गत असोजमा फिल्म ‘कथा काठमाडौं’ रिलिजअघि खुब चर्चामा आयो । फिल्मभित्र रहेको एउटा गीत ‘रातको कुरा’ सार्वजनिक हुनासाथ त्यसले मनोरञ्जन दुनियाँमा हंगामा नै मच्चायो । पक्ष/विपक्षमा बहस भए । तर त्यो हंगामा न गीतको स्वर/संगीतलाई लिएर थियो, न फिल्मको विषय । बहस ल्याएको थियो अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी बीचको गरमागरम ‘बेड सिन’ को दृश्य ।
दृश्य यतिसम्म ‘कामुक’ थियो कि त्यसले न्युड मुभीकै स्तर पायो र विदेशी ‘पोर्न साइट’सम्मले त्यसलाई अपलोड गरे ।
हालसालकै कुरा, एक हप्ता पनि भएको छैन हेमराज बिसी निर्देशित फिल्म ‘ब्रेकअप’को ट्रेलर रिलिज भएको । ट्रेलरमा फिल्मका प्रमुख कलाकार शिल्पा मास्के र आशीरमान देशराज श्रेष्ठबीच टन्नै ‘टङ किस’का सिन छन् । ट्रेनमा, कारमा यी दुवैको ओठ मज्जाले जोडिन्छन् ।
‘क्याजुअल रिलेसनसिप’लाई कथा बनाएको यो फिल्मको ट्रेलरमा आशीरमानले शिल्पाको संवेदनशील अंग (स्तन) समातेको दृश्य पनि छ । र, फिल्म रिलिज नहुँदै निर्माण पक्षले यी दृश्यलाई भरपूर उपयोग गर्नाले उनीहरुको नियत कथाको माग हो या मसला प्रस्टै देखिन्छ ।
चर्चित उपन्यास ‘समर लभ’को ट्रेलरमा लपक्कै भिजेकी भित्री वस्त्रविहीन अभिनेत्रीको ‘बट’ को प्रदर्शनले समेत यो फिल्म निर्माण टिमको नियत देखाउँछ नै ।
यी त भए ताजा उदाहरण । तर, नेपाली फिल्ममा अन्तरंग दृश्य समावेश फिल्मको सूची गनिसाध्य छैन । फिल्म भित्रका यस्ता दृश्यले फिल्मको पोस्टर, ट्रेलर, गीत लगायतका प्रचार सामग्रीमा महत्वपूर्ण स्थान पाउने गरेका छन् । त्यहीअनुरुप फिल्म रिलिज अगाडि तिनीहरुको चर्चा पनि हुने गरेको छ तर अधिकांश फिल्मको हालत व्यापारिक रुपमा फ्लप नै भएको देखिन्छ ।
कथाको माग कि निर्माता-निर्देशकको ?
( कथा काठमाडाैंकाे एक दृष्य)
अन्तरंग दृश्यले विवाद निम्त्याएपछि अधिकांश कलाकारको दाबी हुन्छ, ‘मेरो इच्छाले हैन, कथाको माग हो ।’
ए ग्रेड दाबी गरिने नेपाली फिल्ममा राखिएका यस्ता दृश्य कथाकै माग अनुसारका हुन् त ?
लामो समयदेखि नेपाली फिल्मलाई नजिकबाट केलाइरहेका फिल्म समीक्षक मनोज पण्डितले भने, ‘सिधै भन्दा खिल्ली उडाएजस्तो लाग्ला तर नेपाली फिल्मको महत्वपूर्ण समस्या नै कथा नहुनु हो । कथा हुन्थ्यो भने पात्रहरु स्वाभाविक हुन्थे । कथै नभइदिएपछि अन्तरंग दृश्य कसरी स्वाभाविक हुन्छ ?’ उनको विश्लेषणमा नेपाली फिल्ममा समस्या अन्तरंग दृश्यमा होइन, त्यसलाई विश्वसनीय बनाउन नसक्नुमा हो । ‘फिल्मको आवरणमा सर्जकहरुको छद्म नियत हावि हुँदा यस्ता दृश्य अस्वाभाविक ढंगले राखिएको पाइन्छ,’ उनले थपे, ‘यो सुखद संकेत होइन ।’
निर्देशक जमे, कलाकार हराए
(नायिका पुजना प्रधानकाे एक फिल्मकाे दृष्य )
‘पशुपतिप्रसाद’जस्तो चौतर्फी तारिफ बुटल्न सफल फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालको पृष्ठभूमि पल्टाउने हो भने उनको सफलताको प्रारम्भ फिल्ममा सेक्सको व्यापारबाटै शुरु भएको देखिन्छ ।उनले धेरै फिल्म बनाए । उनको काम नोटिस हुने फिल्म बन्यो ‘चपली हाइट’ । यौन मनोविज्ञानमा आधारित कथामाथि बनेको यो फिल्ममा निकै उदार भएर भरमार अन्तरंग दृश्य दिएकी थिइन्, डेब्यु हिरोइन विनिता बरालले ।
