धर्मको धन्दा : हिन्दू धर्मग्रन्थमा क्रिश्चियनको बखान

शुक्रबार, १८ माघ २०७५, ०७ : २६ उपेन्द्र खड्का
धर्मको धन्दा : हिन्दू धर्मग्रन्थमा क्रिश्चियनको बखान

मानवीय सहयोगको आवरणमा धर्मको धन्दा चलाएको भन्दै आलोचित छन्, केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्था । बित्थामा यो आलोचना भएको  हैन, सहयोगको आवरणमा नेपाल छिरेका केही संस्थाले धर्मान्तरणको अजेण्डा बोकेका अन्तर्राष्ट्रिय चर्चको प्रभावमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको हातमा कतै ‘बाल बाइबल’ भिडाउने त कतै अभिभावक गुमाएका बालबालिकालाई शरण दिने भन्दै बाल मनोविज्ञानमा जबर्जस्ती धर्मको धमिरा घुसाएका बग्रेल्ती घटना सार्वजनिक भइनै रहेका छन् । 

हुँदाहुँदा अब क्रिश्चियन धर्म विस्तारका लागि हिन्दुहरुको धार्मिक पुस्तकमा छेडखानी गरेर ‘प्रभु’ येशूको बखान गरिएको कथा घुसाउने घटिया काम सार्वजनिक भएको छ । त्यो पनि सामान्य पुस्तकमा हैन, हरेक वर्ष माघमा हिन्दु धर्मावलम्बीहरुले आस्थाका साथ एक महिना घर–घरमा वाचन गर्ने श्री स्वस्थानी व्रतकथाको पुस्तकमा ।

 यत्तिको घटिया कामको मास्टरमाइन्ड को हो ? 
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार बाबू माधवप्रसाद शर्मा पुराना लेखक हुन् । उनको मृत्यु भइसकेको छ । हिन्दु धार्मिक पुस्तकमा क्रिश्चियनको कथा घुसाउने काम भने उनका छोरा सागर शर्माले गरेका हुन् । 

यस्तो छ बठ्याइँ
स्वस्थानीको चल्तीका पुस्तक झैँ रातो रङको हार्डकभरमा आएको यो पुस्तकमा पल्टाउँदा शिव, पार्वती, गणेशलगायत देवताका रंगीन फोटासँगै ‘श्रीस्कन्दपुराणको केदारखण्ड—माघमाहात्म्य’ लेखिएको छ ।
‘सयौँ वर्षदेखि चलिआइरहेको पुरानो असली श्रीस्वस्थानी व्रतकथा’ लेखिएको पुस्तकको प्रकाशकीय भाषा नै शंकास्पद छ । 

२६८ पृष्ठको यस पुस्तकमा २ सय ६६ पृष्ठसम्म हिन्दु धर्मकै शैलीमा महादेव, पार्वती, गोमा ब्रम्हाण्डी र शिव शर्माको कथा छ ।

अन्य स्वस्थानीको अन्तिम पृष्ठ पुष्पाञ्जलीको स्त्रोत ‘इतिश्री स्कन्ध पुराणे, केदार खण्डे, माघमाहात्य’को अन्त्यबाट पुस्तक सकिन्छ तर बाबू माधव प्रसाद शर्माको पुस्तकको अन्तिम २ पृष्ठ २६७ र २६८ हामीले पढिरहेको स्वस्थानीका कथा भन्दा फरक छन् । 

पृष्ठ २६७ मा ‘...इशाई मतको एउटा मर्मभेदी कथाको उद्धरण यहाँ दिइन्छ,’ लेखेर क्रिश्चियन समुदायको धार्मिक पुस्तक बाइबलको कथा छापिएको छ । 

त्यहाँ छापिएको रुखको कथा क्रिश्चियन धार्मिक पुस्तक बाइबलको कथा हो । यो कथामा ठाउँ–ठाउँमा प्रभु र प्रभुको लीला शब्द प्रयोग गरिएको छ । बाइबलको वचनको व्याख्या छ । क्रिश्चियन धर्मका ईशामसीहलाई सर्वसामथ्र्यवान् भन्दै कथा लेखिएको छ । 

