङको औषधि प्रयोग गर्ने गरिन्छ । 

टाउको दुख्नै नदिन पनि उपचार गरिन्छ । भविष्यमा टाउको नदुखोस् भनेर दिइने औषधिले धेरैजसोको माइग्रेन पूर्णरुपमा निको हुन्छ । यसका लागि नियमित औषधि सेवन गर्नुपर्छ । कतिपयलाई भने उमेर बढ्दै जाँदा माइग्रेन आफैँ पनि ठीक पनि हुनसक्छ । बेलैमा उपचार नगर्दाको अवस्थामा कतिपयलाई भने दीर्घकालीन रुपमा सताउँछ । जसलाई क्रोनिक माइग्रेन भनिन्छ । 

सामान्यतः महिनामा १५ दिनभन्दा धेरै र लगातार तीन महिनासम्म टाउको दुख्यो भने त्यस्तो दुखाइ क्रोनिक माइग्रेन हो । जसलाई मेडिकल भाषामा क्रोनिक हेड्याक भनिन्छ । कतिपयलाई यसले लामो समयसम्म सताउन सक्छ । यस्तो अवस्थामा लामो समयसम्म वा जीवनभर नै औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ ।

कहिलेकाहीँ टाउको दुखेको समयमा सामान्य सिटामोल खान सकिए पनि कडा किसिमका औषधि चिकित्सकको सल्लाहबिना प्रयोग गर्नु हुँदैन । किनभने यस्ता औषधिको साइड इफेक्टले टाउको दुख्नुका साथै शरीरका अन्य अंगमा हानि पु¥याउन सक्छ । त्यसैले लामो समयसम्म आफैँ औषधि प्रयोग गर्नु हुँदैन । 
क्रोनिक माइग्रेन हुनेहरुले धुलो, धुँवा तथा खानपानमा ध्यान दिनु पर्छ । 

बढी तनाव लिने व्यक्तिमा बढी यस्तो समस्या देखिने गरेको छ । मस्तिष्कमा रासायनिक तŒवको असन्तुलनका कारणले टाउको दुख्ने हुनाले माइग्रेन बल्झिरहन्छ । माइग्रेनका कारण मानिसमा नैराश्यता समेत आउन सक्छ ।

यो वयस्क मात्र होइन, स–साना बालबालिकामा पनि देखिन सक्छ । व्यायाम तथा सन्तुलित भोजनमा ध्यान दिनुपर्छ । ठूलो स्पिकरमा म्युजिक सुन्दा माइग्रेनको जोखिम हुने भएकाले त्यसबाट टाढा रहने, कम्प्युटर, मोबाइलजस्ता इलेक्ट्रोनिक सामग्रीको अत्यधिक प्रयोगमा सचेतना अपनाउने गर्दा यस रोगबाट जोगिन सकिन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का    

Leave A Comment