फिल्मको अन्तरंग दृश्य र पोस्टरका लागि खिचिएको न्युड फोटोसुटका कारण उनी त्यो बेला ‘टक अफ दि टाउन’ भएकी थिइन् । फिल्म आउनु अगाडिका उनका प्रतिक्रियाले देखाउँथ्यो ‘चपली हाइट’ले उनको फिल्मी करिअरलाई निकै अगाडिसम्म लैजाने छ ।
अन्तरंग दृश्य विनिताका लागि फापेन तर दीपेन्द्रका लागि फाप्यो । विनिताको करिअर भने चपरीमुनि पुरियो । फिल्ममा काम पाउन छाडेपछि कृषि व्यवसायतिर लागेकी उनी पलायनै भइन् । दीपेन्द्र अहिले नेपाली फिल्म उद्योगका महँगा निर्देशकको दुर्लभ सूचीमा पर्छन् ।
चर्चाका खातिर बिनाकुनै अडान भद्दा अन्तरंग दृश्य दिएका जिया केसी, शुभेच्छा थापा, सोनिया शर्मा, सविना कार्की, राज घिमिरे, गणेश गिरी, दिनेश थापा, राज तिमल्सिना विनिताझैँ हराए । शुष्मा कार्की, शुभेच्छा थापा र अभिनेता मनिष कार्की फिल्म क्षेत्रमा त छन् तर चार्म छैन उनीहरुको ।
कलाको आवरण, सेक्सकाे व्यापार
( रिलिजकाे तयारीमा रहेकाे ब्रेकअप)
एक समय हलमा ‘भल्गर’ दृश्यले भरिपूर्ण फिल्मको ओइरो नै लाग्यो तर ‘एटिएम’, ‘जिस्म’, ‘नाइन ओ क्लक’, ‘जिगोलो’, ‘बिन्दास’ लगायतका फिल्म आए ।
कलाकारिताको आवरणमा यौनको व्यापार गर्ने फिल्म निर्माताहरु कतिसम्म हौसिए भने उनीहरुले ‘म पोर्न स्टार बन्छु’ भन्दै आफ्ना नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने अर्चना पनेरुलाई समेत नायिका बनाउँदै फिल्म नै बनाए । पनेरुले खेलेको ‘जिस्म’ फिचर फिल्म कम, अश्लील फिल्म बढी देखिन्थ्यो ।
यादव सिलवालले निर्देशन गरेको फिल्म ‘एटिएम’ मा राखिएका केही दृश्यले सो फिल्म कला थियो कि यौन दृश्यको व्यापार प्रस्टै हुन्छ । फिल्ममा हिरोले जिया केसीको स्तनबाट बियर पोखेकोसम्म र सोनियाको संवेदनशील अंगमा आइसले छोएकोसम्म दृश्य राखिएका छन् । न दृश्य कलात्मक थिए न कथाको माग ।
फिल्ममा बेड सिन र किस सिन राख्न माहिर निर्देशक राजु गिरीको फिल्म ‘बिन्दास’बाट निकै चर्चामा थिइन्, अभिनेत्री सुष्मा कार्की तर त्यो चर्चा अभिनयका कारणभन्दा पनि बेड सिन र अन्तरंग दृश्यका कारण थियो । ‘सेक्स बिनाको प्रेम, सुगन्ध बिनाको फूलजस्तै हुन्छ’ भन्दै उनले दिएको बेड सिन कथाको माग भन्दा फिल्म चलाउने निर्देशकको खराब नियतको परिणाम थियो भन्ने लगत्तै प्रमाणित पनि भयो ।
‘बिन्दास–३’मा देख्दै ‘भल्गर’ महसुस हुने बेड सिन दिएका अभिनेत्री शुभेच्छा र अभिनेता मनिष दुवै अहिले अभिनयमा सुस्ताएका छन् । यो फिल्ममा महिला पात्र स्वयम्ले पुरुषको हात आफ्नो गोप्य अंगतिर लगेको र त्यसपछि बेडमा रासलीला शुरु भएको दृश्य छ ।
रेखा थापा अभिनित ‘सिलसिला’ फिल्ममा राज तिमिल्सिना र सोनिया केसीले दिएको ‘किस सिन’ त्यतिबेला एकदमै चर्चामा आएको थियो । अहिले यी दुवै हराए ।
किन राखिन्छन् त यस्ता दृश्य ?