कथामा यशुलाई किला ठोकेको, टाँगिएको बयान छ । 
कथामा लेखिएको छ,‘...कृतज्ञ भयो र प्रभुको लीलालाई नमस्कार गर्यो । आज त्यही शूली वा सलीबको प्रतिरुप विश्वको ठूलो समुदायद्वारा उच्चस्थानमा राखी पूजित गरिन्छ ।’ 

कथामा ठूलो समुदायद्वारा ईश्वरका पुत्र मानिएका ईशामसीहको जीवनका यी घटनाको आधारमा बनाइएको कथानक... भन्दै स्वस्थानीको पुस्तकमा क्रिश्चियन धर्मको कथा घुसाइएको छ । यी दुई पृष्ठको कथा पढ्दा प्रस्टै  रुपमा स्वस्थानीको पुस्तकमा छेडखानी गरेर हिन्दु धर्मावलम्बीलाई क्रिश्चियनको बाइबल पढाउने दुष्प्रयास थाहा हुन्छ । 

बाबुको नाममा छोराको खेल
पुस्तकमा लेखिएअनुसार सागर शर्मा यसको भाषा संयोजक हुन् । प्रकाशक पनि सागर शर्मा नै लेखिएको छ । लेखक बाबू माधवप्रसाद शर्मा लेखिएको छ  । यो पुस्तक नेपालमा छापिएको हैन, भारतको वाराणासीमा छापिएको हो । सागर पनि उतै बस्छन् । मुद्रकः टाइम टेबल प्रेस वाराणसी लेखिएको छ । 

पुस्तकको प्रकाशन २०७४ र मूल्य भारु २ सय ५० छ । यसको नेपाली मूल्य चार सय हुन्छ । भोटाहिटीको आरडिएन बुक्समा पुग्दा यो पुस्तक तीन सय ५० मा बिक्री भइरहेको पाइयो । अन्य स्वस्थानी पुस्तकको तुलनामा यो सस्तो देखियो ।

हिन्दु धर्मको पुस्तकमा इशाई कथा घुसाउने काम सागर शर्माले नै गरेको पुष्टि भयो । 

लामो समयदेखि हिन्दु धर्मावलम्बीले विश्वास गरेर उनको बाबुको नाममा रहेको पुस्तक आस्थाका साथ पढिरहेका थिए । उनले एकाएक यो वर्ष स्वस्थानीको पुस्तकमा बाइबलको कथा घुसाए । उनी बनारसमै बस्ने गरेकाले उनीसँग सम्पर्कको प्रयास सफल हुन सकेन । केही पुस्तक विक्रेताका अनुसार स्वस्थानीमा बाइबलको कथा हालेको खुलेसँगै उनले फोन गरेर अन्तिम पाना च्यातेर बेच्नु भनेका थिए ।

पुस्तकमा बदमासी भएको चाल पाएपछि पुस्तक विक्रेतामध्ये केहीले अन्तिम २ पाना च्यातेर विक्री गरिरहेको भेटियो । कतिपयले पुस्तक स्टोरमा थन्काएका छन् ।

रत्न पुस्तक भण्डारका सञ्चालक उमेशप्रसाद श्रेष्ठ बाबू माधवप्रसाद शर्माको किताबमा येशूको बारेमा लेखिएको थाहा पाएपछि आफूले त्यो किताब बेच्न छोडेको बताए । श्रेष्ठका अनुसार उनको पुस्तक हरेक वर्ष आउँथ्यो, बजारमा माग पनि राम्रो थियो । उनले सो पुस्तक बनारसबाटै मगाएका थिए ।

गुरु पुस्तकका विक्रेता सुरेश ठाकुरका अनुसार गत वर्ष पनि बाबू माधवप्रसाद शर्माको स्वस्थानीको पुस्तकमा काँटछाँट गरिएको भेटिएपछि यो वर्ष पुस्तक नमगाएको बताए ।
‘स्वस्थानीको किताबका अगाडि र पछाडिका स्तोत्र तथा पुष्पाञ्जलीका केही श्लोक काँटछाँट गरिएको थियो,’ ठाकुरले भने, ‘त्यसपछि मैले किताब मगाउनै छाडेँ ।’