‘बेड सिन र किस सिनका कारण फिल्म चल्छ भने रुढीग्रस्त मनोविज्ञानका कारण यस्तो भद्दा दृश्य राख्ने प्रचलन बढेको हो,’ पण्डित भन्छन्, ‘यो–यो सिन राख्दा फिल्म चल्छ, यो–यो सिन हाल्नुपर्छ भन्ने फर्मुलाअन्तर्गत फिल्म बनाउन थालेपछि यस्ता अश्लील दृश्य राख्ने प्रचलन बढेको हो ।’
सबै उस्तै त हैनन्
बेड सिन राखेको फिल्म सबै एकै श्रेणीका हुन्छन् भन्ने हैन । कथाको मागअनुसार दृश्य राख्दा दर्शकले सहजै रुपमा लिएका उदाहरण पनि छन् । उदाहरणका लागि काठमाडौंको सुकुम्बासीको जोडीको यौन मनोविज्ञानमाथि बनेको फिल्म ‘साँघुरो’का अन्तरंग दृश्यलाई लिन सकिन्छ ।
नायक सुशांक मैनाली र दिया मास्के बीचको अन्तरंग दृश्यलाई निकै स्वाभाविक रुपमा पस्किइएको थियो फिल्ममा र दर्शकले पनि सोहीअनुसार ग्रहण गरे ।
समान लिङ्गी बीचको यौन सम्बन्धमा आधारित फिल्म ‘सुनगाभा’मा दिया मास्के र निशा अधिकारी बीचको अन्तरंग दृश्य आँखा बिझाउने खालको थिएन ।
बेड सिनमा जो पनि राजी
( नायक राजेश हमाल र शुष्मा कार्की )
नयाँ हुन् या पुराना कलाकार, कथाको माग बिनाका चुम्बन र बेड सिन नदिएका कलाकार कमै भेटिन्छन् । राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्लजस्ता कलाकार पनि यसबाट जोगिन सकेनन् । महानायक हमालले शुष्मा कार्कीसँग समेत अन्तरंग दृश्य दिन भ्याएका थिए ।
संघर्षरत र नयाँ कलाकारलाई करकाप र करिअरको प्रलोभनमा पारे भन्न सकिन्छ तर चल्तीकै कलाकारसमेत भद्दा दृश्यमा देखिन राजी हुनु उदेकलाग्दो पाटो हो ।
फिल्म अभिनेत्री ऋचा शर्मा सही र गलत दुवै नियतले नेपाली फिल्ममा अन्तरंग दृश्य राख्ने प्रचलन रहेको बताउँछिन् ।सेक्स बिक्री हुन्छ भन्ने मानसिकताले राख्नेहरु पनि छन्,’ उनी भन्छिन्, ‘बि ग्रेड र सि ग्रेडजस्तो एटिएम, नाइन ओ क्लकजस्ता फिल्म पनि बने । लेख्ने बेलामै एउटा यस्तो सिन चाहिन्छ भनेर लेख्ने प्रचलन पनि छ । सँगसँगै आर्टिस्टिक ढंगले काम गर्नेहरु पनि छन् । उनीहरुको अपमान गर्न भने मिल्दैन ।’
फिल्म चलाउने हतियार
फिल्ममा राखिने यस्ता दृश्यको लक्ष्य फिल्म चलाउने देखिन्छ तर विडम्बना अधिकांश यस्ता फिल्मको व्यापार नै चौपट भएको देखिन्छ । ताजा उदाहरण ‘कथा काठमाडौँ’ नै काफी छ ।
प्रियंका र प्रमोदको ‘तात्तातो’ दृश्यले फिल्म रिलिज हुनुअगाडि चर्चा पाएझैँ दर्शक हलसम्म गइदिएनन् । मसला कामै लागेन, खेर गयो ।
आयुष्मान देशराज श्रेष्ठको डेब्यु फिल्म ‘चपली हाइट २’ पनि फ्लपै भयो । निर्देशक दीपेन्द्रको सेक्स फर्मुलाले पहिलो फिल्ममा झैँ सिक्वेलमा काम गरेन ।
फिल्म निर्देशक कुमार भट्टराई नेपाली फिल्ममा अन्तरंग दृश्य र छाडा संवादको प्रयोग कथाको मागभन्दा पनि फिल्म प्रचारको सामग्रीका लागि प्रयोग भइरहेको बताउँछन् ।
‘आमाको माया’ भन्ने फिल्ममा बच्चाले आमाको दुध चुस्दै गरेको एउटा दृश्य छ । जहाँ आमाको वक्षस्थल पूरै देखिन्छ । तर त्यो दृश्य त्यतिबेला सेन्सरले काटेको थिएन किनभने त्यो एकदमै स्वाभाविक देखिएको देखिएको थियो,’ एउटा पुरानो नेपाली फिल्मको उदाहरण दिँदै भट्टराईले भने, ‘तर हामीकहाँ सिनेमामा अस्वाभाविक र अप्राकृतिक कुरा बढी आउन थाल्यो । कथा एकातिर हुन्छ तर चामलमा ढुंगा मिसिएजस्तै अनेक दृश्यहरु जबर्जस्ती घुसारिँदैछ ।’
आइटम गीत किन ?