हिन्दु बिच्काउने हतियार
राष्ट्रिय धर्म सभा नेपालका महासचिव पुष्पराज पुरुष घरघरमा पढिने हिन्दु पुस्तकमा क्रिश्चियन पुस्तकको अंश राखेर बाबुको नाम छोराले बदनाम गरेको बताए । 

यस्तो घटिया काम किन गरेको भनेर सागर शर्मालाई सोध्दा उनले ‘जिससलाई पनि आस्थाको रुपमा हेरिन्छ अनि स्वस्थानीमा उनको बारेमा लेख्दा के हुन्छ ?’ भन्ने नालायक जवाफ दिएको उनले बताए । 
‘उनले यो काम गरेको पुष्टि भयो,’ पुष्पराजले भने, ‘यस कार्यका पछाडि अरु कुनै संगठन नै छ कि भनी खोज्दैछौँ ।’

वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनाल अनास्था फैलाउन यस्तो काम भएको बताए । हिन्दु धर्मावलम्बीबीच फाटो ल्याउन र धर्मान्तरण गर्न भ्रम फैलाइएको उनको निष्कर्ष छ । 

बेखबर सरकारी निकाय
नेपालको संविधानमा धार्मिक स्वतन्त्रताको हकलाई मौलिक हकमा राखिएको छ । धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता संविधानले नै दिएको छ । 

तर सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउन पाइँदैन । अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने संवैधानिक व्यवस्था छ । 

छापाखाना र प्रकाशनसम्बन्धी ऐन,२०४८ को परिच्छेद—३ को किताबसम्बन्धी व्यवस्थामा किताबको प्रकाशकले आफूले प्रकाशन गरेको किताब बिक्रीवितरण गर्नुभन्दा अघि किताबको दुईप्रति बिनामूल्य स्थानीय अधिकारीलाई बुझाउनुपर्ने प्रस्ट प्रावधान छ । नियमअनुसार स्थानीय अधिकारीले प्राप्त पुस्तक दर्ता गरी किताबको मुद्रण गर्ने संस्था र प्रकाशकको नामलगायत उल्लेख गर्नुपर्छ । 

तर पुस्तकको विषयमा जानकारी लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्दा प्रमुख जिल्ला अधिकारी पुस्तकबारे बेखबर देखिए । काठमाडौंका प्रजिअ रामप्रसाद आचार्यले स्वस्थानीको पुस्तकमा क्रिश्चियन धर्मको प्रचार गरिएको बारेमा पहिलोपटक सुनेको दाबी गरे ।

स्वस्थानीको किताबमा क्रिश्चियन धर्मको व्याख्या गरिएको पाना देखाएपछि आचार्यले ‘यो त धर्म माथिको अतिक्रमण भएको’ बताए तर अब जिल्ला कार्यालयले के गर्छ, त्यत्ति प्रस्ट जवाफ दिएनन् । 
‘सामाजिक तथा धार्मिक सद्भाव खल्बलाउने पुस्तकको प्रमाणसहितको उजुरी आयो वा यस विषयमा अनुसन्धान गर्दा गलत प्रचार देखियो भने कार्बाही गर्छौं,’ उनले भने, ‘उजुरी आए प्रहरीलाई अनुसन्धान गर्न भन्छौँ ।’

कानुनले पुस्तकको अनुगमनको अधिकार प्रमुख जिल्ला अधिकारीलाई तोकेको भए पनि उनी कुन प्रकाशन ठीक वा कुन बेठीक भन्ने थाहा नहुने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पर्क गर्दा पुस्तकका विषयमा न त मन्त्रालयका प्रवक्तालाई जानकारी रहेको देखियो, न त सूचना अधिकारीलाई नै । मन्त्रालयका प्रवक्ता घनाश्याम उपाध्यायले आफूलाई स्वस्थानीमा बाइबल मिसाइएको पुस्तकका विषयमा जानकारी नभएको बताए । मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले पनि पुस्तकका विषयमा आफूलाई थाहा नभएको बताएर मन्त्रालयअन्तर्गत रहेको संस्कृति महाशाखामा सम्पर्क गर्नु भने । महाशाखा पुग्दा त्यहाँका अधिकारीले हाम्रो कार्यक्षेत्र हैन भने ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराए पनि वास्ता नगरेको बताउँछिन् । ‘हामीले पत्रै पठाएर ध्यानाकर्षण गराएका थियौंँ तर मतलबै गरेनन्,’ उनले भनिन् ।

सरकार नै क्रिश्चियनको चलखेलमा लागेकाले हिन्दुलाई प्रहार गर्ने गतिविधि भइरहेको महासचिव भण्डारीले तर्क गरिन् । 

नेपाल प्रज्ञा—प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ धार्मिक पुस्तक निगरानी गर्ने निकाय नहुँदा यस्ता गलत काम हुने गरेको बताउँछन् । स्वस्थानीको पुस्तकमार्फत् इसाई धर्मको प्रचार गर्नु हिन्दु धर्मावलम्बीको मुटुमा कर्द घुसाउने काम भएको उनले बताए । 
‘नेपालमा धर्म मन्त्रालय नभएकाले संस्कृति मन्त्रालयले यस्ता धार्मिक पुस्तकको निगारानी गर्नु पर्ने हो,’ उनले भने, ‘संस्कृति मन्त्रालयअन्तर्गत प्रज्ञा प्रतिष्ठान हो । सरकारले अख्तियारी दिए प्रज्ञाले पुस्तकको मनिटरिङ गर्छ ।’ 

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतम धार्मिक किताबको अनुगमन गर्ने कुनै निकाय नहुँदा यस्तो खेल भएको उनले बताए । आर्थिक प्रलोभनका कारण यो पुस्तक छापिएको उनको निष्कर्ष छ । 


क्रिश्चियनकै आपत्ति
नेपाल ख्रिष्टियन समाजका अध्यक्ष वर्णबास श्रेष्ठले हिन्दु धर्मको पुस्तक स्वस्थानीमा बाइबलको वचन हालेर मिलेर बसेको नेपाली समाजमा द्वन्द्व निम्त्याउने प्रयास गरिएको बताए । 
‘कसैको आस्थाको केन्द्रमा प्रहार गर्न हुन्न,’ उनले भने, ‘जसले यो काम गरेको हो उसलाई कानुनी कार्बाही गर्नुपर्छ ।’ 

खुला रुपमा बाइबल दिँदा लिने–नलिने व्यक्तिको स्वतन्त्रता भएको बताउँदै उनले झुक्याएर पढ्न बाध्य बनाउनु गलत भएको बताए । 
 

धर्मको धन्दा
इसाई धर्मावलम्बीहरुले खुसी साट्ने क्रिसमसको मौका पारेर मिस नेपालले श्रृंखला खतिवडाले चेपाङ बस्तीमा सान्ता क्लजको टोपी बाँडेपछि उनी विवादमा तानिइन् ।

देशको प्रतिनिधित्व गर्ने सुन्दरी धर्मान्तरणमा लागेको भन्दै तीव्र आलोचना भएपछि उनले ‘उपहार आएको टोपी मात्र बाँडेको, धर्म रुपान्तरणको उद्देश्यले नगरेको’ भन्दै प्रस्टीकरण नै दिनुपर्यो । 

तर उनको प्रस्टीकरणमा चित्त बुझाउनेहरु न्यून थिए । कारण– यो या त्यो बहानामा पछिल्लो समय गैरक्रिश्चियन समुदायको धर्मान्तरणमा सक्रिय धार्मिक समूहको विवादित गतिविधि । 

हिन्दु राज्यबाट धर्म निरपेक्ष मुलुकमा रुपान्तरण भए पनि नेपालको संविधानले स्वेच्छिक धर्मान्तरण बाहेकका गतिविधिमा बन्देज लगाएको छ तर नियन्त्रण हुन सकेको छैन । कहिले चिकित्सकको रुपमा, कहिले विकासको आवरणमा पछिल्लो समय नेपालमा गैर इसाईलाई इसाईकरण गर्न विभिन्न संस्था र समूह सार्वजनिक रुपमै सक्रिय देखिएका छन् । 