( लुट-२ काे दृष्य )
एक महिनाअघि मात्रै पत्रकार अनुपम चोपडाद्वारा सञ्चालित फिल्मसम्बन्धी एउटा बहस कार्यक्रममा बलिउडका प्रख्यात फिल्म निर्माता/निर्देशक करण जोहारले एक पश्चातापपूर्ण अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ भनेका थिए, ‘मेरा केही फिचर फिल्महरुमा मैले आइटम गीत राखेकोमा म माफी माग्छु । र, म अब फेरि पनि यस्तो गरुँला भन्ने पटक्कै लाग्दैन । खासमा मलाई युवती नाचेकोमा समस्या होइन तर उनीहरुलाई ‘वस्तुका रुपमा प्रस्तुत’ गरेकोमा हो । उदाहरणका लागि ‘चिक्नी चमेली’लाई लिनुस् । यो मेरै प्रोडक्सनबाट निर्माण भएको फिल्म हो । तर म वाचा गर्छु, अब धर्मा प्रोडक्सनका फिल्ममा यस्ता गल्ती दोहोरिने छैनन् ।’
त्यसो त केही समयअघि उनकै कार्यक्रममा बलिउडका प्रख्यात अभिनेता आमिर खानले २९ वर्षअघि गरेको कामप्रति पछुतो मानेका थिए । उनले ‘दिल’ फिल्मको ‘खम्बे जैसे खडी है, लड्की है या छडी है’ बोलको गीतमा माधुरी दीक्षितसँग नाचेको दृश्यप्रति पछुतो मान्दै वचन दिएका थिए, ‘अब आइन्दा यस्तो गर्दिनँ ।’
बलिउडका ठूला कलाकार र निर्माताले महिलालाई कमजोर भूमिकामा प्रस्तुत गरेकोमा आत्मालोचना गरिरहेका बेला नेपालमा भने महिलालाई आइटमका रुपमा देखाउने क्रम घटेको छैन । नेपाली फिल्मले महिलालाई गर्ने चरित्र चित्रण कस्तो छ, आइटम गीतले पनि देखाउँछ तर यहाँ सिरियस मेकर नै सिरियस देखिँदैनन् यस पाटोमा ।
सिरियस फिल्म मेकरका रुपमा परिचित निर्देशक निश्चल बस्नेतका सबैजसो फिल्ममा आइटम गीत छन् । उनले द्वन्द्वकालजस्तो गम्भीर विषयवस्तु उठाएको ‘टलकजङ भर्सेस टुल्के’मा समेत ‘नाच न मैया नाच’ भन्दै अभिनेत्री मेनुका प्रधानलाई नचाउन छोडेनन् ।
‘लुट’मा ‘उध्रेको चोली’ भन्दै सुष्मा कार्कीको देह प्रदर्शन गराए । ‘लुट–२’मा ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ भन्दै एलिसा राईलाई सेक्सिलो पारामा कम्मर मर्काउन लगाए ।
उनलाई सबै फिल्ममा सधैँ किन आइटम गीत चाहिन्छ ? निश्चल निर्धक्क भन्छन्, ‘प्रचार सामग्रीका हिसाबले नै राख्ने गरेको हुँ ।’ अहिले फर्किएर हेर्दा कुनै पछुतो पो छ कि ? ‘टलकजंग भर्सेस टुल्के’मा आइटम सङ राखेकोप्रति आफूलाई पछुतो लागेको खुलाए उनले । ‘प्रचारको लागि राखे पनि फिल्ममा नहालेको भए हुन्थ्यो भन्ने लाग्छ अहिले,’ उनले खुलाए ।
‘नियतै गलत’
मनोज पण्डित, फिल्म समीक्षक
नेपाली फिल्ममा कथा कहाँ छ ? सबैभन्दा महत्वपूर्ण प्रश्न नै यही हो । हामी त्यही पुरानै कथा तोडमोड गरेर भनिरहेका छौँ । फिल्ममा थुप्रै घटनाक्रम र घटना हुन्छ तर कथा हुँदैन । अनि यो अवस्थामा जे राखे पनि, जे चिज गरे पनि अविश्वसनीय हुनु स्वाभाविक हो ।