भूकम्पका बेलामा भूकम्पपीडितलाई सहयोग गर्ने आवरणमा नेपाल भित्रिएका संस्थाहरु समेत सहयोगको प्रलोभनमा धर्मान्तरणमा सक्रिय भएको खुलासा फ्रान्सको न्युज एजेन्सी एएफपीले नै गरेको थियो ।
डेलीमेल पत्रिकाले सन् २०१८ मा प्रकाशित गरेको एएफपीको फिचर समाचारमा धादिङको रिचेत गाउँमा भूकम्पबाट तहसनहस भएको जीवन सामान्य लयमा फर्किने आशमा कसरी क्रिश्चियन समुदायले धर्मान्तरण गराइरहेका छन् भन्ने विस्तृत रुपमा खुलाइएको थियो ।

२०६८ को जनगणनामा नेपालमा कुल जनसंख्याको १ दशमलव ५ प्रतिशत क्रिश्चियन धर्मावलम्बी रहेको खुलेको थियो । करिब ३ करोड जनसंख्या खुल्दा क्रिश्चियन धर्मावलम्बीको संख्या ३ लाख हाराहारी देखिन्छ । ख्रिस्टीय समाज अहिले यो संख्या १३ देखि १५ लाखको हाराहारीमा रहेको दाबी गर्छ । समाजको दाबीअनुसार यो सात वर्षमा १० लाख जनाको धर्मान्तरण भएको छ ।

भ्रमको खेती
चिकित्सकीय पद्धतिबाट मात्रै उपचार सम्भव हुने रोग पनि प्रभुको नाम लिए चट्टै निको हुने भ्रम फैलाउनेहरु पक्राउसमेत परिरहेका छन् । गैर सरकारी संस्थाको आवरणमा नेपाल आएका संस्था धर्म रुपान्तरणमा सक्रिय भएका फेहरिस्त सार्वजनिक भइरहेको बेला सरकार आफैं क्रिश्चियन धर्मको प्रचारमा संलग्न संस्थाको प्रवद्र्धनमा खटिएपछि यो शंका थप फैलिएको छ । 

त्यसैको प्रभाव थियो श्रृृंखला खतिवडाको नियत माथिको अविश्वास र आलोचना ।

सार्वजनिक रुपमा आफ्नो धर्मको प्रचार प्रसार गर्नु नेपालको कानुनले रोक्दैन तर प्रलोभन र बाध्यतामा पारेर, भ्रममा पारी धर्मान्तरण गर्नु अपराध हो । कतै बालगृहको आवरणमा त कतै विकास परियोजनाको नाममा नेपालमा इशाईकरणको अभियान तीव्र देखिएको छ ।

कतिसम्म भने नेपालका विकास परियोजना सञ्चालन गर्ने अनुमति लिएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले नेपालमा कर्मचारी नियुक्त गर्दा समेत इशाई धर्मावलम्बी हुनुपर्ने अनिवार्य सर्त राख्न थालेका छन् । विकासको आवरण बोकेका कतिपय संस्थाको उद्देश्य क्रिश्चियन धर्म फैलाउने उल्लेख हुँदाहुँदै पनि नेपाल सरकारबाट परियोजना सञ्चालनको अनुमति पाएको तथ्यसमेत सार्वजनिक भइरहेका छन् ।

समाजसेवाको आडमा धन्दा
समाज कल्याण परिषद्बाट स्वीकृति पाएको बेलायती संस्था ‘टियर फन्ड’, अमेरिकी संस्था ‘मेरिनोल फादर एन्ड ब्रदर्स, भिजन नेसनल, मर्सिमिसन हिमालयज’ लगायतका संस्था पिछडिएको, आर्थिक अवस्था न्यून भएको स्थानमा सामाजिक काम गर्ने भनिए पनि उद्देश्य धर्मान्तरण गरेर इशाई बढाउने रहेको महालेखा परीक्षकको अनुगमनमा पुष्टि भएको थियो ।

परिषद्बाट अनुमति पाएको टियर फन्डले कर्मचारी भर्ना गर्दा सर्त नै ‘क्रिश्चियनको अस्तित्व कायम गर्न र अनुयायीबीच एकता कायम गर्ने’ उल्लेख गरेको भेटिएको थियो । महालेखाले धर्मान्तरणबारे अनुगमन गर्दा यो फेला परेको भने थिएन, परिषद्मा भएको अनियमितताको छानविनको क्रममा यो तथ्य खुलेको थियो । 