फिल्ममा अन्तरंग दृश्य समस्या होइन, विश्वसनीय नहुनु समस्या हो । अस्वाभाविक र असुहाउँदो दृश्य हुनु समस्या हो । कथा छैन, त्यसैले विश्वसनीय छैन । कथा हुन्थ्यो भने सबै पात्र र दृश्य स्वाभाविक हुन्थे ।
सम्बन्धहरुमा अन्तरंग दृश्य हुन्छ । अन्तरंग दृश्य सम्बन्धहरुको आयाम हो । जब सम्बन्धहरु स्वाभाविक लाग्छ, ती दृश्य आफैँ स्वाभाविक लागिहाल्छन् । जब यो कथाभन्दा बाहिरको आवश्यकताअनुसार हुन्छ, समस्या आइहाल्छ ।
जब दर्शक अन्तरंग दृश्य देख्नासाथ ‘ओहो, बेड सिन आयो, किस सिन आयो’ भनेर अत्तालिन्छन्, सम्झिनुस्त्यहाँ कथा छैन । हाम्रोमा यही भइरहेको छन् ।
हामीकहाँ फर्मुलामा रहेर फिल्म बनाउने जुन परम्परागत अवधारणा छ, त्यसले पनि अश्लील दृश्य राख्ने प्रचलन बढेको हो । यो यो भयो भने चलचित्र चल्छ, यो यो हाल्नुपर्छ भन्ने मानसिकताको उपज हो अश्लील दृश्य । यो अज्ञानताको परिणिति पनि हो ।
राम्रा चलचित्रमा यस्ता दृश्य हुँदा पनि अप्ठेरो महसुस हुँदैन किनभने त्यस्ता फिल्ममा दर्शकहरुको पात्रसँग सम्बन्ध गाँसिइसकेको हुन्छ ।
हलिउडमा त्यस्ता थुप्रै सिनेमा छन्, जसको मुख्य विषय नै महिला–पुरुषको सम्बन्ध हुन्छ । सम्बन्धमा अन्तरंग दृश्य हुन्छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यही दृश्य फिल्ममा हेर्दा दर्शकलाई अपाच्य लाग्नु भनेको त्यो फिल्मकर्मीको कमजोरी हो । आफूले दैनिक जीवनमा देखेभोगेको दृश्य सिनेमामा अपाच्य लाग्नु भनेको त्यसले हाम्रो सिनेमाको सिर्जनाशीलता कति कमजोर रहेछ भन्ने देखाउनु हो ।
महिला र पुरुषको सम्बन्धबारे दर्शकले पनि उदार भएर सोच्नुपर्छ । यो लुकाउने कुरा होइन । यसको अर्थ नाङ्गो बनाएर पनि हुँदैन । तर यसको मूल्य र मान्यतालाई भने सम्मान गर्नुपर्छ । म जे पायो त्यै गर्छु भनेर हुँदैन । दर्शक र फिल्मकर्मी दुवैले आफ्नो दायित्व बिर्सनुहुँदैन ।
कथा निर्माणका क्रममा आउने अन्तरंग दृश्य समस्या होइन तर चलचित्रका आवरणमा यस्ता दृश्य पस्किने नियत गलत हो । आफ्नो प्रोडक्ट बेच्न रसरंगलाई प्राथमिकता दिने नियत हावि हुनु गलत हो । त्यसले कथाको गम्भीरतालाई मारिदिन्छ । कथालाई जानी जानी मार्नु भनेको भ्रूण हत्या गर्ने अज्ञानता हो ।
एउटा फिल्म मेकर्सले समाज बुझेको हुन्छ । आदिम मनोविज्ञान, राजनीति, दर्शन सबै बुझेको हुन्छ । र, यो सबै बुझेको मान्छेले त जबर्जस्ती अन्तरंग दृश्य लाद्छ भने त्यसमा कलाकारले कसरी सच्याऊन् ! कलाकारले त सर्जकले भनेको कुरा मान्ने न हुन् !
कलाकारले जब स्रष्टा भनेर सोच्छ, त्यसपछि उसको भूमिका धेरै माथि हुन्छ । तर हामीकहाँ त कलाकारको काम आदेश पालना गर्नेबाहेक अरु केही पनि छैन ।
Leave A Comment