बालबालिकालाई शिक्षा दिने आवरणमा बाल बाइबल वितरण गरेको घटनासमेत सार्वजनिक भएको थियो । केन्द्रीय बाल कल्याण समितिको अनुगमनमा अनाथ बालबालिकाको हित भन्दै खुलेका बालगृह र केही विद्यालयले खुलेरै क्रिश्चियन धर्मको प्रचार र धर्मान्तरण गराइरहेको फेला पारेको थियो । 

चर्चइननेपालडटओआरजीमा उल्लेख भएअनुसार साना तारा सामुदायिक विद्यालय स्थापना भएको छ । सोही साइटमा उल्लेख भएअनुसार सो समुदायले काठमाडौं, धादिङ, मकवानपुर र रसुवामा अनाथालय चलाइरहेका छन् ।

कागेश्वरी मनहरामा रहेको इटर्नल वल्र्ड मिनिस्ट्री, कलंकीमा रहेको आमाघर, वीरगंजको ब्लेसिङ चिल्ड्रेन होम, ललितपुरको मर्सी मिसन होम, चितवनको न्यु लाइफ चिल्ड्रेृन होम लगायतका संस्थाले कलिला बालबालिकालाई जबर्जस्ती धर्म परिर्वतन गराउने गरेको खुलेको थियो ।

के छ कानुन
मुलुकी अपराध संहिताको परिच्छेद ९–दफा १५८ अनुसार प्रलोभनमा धर्म परिवर्तन गराए ५ वर्षसम्म कैद र ५० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । विदेशी नागरिक धर्म परिवर्तनमा संलग्न रहे कैद भुक्तान गरेको ७ दिनभित्र देश निकाला गर्नुपर्ने छ । 

‘हिन्दू धर्मको मुटुमा कर्द’

डा. जगमान गुरुङ,

उपकुलपति
नेपाल प्रज्ञा—प्रतिष्ठान

नेपालमा धार्मिक पुस्तकको निगरानी गर्ने निकाय छ कि छैन ?
धार्मिक पुस्तक निगरानी गर्ने निकाय छैन । 

स्वस्थानीको पुस्तकमा इसाई धर्मको प्रचार गर्नुलाई कसरी लिनुहुन्छ ?
स्वस्थानीको किताबमा इसाई धर्मको कथा मिसाउनु मुटुमा कर्द (खुकुरी भन्दा सानो हतियार) घुसाएजस्तै हो । स्वस्थानीमा बाइबल घुसाउनु वैदिक धर्म र संस्कृति प्रतिको स्लो पोइजन हो । बाहिरी र भित्री दुवैतर्फबाट वैदिक धर्म संस्कृतिप्रति प्रहार भैरहेको छ ।

त्यसो भए धार्मिक पुस्तकको निकगरानी कसले गर्नु पर्ला ?
 
नेपालमा धर्म मन्त्रालय नभएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस्ता धार्मिक पुस्तकको निगारानी गर्नु पर्छ । संस्कृति मन्त्रालय अन्तर्गतको प्रज्ञा प्रतिष्ठान हो । सरकारले अख्तियारी दिएको खण्डमा प्रज्ञाले पुस्तकको मनिटरिङ गर्छ । 

पहिले—पहिले पुस्तकको निगरानी कसरी गरिन्थ्यो त ?
नेपाली भाषा प्रकाशिनी समिति हुँदा प्रकाशित दुई प्रति पुस्तक बुझाउने प्रावधान थियो । पञ्चायत कालमा भने अञ्चलाधीशको कार्यालयमा प्रकाशित पुस्तक बुझाउनु पर्ने नियम थियो । अञ्चलाधीशको स्वीकृति पाएपछि मात्रै पुस्तक प्रकाशन गर्न पाइथ्यो ।  

स्वस्थानीको किताब कस्तो किसिमको ग्रन्थ हो ? यसको महत्व के छ ?
स्वस्थानी व्रतकथा वैदिक साहित्यको पृष्ठमा नेपालमै रचना भएको ग्रन्थ हो । प्रेसको अभावमा नेपालमा छाप्न सम्भव नभएर बनारसबाट छापिएको हो । परिवारिक तथा सामाजिक जस्तो महत्वका कारणले स्वस्थानीको महत्व बढेको छ । 
 

Leave A Comment